कांग्रेसको अबको यात्रा– प्रतिरक्षात्मक होइन आक्रामक « Khabarhub
Logo
१० असार २०७८, बिहीबार

कांग्रेसको अबको यात्रा– प्रतिरक्षात्मक होइन आक्रामक



निर्वाचनमा पराजय र कम्युनिस्टको सरकार गठनसँगै नेपाली कांग्रेस नयाँ मोडमा आएर उभिएको छ । पार्टीभित्रै आरोप प्रत्यारोप तथा अन्तरसंघर्षका नयाँ दृश्यहरु बाहिर देखिने गरि पोखिए भने नेपाली कांग्रेस सडक तथा सदनमा प्रभावकारी रुपमा प्रस्तुत हुन नसकेको गुनासोसमेत सुनिए ।

पार्टीभित्रै कम्युनिस्टसँग लड्न थप शक्ति आर्जन गर्नुपर्ने, नेतृत्वमा फेरबदल गर्नु पर्ने आवाजहरु पनि उठे । पार्टीबाहिर पनि नेपाली कांग्रेसभित्र वैचारिक चिन्तन र बहसको राजनीति सकिएको र कांग्रेस अरु राजनीतिक शक्तिहरुका मुद्दाहरुसँगै बगेको आरोप लगाउने काम भए ।

यसरी हेर्दा नेपाली कांग्रेस आज वैचारिक, रणनैतिक, सैद्दान्तिक र सांगठनिक गरि दोहोरो चुनौतीको सामना गरिरहेको छ । नेपाली कांग्रेसको जीवनमा न यी चुनौतिहरु नयाँ नै हुन् न त यिनीहरुको औषधि नै नभएको होस् । जसमध्ये केही वास्तविकता भन्दा टाढाका आरोपहरुपनि छन् ।

समाजका सबै परिवर्तन एकै आन्दोलनले ल्याउने होइन । न त समाज विकाससँगै उत्पन्न हुने सबै परिवर्तनका जनआकांक्षाहरुको नेतृत्व एक दल विषेशले मात्रै गर्ने हो

नेपाली कांग्रेस लामो इतिहास बोकेको पार्टी हो । जब एउटा पार्टी दीर्घ जीवन बाँच्छ, यसभित्र सम्बद्ध सबै नेता कार्यकर्ता स्वभावैले एकै आवस्यकता, एकै विचार र एकै गन्तव्य बोकेर हिँडेका हुन्छन् भन्ने हुँदैन । मोटामोटी रुपमा उनीहरु एक बृहद वैचारिक छाताभित्र बस्ने कोशिस गर्दछन् र लगभग समान आवश्यकता र गन्तव्य साथ अगाडि बढ्छन् ।

फरक– फरक कालखण्डमा सम्बद्ध नेताकार्यकर्ताहरुको सामाजिक मुद्दाहरुप्रति फरक फरक दृष्टिकोण रहनु स्वभाविकै हो । तर एकै सैद्दान्तिक दृष्टिमा पनि फरक–फरक घटना तथा सामाजिक परिस्थितिहरुको विश्लेषण गर्दा पनि युगअनुसारका विचार र परिस्थिति बन्नु स्वभाविक हो ।

एकै सिद्दान्तलाई अलग युगका फरक विचार, परिस्थिति, सम्भावना र पृष्ठभूमि बोकेका नेता कार्यकर्ताहरुले विश्लेषण र अनुमोदन गर्दासमेत फरक परिणाम तथा त्यसप्रतिको सार्वजनिक प्रतिक्रिया आउनु स्वाभाविक नै हो ।

समाजका सबै परिवर्तन एकै आन्दोलनले ल्याउने होइन । न त समाज विकाससँगै उत्पन्न हुने सबै परिवर्तनका जनआकांक्षाहरुको नेतृत्व एक दल विषेशले मात्रै गर्ने हो ।

महत्त्वपूर्ण विषय के हो भने एउटा पार्टीले समाज परिवर्तनसँगै उत्पन्न हुँदै जाने समाजका विविध पक्षहरुलाई कसरी सम्बोधन गर्छ र आफ्नो सान्दर्भिकता कसरि पुष्टि गर्दछ भन्ने हो ।

