सम्पदा क्षेत्र घुम्न जाने पर्यटक भन्छन्–कहाँ छन् शौचालय ? | Khabarhub Khabarhub

सम्पदा क्षेत्र घुम्न जाने पर्यटक भन्छन्–कहाँ छन् शौचालय ?



काठमाडौं–काठमाडौंका पारसमणि अमागाइ केही हप्ताअघि पर्यटकलाई घुमाउन स्वयम्भू स्तुपा पुगेका थिए । स्तुपा पुग्नुअघि एउटा रेष्टुरेन्ट पसेर कफी पिए उनीहरुले । जब स्वयम्भू स्तुपा पुगेर त्यहाँको बारेमा बताउन व्यस्त भए उनी ।

करिब १५ मिनेटपछि पर्यटकलाई पिसाब लाग्यो । स्तुपा परिसरमा सार्वजनिक शौचालय थिएनन् । त्यो अवस्थामा शौचालय खोज्न कहाँ जाने भन्ने कुराले पिरोल्न थाल्यो उनलाई । शौचालयको अभाव बताउनुभन्दा उनी हत्तपत्त वरपर ठूला रेष्टुरेन्टहरु छन् कि भनेर हेर्न थाले ।

कहिँकतै शौचालय नदेखेपछि कफी पिउने बहानामा पुनः रेष्टुरेन्ट पुगे र शौचालय देखाए । विश्वसम्पदा सूचीमा सृचिकृत स्वयम्भू स्तुपामा मात्र होइन । उपत्यकाका हरेक सम्पदा क्षेत्रमा सार्वजनिक शौचालयको अभाव रहेको अमागाइ बताउँछन् ।

‘हाम्रो देशमा सबैभन्दा ठूलो समस्या भनेकै सार्वजनिक शौचालयको छ’ उनी भन्छन्, ‘त्यसमाथि हेरिटेज क्षेत्रमा शौचालय नै हुदैनन् भएको पनि फोहोर र प्रदूषित हुन्छन् ।’

त्यस्तै केही महिनाअघि अमेरिकन पर्यटकलाई लिएर भक्तपुर दरबार क्षेत्र पुगेका थिए उनी । घुमिरहेका बेला एक पर्यटकले उनलाई पिसाब लागेको जानकारी गराए ।

शौचालय खोज्नका लागि उनी चारैतिर हिडे । दरवार क्षेत्रबाट केही बाहिर निस्किदा मानिसको लाइन थियो । शौच गर्नका लागि बसेको लाइन देखेर पर्यटक समेत अचम्मित बने । पिसाब आइसकेकाले समय थोरै पनि पर्खन नसक्ने अवस्थामा रहेको पर्यटकले अमागाईंलाई बताएका थिए ।

त्यो समयमा पनि उनले मन्दिरबाट बाहिर रेष्टुरेन्टमा पुर्‍याएर शौच गराएको अनुभव सुनाए ।

‘कतिपय अवस्थामा शौचालयभित्र आफैं पसेर त्यहाँको अवस्था हेरेर मात्र पर्यटकलाई पठाउँछु’ उनले भने ‘फोहोर रहेछ भने उनीहरुलाई कन्फर्ट हुने स्थानसम्म पुर्‍याउँछु, सकेसम्म उनीहरुलाई यस्तो समस्या देखाउनुहुँदैन्।’

उनी विगत १० वर्षदेखि पथप्रदर्शकका रुपमा काम गरिरहेका छन् । नेपालभरि शौचालयको अभाव रहेको र अझ समस्यामा काठमाडौं उपत्यका रहेको उनको भनाइ छ ।

घुम्ने ठाउँहरुमा शौचालयको अभावका कारण उनीहरुले नेपाललाई हेर्ने दृष्टिकोण नै फरक रहेको पथप्रदर्शक अर्जुन कार्की बताउँछन् ।

‘घुम्न जाने भनेपछि त्यहाँ शौचालय छ कि छैन भन्ने कुरा सबभन्दा पहिले दिमागमा आउँछ’ खबरहबसँग कुरा गर्दै उनले भने ‘शौचालय नभएको ठाउँ जाने हो भने वरपर राम्रा होटल, रेष्टुरेन्ट छ कि छैन त्यो पनि सोच्नुपर्ने हुन्छ ।’

उनको दिमागमा ताजै रहेको करिब १ वर्षअघिको घटनालाई कोट्याउँदै उनले भने ‘७ जना टुरिष्टलाई लिएर पशुपति क्षेत्र घुमाउन गएको। घुम्ने क्रममा उनीहरुलाई पिसाब लाग्यो । शौचालयको खोजिमा हिड्दा मृगस्थली जाने बाटोमा एउटा सार्वजनिक देखे उनले ।

‘पिसाब गर्न पठाएको शौचालय होचो भएर फर्किएर आएछन्’ उनले भने ‘हाम्रा कुनैपनि शौचालयहरु पर्यटनमैत्री छैनन् ।’

‘शौचालयको ठूलो समस्या भनेकै काठमाडौं उपत्यकामा छ’ उनी भन्छन्, ‘बाहिर त बरु खुला ठाउँहरु हुन्छन् जहाँ गर्दा पनि हुन्छ ।’

कहाँ छन् पर्यटनमैत्री शौचालय ?

