पर्यटनमन्त्री भट्टराईको बयान– जनतासँग डराउँछौं तर मण्डलेसँग किन डराउने ?

योगेश भट्टराई

सोमवार, भदौ ३०, २०७६

Reading Time: 10 minutes

पर्यटनमन्त्री भट्टराईको बयान– जनतासँग डराउँछौं तर मण्डलेसँग किन डराउने ?

नेपालगञ्जबाट काठमाडौं फर्कने क्रममा विमानस्थल र विमान भित्र भएका ‘हर्कत’ का कारण निकै दुःखी छु । विमान केही समय रोकिएको विषयलाई व्यवस्था विरोधी केही तत्वले उचाल्ने प्रयास पनि गरेका छन् जसको रक्षाका लागि उत्रनुको कुनै औचित्य पनि छैन ।

विमान ‘होल्ड’ भएको विषयमा नियोजित व्यक्तिले कु प्रचार गरेका छन् । विमान १ घन्टा ढिला गरेको भन्दै मन्त्रीमाथि दुर्व्यवहार भएको छ यसलाई उचालिरहनु जरुरी छैन ।

नेपालगञ्जबाट काठमाडौं उत्रिएसँगै मैले शनिवार राति नै आफ्ना कारण विमान १५ मिनेट ढिला भएको र त्यसका लागि आफू क्षमाप्रार्थी छु भनेर सामाजिक सञ्जालमार्फत पनि माफि मागेको छु । जसलाई मेरो कारणले ढिला हुन पुगेको छ उहाँहरुप्रति म अहिले पनि क्षमामाग्छु ।

नेपालीको परम्परा, संस्कृति हाम्रो पहिचान भनेको र मानवजातीको पहिचान भनेकै आत्माआलोचना वा क्षमा मागेपछि त्यसलाई माफ गर्नु वा स्वीकार गर्नु हो । तर आफूलाई विद्वान भन्ने केही ढोंगी र आण्डवरी ‘मण्डले’ हरुले त्यसलाई स्वीकार गरुन् वा नगरुन्सँग मलाई सरोकार भएको विषय होइन ।

विमानमा मलाई त्यस्तो दुव्र्यवहार भयो भन्न मिल्दैन, म विरुद्ध केही असिष्ट शब्द प्रयोग गरिएको थियो जुन भिडियो सामाजिक सञ्जालमार्फत तपाईंहरुले पनि हेर्नु र सुन्न भएको छ ।

उनीहरुको अशिष्ट शव्दबारेमा किन प्रतिक्रिया नजनाएको भन्ने साथीहरु पनि हुनुहुन्छ तर , सांस्कृतिक स्तर तल्लो रहेकाहरुसँग कुरा गरेर कुनै फाइदा छैन । विमानमा केही पढेलेखेका वकिल पनि थिए, वरिष्ठ वकिल पनि थिए । जसलाई म पहिला देखि नै चिन्छु । पञ्चायतको समयदेखि नै चिन्छु । जतिबेला हामी आन्दोलनमा थियौं उनीहरु ‘मण्डले’ थिए ।

मैले मेरो कारण विमान १४/१५ मिनेट ढिलाइ भएकोमा माफी मागेपनि उनीहरु त्यसलाई स्वीकार गर्न वा सुन्न तयार भएनन् किन त ?
उक्त घटना अप्रत्याशित रुपमा भएको जस्तो देखिएपनि त्यो प्रायोजित थियो । उनीहरुको अभिष्ट र उदेश्य अरुनै थियो ।

उनीहरुले म माथि निच शव्दहरुको प्रयोग गरे । मलाई ‘तँ’ शब्दको प्रयोग गरेर तँ चाँहि कस्तो मान्छे होस्, हाम्रो पारस शाह(पूर्व युवराज)का विरुद्ध सात लाख हस्ताक्षर गरेर बुझाउने त होस्, त्यतिबेला हामीलाई कति पीडा भएको छ त्यसको हिसाब किताब त तसँग लिनै छ भने ।

त्यसपछि मैले ठाने, यिनीहरुको नियत त अर्कै रहेछ । म ढिलो भएका कारणले यिनीहरुले अव्जेक्सन गरेका होइन रहेछन् । उनीहरुको नियत अर्कै रहेछ ।

नेपालगञ्जमा त्यसदिन दिउँसो उनीहरुले यो व्यवस्था विरुद्ध चर्को भाषण गरे । राष्ट्रपति, प्रधानमन्त्री लगायतलाई गाली गरे । लोकतन्त्रलाई गाली गरे । जसको रिपोर्ट पछि थाहा भयो । दिनभर व्यवस्थालाई विरोध गरेर उनीहरुले होटलमा के के खाए ? भांग, धतुरो खाएर आएका रहेछन् कि ? जे खाएका भएपनि उनीहरु नियोजित रुपमा नै तयार थिए ।

किन पुगें नेपालगञ्ज ?

