फ्रान्सले नेपालमा लगानी गर्ने क्षेत्र : पर्यटन र जलवायु परिवर्तन | Khabarhub Khabarhub
Logo
१७ फाल्गुन २०७६, शनिबार

फ्रान्सले नेपालमा लगानी गर्ने क्षेत्र : पर्यटन र जलवायु परिवर्तन

नेपालको भूराजनीतिले आकर्षित फ्रान्स सम्बन्ध थप मजबुद बनाउन इच्छुक



फ्रान्सको युरोप तथा विदेश मामिला मन्त्रालयको एशिया तथा ओसिनिया विभागका निर्देशक थियरी म्याथ्यू, एसियामा कुटनीतिज्ञका रुपमा लामो समय बिताएका एक करिअर डिप्लोम्याट तथा स्कलर हुन् ।

हिमालयन स्टडिजमा विशेषज्ञता हासिल गरेका म्याथ्युले सन् १९८९मा अमेरिकास्थित फ्रान्सेली दुतावासबाट कुटनीतिक करिअर शुरु गरेका हुन् ।

प्रस्तुत छ, करिअरको सिलसिलामा १५ वर्षभन्दा बढी चीनमा बसेका, फिलिपिन्स, म्यानमार लगायतका देशमा पनि राजदुतको जिम्मेवारी सम्हालिसकेका म्याथ्युसँग खबरहबका लागि राघब शर्माले नेपाल फ्रान्स सम्बन्धका ७०औं बर्ष प्रवेशका अवसरमा गरिएका प्रतिवद्धता, लगायत नेपाल फ्रान्स सम्बन्धका विविध आयाममा केन्द्रित भएर लिएको अन्तर्वार्ताको सार संक्षेपः

नेपाल फ्रान्स दौत्य सम्बन्ध स्थापनाको ७० औं बर्षगाँठको अवसरमा ‘पहिलो द्विपक्षीय परामर्श संयन्त्र’को स्थापना भएको छ । यसको कार्यपद्धति र आगामी दिनमा पार्ने प्रभावका के हुन्छन् ?

सर्वप्रथम म मेरो यस पटकको नेपाल भ्रमणको सन्दर्भ नै यही स्थापना र कुटनीतिक सम्बन्धको ७०औं वर्षगाँठलाई लक्षित गरेर आयोजित कार्यक्रममा सहभागिताका लागि हो ।

सन् २०१९ अर्थात् चालु वर्षको शुरुवात दुई देशका परराष्ट्र मन्त्रालयका बीचका उच्चपदस्थ अधिकारीबीचको अनौपचारिक परामर्शबाट भएको थियो । सो कार्यलाई थप अगाडि बढाउन संस्कृति तथा संचारमन्त्रालयको नेतृत्वतहको भ्रमण समेत भयो । यस सन्दर्भमा सबभन्दा उल्लेख्य त प्रधानमन्त्री केपी शर्मा ओलीको जुनमा भएको ऐतिहासिक पेरिस भ्रमण रह्यो ।

यूरोप तथा परराष्ट्र मामिला मन्त्रालयको एसिया तथा ओसिनिया विभागको निर्देशकका हैसियतले म यस सम्झौता ज्ञापन पत्र (MOU)लाई अन्तिम रुप दिन र उक्त सम्झौता पत्र हस्ताक्षर समारोहमा सहभागि हुन आएको हुँ ।

मलाई गर्व छ, नेपाल र फ्रान्स बीचमा केही विवादका विषयहरु छैनन्, दुइ देशबीच अत्यन्त हार्दिक सम्बन्ध छ यद्यपि यो सम्बन्धमा थप नयाँपन दिन विद्यमान अस्थिपञ्जरमा केही अन्य तत्व जस्तै आर्थिक तत्व समावेश गरिनु आवश्यक हुन्छ, हाडको संरचनामा मासु र रक्तसंचारसम्बन्धी तत्व थपेजस्तै ।

अहिले स्थापना गरिएको परामर्श प्रक्रिया र संयन्त्रले हामीलाई राजनैतिक, बहुपक्षिय र आर्थिक विषयमा थप व्यवस्थित र नियमित रुपमा छलफल गर्न सघाउने छ ।

यसको साथ साथै फ्रान्स पक्ष भने निजी क्षेत्रसँग समेत यसक्षेत्रमा मिलेर कार्य गर्न इच्छुक छ । यसपटकको बसाइको क्रममा निजीक्षेत्रका प्रतिनिधिहरुसँगको भेटघाटमा समेत सम्बन्धलाई नयाँ उर्जा मिल्नेगरी अगाडि बढाउने अभिलाषा दुवैपक्षबाट प्रकट भएको छ ।

