नेपालको ‘नानो स्याटेलाइट’, जापानमा विद्यार्थीले गरेको ‘प्राक्टिकल’ ! « Khabarhub
Logo
२ कार्तिक २०७८, मंगलबार

नेपालको ‘नानो स्याटेलाइट’, जापानमा विद्यार्थीले गरेको ‘प्राक्टिकल’ !



काठमाडौं– बिहीवार विहान २ बजेर ३१ मिनेटको समयमा अमेरिकाको भर्जिनिया राज्यमा रहेको वालोप्स फ्लाइट फेसिलिटीबाट नेपालको पहिलो ‘नानो स्याटेलाइट’ अर्थात् फुच्चे भू–उपग्रह बोकेको अन्तरिक्ष यान अन्तरिक्षतर्फ प्रक्षेपण भएको छ ।

जापानको क्युसु इन्स्टिच्युट अफ टेक्नोलोजी (क्युटेक) को बड्र्स परियोजनाअन्तर्गत निर्माण भएको नेपालीस्याट १ नामक फुच्चे भू उपग्रहको खर्च भने नेपाल सरकारले व्यहोरेको छ ।

नथ्र्रोप ग्रुमान सिग्नस १ नामक मालवाहक अन्तरिक्ष यानबाट अन्तरिक्षमा प्रक्षेपण गरिएको अन्तरिक्ष यानमा बड्स परियोजना अन्तर्गत नेपालको नेपालीस्याटसहित जापानको युगुई र श्रीलंकाको रावण १ नामक फुच्चे भू उपग्रह पनि सँगै थिए । यससँगै नेपाल पनि अन्तरिक्षमा भूउपग्रह हुने मुलुकको सूचीमा गनिएको छ ।

बड्र्स परियोजनाले सार्वजनिक गरेको नेपालीस्याट १ को तस्बीर हेर्दा त्यहाँ नेपालको चन्द्रसूर्य अंकित झण्डा देखिन्छ । केबल १० सेन्टिमिटर लामो, १० सेन्टिमिटर चौडा र १० सेन्टिमिटर उचाइ र १.३३ किलोग्राम अर्थात् वैज्ञानिक एकाईमा १ ‘यू’को नानो भू उपग्रह नेपालीस्याट १ केही समय अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा रहने र त्यसपछि अन्तरिक्षमा छाडिनेछ ।

यसअनुसार नेपालीस्याट १ ले पृथ्वीको सतहबाट ४ सय किलोमिटर माथि अन्तरिक्षको तल्लो तहबाट पृथ्वीको फन्को मार्नेछ । यसले पृथ्वीको फन्को मार्ने क्रममा हरेक दिन नेपालको आकाशमा केही मिनेट रहने र यसले नेपालको डेटा संकलन गरेर पृथ्वीतर्फ पठाउने दाबी गरिएको छ ।

प्रचार धेरै ?

भू उपग्रह प्रक्षेपण भएसँगै प्रधानमन्त्री केपी शर्मा ओली, सञ्चारमन्त्री गोकुल बास्कोटा, राष्ट्रपति उपराष्ट्रपति लगायतका उच्च पदस्थ व्यक्तिहरुले गौरवका साथ नेपाल अन्तरिक्ष युगमा प्रवेश गरेको समेत घोषणा गरिसकेका छन् । तर, अन्तरिक्षमा एक नानो स्याटेलाइट पठाएरमात्र नेपाल अन्तरिक्षको युगमा प्रवेश गर्यो भन्नु अपरिपक्वता हुने यस वियषका जानकारहरु बताउँछन् ।

नेपालले अन्तरिक्षमा भू उपग्रह त पठाएको छ तर, त्यो भू उपग्रहले पठाएको डेटा रिसिभ गर्नका लागि नेपालमै डेटा रिसिभर र डेटा एनालाइसिसका लागि ग्राउण्ड स्टेशनको भने अभाव छ । यसको अभावमा अन्तरिक्षमा नानो स्याटेलाइट नै भएपनि त्यसले दिने लाभबाट भने बन्चित हुनेमा आशंका छैन । यसकारण भू उपग्रह प्रक्षेपण गरेपनि ‘अन्तरिक्षमा भू उपग्रह रहेका मुलुकहरुको सूची’ मा नेपालको नाम राख्नुसिवाय केही उपलब्धी नहुने र नानो स्याटालाइटका विषयमा चर्चा धेरै गरिएको केहीको मत रहेको छ ।

