ट्याक्सीको नयाँ मापदण्डले हट्ला सिन्डिकेट ? | Khabarhub Khabarhub

ट्याक्सीको नयाँ मापदण्डले हट्ला सिन्डिकेट ?



काठमाडौं– वि.स. २०२९ सालबाट सार्वजनिक यातायातको रुपमा टयाक्सी सञ्चालनमा आएको पाइन्छ ।

जुनबेला सार्वजनिक सवारी साधनका रुपमा ट्याक्सी सेवाको सुरुवात भएको थियो । त्यस समयबाटै यात्रुलाई सहज बनाउनका लागि विस्तारै उपत्यकाका सडकमा ट्याक्सी गुड्न थालेका थिए । आन्तरिक भन्दा पनि बाह्य पर्यटकले लागि भरपर्दो माध्यमका रुपमा ट्याक्सीलाई लिदै आएको पाइन्छ ।

०४८ सालमा सरकारले ८ सय सीसी इन्जिन क्षमताका कारलाई ट्याक्सीका रुपमा दर्ता गर्ने दिने निर्णय गरेको थियो । सो समयमा मारुतीका ८ सय सीसी क्षमताका ट्याक्सीहरु बजारमा उपलब्ध थिए । सोही मापदण्डमा करिब १९ वर्षसम्म टयाक्सी सञ्चालन गर्न दियो ।

नेपालमा ट्याक्सी सञ्चालन भएको ४७ वर्ष भएको छ । योअवधिमा टोयोटा कोरोला र मारुती अल्टो ट्याक्सी भएको युगलाई अहिलेको नयाँ ट्याक्सी मापदण्डले अन्त्य गरेको छ ।

अझैपनि काठमाडौंका सडकमा जताततै मारुती अल्टोका गाडीहरु देख्न सकिन्छ । यसलाई हेर्दा धेरै वर्ष अघिदेखि मारुतीका ट्याक्सीले यात्रुलाई सेवा दिदै आएको पाइन्छ ।

वि.स. २०५७ जेठदेखि सरकारले बाग्मती अञ्चलमा नयाँ ट्याक्सी दर्ता बन्द गरेको थियो । त्यतिबेला बाग्मतीमा मारुती ८ सय सीसीका साढे सात हजार ट्याक्सी दर्ता भएका थिए ।

त्यस्तै सरकारले २०७२ सालमा ट्याक्सीको पुरानो मापदण्डलाई केही संशोधन गरेर नयाँ ट्याक्सी दर्ता खुलाएको थियो । पुरानो मापदण्डमा ८ सय ससीसीम्मका कारलाई मात्र ट्याक्सीका रुपमा दर्ता गरिने व्यवस्था रहेकामा संशोधन गरेर ८ सय वा सोभन्दा माथि भन्ने प्रावधान रहेको थियो । तर त्यस प्रावधानमा यति नै भनेर निश्चित गरेको भने थिएन ।

त्यसपछि भने हुन्डाई, टाटा तथा टोयोटा ब्रान्डले समेत ट्याक्सीका रुपमा सेवा दिन पाउने भए । त्यससँगै सरकारले २०७२ सालमा गरिएको संशोधनले मारुती सुजुकीका ३ हजार ३ सय ५० नयाँ ट्याक्सी थपिए ।

सरकारले लामो समयपछि फेरि ट्याक्सीमा नयाँ मापदण्ड ल्याएको छ । जसअनुसार अब १२ सय सीसीका ट्याक्सी मात्र दर्ता हुने यातायात व्यवस्था विभागले जनाएको छ ।

यो मापदण्डले २० वर्ष पुराना ट्याक्सीलाई विस्थापित गर्ने मात्र नभइ पर्यटन वर्षलाई समेत राहत पुग्ने विभागको अपेक्षा छ ।

यस्तो छ नयाँ मापदण्ड

सरकारले जारी गरेको ट्याक्सीको नयाँ मापदण्ड कार्यान्वयनमा आएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भदौ ३० गतेको सहमति र विभागको मंसिर २ गतेको निर्णय भई कायम भएको मिटर जति जडित ट्याक्सीको नयाँ मापदण्ड कार्यान्वयनका लागि पठाएको विभागको पत्रमा उल्लेख छ ।

नयाँ मापदण्डअनुसार अब ८ सय सीसीका ट्याक्सीहरु प्रतिबन्धित हुनेछन् भने १२ सय सीसीका ट्याक्सीहरु भित्रिने विभागका महानिर्देशक गोगनबहादुर हमालले खबरहबलाई जानकारी दिए ।

हमालकाअनुसार अब पेट्रोल र बिजुलीबाट पनि सञ्चालन हुने ट्याक्सी चल्ने भएका छन् ।

सरकारको लक्ष्यअनुसार २० वर्ष पुराना सवारीसाधनलाई सञ्चालनमा प्रतिबन्ध लगाइने मापदण्ड ट्याक्सीमा पनि लागू भएका हमालले बताए ।

‘अहिले जति पनि ट्याक्सीहरु चलिरहेका छन् ती ट्याक्सी २० वर्षको अवधिसम्म गुड्न पाउँछन्’ उनले भने ‘अब नयाँ आउने ट्याक्सी चाँहि १२ सय सीसीकै हुनुपर्छ ।’

सरकारले ल्याएको मापदण्डअनुसार १२ सय सीसीका ट्याक्सी सञ्चालनमा भएपछि ८ सय सीसीका ट्याक्सीका नम्बर प्लेट सिधै खोसिन्छन् कि भन्ने प्रश्नमा हमाल भन्छन्, ‘जति पनि सञ्चालनमा छन् २० वर्ष पुगिसकेका छन् भने नम्बर प्लेट स्वत् खोसिन्छ नै अन्य ट्याक्सीहरु समयावधिसम्म चल्छन् ।’