फ्रान्स नेपालको विकास निर्माण र अग्रगमनमा सधैं सँगै रहने छ । हाम्रो सुमधुर ऐतिहासिक सम्बन्धमा नयाँ कार्यक्रमहरु अझ खासगरी आर्थिक कार्यले थप आयामहरु थप्ने विश्वास लिएको छु ।

नेपाल सरकारले अहिले विदेशी लगानीका लागि नेपालमा उपयुक्त वातावरण भएको दाबी गरिरहेको छ । फ्रान्सले लगानी गर्ने क्षेत्र र चासो के के छन् ?

व्यापार र आर्थिक अन्तर्क्रियाका सम्बन्धमा कुरा गर्दा, हामीले थप कार्य गर्न सक्ने खास गरी दुइ महत्वपूर्ण क्षेत्र छन् । पर्यटन, र जलवायु परिवर्तन ।

यसमा पनि नेपालको प्राथमिकता पर्यटनमा रहेको देखिन्छ । पर्यटन क्षेत्रको विकास र सहकार्यका सन्दर्भमा हेर्दा नेपालले सन् २०२०लाई नेपाल भ्रमण वर्षको रुपमा अगाडि बढाएको छ ।

यो सहकार्य र सहयोगको राम्रो अवसर हो खाली फ्रान्सेली पर्यटकको संख्या बढाउने सन्दर्भमा मात्र होइन की नेपालको पर्यटन क्षेत्रलाई अगाडि बढाउन व्यापार र व्यवसायलाई पनि सँगै लैजाने सन्दर्भमा । फ्रान्सेली पर्यटकको संख्या त अहिले नै बढ्दो छ ।

मेरो विचारमा यहाँको पर्यटन उद्योगको विकासका लागि संख्याका अतिरिक्त गुणस्तरको अभिवृद्धि पनि महत्वपूर्ण हुन्छ । फ्रान्स विश्वको पहिलो पर्यटकीय गन्तव्य हो । हामीसँग पर्यटन सम्बद्ध सेवा, पूर्वाधार विकास, होटल उद्योग र पर्यटन सम्बद्ध प्रबिधिसँग सम्बन्धित अनुभव र एकखालको विज्ञता पनि छ। यो सहकार्य गर्न सकिने क्षेत्रको एउटा उदाहरण हो ।

नेपालको लागि अर्को महत्वपूर्ण क्षेत्र जलवायु परिवर्तन र वातावरण संरक्षण हो । आगामी वर्षको अप्रिलमा नेपालले सगरमाथा संवाद सम्मेलन नामको महत्वपूर्ण सम्मेलनको आयोजना गर्दैछ ।

मलाई लाग्छ, पहाडी देशमा मौसम परिवर्तन सम्बन्धी विषयमा सहकार्य गर्ने यो हाम्रो लागि उपयुक्त अवसर हो । जलवायु परिवर्तन क्षेत्रमा सहयोग हाम्रो राष्ट्रपति र हाम्रो सरकारको समेत प्राथमिकता हो ।

हामीले दुई पक्षीय तहमा सहकार्य गर्नका लागि केही अवसरहरु खोजि गरिरहेका छौं, खासगरी जल व्यवस्थापन, दिगो पर्यटन, वनसम्पदा, नयाँ उर्जाका क्षेत्रहरु अनि केवल कार क्षेत्रमा पनि ।

अझ भन्ने हो भने, विभिन्न किसिमका परियोजना मध्ये खास गरी काठमाडौं र उपत्यका बाहिर पनि केवलकार सम्बन्धी परियोजनामा समेत हामी काम गर्न सक्छौं । अँ, यी हुन्, हामीले नेपालमा काम गर्न सक्ने क्षेत्रहरु । यसका अतिरिक्त नेपाललाई स्याटेलाइट उपलब्ध गराउनेदेखि सुविधा विस्तारका कार्यहरु जस्तै पासपोर्ट लगायतकासरकारी कागजातहरुको मुद्रण जस्ता कार्यमा समेत हामी सहयोग गर्न सक्छौं ।

यी हुन् नेपालमा फ्रान्स संलग्न हुन सक्ने विविध र विस्तारित क्षेत्रहरु जहाँ फ्रान्स सरकारी मात्र नभइ निजी क्षेत्रसँग समेत सहकार्य गरेर अगाडि बढ्न सक्छ । हामी माथि उल्लेखित किसिमका क्षेत्रसँग सम्बन्धित सम्झौताहरुमा हस्ताक्षर गर्न उत्सुक छौं।

