अस्पताल पुग्ने पैसा नहुँदा क्यान्सर पालेर साँढे दुई वर्ष घरमै « Khabarhub
Logo
११ माघ २०७७, आइतबार

अस्पताल पुग्ने पैसा नहुँदा क्यान्सर पालेर साँढे दुई वर्ष घरमै



काठमाडौं– मोरङको रंगेली नगरपालिकाकी ५१ वर्षीया मन्दिरा गुरुङले आफ्नो देव्रे स्तनमा साना–साना गाँठा पलाएको महशुस गरिन् । गुरुङले स्तनमा पलाएको गाँठालाई सामान्य समस्या होला भन्दै वास्ता गरिनन् ।

२०७३ सालको असार महिनामा उनको स्तनमा देखिएका स–साना गाठाँ विस्तारै बढ्दै गयो, उनले असहज महशुस् गरिन् । खेतीपातीको काम गरेर जीविका चलाउँदै आएकी गुरुङ खेतबारीको कामबाट फुर्सद मिलाएर फागुनमा घर नजिकैको एक मेडिकलमा जँचाउन गइन् ।

स्तनमा गाँठा पलाउन शुरु गरेको ८ महिनापछि मेडिकलमा पुगेकी गुरुङलाई मेडिकल व्यवसायीले एक महिनाको औषधि दिएर पठाए । मेडिकलले दिएको औषधिले उनको स्तनमा पलाएको गाँठा हराउँदै गयो ।

निको भयो भन्ने सोचेर गुरुङ ढुक्क भइन् र आफ्नै खेतीपातीको काममा लागिन् । औषधि खान छोडेकी गुरुङको स्तन केही महिनापछि फेरि सुन्नियो । स्तनमा फेरि समस्या देखिएपछि उनी पुनः पहिला औषधि किनेकै मेडिकलमा जँचाउन गइन् ।

तर यो पटक मेडिकलवालाले औषधि दिएन, कोशी अञ्चल अस्पताल गएर जँचाउनुस् भनेर पठाए । कोशी अञ्चल अस्पतालका चिकित्सकले गुरुङलाई स्तन क्यान्सरको लक्षण हुनसक्ने तर अस्पतालमा क्यान्सर परीक्षण गर्ने प्रविधि नभएको भन्दै विराटनगर पठायो । विराटनगरको विराट नर्सिङ होममा क्यान्सर परीक्षण गर्दा गुरुङलाई स्तन क्यान्सर भएको पुष्टि भयो ।

‘एक महिना मेडिकलको औषधि खाएँ, पहिला त ठिक भएको थियो फेरि बल्झियो, मेडिकलले कोशी अञ्चल अस्पताल पठायो,’ गुरुङले खबरहबसँग भनिन्, ‘त्यहाँ क्यान्सरको लक्षण छ, विराट नर्सिङहोम जानु भन्यो त्यहाँ जँचाउदा क्यान्सर एक स्टेजभन्दा माथि पुगिसकेको भन्यो ।’

उनी फेरि कोशी अञ्चल अस्पतालमा गइन् । उनलाई कोशी अञ्चल अस्पतालका चिकित्सकले चितवनको भरतपुर क्यान्सर अस्पतालमा उपचार हुने बताए । अस्पतालको सिफारिस लिएर गएमा अप्रेसन निशुल्क हुनसक्ने पनि जानरकारी दिए ।

कोदो बेचेको केही पैसा लिएर जँचाउन पुगेकी गुरुङसँग चितवनको क्यान्सर अस्पताल पुग्ने भाडासम्म बाँकी थिएन ।

‘डाक्टरहरुले क्यान्सर निको हुन्छ, सिफारिस लिएर भरतपुर जानु भन्नुभएको थियो तर अस्पतालमा त अप्रेसन मात्रै निशुल्क होला, त्यहासम्म कसरी पुग्ने ? औषधि कहाँबाट किन्ने ? कोदो बेचेको पैसा यहीँ सक्किएको थियो,’ गुरुङले रोग लिएर घरै फर्किएको दिन सम्झिइन्, ‘खर्च नै नभएपछि उपचारको आशा मारेर घरमै फर्किएँ ।’

क्यान्सरले देब्रे स्तनमा घाउँ बढ्दै गएपनि हिड्डुल गर्न र खेतीपातीको काम गर्न छाडिनन् उनले । गुरुङले स्तन क्यान्सर भएर पनि उपचार नगराइ बसेको गाउँमा सबैले थाहा पाएका थिए । रोग पालेर बस्नु हुँदैन भन्दै छिमेकीहरुले ५० हजार पैसा उठाएर गुरुङलाई धरानमा उपचार गर्न पठाए । छिमेकीको आर्थिक सहयोग पाएर धरान उपचार गर्न पुगेकी गुरुङ फेरि निरास बनिन् ।

