आमाको उपचार गर्न नसकेर बाबुले संसार छोडे, तीन छोराछोरीको बिचल्ली | Khabarhub Khabarhub
Logo
२९ मंसिर २०७६, आइतबार

आमाको उपचार गर्न नसकेर बाबुले संसार छोडे, तीन छोराछोरीको बिचल्ली



धादिङ– धादिङबेसीबाट ७ किलोमिटर कच्ची सडकको यात्रा पुरा गरेपछि नीलकण्ठ १२ को आगेटारीमा पुगिन्छ ।

आगेटारीमा झण्डै तीस, पैतीस घरहरुको एउटा मगर बस्ती छ । भूकम्पपछि बनेका नयाँ नयाँ घरहरु सडकबाटै देखिन्छ । त्यही नयाँ घरहरुको बीचमा एउटा जस्ताको टहरा छ ।

टहराको पूर्व र पश्चिम दुवैपटि ढोका छ । पूर्वपट्टि रहेको ढोकाको छेउमै काठको फलेकले बनाइएको खाटमा सुतेकी थिइन् लक्ष्मी मगर । किरियापुत्रीको सेतो पोशाकमा रहेकी लक्ष्मीले आँखा झिमिक्क पनि गरेको देखिँदैन ।

मानसिक र शारीरिक दुवै समस्याबाट पीडित बनेकी लक्ष्मीको मुखबाट शब्द निस्किँदैन, हातखुट्टा चल्दैन, दिशापिसाब गरेको पनि चाल पाउँदिनन् । रसिला आँखा लिएर लम्पसार परेकी लक्ष्मीको अनुहारमा निराश देखिन्छ । सायद, उनका वरीपरि भएका घटनाहरु लक्ष्मीले केही बुझेकी छिन् ।

लक्ष्मीको छेउमै रहेको टहराको पूर्वी ढोकामै म्याट ओछ्याइएको छ । त्यसमा लक्ष्मीका १० वर्षका छोरा किरियापुत्रीको सेतो पोशाकमा छन् । उनको हातमा एउटा सानो खेलौना बल छ । उनी त्यहि बललाई भुइँमा तलमाथि गर्दै खेलिरहेका छन् ।

टहराको पश्चिम पट्टि रहेको ढोका भित्र खाटमा बसेर दुई बालिका पढिरहेका छन् ।

खाटमा बसेर पढीरहेकी ७ वर्षीया बालिका सोमकुमारी ( कान्छी) १२ वर्षीया करिना(जेठी) र बाबुको किरीया बसिरहेका १० वर्षका काजी मगर लक्ष्मीका छोरा, छोरी हुन् ।

२०७१ सालदेखि मानसिक र शारीरिक दुवै रोगले थलिएकी लक्ष्मीको उपचार गर्दा गर्दै उनका पति यमबहादुरले हरेश खाएर मृत्युको बाटो रोजे । यमहबादुरले कात्तिक २० गते आत्महत्या गरे ।

शनिबार दिउँसो धादिङ पुग्दा प्यारलाइसिस भएकी ३३ वर्षीया लक्ष्मी र १० वर्षका काजी तीन दिनदेखि किरियापुत्रीको सेतो पोशाकमा थिए ।
‘मलाई भोक लाग्यो’ बाबुको किरियामा बसेका काजीले दिदीसँग खानेकुरा मागे ।

‘आज खानु हुँदैन, अब भोलि बुबाको १२ दिन पुग्छ, अनि खाउँला ।’ करिनाले भाइलाई सम्झाइन् ।

बाबुको किरिया बसेका १० वर्षका काजी बेला बेलामा भोक लाग्यो भन्छन् । करिना भाइलाई सम्झाउँछिन् ।

‘भाइले तीनदिनदेखि खाना खाएको छैन, भोक लाग्यो खानेकुरा देउ भनिरहन्छ,’ करिनाले खबरहबसँग भनिन्, ‘भोलि बुबाको १२ दिन पुग्छ, त्यसपछि मात्रै खान मिल्छ भनेर सम्झाउँछु ।’

यमबहादुरको मृत्युपछि उनकी १२ वर्षीया जेठी छोरी करिनाको थाप्लोमा जिम्मेवारीको थुप्रो लागेको छ । ७ कक्षामा पढ्दै गरेकी करिना बाबुको किरिया शुरुभएदेखि स्कुल जना पाएकी छैनन् ।

करिना बिहान ६ बजे उठ्छिन् । घर सफा गरेर, खाना बनाउँछिन् । आमाको मुखु धोइदिन्छन्, दिसापिसाब सफा गरिदिन्छन् । करिनाले आमाको एकोहोरो बोली भने कहिलेकाही सुनेकी छन् ।