हामीले अहिले अगाडि सारेका परियोजनाहरु दीर्घकालसम्म द्विपक्षीय सम्बन्धहरु विस्तार र भविष्यका लगानीका अवसरहरु सिर्जना गर्ने माध्यम बनुन् ।

करिअर डिप्लोम्याटका रुपमा यो क्षेत्रमा तपाईंले लामो समय बिताउनुभयो । यहाँका ऐतिहासिक घटना र परिवेशलाई कसरी लिनुभएको छ ? बहुआयमिक विश्वमा नेपालको भूमिका कस्तो हुनुपर्छ ?

हो, म करिअर डिप्लोम्याटको रुपमा एसियामा लामो समय रहें । १५ वर्ष विभिन्न पदमा रहेर चीनमा । अनि राजदुतको हैसियतले म्यान्मार र फिलिपिन्समा पनि । म एसिया सम्बन्धी विषयमा साँच्चिकै रुची पनि राख्ने गर्दछु । यस सन्दर्भमा नेपाल पनि मेरो मनपर्ने देश र रुचीको विषय हो ।

म एउटा कुटनितिज्ञ र स्कलर हुँ । एउटा स्कलरको हैसियतले मैले हिमालयन स्टडिजमा विशेषज्ञता हासिल गरेको छु । यसैले, मेरो रुची यस क्षेत्रमा के हुँदैछ भन्नेमा थियो, खासगरी नेपालले भारत र चीनसँग अनि भुटान सँग पनि कसरी सम्बन्ध राख्छ भन्ने कुरामा ।

नेपाल विशिष्ट भुराजनीतिक तथा रणनीतिक भौगोलिक अवस्थिति भएको एवं दुई ठूला शक्ति राष्ट्रहरु भारत र चीनको बीचमा रहेको देश पनि हो । चीन र भारत दुवै विशेष महत्व राख्छन् नेपालका लागि । यो कारणले पनि फ्रान्स नेपालसँग थप मजबुत सम्बन्ध कायम राख्न इच्छुक छ ।

नेपाली जनताको मानवता, भ्रातृत्व, आतिथ्यता, परिश्रमी स्वभाव, इमान्दारिता, विनयशिलता जस्ता गुणहरुको बारेमा जानकारी गराउनु भएको थियो । नेपाल साँच्चिकै सुन्दर छ ।

नेपालमा पछिल्लो दशकमा र हालसालै आएका प्रजातान्त्रिक परिवर्तन र विकासक्रम पनि हाम्रो लागि महत्वपूर्ण छन् । केहीहद सम्म हामी समान प्रजातान्त्रिक आस्था र सिद्धान्तमा विश्वास राखेर बढिरहेका छौं ।

जस्तै स्वतन्त्रता, समानता र भ्रातृत्व हाम्रा आधारभूत मार्गदर्शन वा आदर्श हुन् ।यस्ता आदर्शले हामीलाई झन नजिक ल्याउने र घनिष्ठ बनाउने गर्छन् । फ्रान्स बहुपक्षियताको संरक्षणमा प्रतिवद्ध छ ।

मैले अघि पनि उल्लेख गरि सकें, हामी बीच सहकार्यका थुप्रै विषयहरु छन् । दक्षिण एसियामा नेपाल यस्ता विषयको नेतृत्वकर्ता नै हुन सक्छ, जस्तो की सगरमाथा सम्बाद सम्बन्धी दृष्टिकोणमा । जलवायु परिवर्तन सम्बन्धी मुद्दामा त नेपाल अगुवा बन्न सक्छ ।

फ्रान्सले पहिले टापु राष्ट्रमा केन्द्रित रहेर जलवायु सम्बन्धी मुद्दालाई हेर्ने गथ्र्यो, आफु पनि पहाडी मुलुक समेत भएकोले अहिले हामी पनि नेपालले उठाएको जलवायु मुद्दामा चासो राखेर अगाडि बढेका छौं । यो विषयमा सहकार्य गर्न इच्छुक छौं ।

यसका अतिरिक्त नेपालले संयुक्त राष्ट्रसंघ अन्तर्गत शान्ति स्थापनाका लागि अफ्रिका लगायतका स्थानमा खेलेको भूमिका प्रशंसनिय छ ।