हामी पर्यटन वर्षको संघारमा आइसकेका छौ । सरकारले सन् २०२० लाई पयर्टन वर्ष घोषणा गरेसँगै यहाँका घुम्न लायक एक सय वटा स्थान समेत छुट्याइसकेको छ । यतिबेला विभिन्न निकायहरु आफ्नो क्षेत्रबाट लागि परिरहेका छन् ।

नेपाल घुम्न आउने अधिकांश पर्यटकको रोजाईमा यहाँका धार्मिक तथा साँस्कृतिक सम्पदा पर्ने गर्छन् ।

सामान्यतया घुम्नका लागि सडक अर्थात् बाटो, खानाका लागि होटल रेष्टुरेन्ट र घुम्ने ठाउँ कस्तो छ भन्ने कुराको ज्ञान लिएर घुम्न हिड्ने गरिन्छ । तर त्योभन्दा ठूलो समस्या त्यहाँ पुगेर दिसापिसाब लागेमा कहाँ जाने ?

आन्तरिक र बाह्य दुबै पर्यटकले यो समस्या भोग्दै आइरहेका छन् । सार्वजनिक शौचालय हुँदै नभएका पनि होइनन् तर भएका शौचालयलाई समेत व्यवस्थापन गर्न नसक्दा यसको नराम्रो असर भने विदेशी पर्यटकहरुलाई परिरहेको छ ।

स्थानीय तहको भूमिका

मुलुक संघीय संरचनामा गएसँगै यस्ता समस्याको समाधान गर्ने जिम्मा स्थानीय तहलाई छ । जीम्मेवार रुपमा रहेका विभिन्न निकायहरुले यसको समाधान गर्न सकेका छैनन् ।

जसको फलस्वरुप आन्तरिक तथा बाह्य पर्यटकहरुले दैनिक समस्या भोगिरहेका छन् । सरकारले पर्यटन वर्ष मनाउँदै गर्दा स्थानीय तहले पनि यसका लागि महत्वपूर्ण भूमिका खेलिरहेको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

‘नेपालको राजधानी जस्तो शहरमा सार्वजनिक शौचालयको अभाव भएकै हो’ महानगरका प्रवक्ता ईश्वरमान डंगोल बताउँछन् ‘त्यसमाथि हामी पर्यटन वर्षपनि मनाउदै छौं यसका लागि महानगरले धार्मिक क्षेत्रमा शौचालय निर्माणको कार्य अगाडी बढाएको छ ।’

त्यस्तै सार्वजनिक शौचालयको अभाव महशुस गर्दै काठमाडौं महानगरपालिकाले विगत १ वर्षअघि देखि स्मार्ट शौचालय सञ्चालनमा ल्याउने कुरालाई प्राथामिकतामा राखेको थियो ।

स्मार्ट शौचालय ल्याउनका लागि काठमाडौं महानगरअन्तर्गतको शहरी योजना आयोगले प्रक्रिया थालेको छ ।

सुरुवाती चरणमा काठमाडौंका ४५ स्थानमा यी शौचालय राखिने र विशेषगरी भ्रमण वर्षलाई लक्षित गरिने भनेपनि हालसम्म यो काम अघि बढ्न सकेको छैन ।

स्मार्ट शौचालय प्याकेजमा ल्याउनुपर्ने हुँदा महंगो पर्ने भएकाले विभिन्न संघसंस्थालाई सहयोगका लागि पत्राचार गरिरहेको आयोगका उपाध्यक्ष सरोज बस्नेतले खबरहबलाई जानकारी दिए ।

चालुआर्थिक वर्ष सार्वजनिक स्मार्ट शौचालयका लागि महानगरले ३ करोड बजेट छुट्याएको छ ।

हाल काठमाडौं उपत्यकामा ६५ वटा सार्वजनिक शौचालय छन् भने काठमाडौं महानगरभित्र मात्र ३८ वटा सार्वजनिक शौचालय छन् ।

सार्वजनिक शौचालयतिर ध्यान नगएकै हो : पर्यटन मन्त्रालय

पर्यटकले नेपालका अधिकांश स्थानमा घुम्दा सार्वजनिक शौचालयको अभावमा शौच च्यापेरै हिड्नुपर्ने अवस्थाबारे जानकार छ संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालय ।

‘सरकारले नेपालभरका एक सय स्थानहरु पर्यटकीय गन्तव्यका रुपमा छुट्याएको छ’ मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्ययले भने ‘त्यहाँको समस्या हेर्न र बुझ्न सकेको छैन ।’

काठमाडौंको हकमा भन्नुपर्दा सार्वजनिक शौचालय थप्न र व्यवस्थापन गर्न महानगरपालिकाले बजेट राखेको बताउदै उनी भन्छन्, ‘कतिपय ठाउँमा सार्वजनिक शौचालय निर्माण गरिहाल्ने अवस्था छैन ।’

राजधानीका विभिन्न स्थानमा सार्वजनिक शौचालय निर्माण गर्ने काममा स्थानीयले विवाद गर्ने गरेको उपाध्ययले बताए । ‘घनाबस्ती भएकाले मानिसहरुले पनि सार्वजनिक शौचालय निर्माण गर्न दिदैंनन्’ उनले भने ‘तर हामीले अहिले उपत्यका बाहिरका स्थानहरुमा सार्वनिक शौचालय निर्माण गरिरहेका छौं यो क्रम जारी छ ।’

प्रकाशित मिति : ३ मंसिर २०७६, मंगलबार  ७ : ५२ बजे

गर्मी बढेपछि बङ्गलादेशका सबै विद्यालय बन्द : तीन करोड बढी विद्यार्थी प्रभावित

काठमाडौं – बङ्गलादेशमा अत्यधिक गर्मी भएपछि तीन दिनको लागि सबै

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौँ– जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक

कुकुरले किन खुट्टा उचालेर पिसाब फेर्छ ? यस्तो छ कारण

कुकुरले एउटा खुट्टा उचालेर पिसाब फेरेको त हामी धेरैले देखि

आजको मौसम : चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव

आजदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै

काठमाडौं – आजदेखि कक्षा १२ को परीक्षा देशभर एकैसाथ सुरुहुँदै