केटाले केटीलाई तानेरै लैजाने प्रथा, दाजुभाइको साझा दुलही बन्नुपरेको पीडा « Khabarhub
Logo
१२ आश्विन २०७८, मंगलबार

केटाले केटीलाई तानेरै लैजाने प्रथा, दाजुभाइको साझा दुलही बन्नुपरेको पीडा



काठमाडौं- ‘केही दिनअघिको घटना हो, राति साढे ९ जति बजेको थियो होला । बहिनी र म गफ गर्दै सुतिरहेका थियौं । एक्कासि कसैले ढोका ढक्ढक्यायो । हामी आत्तियौं । मैले डराई–डराई ‘को हो’ भनें । बाहिरबाट केटा मान्छेले ‘म हो, रक्सी खान आएको’ भन्यो । ‘हाम्रो त रक्सी बेच्ने घर होइन’, भनें । ‘माथिल्लो घरको दाइ हो क्या म, ढोका खोल्’ भन्यो ।

अनि मैले बिस्तारै ढोका खोलेर हेरेको मात्र थिएँ, क्य्राक गाउँको केटा रहेछ । घरभित्र छिर्‍यो र मेरी बहिनीलाई जबरजस्ती तानेर बाहिर लग्यो । बाहिर उसको गाउँका केटा टन्नै रहेछन् । त्यसपछि मैले आमा र भाइलाई बोलाएँ । हामीले यतातिर, उनीहरूले उतातिर, एकछिनसम्म बहिनीलाई तानातान भयो । भर्खरसम्म सँगै सुतिरहेकी बहिनीलाई उनीहरूले तानेर लगे । आमा र भाइ धेरै टाढासम्म पछिपछि गएर केके समझदारी गरेर बहिनीलाई छुटाएर ल्याए । अहिले बहिनी भागेर काठमाडौं गएकी छ । उतै काम खोज्दै होली ।’

ह्यास ट्याग मीटु प्रयोग गर्ने दुनियाँलाई यो एकादेशको कथा जस्तो लाग्न सक्छ । तर, यो राजधानीबाट १४२ किलोमिटर पर गोरखाका ५० देखि ५५ कोस टाढा रहेका हिमाली गाउँको ताजा घटना रहेको अन्नपूर्ण पोस्टमा खबर छ । लामो समय लेबनान बसेर फर्केकी सोही ठाउँकी अर्की किशोरीलाई पनि केही समयअघि यसैगरी स्थानीय एक युवाले तानेर लगे । उनी उम्केर भाग्न सकिनन् । केही दिनसम्म घरभित्रै थुनिएर बस्नुपर्‍यो । अनि दाजुभाइको साझा दुलही भइन् । घरबाट भाग्ने मौका पाएपछि काठमाडौं गइन् । उतैबाट विदेश लागिन् ।

उनीहरूको मात्र पनि होइन, उत्तरी गोरखाका दुई दर्जन गाउँबस्तीका चेलीसँग यस्ता दर्दनाक कथाव्यथा छन् । चुमनुब्री गाउँपालिकाअन्तर्गत साबिकका बिही, प्रोक, ल्हो, सामागाउँ, सिर्दिबास क्षेत्रमा जबरजस्ती तानेर बिहे गर्ने परम्परा पुस्तौंदेखि कायम छ । चिनेको होस् वा नचिनेको होस्, मन परेको होस् वा नपरेको होस्, केटाले मन पराएपछि जबरजस्ती तानेर दुलही बनाउने चलन रहेको वडा नम्बर ४ का अध्यक्ष पेमाडुण्डुप लामा बताउँछन् । ‘यस्तो चलन बिहीमा अल्लि बढी छ । प्रोकमा पनि छ । अलिअलि त ल्हो, सामागाउँ र सिर्दिबासमा पनि छ’, उनले भने, ‘यो राम्रो चलन होइन, हटाउनुपर्छ ।’ यसबारे आफूले जनचेतना जगाउने उनको भनाइ छ ।

सचिवहरु सारिएका सारियै शीर्षकको समाचारमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा वर्ष दिनमा ६ सचिव परिवर्तन भए । मन्त्रालयको २३ करोड ५९ लाख ५८ हजार बेरुजु छ । यामकुमारी खतिवडाले डेढ महिना पनि सचिवको जिम्मेवारी निर्वाह गर्न पाइनन् । मन्त्रालयमा शंकरप्रसाद कोइराला, प्रेमकुमार राई, कृष्णप्रसाद देवकोटा, अनिलकुमार ठाकुर र चन्द्रकुमार घिमिरे सचिव जिम्मेवारीमा रहे ।

खानेपानी मन्त्रालयमा एक वर्षमा ५ सचिव आए । सचिव फेरिँदा बेरुजुको मात्रा बढिरह्यो । मन्त्रालयको बेरुजु ६ अर्ब ४ करोड ४० लाख छ । भीमप्रसाद उपाध्याय, कृष्णराज बीसी (दुई पटक) तथा गजेन्द्रकुमार ठाकुर दोहोरिएर मन्त्रालयको सचिव भए ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा वर्ष दिनमा ५ सचिव फेरिए । मन्त्रालयको बेरुजु ७ अर्ब १४ करोड २७ लाख छ । मन्त्रालयमा शान्तबहादुर श्रेष्ठ, सञ्जय शर्मा, मधुप्रसाद रेग्मी, गजेन्द्रकुमार ठाकुर र खगराज बराल सचिव भएर आए ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको अवस्था पनि उस्तै छ । मन्त्रालयमा पाँचजना सचिव परिवर्तन भए । मन्त्रालयको १ अर्ब २६ करोड २४ लाख ३३ हजार बेरुजु छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको बेरुजु अत्यधिक छ । महालेखाको प्रतिवेदनअनुसार मन्त्रालयको बेरुजु २ अर्ब ३२ करोड ७१ लाख ९५ हजार छ । मन्त्रालयमा वर्ष दिनमा कृष्णप्रसाद देवकोटा, सुरेश प्रधान, शम्भु कोइराला र गोपीनाथ मैनाली सचिव भए । यस्तै सुरोज पोखरेल, युवकध्वज जिसी दुईपटक सचिव भएर आए । विश्वनाथ ओली, प्रकाश माथेमाले पनि सचिवको जिम्मेवारी पाए ।

रक्षा मन्त्रालयले पनि वर्ष दिनमा तीनजना सचिव पायो । रक्षाको बेरुजु ११ अर्ब २३ करोड ७३ लाख ७७ हजार छ । श्रीधर सापकोटा, विनोद केसी, विष्णुप्रसाद लम्साल सचिव भएका थिए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमा एक वर्षमा तीन सचिव हेरफेर भए । शंकरप्रसाद अधिकारी, महेश्वर न्यौपाने, कृष्णप्रसाद देवकोटा मन्त्रालयमा बसे । पर्यटन मन्त्रालयको बेरुजु ३२ करोड ७३ लाख २९ हजार छ ।


भर्खर

0