अफ्रिकाका अधिकांश स्थानहरुमा फ्रेन्च बोलिने र त्यस सन्दर्भमा त्यहाँ खटिने मिसनका सदस्यलाई भाषागत सीप विकासमा सहयोग हाम्रो सहकार्यको अर्को क्षेत्र रहिरहेको छ । यसरी हेर्दा हाम्रा सहकार्यका क्षेत्र द्विपक्षीय र बहुपक्षीय छन् ।

दुईपक्षीय, एकपक्षीय हुँदै बहुपक्षीय विश्व परिघटनाको साक्षी बन्दै गर्दा अहिलेको विश्वमा ‘कट्टरपन्थी’ अथवा उनीहरुकै शब्दमा ‘राष्ट्रवादी शक्ति’हरुको उदयले प्रजातान्त्रिक आदर्श र सिद्धान्तहरु बिस्तारै ओझेलमा पर्दैछन् जस्तो लाग्दैन ?

पहिलो कुरा त हामी सबै बहुलता र विविधतालाई पृष्ठपोषण गर्ने कार्यमा जुट्नु पर्छ । भन्न खोजेको कुरा के भने एकतन्त्र, एकपक्षियता र संरक्षणबादले कसैलाई पनि फाइदा पुग्दैन, खासगरी एसियामा त एकात्मक आधिपत्यले कसैलाई पनि फाइदा गर्दैन ।

फ्रान्स तथा अन्य युरोपेली राष्ट्रहरुको एसियामा अपेक्षा गरिएको भूमिका र खेल्न चाहेको भूमिका पनि शक्तिहरु बीचको सन्तुलन र यस क्षेत्रमा भूराजनैतिक सन्तुलनमा टेवा पुर्‍याउने नै हो, हामी यस क्षेत्रमा भूराजनीकि सन्तुलन रहोस् भन्ने चाहन्छौं ।

दोस्रो, आतंकवाद र अतिवाद जस्ता प्रबृत्तिको विकासले मानव अधिकार र प्रजातन्त्र सीमान्तकृत हुँदै गइरहेको जस्तो देखिन्छ, तर, म के कुरामा जोड दिन चाहन्छु भने मानव अधिकार र प्रजातन्त्र पश्चिमी मान्यताहरु होइनन्, ती नेपाली मान्यताहरु पनि हुन्, अझ भन्नेहो भने विश्वव्यापी मान्यताहरु हुन् ।

स्वाभाविक रुपमा हाम्रा आफ्नै दृष्टिकोणहरु छन्, हाम्रो आफ्नै संस्कृती छ , नेपालका आफ्नै मान्यता र संस्कृतिहरु छन् तथापि प्रजातन्त्र, मानवता, विश्वबन्धुत्व विश्वव्यापि रुपमा स्थापित मान्यताहरु हुन् ।

यसकारण सबैजना राजनीतिमा अतिवादको विरुद्धमा एकताबद्ध भएर लाग्नु पर्छ । हामी आतंकवाद विरुद्धमा एकजुट भएर लाग्नु पर्छ । फ्रान्समा जस्तै नेपालमा पनि धर्म निरपेक्षता स्थापित भएको छ।

राज्य धर्मबाट अलग छ, यो महत्वपूर्ण परिघटना हो । पहिला यस्तो नभएको ठाँउमा यो परिवर्तन सामान्य लाग्न सक्छ, तर यो महत्वपूर्ण घटना हो । हामी फरक ऐतिहासिक र सांस्कृतिक पृष्ठभूमीबाट आएका भए विश्वव्यापी मान्यताप्रतिको प्रतिबद्धता उस्तै छ । हामी यस्ता क्षेत्रमा सहकार्य गर्न सक्छौं ।

एसिया र यूरोपका थुप्रै देशमा ‘राष्ट्रवादी’ भनिने शक्तिको उदय जस्तो देखिन्छ । यस्तो नेतृत्वको आगमनले प्रजातन्त्र र प्रजातान्त्रिक मान्यतालाई ओझेलमा पार्लान कि ?

