पुस्तक अंश– मदिराले बढाउँछ मानसिक रोग | Khabarhub Khabarhub

पुस्तक अंश– मदिराले बढाउँछ मानसिक रोग



ग्रीक भाषामा ‘सिजो’ भनेको टुक्राटुक्रा भएर चकनाचुर हुनु हो र ‘फ्रेनिया’ भन्नाले मस्तिष्क तथा व्यक्तित्व हो ।

(प्राचीन ग्रीसमा मस्तिष्क पेट र छातीको बीचको झिल्लीमा हुन्छ भन्ने विश्वासले झिल्ली अर्थात फ्रेनियालाई नै मस्तिष्क र व्यक्तित्वको स्थान मान्दथे) सम्पूर्ण व्यक्तित्व चकनाचुर हुनु नै सिजोफ्रेनिया हो । यसको उदाहरणको रुपमा ओभरकोट लगाएर नुहाउने व्यक्तिको केसलाई लिन सकिन्छ ।

पारिवारिक, सामाजिक सहयोग नहुँदा उक्त मानिसको व्यक्तित्व चकनाचुर भयो । तर साधारण सहयोग पाउँदा लगभग पुरानै अवस्थामा आइपुगेका थिए ।

सिजोफ्रेनियाका लक्षणहरु बर्णन गरेर नै नसक्ने खालका विविध हुन्छन् । कारणहरु पनि त्यस्तै विविध । यस वारेमा थुप्रै पुस्तकहरु लेखिएका छन् । यो रोगको वारेमा कुरा गरेर कहिल्यै सिद्धिदैन भने पनि हुन्छ । कुनै पनि रोगलाई अलि कडा, मभ्mयौला, सामान्य खालको भनेर चिनाइन्छ तर सिजोफ्रेनियालाई त्यति भनेर टुंग्याउन सकिन्न ।

सिज्रोफ्रेनियाले एउटा व्यक्तिलाई घरमा राख्न, सम्हाल्न नसकिने अवस्थामा पुर्‍याएको हुन्छ भने अर्को सामान्य किसिमको नै हुन्छ । उपचार गर्दा पनि कसैलाई सामान्य औषधिले ठीक हुन्छ भने कसैलाई कडा औषधिले पनि राम्रोसँग छुँदैन ।

कुनै सिजोफ्रेनिया व्यक्तित्वलाई चरम रुपमा ध्वस्त पार्ने, व्यक्तिलाई काहिँ वस्न, टिक्न नदिने खालको हुन्छ । अर्कोतिर कुनै चाहिँ औषधि नै नगरे पनि अलि अनौठो तर सामान्य अवस्थामा रहेको हुन्छ ।

शुरुमा अलिअलि विरामी भयो, उपचार भएन, पछि एकसुरे(एकसुरे बानी बस्ने, अरुसँग धेरै कुरा नगर्ने, घुलमिल नगर्ने, मानिसको संगत मन नपराउने, अलि एकलकाटे स्वभावको हुन्छ । आफूबाहेक अरुको संसारको मतलव नै राख्दैन, खुसी पनि व्यक्त गर्न सक्तैन ।

अलि अर्कै पाराको भए पनि विनाऔषधि नै जीवन विताइरहेको हुन्छ । कसैले उसलाई रोगी पनि भन्दैनन् । तर वास्तवमा उ सिजोफ्रेनियाको रोगी भइरहेको हुन्छ । रोगले अलिअलि फरक ल्याएको हुनसक्ला, प्रगति नगर्ला, सामाजिक जीवन निस्किृय होला तर दैनिक व्यवहारमा खासै फरक परेको हुँदैन ।

यस रोगको व्यापकता, किसिम, लक्षण, प्रकृति र गहिराईमा विविधता भएकाले पनि यो रोगलाई अप्ठ्यारो विषय मानिन्छ । सवैलाई बाँधेर राख्नुपर्ने अवस्था हुन्छ, सवैले नालीको टिपेर खान्छन् भन्ने बुझाइ गलत छ । सिजिफ्रेनियाका रुप पनि धेरै छन्, लक्षणहरु पनि विविध ।

