१५० रुपैयाँको धागो खर्चेर ४० हजार कमाउने चन्धेश्वर ! « Khabarhub

१५० रुपैयाँको धागो खर्चेर ४० हजार कमाउने चन्धेश्वर !



काठमाडौं- मानिसलाई जसरी पनि जीविकोपार्जन गर्नुपरेको छ । खेतवारीको काम गरेर होस् या ठूला-साना व्यापार व्यवसाय गरेर । उ जीवन धान्नका लागि दैनिक धेर-थोर कमाइरहेको हुन्छ ।

पैसा कमाउनकै लागि विभिन्न जिल्लाबाट राजधानी आउने मानिसहरु पनि एक कुनामा काम गरिरहेकै छन् । काम गर्ने जाँगरलाई उमेरले कुनै प्रवाह नगर्ने बताउँछन्- महोत्तरीका ६९ वर्षीय चन्धेश्वर पाण्डे ।

जेठ महिनाको चर्को घाम । स्वयम्भू स्तुपा जाने पूर्वी भर्‍याङको सिढीको एक छेउमा कपडामा सियो र धागोले चित्र कोर्दै बसिरहेका थिए उनी ।

सानो ठाउँलाई व्यापारिक केन्द्र बनाएका उनले बस्ने ठाउँ वरिपरी हातले बुनेका सजावटका सामानहरु राखेका थिए ।

झट्ट हेर्दा आहा ! नभन्ने कोही थिएनन् । अझ पर्यटकहरु आवतजावत गर्ने त्यो सिढीमा आन्तरिक र बाह्य पर्यटकहरुमा त्यसप्रतिको आकर्षण उस्तै देखिन्थ्यो । पर्यटकहरु अचम्म मान्दै भन्दै थिए ‘वाउ हाउ स्वीट’।

व्यापार नभएपनि हेर्नेले राम्रो भनिदिँदा आफैँमा खुसी देखिन्थे चन्धेश्वर । सजावटका चित्र कोर्नुमा आफैँमा आन्नदको काम रहेको बताउँछन् पनि ।

सिँढीबाट मानिसहरु उकालो चढेपछि व्यापार गर्ने मिठो शैलीमा उनी ग्राहकलाई बोलाउँछन् पनि । पर्यटकसँग बोल्नका लागि उनी अंग्रेजी भाषामै पनि राम्रै गफ गर्न सक्छन् ।

चन्धेश्वरले झन्डा, हात्ती, गाई, लालीगुरास, सुगा, टेबल, टिभी दराज, कलशमा सजाउन राखिने कपडामा पनि राम्राराम्रा चित्र विभिन्न प्रकारका फुलहरु, भगवानको मूर्ति लगायत आकर्षक चित्र कोरेर राखेका थिए भने कोर्दै पनि थिए । उनले आफुले कोरेका चित्रहरु १ हजारदेखि ४० हजारसम्ममा बिक्री गर्छन् ।

‘इन्डियाको बैंकलोरबाट डोली, कोहीनूर, यङकर, रङगोली नामका धागोहरु मगाउँछु’ उनले भने । एउटा चित्र कोर्नका लागि १५० रुपैयाँको धागो लाग्ने उनी बताउँछन् ।

धागोलाई खर्च कम लागेपनि आफ्नो समय बढि खर्च हुने बताउँदै भन्छन्, ‘र्‍याकमा राख्ने पर्दा आकारका कपडामा चित्र कोर्न एक महिनासम्म लाग्छ, बढो मेहनतले बुट्टा भरेपछि मात्र सजाउन लायक हुन्छ’।

अर्डर आएसम्म उनी टिसर्ट तथा अन्य कपडामा पनि बुट्टा भर्ने गर्छन् । साथै आएर सिक्न चाहनेलाई सजिलैसँग सिकाउँछन् पनि ।

सीप र मेहनत

चन्धेश्वरको स्थायी घर जनकपुरको महोत्तरीमा छ । उनले सामान्य लेखपढ गर्ने अवसरसम्म पाएनन् । ‘त्यो समय लेखपढ गर्नका लागि त्यस्तो पुहँच कहाँ थियो र’ उनले सुनाए ।

विगतका दिन सम्झन थालेँ ‘गाउँघरमा विद्यालय खासै थिएनन् फेरि पढ्दा भन्दा पनि खेतवारीको काम गर्‍यो भने बाआमा खुसी हुन्थेँ’‘बाआमालाई खुसी हुने काम गरिन्थ्यो’ त्यसैले लेखपढ गरिएन ।

