भारतीय चुनाव- ५ सय ४२ उम्मेदवारको भाग्य ‘ब्यालेट बक्स’ मा बन्द ! | Khabarhub Khabarhub

भारतीय चुनाव- ५ सय ४२ उम्मेदवारको भाग्य ‘ब्यालेट बक्स’ मा बन्द !



काठमाडौं- आइतबार सातौं तथा अन्तिम चरणको मतदान सकिएसँगै भारतमा ६ साता लामो आम निर्वाचन औपचारिक रुपमा सम्पन्न भएको छ । तल्लो सदन लोकसभाको ५ सय ४२ सिटका लागि भएको निर्वाचनको अन्तिम परिणाम भने आगामी बिहीबारबाट आउन शुरु हुनेछ ।

मतपरिणाम सार्वजनिक हुनुअघि संसारकै सबैभन्दा ठूलो लोकतान्त्रिक व्यवस्था भएको मुलुक भारतमा कुन दल र कुन नेता सबैभन्दा शक्तिशाली भएर उदाउलान् भन्ने चासो भारतमा मात्र नभएर सारा विश्वभर छ ।

यही मोहौलमा सत्तारुढ भारतीय जनता पार्टी भाजपा तथा विपक्षी कांग्रेस पार्टीसहित अन्य क्षेत्रीय दलहरु चुनावी होडमा छन् । प्रधानमन्त्री नरेन्द्र मोदीको प्रधानमन्त्री कार्यकालको जनमत सङ्ग्रहका रुपमा लिइएको यो चुनाव निकै नै प्रतिस्पर्धात्मक हुने विश्लेषण गरिएको छ ।

भाजपा यसअघि सन् २०१४ मा भएको निर्वाचनको जस्तै नतिजा दोहोर्‍याउने लक्ष्यमा छ । सन् २०१४ को निर्वाचनमा भाजपाले २ सय ८६ सिटमा विजयी भएको थियो । त्यति मात्र होइन, भाजपा आबद्ध नेशनल डेमोक्र्याटिक अलायन्सले मात्रै ३ सय ३६ सिटमा विजयी भएको थियो । सरकार निर्माण गर्न केबल २ सय ७२ सिट भए पुग्नेमा भाजपाको यो विजय निकै नै महत्वपूर्ण थियो ।

यता कांग्रेस पार्टी भने त्यसको ठिक विपरीत लक्ष्यमा छ । कांग्रेस कुनै पनि हालतमा सन् २०१४ को जस्तो नतिजा आओस् भन्ने पक्षमा देखिँदैन । त्यस निर्वाचनमा कांग्रेस पार्टीले इतिहासकै सबैभन्दा नराम्रो पराजय व्यहोरी केबल ४४ सिटमा सिमित बनेको थियो ।

कांग्रेस पार्टीको लक्ष्य अवश्यपनि, सबैभन्दा ठूलो पार्टी बन्नु रहनेछ । तैपनि त्यो सहज नभएको विश्लेषण गरिन्छ । विश्लेषकहरुका अनुसार यो चुनावमा कांग्रेसले सरकार नै बनाउने गरी नतिजा हात पार्ने सम्भावना निकै कम छ । यद्यपि कांग्रेसले यसअघिको चुनावको भन्दा केही बढी सिट जितेर विपक्षमै भएपनि यसअघि भन्दा धेरै प्रभावशाली बन्नसक्ने सम्भावना भने उच्च रहेको विश्लेषण गरिन्छ ।

वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी पछिल्लो ५ वर्षमा भारतीय राजनीतिको मुख्य भूमिकामा छन् । उनको हिन्दू राष्ट्रवादी व्यक्तित्व र नेतृत्व क्षमतालाई नै विश्वास गरेर सन् २०१४ मा भाजपाले बहुमत पाएकोमा सायदै दुइमत होला ।

तर, छैठौं ठूलो अर्थतन्त्र रहेको भारतमा अपेक्षा अनुसार अर्थतन्त्रले गति लिन नसकेको, युवाका लागि रोजगारी सिर्जना गर्न नसकेको तथा किसानहरुले आफ्नो उब्जनीको राम्रो मोल पाउन नसकी ऋणमा डुबेको जस्ता समस्याले भारतीय जनताको आम जनजीवनलाई प्रभावित बनाउँदै आएको बताइन्छ ।

त्यसबाहेक कट्टर हिन्दू राष्ट्रवादी तथा दक्षिणपन्थी छविका कारण उनको कार्यकालमा भारत धार्मिक रुपमा विभाजित भएको भन्दै उनको आलोचना समेत हुँदै आएका छन् । यस्ता कारणले गर्दा प्रधानमन्त्री मोदीको भाजपाले अघिल्लो चुनावको भन्दा कमजोर प्रदर्शन गर्ने सम्भावना रहेको बताइन्छ । अघिल्लो वर्ष भएका राज्यस्तरको चुनावमा भाजपा पराजित भएबाट पनि उसका लागि यो चुनाव शुभ नरहेको देखिन्छ ।