तपाईंले इंगित गर्न खोजको राजनीति वा राजनीतिक शक्तिलाई मैले कुनै ‘राष्ट्रवादी’ वा अन्य यो, त्यो कुनै श्रेणीमा राख्न चाहन्न । मैले टिप्पणी गर्ने विषय पनि होइन, खाली के मात्र भन्न चाहन्छु भने प्रजातान्त्रिक मूल्य र मान्यताका लागि अन्तर्राष्ट्रिय तहबाट पनि सहकार्य गर्नु पर्छ।

स्वाभाविक रुपमा हरेक देशका आफ्ना रुची र मान्यता हुन्छन्, कुनै बिन्दुमा त्यसलाई मलजल गर्नु स्वाभाविकै पनि हो, तर यस्ता सबै मुल्य र मान्यता स्थापित अन्तर्राष्ट्रिय मूल्य र मान्यताबीच तालमेल खाने गरी बनाइएको हुनुपर्छ।

तपाईंको रुचीको र अनुसन्धानको विषय हिमालयन स्टडिज रहेको देखियो । नेपालको सन्दर्भमा सबभन्दा आकर्षक के पाउनु भयो ?

सबैकुरा । नेपालमा हरेक कुरा आकर्षणका केन्द्रजस्ता छन् । तर पनि केही उल्लेख गर्नुपर्दा पहिलो महत्वपूर्ण कुरा भनेको धार्मिक सांस्कृतिक विविधता हो । मलाई थाहा छ, कहिलेकाँही विविधता कायम राख्न र मूलप्रबाहिकरणको सुनिश्चितता जटिल हुन सक्छ । तर पनि विविधता तपाईंहरुको धन हो, सम्पदा हो । अर्को सम्पदा भनेको जैविक विविधता हो।

तपाईंहरुलाई नेपाल सानो देश लाग्न सक्छ, तर म त्यसो भन्न चाहन्न । देश आकारमा ठूला साना हुनुले अर्थ राख्दैन, झन् ठूला भनेका देशहरुले अझ ठूला चुनौती सामना गरिरहेका छन् । यस देशले विगतमा ठूला चुनौति सामना गरेको छ, स्वतन्त्रताको संरक्षण।

तत्कालिन नेतृत्वको साहस, बुद्धिमत्ता र वीरताले नेपाल कहिल्यै पनि उपनिवेश बन्नु परेन । नेपाल सधैं स्वतन्त्र राष्ट्रको रुपमा रहन सक्यो, यो सम्मान योग्य छ।

विशिष्ट डिएनए नै भन्नु पर्छ यस्तो भौगोलिक अवस्थितिमा हुँदा समेत नेपालले आफ्नो स्वतन्त्रता अक्षुण राख्न सकेको छ । जरुर कहिलेकाहीं चुनौति जसको जीवनमा पनि आउँछन्, तर आफ्नो दुरदृष्टिले नेपालले प्रतिकूलतालाई अनुकूलतामा बदलेको छ ।

इतिहासको कुनै कालखण्डमा कठिनाइका बाबजुद यसको स्वाभिमान, नेपालीको हार्दिकता, भाषा र संस्कृतिजन्य विविधता, जैविक विविधता जस्ता कुराले जुनसुकै पर्यटकलाई लोभ्याउने हैसियत राख्छन् । यो साँच्चिकै महान् देश हो।

थोरै व्यक्तिगत कुरा गरौं, तपाईंलाई नेपाल र नेपालको हिमालय क्षेत्रले किन आर्षित गर्‍यो ?

मेरो यसक्षेत्रको रुची म सानैछँदा किताब पढ्दा जागेको हो । त्यस बेला मैले पढेका पश्चिमा विद्धानहरु र हिमालय क्षेत्रका साहसिक यात्राका कथाहरुले ममा यस क्षेत्रको रुची जगाए।

संयोगले एउटा यस्तै यूरोपियन विद्धान जसलाई नेपालको बारेमा बृहत जानकारी थियो सिल्भा लेभी उनी फ्रान्सेली थिए । जहाँसम्म लाग्छ, उनको पहिलो नेपाल भ्रमण सन् १८९७मा भएको थियो।

यो भ्रमणको केही वर्ष पछि उनले नेपाल अधिराज्यको इतिहास नामक कृति दुई भागमा प्रकाशित गरे क्रमशः सन् १९०५ र १९०८मा । हो यी कृति जसले २० औं शताब्दिमा अन्य फ्रान्स र यूरोपका अन्य थुप्रैलाई समेत नेपाल तर्फ आकर्षित गर्ने, अझ भनौं नेपाललाई उनीहरुमाझ चिनाउने काम गरे।

म पनि यसरी नै नेपाल र नेपाली संस्कृतितर्फ आकृष्ट भएँ । त्यसपछि केही भाषाहरु प्नि सिकें । म एकजना कुटनीतिज्ञ र स्कलर पनि हुँ। एकजना स्कलरको हैसियतले मलाई यस क्षेत्रको विविधतामा विशिष्ट रुची छ।

बीआरआई (BRI)र एमसीसी (MCC)जस्ता मुद्दामा नेपालले आफूलाई कहाँ राख्नुपर्छ जस्तो लाग्छ?