तराइका विभिन्न जिल्लाहरुमा सानै उमेरमा बिहे गर्ने प्रचलन अझैसम्म सुनिन्छ र देखिन्छ पनि । अझ उनी ००७ साल सालमा जन्मेका व्यक्ति थिए । १२ वर्षको उमेरमा वैवाहिक सम्बन्धमा बाधिए उनी ।

उनकी श्रीमती इन्डियाकी थिइन् । बिहेको केही समयपश्चात चन्धेश्वरी श्रीमतीको साथमा ससुराली गएका थिए ।

कुराकानीका क्रममा उनी फुरुङ्ग देखिन्थे । सायद विगतको समझना उनको दिमागमा ताजा भएर होला । अचम्म मान्दै सुनाउँछन्, ‘श्रीमतीसँग ससुराली गएको थिएँ, ससुराबाले ज्वाँइ साब ! केही सीप सिक्नुपर्छ, छारीलाइ पाल्नु परेन भन्दै कपडामा धागो र सियोको प्रयोग गर्दै चित्र कोर्दै देखाउन थाले ।’

‘ससुराबाले त्यही व्यवसाय थालेको निकै भइसकेको रहेछ’ ‘कसरी गर्ने कस्तो आम्दानी गर्न सकिन्छ भन्ने कुराको राम्रो ज्ञान दिएका थिए’ उनले भने ।

उमेरले बालक नै थिए उनी । ‘सानो उमेरमा दिमाग पनि तेजिलो हुन्छ रे मलाई पनि त्यस्तै भयो, १ घण्टा हेरेकै भरमा राम्रो चित्र कोर्न थाले’ गर्व गर्दै भने ।

‘ससुराबालाई धन्यवाद दिएँ र गाउँ फर्किए, त्यसपछि महोत्तरी बस्न मन लागेन’ अब यही सीपले पैँसा कमाउँछु मनमनै सोच्न थालेँ’उनले थपेँ ।

जब काठमाडौं आए

कुरा हो, आजभन्दा ५५ सालअघिको । चन्धेश्वर उमेरले १४ वर्षका थिए । गाउँमा खेतिपाती गर्नुभन्दा काठमाडौं गएर केही गर्छु भन्ने सोचले उनी राजधानी प्रवेश गरे ।

उनलाई राजधानी प्रवेश गरेका शुरुका दिनमा कुनै अप्ठयारो महशुस भएन । किनकी उनले ससुराबाट सीप सिकेर आएका थिए । तर कहाँ बस्ने भन्ने कुराको चिन्ता थियो ।

उनी भन्छन्, ‘यति ठुलो सहरमा कहाँ बस्ने’ ‘कसरी काम सुरु गर्ने भन्ने खुल्दुली हुन्थ्यो’ । केही समयमै उनले स्वयम्भूस्थित एउटा कोठा भाडामा लिए ।

स्यम्भू बस्न थालेपछि उनी एक दिन घुम्दैफिर्दै ‘स्वयम्भू स्तुपा’ पुगेका थिए । त्यससमय बाटोमा बसेर व्यापार गर्नेहरुको दृश्य अवलोकन गरे उनले । त्यो देखेपछि उनलाई बाटोमै भएपनि व्यापार गर्छु भन्ने मनोवल उत्पन्न भयो ।

‘व्यापार त गर्ने तर लेखपढ छैन’ ‘व्यापार गर्न थालेपछि धेर-थोर हिसाव पनि त गर्नुपर्ला के गर्ने मनमा कौतुहल्ता जाग्थ्यो’ उनी सुनाउँछन् ।

तर इच्छाशक्ति र जाँगरलाई कसले रोक्न सक्थ्यो र उनले व्यापार सुरु गरे । ‘जस्तो परिस्थिती आउँछ, सामना गर्न सक्छु भनेर सुरु गरेँ’ उनले भने ।

‘शुरुशुरुमा सियोले हात खोप्थ्यो, घाउँ हुन्थ्यो, निरन्तर कपडामा हेरिरहँदा आँखा पोल्थ्यो काम गर्न सजिलो त के हुन्छ र’ उनी थप्छन् । तर मेहनत र लगाव गर्न सकेमा यो एउटा आम्दानीको राम्रो स्रोत रहेको बताउँछन् ।

अहिले उनी आफैँ अचम्म मान्छन् स्यम्भूले आफुलाई अंग्रेजी पनि बोल्न सिकायो भनेर । ‘पर्यटकहरु आउने भएपछि अंग्रेजी बोल्न पनि जान्नु पर्‍यो नि’ ‘परिस्थिती अनुसार चल्न सकेँ’ हास्दैँ उनले भने ।