‘ममी ३ वर्ष नै भइसक्यो बोल्न छाड्नुभएको, दिशापिसाब मैले आफै सफा गर्छु,’ करिनाले खबरहबसँग भनिन्, ‘ममीले कहिले काही नानी मात्र भन्नुहुन्छ, दोहोरो कुरा चाँही हुँदैन ।’

बाबुको मृत्युपछि आमाको सम्पूर्ण स्याहार र भाइबहिनीको लालनपालनको जिम्मेवारीमा जवर्जस्ती होमिएकी करिना आमालाई निको भएको हेर्न चाहन्छिन् ।

आमाले पकाएको खाना खाएर, स्कुल जाने रहर छ करिनालाई । तर बाध्यता उनी आमाको स्याहार गरेर बिहान बेलुकाको छाक पूरा गर्ने विषयमा मात्र सोच्न भ्याउँछिन् ।

‘बुबाहुँदा पनि ममीको दिसापिसाब मैले नै सफा गर्दिन्थे, काम भ्याएमात्र स्कुल जान्थें,’ करिनाले भनिन्, ‘ममीलाई ठिक भइदिए त म नियमति स्कुल जान पाउँथें ।’

लक्ष्मीको खाट अगाडि केही छिमेकी र आफन्तहरु बसिरहेका थिए । लक्ष्मीको घरमा पुग्नेहरलाई लक्ष्मीको अवस्था र घटनाबारे त्यही आफन्तले जानकारी दिन्छन् ।

लक्ष्मीको यो अवस्था कसरी भयो ?

लक्ष्मीका साइला जेठाजु इन्द्रबहादुर मगरका अनुसार २०७० साल फागुनमा दाउरा काट्ने क्रममा लडेकी थिइन् ।

लडेर ढाडमा चोट पुगेपछि बालाजुको जनमैत्री अस्पतालमा लक्ष्मीको शरीरमा फेरि निकाल्न नमिल्ने गरी स्टील राखिएको थियो । (हाल सो अस्पताल बन्द भएको छ ) त्यतिबेला यमबहादुर वैदेशिक रोजगारीमा थिए । लक्ष्मीको उपचारमा त्यतिबेला ६ लाख खर्च लागेको थियो । वैदेशिक रोगगारीमा रहेका यमबहादुरले खर्च पठाए ।

५ महिनासम्म अस्पतालमै बसेर उपचार गरेपछि लक्ष्मी हिड्न, बोल्न र घरकोकाम गर्न सक्ने भएकी थिइन् । यमबहादुरका ३ जना सन्तान पढ्दै थिए । सबै राम्रै चलेको थियो । तर लक्ष्मीलाई फेरि कडा खालको डिप्रेसन भयो । छिमेकीहरुले पाटनको मानसिक अस्पतालमा लगे, यमबहादुर पनि पत्नि बिरामी भएपछि वैदेशिक रोजगारी छाडेर नेपाल फर्किए ।

लक्ष्मीको उपचार गर्दा एमबहादुरको वैदेशिक रोजगारीको कमाइ सकियो । भएको खेतबारी पनि बेचे । तर लक्ष्मी निको हुनुको सट्टा झन् रोग थपियो ।

लक्ष्मी विस्तारै बोल्न, हिँड्न र दिसापिसाव गर्न समेत नसक्ने भइन् । २०७२ सालमा भूकम्पले घर भत्कियो ।

पत्नी बिरामी भएकाले यमबहादुरले घर बनाउन सकेनन् । उनको परीवार अझै जस्ताको टहरामा छ । बिरामी पत्नीको उपचारमा खेतबारी समेत सकिदा पनि ठिक नभएपछि यमबहादुर पनि मानसिक रुपमा कमजोर बने ।

३ जना बालबच्चाको लालनपालन र बिरामी पत्नीको स्याहार सुसार गर्दागदै उनी थाके । यमबहादुर आफै मानसिक बिरामी भए ।
उनले कात्तिक २० गते आत्महत्या गरे ।

गत साउनमा पनि यमबहादुरले आत्महत्याको प्रयास गरेका थिए ।

‘लक्ष्मीको उपचारमा खेतबारी पनि बेच्यो, उल्टै ऋण लाग्यो, तर अझै ठिक भएन,’ लक्ष्मीका जेठाजु इन्द्रबहादुरले भने, ‘साउन पनि आत्महत्या गर्न आटेको थियो, साउनमा पाटन हस्पिटलमा उपचार गरेर ल्यायौं ठिक पनि भएको थियो । तर अस्ति आत्महत्या ग¥यो ।’