सिजिफ्रेनियालाई अहिले धेरैवटा रोगहरुको मिश्रण पनि भनिन्छ । यो एउटै रोग होइन, विभिन्न रोगको एकमुष्ट समूह हो भन्ने मान्यता स्वीकार्य भइसक्यो । यसका कारणहरु पनि फरक फरक, भित्र दिमागमा हुने असर पनि फरकफरक र रोगको परिणाम पनि फरक फरक हुन्छ ।

केही साझा विशेषताले गर्दा यसलाई एकै ठाउँमा राखिएको हो । रोग जुनसुकै किसिमको भए पनि भविष्यमा यसले मानिसको स्वभाव, व्यक्तित्व नष्ट गर्छ । उपचार गर्दा र नगर्दा पनि सवैखाले सिजोफ्रेनियाले अन्त्यमा पुर्‍याउने गन्तव्य पनि एउटै हुन्छ ।

मन मस्तिष्कलाई नष्ट गर्ने खालको रोग भएको हुनाले औसत सिजोफ्रेनियाका विरामीहरु कम बौद्धिक क्षमता भएका हुन्छन् भन्ने पनि छ । तर यो सधैँ लागू हुँदैन । एकदम विद्वान मानिसलाई पनि यो रोग लागेको हुन्छ । यस्ता मानिसको सोच्ने, निर्णय गर्र्ने तथा मस्तिष्कले काम गर्ने क्षमता भने केही फरक हुन्छ ।

कहिलकाहिँ असाधारण बौद्धिक क्षमताले सिजोफ्रेनिया हुने सम्भावनालाई बढाइदिने पनि गर्छ । तर बौद्धिक क्षमता धेरै भएका कारण सिजोफ्रेनिया भएको भन्न मिल्दैन । मानसिक रोग सिजोफ्रेनिया र बौद्धिक क्षमता भिन्दाभिन्दै कुरा हुन् ।

रोग र बौद्धिकताको नैसर्गिक सम्बन्ध छैन, तर के देखिन्छ भने असाधारण बौद्धिक क्षमता भएका केही बैज्ञानिक, साहित्यकारलाई सिजोफ्रेनिया भएको चाहिँ छ । कोही उपचार गर्दै काम गरिरहेका हुन्छन्, कोही उपचार नै नगरी पनि काम गरिरहेका छन् ।

रुसका एकजाना ठूला साहित्यकार गोगलका कथाहरु अलि अनौठा खालका छन् । उनी सिजोफ्रेनियाबाट पीडित थिए । भाषामा राम्रो पकड भएका साहित्यकार थिए उनी । उनको साहित्यिक प्रतिभा निकै उच्च स्तरको थियो । उनले शुरुमा लेखेका साहित्यिक कृतिहरु प्रसिद्ध भएका थिए । जव उनलाई रोगले च्याप्दै ल्यायो त्यसपछि लेखेका कृतिहरु खासै महत्वका छैनन् भने पनि हुन्छ । अरु केही साहित्यकारहरुमा पनि यस्तो देखिन्छ ।

लागु पदार्थ र सिजोफ्रेनिया

मदिराले हरेक मानसिक रोगलाई बढाउने गर्छ । नेपालमा सिजोफ्रेनियाको सन्दर्भमा कुरा गर्दा उनीहरुमा मदिरा भन्दा गाँजाको समस्या बढी छ । यस्ता विरामीहरु गाँजा खान खूव रुचाउँछन् । गाँजा खाने लत बसिसकेपछि छुटाउन निकै कठिन हुन्छ । यस्तो बानी लगाउने तत्व गाँजामा बढी छ । गाँजामा भएका धेरै किसिमका तत्वहरु मध्ये एउटा तत्व (THC)ले सिजोफ्रेनियाको लक्षणलाई अलि हल्का बनाइदिन्छ भन्ने पनि छ । त्यसकारणले पनि विरामीहरुले गाँजा खान रुची राख्छन ।

साथै सिजोफ्रेनिक विरामीलाई निकोटिन (चुरोट, बिँडी) आदि पनि छुटाउन कठिन हुन्छ । अरु मानिसलाई निकोटिन छुटाउन भन्दा सिजोफ्रेनिया भएको मानिसलाई निकोटिन छुटाउन कठिन छ । निकोटिनले मानसिक रोगका औषधिहरुको प्रभावलाई पनि कम गर्छ । निकोटिन खाएको बेला शरीर भित्रको औषधि छिटोछिटो पखालिन्छ ।