डा. उत्तमबाबु श्रेष्ठले नानो स्याटेलाइटलाई परम्परागत स्याटेलाइटको रुपमा प्रचार गर्न नुहुने तर्क गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘ खुशीको कुरा नेपालको नानो स्याटेलाइट अन्तरिक्षमा लग्न लागिएको छ । तर यसलाइ परम्परागत रूपमा बुझिने स्याटेलाइट भनेर प्रचार गर्नु ‘डुंगा चलाएको कुरालाई पानी जहाज भनेर प्रचार गर्नु’ जस्तै हो । यस्ता नानो स्याटेलाइट अहिले विश्वविद्यालयको पनि हुन्छ है।अलि हल्ला कम गर्ने कि ?’

आखिर के हो नानोस्याटेलाइट ?

अमेरिकाको अन्तरिक्षसम्बन्धी निकाय नासाको परिभाषा अनुसार १ किलोग्रामदेखि १० किलोग्राम सम्मका स्याटेलाइटहरु नानो स्याटेलाइट हुन् । अन्तरिक्षसम्बन्धी वेब पोर्टल एलन डट स्पेसका अनुसार नानो स्याटेलाइट धेरै सस्ता, थोरै आयतनका तथा छोटो आयुका हुने गर्छन् ।

सामान्यतः नानो स्याटेलाइटहरु १० सेन्टिमिटर लामो १० सेन्टिमिटर चौडा र १० सेन्टिमिटर उचाई तथा १.३३ किलोग्राम वजन अर्थात् वैज्ञानिक एकाईमा १ ‘यू’ को हुने भएपनि पछिल्ला समयमा १.५ यू, २ यू, ३ यू देखि १२ यू सम्मको हुने बताइन्छ । त्यसबाहेक अन्य शैलीका नानो स्याटेलाइटहरु पनि अन्तरिक्षतर्फ प्रक्षेपण गरिँदै आएका छन् । नानो स्याटेलाइटहरु खासगरी पृथ्वीको सतहबाट ४ सय किलोमिटरको उचाईमा अन्तरिक्षको तल्लो तहमा रहने एलन डट स्पेसले जनाएको छ ।

नानो स्याटेलाइटहरु विश्वविद्यालयका विद्यार्थीहरुले आफ्नो वैज्ञानिक अध्ययन अनुसन्धानका लागि पनि निर्माण गर्ने गर्छन् । नेपालीस्याट १ नै पनि जापानको क्युटेकका विद्यार्थीहरुले बनाएका हुन् । नेपालीसहित  ८ जनाको समूहमा रहेका विद्यार्थीले नेपालको सहित जापानर र श्रीलंकाको नानो स्याटलाइट बनाएका छन् ।

बढीमा १० किलोग्रामसम्म वजनको रहने नानो स्याटेलाइट र केही टनभन्दा बढी वजनको रहने ठूला स्याटेलाइटबीचको अन्तर स्पष्टै देखिन्छ । पृथ्वीबाट पहिलोपटक अन्तरिक्षतर्फ प्रक्षेपण गरिएको भू उपग्रह सन् १९५७ मा तत्कालिन सोभियत संघको स्पुत्निक १ को वजन ८० किलोग्रामको रहेको थियो । दोश्रो स्पुत्निकको वजन भने ५ सय किलोग्राम थियो । हाल अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रको वजनमात्रै ४ लाख २० हजार किलोग्रामको रहेको बताइन्छ ।

त्यसबाहेक नानो स्याटेलाइट बनाउन औषतमा ८ महिनाको समय लाग्ने बताइन्छ । ठूला स्याटेलाइट बनाउन दशौं वर्षसम्म लाग्न सक्छ । त्यसबाहेक नानो स्याटेलाइटको आयु केही वर्षसम्म हुने गर्छ भने ठूलो आकारको स्याटेलाइटलाई सही स्थानबाट पृथ्वीको फन्को मार्नका लागि मात्रै पनि ५ देखि १० वर्षको समय लाग्ने बताइन्छ । हाल अन्तरिक्षमा नानो स्याटेलाइट, स्याटेलाइट, अन्तरिक्ष यानका भग्नावशेष, प्रोबहरु गरी ८ हजारभन्दा धेरै मानवनिर्मित वस्तुहरु रहेको बताइन्छ ।


भर्खर

0