मेरो विचारमा यस्ता विषयमा हरेकबाट प्राप्त गर्न सक्ने अधिकतम फाइदा लिनुपर्छ । नेपालको विगतको अभ्यास पनि यही छ ।

मलाई जहाँसम्म लाग्छ, नेपालको अहिलेसम्मको नीति पनि विवादमा नतानिने र असंलग्नताको नीति छ । यही नै उत्कृष्ट हो जस्तो लाग्छ मलाई त ।

नेपाल पनि फ्रान्सेली कला र साहित्यबाट प्रभावित छ। यी दुइ देश बीच सांस्कृतिक रुपमा के कस्तो खालका समान धारणा र सहकार्यको सम्भावना छ ?

प्रधानमन्त्री केपी शर्मा ओलीको फ्रान्स भ्रमणको बेलामा उहाँले फ्रान्समा रहेका नेपाली समुदायबीच दिएको मन्तव्यबाट म साँच्चिकै प्रभावित छु । सो मन्तव्यमा आफू जेलमा रहँदा र बाहिर आएपछि पनि पढेका भिक्टर ह्यूगो जस्ता लेखकहरुको प्रसंग झिक्नु भएको थियो ।

इतिहासका अतिरिक्त नेपालको वर्तमान संस्कृति पनि साँच्चै आकर्षक छ। नेपालमा साँच्चिकै राम्रा कलाकारहरु छन् । उदाहरणको लागि मैले नेपालको ग्यालरी भ्रमण गर्दा यहाँका सामाजिक सांस्कृतिक विविधता, जनआकांक्षा र उनीहरुको प्रतिक्रिया लगायत पुराना अद्धितिय कलाकृति हेर्ने मौका पाएँ र ती कलाकृति तथा सिभिल वारताकाको चित्रणले समेत प्रभावित भएँ । हाम्रा दुई देश र संस्कृति बीच साझा बिन्दु भेटिन्छन्, त्यो महत्वपूर्ण कुरा हो ।

संस्कृति एउटा कुञ्जि हो जसले अर्थतन्त्र र राजनीतिले समेट्न नसक्ने विषयलाई समेत आफ्नो दायरामा ल्याउने र तिनको विशिष्टरुप प्रकट गराउन सक्छ । यस क्षेत्रमा पनि सहकार्यको सम्भावनाका क्षेत्रहरु भेटिन्छन्।

एरिक भ्यालीको सिनेमा क्याराभानले थुप्रै कलाप्रेमी, प्रकृतिप्रेमी र सिनेमाप्रेमीको ध्यान नेपालतिर खिचेको थियो । मनोरञ्जनको क्षेत्रमा अरु सहकार्यका सम्भावना खोजि गर्न सकिन्छ ?

यहाँको सिनेमा उद्योग गतिशील छ । जैविक विविधता, सांस्कृतिक विविधता जस्ता सम्पदा सिनेमामा चित्रण गर्दा नेपाल आकर्षक गन्तव्य बन्न सक्ने र सांस्कृतिक आदानप्रदानमा समेत टेवा पुर्‍याउने भएकोले यस क्षेत्रमा सहकार्य अगाडि बढाउन सकिन्छ ।

खाना प्रेम बाहेक अन्य पनि केही साझा रुची छन् नेपाली र फ्रेन्चहरुका बीच ?

अँ, हो । मलाई नेपाली एकदम खाना मन पर्छ । पेरिसमा पनि केही नेपाली रेष्टुरेन्टहरु छन् र नेपाली खाना त्यहाँ पनि प्रसिद्ध छ ।

कला र संस्कृति लगायत मानवता र विश्वबन्धुत्व जस्ता कुराले दुईपक्षिय सम्बन्धलाई थप सुदृढ गराउन टेवा पुर्‍याउँछ । यी हाम्रा ठूला रुचीका क्षेत्रहुन् ।

हालै पनि यहाँस्थित राजदुतले मलाई नेपाली जनताको मानवता, भ्रातृत्व, आतिथ्यता, परिश्रमी स्वभाव, इमान्दारिता, विनयशिलता जस्ता गुणहरुको बारेमा जानकारी गराउनु भएको थियो । नेपाल साँच्चिकै सुन्दर छ।


भर्खर

0