सिजोफ्रेनिया भएर अस्पतालमा भर्ना हुन आएको विरामीलाई चुरोट छुटाउने भनेको त विरलै हुन्छ । अस्पतालमा चुरोट खान दिन मिलेन । चुरोट छुटाए पछि शरीरबाट निकोटिन हट्छ । थोरै औषधिले पनि काम गर्नसक्छ । सुधार भएर अस्पतालबाट बाहिर जानेवित्तिकै विरामीले चुरोट खान थाल्छ । अनि त्यही औषधिको मात्राले काम गर्न छाड्छ ।

बढी चुरोट सेवन गरेपछि आवश्यक औषधिको मात्रा नमिल्दा रोग उल्टिन्छ । र तुरुन्तै भर्ना गर्नुपर्ने हुन्छ । यस्ता विरामीलाई यो समस्या दोहोरिन नदिन अस्पतालकै एउटा कुनामा चुरोट खाने व्यवस्था गरिदिनुपर्ने हुन्छ । अस्पतालमा धूमपान गर्ने स्थल छुट्याएको भन्दा अनौठो लाग्न सक्छ तर यो बाध्यता नै हो । कतिपय विरामीले त चुरोट खान नदिने भए बस्दिन भनेर पहिले नै शर्त राखेका हुन्छन् ।

सिजोफ्रेनिया हुँदैमा जीवन सकिदैन

एमविविएस भर्ना भएको केही समय पछि एकजना विद्यार्थीलाई सिजोफ्रेनियाले समात्यो । उनी नेपालको कुनै एक मेडिकल कलेजमा भर्ना भएका थिए ।

उनलाई त्यही कलेजकै मानसिक रोग विभागमा उपचार गर्न थालियो । विस्तारै ठीक पनि भयो । उनलाई सुधार भइसकेपछि उनलाई उपचार गर्ने प्रोफेसरले, ‘तिमी अब ज्यादा तनाव नहुने अरु कुनै विषय पढ्दा राम्रो हुन्छ’ भनेर सुझाव दिएछन् ।

वास्तवमा मेडिसिनको पढाई निकै लामो छ, १५।१६ वर्ष नै लाग्छ । एक चरण सकेर भएन, धेरै तह पार गर्नुपर्छ । यसले आफूलगायत परिवारलाई पनि आर्थिक तनाव दिन्छ । त्यसपछि कामका सिलसिलामा पनि तनाव भइरहेको हुन्छ । यी कारणले रोग दोहरिन पनि सक्छ ।

त्यसकारण उनले त्यस्तो सुझाव दिएका थिए होलान् । तर ती विद्यार्थीलाई चिकित्सा शास्त्र असाध्य मन पर्ने विषय भएकाले भर्ना भएका थिए । प्रोफेसरको कुराले उनलाई गहिरो चोट पर्‍यो । उनको क्षमतामा नै प्रश्न उठाए जस्तो लागेपछि उनले पढाइलाई चुनौतिका रुपमा लिएछन् ।

उनले ‘होइन म यही विषय पढ्नसक्छु’ भनेर जिद्धि गरे । त्यसपछि झन मेहनत गरेर पढ्न थाले । एमविविएस राम्रैसँग पास गरे । मानसिक रोग विषयमा नै एम डि गरेपछि आफूलाई मेडिसिन विषय नपढ्न सल्लाह दिने प्रोफेसरकै विभागमा मानसिक रोग विशेषज्ञका रुपमा काम गर्न आए । यो उनको निकै ठूलो सफलता थियो । उनी राम्रोसँग काम गरिरहेका छन् । उपयुक्त वातावरण र लगनशिलता भए पछि सफलता प्राप्त गर्न सकिन्छ ।

कतिपय मुलुकमा सिजोफ्रेनियालगायत गम्भिर खालको मानसिक रोग भएपछि सिधै विरामीको उपचार गर्ने विषय पढ्न दिदैनन् । रसियामा पनि त्यस्तै थियो । मेडिसिन पढ्न नदिने, बरु पब्लिक हेल्थ, स्यानिटेसन एण्ड हाइजिन वा हस्पिटल म्यानेजमेन्ट जस्ता विरामीसँग प्रत्यक्ष सरोकार नहुने विषय पढ्न पठाउँछन् । युनिभर्सिटीले नै सवै मिलाउँछन् ।