हमालकाअनुसार विभागमा अब १२ सय सीसीका सेडानका कारमात्रै दर्ता गर्न पाइने भएको छ ।

‘१२ सय सीसीका ट्याक्सी भित्र्नसाथ मुल्य बढ्ला त्यसले व्यवसायी र अपभोक्क्ता झनै मारमा पर्लान नि ?’ भन्ने प्रश्नमा हमाल भन्छन्, ‘सेवासुविधा र सुरक्षित यात्रा चाहनेले पैसा बढि तिर्न किन सक्दैन ।’

‘पैसा कम तिर्छु भन्नेले पुरानै ट्याक्सीमा यात्रा गर्न पनि सक्छन् नि’ खबरहबसँग उनले भने ‘पुराना ट्याक्सी पनि तत्काल त सबै विस्थापित भइहाल्दैनन नि ।’

हट्ला त सिन्डिकेट ?

यो मापदण्ड लागू भएसँगै ट्याक्सीमा हाल सरकारले नै कायम गरेको ‘सिन्डिकेट’ हट्ला त ? यो प्रश्नमा धेरैको रहेको छ । यसमा सरकार नीतिगत रुपमा नै अघि बढ्नु जरुरी देखिन्छ ।

नयाँ ट्याक्सी दर्ता खुला गर्नका लागि मन्त्रिपरिषद्ले नै निर्णय गर्नुपर्छ । अहिले सरकारले कुनै पनि अञ्चलमा नयाँ ट्याक्सीको दर्ता दिएको छैन ।

यसले ट्याक्सी सेवामा नयाँलाई रोक लगाएको त देखिन्छ नै । अझ बजारमा भएका ट्याक्सीहरुको एकाधिकारसँगै विकृति बढेको देखिन्छ ।

ट्याक्सी सम्बन्धि मापदण्डअनुसार एउटा ट्याक्सी २० वर्ष चलाएपछि पुनः सोही नम्बर प्लेटमा अर्को किनेर चलाउने अनुमति दिएको छ । नयाँ नम्बरको ट्याक्सी चलाउन पाइदैन । एउटा ट्याक्सीको नम्बर प्लेटका लागि मात्र झण्डै १० लाख तिर्नुपर्ने बाध्यता छ ।

के भन्छन् ट्याक्सी व्यवसायीहरु ?

ट्याक्सीको नयाँ मापदण्डले व्यवसायीहरु मारमा पर्ने नेपाल मिटर ट्याक्सी सेवाका हरिकृष्ण बस्नेतले खबरहबलाई बताए ।

मापदण्डअनुसार पुराना ट्याक्सी विस्थापित हुँदा व्यवसायीलाई सकस पर्ने बताउँदै उनी भन्छन्, ‘सेडानका नयाँ ट्याक्सी किन्न लागत धेरै लाग्छ यता पुराना ट्याक्सी चलाउन पनि पाइदैन, निकै गाह्रो पर्छ व्यवसायीलाई ।’

१२ सय सीसीका ट्याक्सी खरिद गर्दा खरिद दर महंगो पर्ने, इन्धन धेरै जाने र भाडादरपनि महँगो हुने भएकाले सर्वसाधरण र न्यून आय भएका व्यक्तिले ट्याक्सी खरिद गरेर सञ्चालन गर्न नसक्ने बस्नेतको भनाई छ ।

‘सेडानका ट्याक्सी र मारुतीको ट्याक्सीमा ठूलो अन्तर छ’ खबरहबसँगको कुराकानीमा उनले भने, ‘नयाँ ट्याक्सीलाई ३० लाखभन्दा माथि पर्छ पुरानालाई १८ देखि २० लाखमै पाउन सकिन्छ ।’

यो मापदण्डले व्यवसायीहरुलाई चित्त नबुझेको उनको गुनासो छ ।

१२ सय सीसीका ट्याक्सी सञ्चालन मापदण्ड ल्याएर उक्त सेडानका विषय हटाउनुपर्ने र सबै कम्पनीका ट्याक्सी सञ्चालनमा ल्याउन सक्नेगरी मापदण्ड ल्याउनुपर्ने ट्याक्सी व्यवसायीहरु बताउँछन् ।

नयाँ ट्याक्सीमा थप सुविधा

यसअघि सञ्चालनमा आइरहेका ट्याक्सीमा सेवाग्राहीले बाध्यताले यात्रा गर्नुपरेको अवस्था रहेको विभागले जनाएको छ ।

गर्मी र चिसोका समयमा सेवाग्राहीका लागि एसी थिएन । ट्याक्सी चढेर भाडा दिने बेला खल्तीमा पैसा नभएमा एटीएम जानुपर्ने बाध्यतात्मक परिस्थिति रहेको थियो । तर त्यो बाध्यतालाई नयाँ मापदण्डले हल गर्ने भएको छ ।

सेवाग्राहीले अनालाइन पेमेन्ट गर्न सकिने व्यवस्था आउने भएको छ ।

पेट्रोलबाट सञ्चालित ट्याक्सीका सन्दर्भमा फोर स्ट्रोक सेडान कार, कम्तीमा १२ सय सीसी (माइनस) १ प्रतिशत वा सोभन्दा बढी, कम्तीमा ३ सिलिन्टर वा सोभन्दा बढी पेट्रोल र सेन्ट्रल लकिङ, एसी र हिटर, प्रिन्टर सहित डिजिटल मिटर तथा एलइडीसहितको जिपिएस नेभिगेसनको व्यवस्था हुनुपर्ने यो मापदण्डमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २ पुस २०७६, बुधबार  १० : ३१ बजे

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख १५ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय