भ्रमण वर्ष प्रभावित हुने देखिएपछि पर्यटन मन्त्रालय डेंगु नियन्त्रण अभियानमा | Khabarhub Khabarhub

भ्रमण वर्ष प्रभावित हुने देखिएपछि पर्यटन मन्त्रालय डेंगु नियन्त्रण अभियानमा


१ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– डेंगुको प्रकोपले नेपाल भ्रमण वर्ष २०२० लाई प्रभाव पार्ने अवस्था आएपछि पर्यटन मन्त्रालयले डेंगु नियन्त्रणका लागि कार्यक्रम गर्ने तयारी गरेको छ ।

पर्यटन बोर्डले बुधबार आयोजना गरेको कार्यक्रममा पर्यटन बोर्डका सिइओ दीपक जोशीले डेंगुको प्रकोपका कारण पर्यटन वर्ष २०२० को लक्ष्यलाई असर पर्नसक्ने भन्दै पर्यटन मन्त्रालयले नियन्त्रणको विशेष कार्यक्रम नै गर्न लागेको बताए ।

भ्रमण वर्ष २०२० लाई असर पर्न नदिन नेपाल नागरिक उड्डयन प्राधिकरणबाट सबै विमानस्थल सफा राख्ने, उडानपूर्व जहाजभित्र लामखुट्टे आउन नदिन औषधि छर्किने व्यवस्था गर्न लागिएको उनको भनाइ छ ।

पर्यटन मन्त्रालयको निर्देशनमा नेपाल होटल संघ, रेष्टुरेन्ट व्यवसायी संघ, पर्यटन यातायात लगायतका पर्यटकीय सेवा दिने निकायहरुमा पनि डेंगु नियन्त्रणका कार्यक्रम संचालन गरिने जोसीले बताए ।

पर्यटन मन्त्रालयले डेंगुका कारणबाट भ्रमण वर्षलाई प्रभावित हुँन नदिन पर्यटकीय क्षेत्रहरु पशुपति, लम्बिनी, जनकपुर, पोखरा र सौराहा लगायतका विभिन्न क्षेत्रहरुमा डेंगु नियन्त्रणका अभियानहरु सञ्चालन गर्न लागेको जानकारी दिए ।

‘नेपालमा डेंगुको प्रकोप देखिएपछि नेपाल आउने पर्यटकहरुमा त्यसको असर देखिएको छ, कतिपयले नेपालभरी नै डेंगुको प्रकोप छ भनेर नेपाल भ्रमण नै रद्ध गरेको पाएका छौं,’ पर्यटन वोर्डका सिइओ जोसीले भने, ‘पर्यटकहरुमा नेपालमा डेंगुको संक्रमण भयावह छ भन्ने त्रास फैलिएकाले अब पर्यटकहरु भित्रिनु अघि नै पर्यटकीय क्षेत्रहरुमा नियन्त्रणको कार्यक्रम गर्न लागेका छौं ।’

नेपाल भ्रमण वर्ष र डेंगु रोगको प्रकोपको विषयमा पर्यटन बोर्डले आयोजना गरेको कार्यक्रममा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमूख डा विवेक लालले डेंगुको संक्रमण अझै बढ्ने बताए ।

‘पानी परिरहेको छ, डेंगु सार्ने लामखुट्टे पानी परेको एक महिनासम्म रहन्छ, त्यसैले यो पानी पर्न छाडेपछि पनि अझै एकमहिना डेंगु रहन्छ,’ डा लालले भने, ‘त्यसैले डेंगुका बिरामी अझै बढ्छन् ।’

डा लालले डेंगुको संक्रमण नेपालमा मात्रै नभएको बताए । मानिसहरुमा डेंगु नियन्त्रणका लागि सचेतना कम हुँदा डेंगु नियन्त्रण नभएको डा लालको भनाइ छ । डेंगु नियन्त्रणका लागि बजेट र कार्यक्रमहरु स्थानीयतहमा गएकाले आफूहरुले नियन्त्रणको प्रयास गर्न नसकेको डा लाल बताउँछन् ।

‘हामीले स्वीकार्नुपर्छ, सचेतनाको पाटोमा हामी कमजोर भएका छौं, डेंगु कसरी लाग्छ र डेंगु सार्ने लामखुट्टे कसरी नष्ट गर्ने भनेर धेरैमा जानकारी नहुँदा पनि डेंगुका बिरामी बढेका छन्,’ डा लालले भने, ‘पहिला कुनै ठाउँमा प्रकोप देखिने वित्तिकै केन्द्रबाटै टोली पठाएर नियन्त्रणको प्रयास गरिन्थ्यो, अहिले सरकारले त्यो अधिकार स्थानीय तहलाई दिएको छ, हामीसँग स्थानीय तहमा गएर डेंगु नियन्त्रण गर्ने अधिकार नै छैन । स्थानीय तहमा विज्ञ जनशक्ति पनि छैन ।’

विदेशी पर्यटकहरु नेपाल आउँदा ल्याउन सक्ने जटिल किसिमका रोगको विषयमा परीक्षण गर्न त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा हेल्थ डेक्सको स्थानपना गरिएको छ । तर उक्त हेल्थडेक्स नाम मात्रैका लागि भएको कार्यक्रममा सहभागीहरुले बताए ।

विमानस्थलमा भएको हेल्थडेक्समा स्थायी कर्मचारीको दरवन्दी नहुँदा सरकारले सोचअनुसारको काम हुन नसकेको डा लालले बताए ।
‘नेपाल भित्रिने पर्यटनबाट रोग पनि भित्रिने जोखिम हुन्छ, त्यसैका लागि हामीले विमानस्थल र सीमा नाकाका ८ स्थानमा हेल्थडेक्स स्थापना गरेका थियौं,’ डा लालले भने, ‘तर त्यहापनि जनशक्ति स्थायी छैनन्, काजमा खटाइएका जनशक्तिलाई स्थानीय तहले तलब दिन समेत गाह्रो मान्छ ।’

सरकारले पर्यटन वर्ष मनाउँदै गर्दा नेपालमा भएको रोग र विदेशीबाट भित्रिन सक्ने रोगको विषयमा अध्ययन र अनुसन्धान र प्रभावकारी निती नबनाउँदा नेपालमा अन्य रोग भित्रिने जोखिम समेत रहेको डा लालको भनाइ छ ।

नेपालमा सन् २००४ मा चितवनमा एकजना विदेशी नागरिकमा पहिलोपटक डेंगुको संक्रमण देखिएको थियो । यस्तै सन् २००६ मा तराई र भित्री मदेशमा डेंगुको संक्रमण देखिएको थियो । हाल साउनयता मात्रै ५ हजारभन्दा बढीमा डेंगुको संक्रमण देखिएको छ ।

डेंगुका कारण ६ जनाको मृत्यु भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक छ । डेंगुका कारण हालसम्म ५६ जिल्ला प्रभावित भएका छन् ।

डेंगु भएको कसरी थाहा पाउने ?

–एक्कासी उच्च ज्वरो आउनु,

–लगातार ५ देखि ७ दिनसम्म ज्वरो आउनु,

–असाध्यै टाउको दुख्नु,

–आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्नु,

–ढाड जोर्नी तथा मांसपेशीहरु दुख्नु,

–शरीरमा बिमिरा आउनु ।

डेंगुबाट यसरी बच्नुहोस्

–डेंगुबाट बच्नका लागि लामखुट्टेको टोकाईबाट बच्नुपर्छ,

–पानी जम्न सक्ने भाँडाहरु जस्तैः गमला, फुलदानी, खाली बट्टा, अल्कत्रा वा मट्टितेलका खाली ड्रमहरु, गाडीको काम नलाग्ने टायर आदिमा पानी जम्न नदिने उपाय गर्नुपर्छ,

–पानीका ट्याङ्कीमा लामखुट्टे प्रवेश गर्न नदिने गरी ढाकेर राख्नुपर्छ,

–कूलरमा रहेको पानीमा प्रत्येक हप्ता एक-दुई चम्चा मट्टितेल हालिदिने साथै जम्मा भएको पानी सफा गर्ने,

–फुलदानीमा रहेको पानी कम्तीमा हप्तामा दुई पटक फेर्नुपर्छ,

–एडिस एजिप्टाई जातको लामखुट्टेले दिउँसो टोक्ने हुँदा दिउँसो बस्दा पनि प्रायः पूरा बाहुला भएको वा शरीर पुरै ढाकिने लुगा लगाउनु पर्छ,

–सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्नु पर्छ साथै साना केटा केटीलाई जुनसुकै समयमा पनि झुलभित्र सुताउनु पर्छ,

–लामखुट्टेको टोकाईबाट बच्न लामखुट्टे भगाउने मल्हम पनि दल्न सकिन्छ ।

–घरका झ्याल ढोकामा जाली लगाउनु उपयुक्त हुन्छ ।

–घर वरिपरि सफा सुग्घर राख्ने, पानी जम्ने खाल्टाखुल्टी पुर्ने गर्नुपर्छ ।

प्रकाशित मिति : १ आश्विन २०७६, बुधबार  ३ : ३५ बजे

आगलागी नियन्त्रणमा लिई तत्काल राहतको व्यवस्था गर्न सभापति देउवाको माग

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशभर आगलागी नियन्त्रण गर्न

‘अर्थतन्त्र मिश्रित अवस्थामा छ’ : गभर्नर

काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले देशको अर्थतन्त्र

सहकारी प्रकरणमा धरौटी बुझाएर छुटे दीपेश, सुन तस्करीमा सीआईबीले अनुसन्धान थाल्ने

बुटवलस्थित सुप्रिम सहकारीको बचत हिनामिना प्रकरणमा पक्राउ परेका नेकपा मा‌ओवादी

टेलिसिरियल ‘ठूल्दिदी’ निर्माण हुने 

काठमाडौं– प्रज्ञा फिल्मस्को प्रस्तुतिमा नयाँ टेलिसिरियल ‘ठूल्दिदी’ निर्माण हुने भएको

अर्थ र उर्जामन्त्रीलाई भेटेर मुख्यमन्त्री कँडेलले राखे कर्णालीका छ बुँदे माग

काठमाडौं‍– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अर्थमन्त्री बर्षामान पुन र