अहिले आरोप लगाइएको जस्तो नेपाली कांग्रेसले मुद्दा नै नबोकेको होइन । बरु नयाँ दलहरुले आज बोकेका मुद्दाहरु नेपाली कांग्रेसले प्रारम्भमा नै बोकेको थियो । तर इतिहासमा यी मुद्दाहरुको ’इन्टेंसिटी’ तलमाथि भने भएको छ । गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, सामाजिक न्याय तथा आर्थिक असमानताका बारेमा नेपाली कांग्रेसको आफ्नै वैचारिक दृष्टिकोण छ, भने कयौं मुद्दाहरुमा वैचारिक विविधता पनि रहेको छ । पार्टी जीवनको पूवार्धमा (विसं.२००७/२०१५) नेपाली कांग्रेसले संविधानसभाबाट संविधान बनाउने र संविधानको स्वामित्व राजाले नभई जनताले लिने कुरा जोडतोडका साथ उठायो । सम्पत्तिको स्वामित्व र भूमिसुधार नेपाली कांग्रेसकै मुद्दा हो । विसं २०२१ को भूमिसुधार नेपाली कांग्रेसकै संघर्षको प्रतिफल हो । २०५८ को भूमिसुधार नेपाली कांग्रेसले नै गरेको थियो ।

जातिप्रथा, धार्मिक अन्धविश्वास, सामाजिक वहिष्करण र आर्थिक उत्पीडन तथा क्षेत्रीय विषमताको शान्तिपूर्ण समाधानका निम्तिसमेत नेपाली कांग्रेसले पहलकदमी नगरेको होइन । कमैय्या मुक्ति, दलित आयोग, हलिया मुक्ति, जनजाती आयोग नेपाली कांग्रेसकै नेतृत्वमा बने । अन्याय र वहिष्करणमा परेको समुदायका लागि यी कदमहरु सामान्य थिएनन् तर नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा भएका यी परिवर्तनहरुलाई जनतामाझ स्थापित गर्न कतै कमजोरी भयो ।

अर्कोतिर नेपालको कम्युनिस्ट आन्दोलनले यी मुद्दाहरुलाई चर्कोरुपमा जनसमुदाय माझ लगे र यी मुद्दाहरुकोे स्वामित्व उनीहरुले लिए जस्तो देखियो ।

वाह्यरुपमा आफूलाई प्रगतिशील देखाउने र भित्री रुपमा प्रतिक्रियावादी शक्तिहरूसित नै सहकार्य गर्ने कुरामा कम्युनिस्टहरुकलागि पञ्चायतकालिन समय अति महत्त्वपूर्ण रह्यो ।

साम्यवादको सपना अव्यवहारिक र प्राप्त गर्न नसकिने गन्तव्य हो । समाज विकासको प्राप्त गर्न सकिने गन्तव्य प्रजातान्त्रिक समाजवाद नै हो भन्नेकुरा जनतासम्म स्थापित गर्नु जरुरि छ

एकातिर दरबारिया शक्तिहरुसित सहकार्य गरेर कांग्रेस विरोधमा उत्रिने र अर्कोतिर दरबारको सहयोग लिएर आफूलाई बलियो बनाउने कुरामा पञ्चायत शाशनलाई नै कम्युनिस्टहरुले सर्वाधिक उपयोग गरे ।

त्यसपछि पनि केहि कम्युनिस्ट घटकहरु सत्ताको उपयोग गर्न थाले भने कोही भूमिगत र अर्धभूमिगत रुपमा काम गर्दै गए । यहि शिलशिलामा माओवादी आन्दोलन भयो । स्वभावैले माओवादी आन्दोलन अलि बढी नै आक्रामक र क्रान्तिकारी देखियो र जनतामा भ्रम छर्न सफल भयो । आज संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता उसैका मुद्दाका रुपमा स्थापित हुन पुगे ।

तर यी विषयमा न त कांग्रेस मौन नै रह्यो न त विरुद्धमा नै उभियो । जनता र प्रजातन्त्रका पक्षमा नेपाली कांग्रेसले सबैसित सहकार्य ग¥यो । कांग्रेस प्रतिकूल अवस्थामा तब पुग्यो जब मुख्य कम्युनिस्ट घटकहरु रणनैतिकरुपमा एकै चुनावी मोर्चामा उभिए ।

अन्योल सुल्झाउने उपाय

जब कांग्रेसलाई चुनावी राजनीतिमा अप्ठ्यारो प¥यो तब अन्तरिक विवाद र आरोप प्रत्यारोपहरू आगाडि आउन थाले । विषयवस्तुको गहिराईमा गएर विश्लेषण गर्दा नेपाली कांग्रेस भित्रको अन्योल यी ३ उपायले सुल्झाउन सकिन्छ–

(१) समाजमा स्थापित नयाँ आर्थिक एवं राजनीतिक मुद्दाहरुप्रति नेपाली कांग्रेसको स्पष्ट वैचारिक खाका तयार गर्नु पर्दछ
२) कम्युनिस्टहरुसित प्रतिस्पर्धा गर्न आवस्यक पर्ने संगठनिक विस्तार र यसको वैचारिक पुनर्जीवन
३) नेतृत्वमा पुग्ने आन्तरिक प्रतिस्पर्धाको प्रजातान्त्रिक व्यवस्थापन ।