७ वर्षकी कान्छी छोरी उपचारको पर्खाइमा

मगर दम्पतीका ठूली छोरी करिना १२ वर्षकी छिन् । छोरा १० वर्ष र अर्की छोरी ७ वर्षकी छिन् । करिना, काजी र सोममाया क्रमश ७, ५ र ३ कक्षामा पढ्दै छन् ।

७ वर्षीया सोमकुमारीको शरीरको पछाडिको ढाडको भागमा मासुको फोकै फोका छन् । शरीरका विभिन्न भागमा कालो भाग र रौं उम्रेको छ । जन्मिदैमा यस्तो समस्यामा रहेकी सोमकुमारीलाई उपचार गर्न कसैले लगेको छैन ।

करिनाका अनुसार आमा लक्ष्मीको अवस्था ठिक हुँदा बहिनीलाई एकपटक अस्पताल लगिएको थियो । तर आमा नै अचेत अवस्थामा भएपनि सोमकुमारीलाइ अस्पताल लान समस्या भयो ।

‘बहिनीको सानैदेखि रौं थियो, जन्मिदै यस्तै हो, पछाडी ढाडमा चाँहि मासुको पोका ठूलो हुँदै आएको छ,’ करिनाले भनिन्, ‘ममी बिरामी नहुँदा एकपटक अस्पताल लगेको थियो, खै के भएको रोगको नाम त थाहा छैन, ममी बिरामी भएपनि बहिनीलाई उपचार गर्ने मान्छे भएन ।’

कक्षामा प्रथम हुने करिना र काजी अहिले कमजोर विद्यार्थी

नीलकण्ठ १२ मा रहेको सांकोष माध्यमिक विद्यालयमा अध्ययनरत करिना, काजी र सोमकुमारीको पढाइ उत्कृष्ठ थियो । विद्यालयका शिक्षक राम लामिछानेका अनुसार करिना र काजी प्रथम, दोस्रो वा तेस्रो हुने विद्यार्थी थिए । तर घरको अवस्था र आमाको रोगले उनीहरुको पढाइमा प्रत्यक्ष असर प¥यो ।

पहिला प्रथम हुने करिना र काजी अलिहे कक्षामै कमजोर विद्यार्थी बनिसकेको विद्यालयका शिक्षक लामिछानेले बताए ।

‘उनीहरुको पढाइ पहिला त एकदमै राम्रो थियो, करिना फस्ट, सेकेन्ड हुन्थिन्, जिल्लास्तरिय चित्रकालमा पनि भाग लिएर पुरस्कार पाएकी थिइन्, विद्यालयका शिक्षक लामिछानेले भने, ‘अहिले उनीहरुको पढाइ कमजोर बन्दै गइरहेको छ, गृहकार्य किन नगरेको भनेर सोध्यो भने, आमाको स्याहार गर्नुपरेर, घरको कामले गृहकार्य गर्न भ्याउँदैन भन्थे । पहिला कक्षाकै राम्रो विद्यार्थी अहिले कक्षामा आएपनि टोलाएर बस्छन् । कहिले त तीन जनानै कमजोर विद्यार्थीमा गनिने अवस्थामा पुगेका छन् ।’

दीर्घकालिन व्यवस्थापनको चिन्ता

यमबहादुरको मृत्यु भएको आज (आइतबार) १२ दिन पुगेको छ । उनीहरुले आज बाबुको १२ दिनको किरिया पनि पूरा गरेका छन् ।
बाबुको मृत्युपछि भाइबहिनीको लालनपालन र आमाको स्याहारमा १२ वर्षीया करिना लागेकी छन् ।

यमबहादुरको मृत्युको घटना पछि केही संस्था र व्यक्तिले उनीहरुलाई केही खाद्यान्न र रकम सहयोग गर्न पुगेका छन् । यमबहादुरको किरिया खर्चका लागि करिना, काजी र सोमकुमारी पढ्ने विद्यालयले १० हजार र स्थानीय सरकारले ५ हजार सहयोग गरेको छ ।

केही युवाहरुले उनीहरुको लागि सहयोग रकम संकलन अभियान समेत चलाइरहेका छन् । तर दीर्घकालिन व्यवस्थापनाका लागि भने कुनै ठोस निर्णय भएको छैन ।

‘हामीले स्कुलबाट किरियाखर्च १० हजार दिएका थियौं, स्थानीय सरकारले ५ हजार किरियाखर्च दियो अरुले पनि तत्काल खानको लागि त सहयोग गरीरहेका छन्,’ विद्यालयका शिक्षक लामिछानेले भने, ‘तर उनीहरुको घर छैन, दिर्घकालिन रुपमा बस्ने ठाउँको व्यवस्थापन र खानाको व्यवस्थापन भइदियो भने उनीहरुले पढ्न पाउथे ।’


भर्खर