सुरुवाती दिनमा नै व्यापार राम्रै हुन थाल्यो । पैँसा कमाउन आएका चन्धेश्वर राम्रै आम्दानी हुन थालेपछि अझ मेहनत गर्न थाले । समयसमयमा घर पनि जान्थे उनी ।

केही समयमै उनले गाउँबाट श्रीमतीलाई पनि आफुसँगै ल्याएर राखे पनि । उनी ४ छोराका बाबु बने । काठमाडौंको राम्रै स्कुलमा छोराहरुलाई पढाए ।

बाबुले गरेको परिश्रम देखेर होला उनका छोराहरु पनि निकै मेहनती रहेको उनको भनाइ छ ।

चन्धेश्वर भन्छन्, ‘२ छोराहरु स्वयम्भू आसपासमै व्यापार गर्छन्, एउटा छोरा पोखराको फेवातालमा ट्याटु खोपेरै पैँसा कमाउँछ, ‘अर्को छोरा महोत्तरीमा खेतवारीको काम गर्छ’।

श्रीमतीको मृत्यु

दुई छोरा, बुहारी र श्रीमतीको साथमा बस्ने चन्धेश्वर अहिले आफुलाई एक्लो महशुुस गर्छन् । ‘नाकाबन्दीको बेला देवी जस्ती श्रीमतीलाई गुमाएँ’ दुख मान्दै उनले सुनाए ।

श्रीमतीलाइ के रोग लाग्यो भन्ने थाहासम्म पाएनन् उनले । ‘नेपालमा यति ठूला अस्पताल छन् तर राम्रा डाक्टर छैनन्, ‘साढे ३८ लाख रकम श्रीमतीको उपचारमा सकियो’ उनले भने ।

‘महोत्तरीको साढे २ विद्या जग्गा बेचेँ, जम्मा गरेको सम्पत्ती पनि सकेँ अन्तिममा श्रीमती नि छैन, सम्पत्ति पनि उनले दुःख व्यक्त गरे । ‘मर्नु त आखिर छ नै रोएर कराएर पनि के नै हुन्छ र मनलाई सम्हालेको छु’ अडिग हुँदै चन्धेश्वरले भने ।

अझै जाँगर छ, काम गर्छु

चन्धेश्वरले ५७ वर्ष भइसक्यो स्यम्भू क्षेत्रमा यसरी व्यापार गर्न थालेको । उमेरलाई ६९ वर्ष भएपनि हेर्दा भर्खरकै देखिन्छ उनलाई । सकुन्जेल यही काम गरेर खाने बताउँदै उनी भन्छन्, ‘भारी बोक्न, हलो जोत्न भन्दा निकै सजिलो लाग्छ’ । अझै ८/१० वर्ष त गर्न सक्छु’ उनी हास्दैँ भन्छन् । ‘विगतका दिनमा भन्दा व्यापार कम हुन्छ, त्यै पनि जीवन धानेकै छु यसमै सन्तुष्ट छु’ अन्तमा उनले भने ।

प्रकाशित मिति : ४ जेठ २०७६, शनिबार  ९ : २१ बजे

आज २०७९ साल साउन २८ गते शनिबारको राशिफल

काठमाडौँ – आज २०७९ साल साउन २८ गते शनिबार। ज्योतिष

३३ वर्षपछि जोरसाल हाट सञ्चालनमा

पाँचथर- फिदिम नगरपालिका–४ जोरसाल बजारमा ३३ वर्षपछि औँसीपूर्णिमा हाटबजार सञ्चालनमा

प्रसिद्ध लेखक रुस्दीमाथि सांघातिक आक्रमण

काठमाडौँ– विश्वप्रसिद्ध लेखक सलमान रुस्दीमाथि सांघातिक आक्रमण भएको छ ।

इन्डोनेसियामा भ्रष्टाचार गरेको अभियोगमा ३४ जना पक्राउ

काठमाडौँ– इन्डोनेसियाको भ्रष्टाचार नियन्त्रणसम्बन्धी निकाय (केपीके) ले कम्तीमा ३४ जनालाई

एक महिनादेखि फोहोर नउठ्दा दुर्गन्धित बन्यो विर्तामोड

झापा- विर्तामोड नगरपालिकाले एक महिनादेखि फोहरमैला उठाउन नसक्दा सार्वजनिकस्थल दुर्गन्धित