समाज गतिशिल हुन्छ र समाज विकाससँगै यसका मुद्दाहरु परिवर्तन हुने गर्दछन् । नेपाली कांग्रेसले समाजमा पैदा हुने मुद्दाहरुको नेतृत्व गर्नु पर्दछ । चाहे त्यो सामाजिक न्यायको समावेशीकरणको मुद्दा होस् या आर्थिक असमानता र श्रोतको न्यायोचित वितरणको मुद्दा होस्, नेपाली कांग्रेस अब प्रतिरक्षात्मक नभई आक्रामकरुपमा प्रस्तुत हुनु पर्दछ ।

लैंगिक, क्षत्रीय, जातीजन्य भेदहरुको सुक्ष्म विश्लेषण गरि नयाँ समाज निर्माणको मोर्चा नेपाली कांग्रेसले सम्हाल्न सक्नुपर्दछ । विपन्न समुदायका मानिसहरुलाई आर्थिक न्याय दिलाउने थुप्रै बाटाहरु छन् ।

सार्वजनिक शिक्षा, सार्वजनिक विद्यालयहरुको पुनर्निर्माण र सवलीकरण यो देशका जनताहरु सित जोडिएको मुद्दा हो । नयाँ वर्ग शिक्षाकै माध्यमबाट निर्माण हुँदैछ, नेपाली कांग्रेस यसमा स्पस्ट नीतिका साथ अगाडि पढ्नु पर्दछ ।

नेपाली कांग्रेसको चुनौती भनेको समग्र वैचारिक जागरण र राजनीतिक परिवर्तनको नेतृत्व गर्दै नयाँ पिढीका लागि सुरक्षित र समृद्ध भविष्य सुनिश्चि गर्नु नै हो । यसका लागि पार्टीको आन्तरिक जीवनदेखि वैचारिक र सांगठनिक पक्षको पुनर्अभिमुखीकरण तथा पुनर्ताजकीकरण जरुरी छ ।

सार्वजनिक, स्वास्थ्य, करनीति, हिन्दू समाजमा जातिप्रथा सँगै जोडिएको सम्पत्तिको स्वामित्व र सामाजिक प्रतिष्ठाको सवाल, क्षेत्रीय विवेध र शक्ति तथा श्रोतको विकेन्द्रीकरणको मुद्दा, वितरणसँगै श्रोत उत्पादन र संकलनको मुद्दा, राजनीति शुद्दीकरण, सार्वजनिक निर्णयमा पारदर्शिता र सहभागिताको विषय, महंगिदो निर्वाचन प्रणाली र चुनावी राजनीतिका दोषहरुको निराकरण तथा वास्तविक प्रजातन्त्र स्थपित गर्ने विषयसित सम्बन्धित मुद्दाहरुको उठान र पैरवी अब नेपाली कांग्रेसले गर्न सक्नु पर्दछ ।

साम्यवादको सपना अव्यवहारिक र प्राप्त गर्न नसकिने गन्तव्य हो । समाज विकासको प्राप्त गर्न सकिने गन्तव्य प्रजातान्त्रिक समाजवाद नै हो भन्नेकुरा जनतासम्म स्थापित गर्नु जरुरि छ ।

पार्टी संगठनको संख्यात्मक विस्तारले मात्रै अब पुग्दैन । संगठनको गुणात्मक विस्तार तथा वैचारिक पुनर्जीवनमा ध्यान दिनु पनि उत्तिकै जरुरि छ ।

यसकालागी नेपाली कांग्रेसले केन्द्रदेखि स्थानीय तहसम्म नयाँ जीवन तरंगित गर्न जरुरि छ । जसले गर्दा कांग्रेस संगठनिक रुपमा बलियो हुनेछ र कम्युनिस्ट प्रोपोगान्डासित लड्न सजिलो हुनेछ ।

पार्टीमा नेतृत्व स्थापना र व्यवस्थापनको मुद्दा नेताहरुको महत्त्वाकांक्षा समायोजन र नयाँ प्रतिभा सदुपयोगसँग बढी अन्तरसम्बन्धित छ । फरक विचार र नीतिगत दृष्टिकोण नहुँदा पनि समय समयमा उठ्ने वैमनस्यताले हामीलाई नयाँ गन्तव्यमा पुर्‍याउन सक्दैन ।

नेपाली कांग्रेसको चुनौती भनेको समग्र वैचारिक जागरण र राजनीतिक परिवर्तनको नेतृत्व गर्दै नयाँ पिढीका लागि सुरक्षित र समृद्ध भविष्य सुनिश्चि गर्नु नै हो । यसका लागि पार्टीको आन्तरिक जीवनदेखि वैचारिक र सांगठनिक पक्षको पुनर्अभिमुखीकरण तथा पुनर्ताजकीकरण जरुरी छ ।


भर्खर

0