केही वर्ष अघि बेलायतमा एकजना नेपाली विद्यर्थीले मेडिकल कलेजमा भर्ना हुने अवसर पाए । यो राम्रो अवसर थियो । दोस्रो वर्ष आधारभूत पढाइ सकेपछि छुट्टीको बेला सामाजिक सेवा गर्ने उद्देश्यले नेपाल आए ।

एउटा एनजिओमा स्वयंसेवकका रुपमा काम गर्न थाले । उक्त संस्थाले आयोजना गरेको सेमिनारमा मलाई अतिथि बक्ताको रुपमा बोलाइएको थियो । उनीसँग पनि कुराकानी भयो अलि हाउडे पाराको लाग्यो । बेलायतमा पढ्न पाएकोमा अलि बढी फुर्ति पनि लगाए । त्यसवेला उनलाई सिजोफ्रेनियाले अलिअलि छोएको रहेछ ।

बेलायत फर्किए पछि तेस्रो वर्षमा भर्ना भए । त्यसपछि आयोजित एउटा स्टुडेन्ट पार्टीमा उनले अलि असामान्य व्यवहार प्रदर्शन गरेछन् । त्यो कुरालाई प्रोफेसरहरुले गम्भिर रुपमा लिए । परीक्षण गर्दा मानसिक रोग लागेको थाहा भयो । उनलाई मेडिसिनको पढाइ छुटाएर माइक्रोबायलोजितिर राखिदिए ।

माइक्रोबायोलोजिमा स्नातकोत्तर गरेर नेपाल आए । पछि सोही कलेजबाट पिएचडि पनि गरे । अहिले नेपालमा बसेर राम्रै काम गरिरहेका छन् । औषधि पनि खाइरहेको छन् ।

सिजोफ्रेनियालाई चिन्ने तरिका

कसैलाई सिजोफ्रेनिया भएको छ भने परिवारका सदस्यले शुरुमै थाहा पाउन सक्छन् । पहिला त उसको आनीबानी नै बदलिन्छ । शंका गर्ने, रिसाउने, झगडा गर्ने प्रबृत्ती देखिन्छ । गरिरहेको कामप्रति रुची हुँदैन, नयाँ केही काम गर्ने चाहना हुँदैन ।

अरुसँगको आत्मियता कम हुँदै जान्छ । परिवारका मुल्य, मान्यता, अनुशासन मान्न छोड्छ । यसले परिवारमा झगडा सिर्जना गरिदिन्छ । सम्पूर्ण जीवन शैली बदलिन्छ ।

बिरामीलाई शुरुमा मलाई किन यस्तो भयो, के भएको हो भन्ने अनुभव चाहिँ हुन्छ । यस्तो वेलामा उपचार गर्न पायो भने रोगलाई पुरै रोक्न सकिन्छ ।

डाक्टर विश्वबन्धु शर्माको पुस्तक मान्छेको मनका कुराबाट

प्रकाशित मिति : ३० कार्तिक २०७६, शनिबार  ९ : २१ बजे

कृषि मन्त्रालयका सहसचिव गैरे बर्खास्त

काठमाडौं– कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई

प्रधानमन्त्री दाहाल मोरङमा

सुन्दरहरैचा– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ केहीबेर अघि मोरङ आइपुगेका छन्

बीए पहिलो वर्षमा फेल भइन् शान्ता चौधरी, पास हुनेलाई दिइन् बधाई

नेकपा एमालेकी केन्द्रीय सदस्यसमेत रहेकी पूर्वसांसद शान्ता चौधरी बीए पहिलो

सेती लोकमार्ग निर्माणमा ढिलाइ, अझै खुलेन ट्रयाक

गोदावरी– कैलालीको टीकापुरदेखि बझाङको उत्तरी सीमा उरै भञ्ज्याङ जोड्ने सेती

म्याग्दीमा उन्मूलन भयो औलो

म्याग्दी– म्याग्दीबाट औलो रोग उन्मूलन भएको छ । नेपालमा दुई