‘छिमेकीहरुले ५० हजार उठाएर उपचार गर्न धरान पठाए, अस्पतालको नाम त थाहाँ छैन, त्यहाँ त एक महिनाको लागि औषधि किन्न नै ६५ हजार लाग्ने बताए, मसँग गाउँलेले जम्मा गरेर दिएको ५० हजार मात्रै थियो,’ गुरुङले भनिन्, ‘पैसा नपुगेपछि त्यहाबाट पनि यतिकै फर्किएँ ।’

गुरुङको स्तन क्यान्सर फैलिँदै गएको थियो । गाठाँमात्रै पठाएको उनको स्तनमा रातोरातो हुने र दुख्ने समस्या पनि थपियो । छरछिमेककै सल्लाहमा आयुर्वेदिक औषधि सस्तो पर्ने भन्दै गुरुङले महिनामा ५ हजारपर्ने क्यान्सरको आयुर्वेदिक औषधि खान थालिन् ।

‘आयुर्वेदिक औषधिले पनि ठिक हुन्छ,सस्तो पनि पर्छ भनेर ६ महिना आयुर्वेदिक औषधि खाएँ,औषधिले दुखाइ भनेपनि कम भएको थियो तर ६ महिनापछि त्यहि पाँचहजारको औषधि पनि किन्न सकिन ।,‘ गुरुङले पैसा नहुँदा औषधि खान छाडेको दिन सम्झिन्, ‘पैसाले धान्न नसकेपछि ४ महिनासम्म औषधि नै खाइन् ।’

आयुर्वेदिक औषधि खान छाडेपछि गुरुङको स्वास्थ्य अवस्था कमजोर बन्दै गयो । खेतबारीमा काम गर्न पनि नसक्ने अवस्थामा पुगेकि छन् । उनको देब्रे स्तनको पूरै भाग कालो भएर ठूलो घाउँ बनेको छ ।  ५१ वर्षीया गुरुङ तीन छोरी र तीन छोराकी आमा हुन् । जेठो छोरा बिहे गरेपछि सम्पर्कमा छैनन् । २३ वर्षीया माइला छोरा शारीरिक रुपमा अशक्त छन् ।

१० वर्ष अघि बिहे भएकी जेठी छोरीको ८ वर्षे छोरा पनि शारीरिक रुपमा अशक्त छन् । शारीरिक रुपमा अशक्त भएका छोरा र नाती दुवैलाई गुरुङले नै स्याहार गर्दै आएकी छन् । आफै रोग पालेर बसेकी गुरुङलाई आफ्नो रोगभन्दा पनि छोरा नातीको बढी चिन्ता छ ।

‘माइलो छोरा हिडडुल गर्न सक्दैन, दिशापिसाब पनि गराउनुपर्छ, सुत्न, उठ्न उसलाई मेरै साहारा चाहिन्छ,’ गुरुङले भनिन्, ‘म आफै थला पर्न लागेँ, मरिहाले भने, मेरो अशक्त छोरानातीको स्याहार कस्ले गर्लान् ?’

ढल्कँदै गएको उमेर र क्यान्सरले गाँज्दै गएकी उनी गल्दै गएकी छन् । तर रोग निको हुन्छ कि भन्ने आसा अझै बाँकी छ । कसैले आर्थिक सहयोग जुटाएर आफ्नो रोग निको पारिदिए हुन्थ्यो भन्ने आसा गुरुङमा छ ।

‘मेरो रोग निको भइदिए मेरा अपाङ्गता भएका छोरानातीको स्याहार हुन्थ्यो । म मरिहालेँ भने उनीहरुको के होला ?’

समयमै रोग पत्ता लगाउन सकेमा स्तन क्यान्सर पूर्ण रुपमा निको हुन्छ । सरकारले क्यान्सरका बिरामीलाई उपचारको पहुँचमा ल्याउन सरकारी उपचारमा सहुलियत समेत दिन्छ । तर अस्पताल पुग्ने खर्च समेत नहुँदा गुरुङ साढे दुईवर्षदेखि स्तन क्यान्सरलाई पालेर बसेकी छन् । गुरुङका पति योगेन्द्र गाउँघरमै खेतीपाती गर्छन् । पत्नि बिरामी परेपछि उनलाई घरखर्च चलाउन समेत मुस्लिक परेको छ ।


भर्खर

0