यता कांग्रेस पार्टी भने सरकारका यस्ता कमजोरीको फाइदा उठाउने दाउमा छ । कुनै समय कांग्रस पार्टीमा नेतृत्वको अभाव रहेको भन्दै आलोचना हुने गरेको थियो । तर, अघिल्लो वर्ष भएका राज्यस्तरका निर्वाचनमा भाजपालाई पराजित गरेसँगै कांग्रस पार्टी र पार्टी प्रमुख राहुल गान्धीमा बेग्लै उत्साह थपिएजस्तो देखिन्छ । उनी आफ्नो नेतृत्व क्षमतालाई अझ विकास गर्दै दिन प्रतिदिन परिपक्व हुँदै गइरहेका छन् ।

तर, यो मात्र कांग्रेसले चुनाव जित्न पर्याप्त नहुने बताइन्छ । राहुल गान्धीको व्यक्तित्व जस्तो भएपनि प्रधानमन्त्री मोदीको जस्तो प्रभावशाली छैन । त्यसबाहेक कांग्रेस पार्टी आबद्ध युनाइटेड प्रोग्रेशिभ अलायन्स गठबन्धनले निर्वाचनमा बहुमत नै ल्याएपनि गठबन्धनमा आबद्ध अन्य पार्टीले राहुल गान्धीलाई प्रधानमन्त्रीका रुपमा अघि सार्ने सम्भावना कम छ । चुनावी समयमा पार्टी र गठबन्धनका लागि यो राम्रो कुरा होइन ।

अर्कोतर्फ यो निर्वाचनमा यी दुई ठूला मध्ये कुनै पनि पार्टी वा गठबन्धनले स्पष्ट बहुमत ल्याउन नसकेमा क्षेत्रीय स्तरमा निकै नै प्रभावशाली मानिने साना दलहरु मूलधारको भारतीय राजनीतिमा पुनः प्रभावशाली भएर उदाउने छन् ।

खासगरी स–साना पार्टीहरु मिलेर हालै गठन गरिएको महागठबन्धन नामक गठबन्धनमा आबद्ध दलहरुले कुनै पनि पार्टीको स्पष्ट बहुमत नरहेको अवस्थामा मौकाको फाइदा उठाउन सक्नेछन् ।

पछिल्लो समय भारतीय राजनीतिमा सबैभन्दा महत्वपूर्ण राज्य उत्तर प्रदेशमा महागठबन्धनमा आबद्ध पार्टीहरुले राम्रो प्रदर्शन गर्ने सर्वेक्षण गरिएको छ । भनिन्छ, जसले उत्तर प्रदेश जित्छ, उसले भारतीय चुनाव पनि जित्छ । यसअघिको निर्वाचनमा भाजपा आबद्ध गठबन्धनले उत्तर प्रदेशका ८० मध्ये ७१ सिट जितेको थियो तर त्यहाँका प्रभावशाली दुई दल समाजवादी पार्टी र बहुजन समाज पार्टी आबद्ध महागठबन्धनले भाजपालाई नराम्रो झट्का दिनसक्ने सम्भावना छ ।

यो महागठबन्धन कांग्रेस पार्टीसँग औपचारिक रुपमै नभएपनि भाजपालाई पराजित गर्ने उद्देश्यका साथ ‘ट्याक्टिकल’ रुपमा कांग्रेस पार्टीसँग नजिक छ । यसले पनि भाजपालाई टाउको दुखाई बन्न सक्छ ।

तैपनि इतिहासमा भारतीय राजनीतिमा अप्रत्याशीत नतिजा नआएका भने होइनन् । सोही कारण यो निर्वाचनमा यो पार्टीले नै सरकार निर्माण गर्ला भनिहाल्न सक्ने अवस्था छैन । चुनावपछिको सरकार निर्माण र संसदीय समिकरणका लागि भने अन्तिम नतिजा कुर्नुको विकल्प भने छैन ।

प्रकाशित मिति : ५ जेठ २०७६, आइतबार  ६ : ५५ बजे

अष्ट्रेलियाको समुन्द्र तटबाट १३० ह्वेल माछाको उद्धार

सिड्नी– पश्चिमी अष्ट्रेलियाको सामूहिक समुद्र तटबाट १३० ह्वेलको उद्धार गरिएको

 लोभलाग्दो ‘ड्रागन’ खेती

वालिङ– दश वर्ष कोरिया बसेर फर्किएका शिव थापा व्यावसायिक रूपमा

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौं– गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।  दुर्घटनामा

‘आगलागी न्यूनीकरणमा सरकार किन असंवेदनशील ?’

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशका विभिन्न ठाउँमा

पौडीपछि विवाद समाधानको बाटोमा टेबल टेनिस

नेपालमा लामो समय विवादमा रहेको पौडी सङ्घ विवाद समाधानको बाटोमा