शनिवार कैलालिको टिकापुर क्षेत्रमा डल्फिन महोत्सवको कार्यक्रम राखिएको थियो । डल्फिन नेपालको केही सिमित स्थानमा मात्र पाइन्छ । कोसी, नारायणी, कर्णाली र मोहना नदीमा मात्र पाइन्छ । त्यसो भएको कारण कर्णाली र मोहना नदीको संगम क्षेत्रमा डल्फिनको आकर्षक क्षेत्र बनाउने र डल्फिन हेर्न जाने पर्यटकीय क्षेत्र बनाउने भन्ने पर्यटन मन्त्रालयको कार्यक्रम नै छ ।

त्यही कार्यक्रमको सिलसिलामा डल्फिन महोत्सव थियो र त्यसमा म जानु पर्ने थियो । त्यहाँका राजनीतिक दलका नेता जनप्रतिनिधि, व्यसायीहरुले बोलाउनु भयो त्यसका लागि म शनिवार विहान कैलाली धनगढीमा म गएँ ।

त्यहाँ मैले उद्योग बाणिज्य संघका साथीहरुसँग भेटे, पार्टीका साथीहरुसँग पनि भेटें । त्यसपछि टिकापुरको डल्फिलन महोत्सममा गएँ । त्यहाँ पुग्दा समय गइसकेको थियो । कार्यक्रम पनि अलि ढिला नै सुरु भएको थियो । तीन बजे जस्तो म त्यहाँ पुगे । उक्त कार्यक्रमको मैले उद्घाटन लगायतको काम गरे । त्यसपछि म त्यहाँबाट निस्किएँ ।

कार्यक्रमस्थलबाट निस्कनु भन्दा पहिला मैले त्यहाँका स्थानीयलाई सोधेको थिएँ, मैले साढे पाँच बजे बुद्ध एयर मार्फत धनगढीबाट काठमाडौं फर्कनु छ, भ्याइन्छ ?

उहाँहरुले अब धनगढीबाट पुग्न सम्भव छैन भनेपछि कहाँ बाट छ भन्ने प्रश्न गरे । नेपालगञ्जमा ६ः २५ को फ्लाइट छ । बुद्धको लास्ट फ्लाइट भन्ने जानकारी आयो । बुद्ध एयरसँग आग्रह गरेर हामीले धनगढीको टिकटलाई नेपालगञ्ज ट्रान्सफर सारेउ ।

उडान अघि नेपालगञ्ज पुगिन्छ त भन्दा त्यहाँका साथीहरुले राजापुर हुँदै जाँदा पुगिन्छ भन्नु भयो । हामी त्यो बाटो आयौं, सोचेजस्तो छिटो जान सकिएन । गुलरियामा सिडियो, दुबै प्रहरीको प्रमुख मन्त्रीको स्वागतका लागि बस्नु भएको थियो । गाडीबाट नझरीकन उहाँहरुलाई नमस्कार गरेर हामी अगाडि बढ्यौं । जति सक्दो छिटो नै हामी गएका हौं ।

१ घन्टा ढिला भएको हो त ?

६ बजेर ४० मिनेट जाँदा सबै यात्रुको बोर्डिङ भएको रहेछ । ६ बजेर ४७ मिनेट जाँदा हुलदंगा गर्ने मानिसहरु प्लेनबाट बाहिर निस्किए । उनीरुले नाराबाजी गरेको मैले थाहा पाएँ ।

प्लेनमा चढिसकेर दुई तिन मिनेट ढिला भएपछि उनीहरुले थाहा पाएछन् कि मन्त्रीका कारणले उडान केही ढिला हुँदैछ भन्ने । त्यसपछि उनीहरु विमानबाट झरे । जबकी अन्तर्राष्ट्रिय र सिभिल एभिएसनको सामान्य नियमले के भन्छ भने यात्रुहरु विमानमा बसिसकेपछि बाहिर आउन मिल्दैन । सुरक्षाका हिसावले पनि हुलहुज्जत गर्न मिल्दैन ।

मैले यहाँ कसैलाई ढाट्नु जरुरी छैन र मेरो मनसाय त्यस्तो होइन । मेरो कारणले १५ मिनेट जति ढिलो भएकै हो । त्यो म ढाँट्दिन । मेरो कारणले १ घन्टा विमान उडानमा ढिलाइ भएको कुरा सरासर झुटो हो ।

यदी म नआएको भए ६ः ४५ मा विमान उड्थ्यो । मेरो कारणले त्यो प्लेन चाँहि ७ बजे उड्नु पर्ने भयो तर उनीहरुले हुलदंगा गरेपछि थप ७ मिनेट विमान उड्न ढिला भयो ।

मेरा कारणले ढिला भएपछि विमानमा रहेका यात्रुहरुसँग मैले माफि पनि मागे । र मैले भने, भोलि मेरो संसदमा जवाफ दिनै पर्ने कार्यक्रम छ । जसरी पनि आउनु नै पर्ने भयो त्यही भएर केही ढिला भयो क्षमाप्रार्थी छुँ ।

म विभागीय मन्त्री भएका कारण अत्याचार गरेर आउने भन्ने हुँदैन । तर मैले विमान कम्पनीसँग आग्रह गरे । पाँच सात मिनेटका लागि मलाई कन्सिडर गर्नुहुन्छ भनेर सोध्दा उहाँहरुले पनि समझदारी देखाउनुभयो ।

जब म प्लेन चढ्न आइपुगेको थिए । त्यहाँ केही मानिसहरु पर्यटनमन्त्री आउँदैछ भनेपछि पूर्वतयारीका साथ बसिरहेका रहेछन् । केही मैले चिनेका केही नचिनेका गर्दा चार पाँच जना । अरु बाँकी सबै यात्रुहरु प्लेन भित्रै हुनुहुन्थ्यो ।

म आउने वित्तिकै उनीहरुले मोबाइलबाट भिडियो खिच्न थाले । मैले हाँसीहाँसी भने– कियो वितण्डा मच्चाउनु हुन्छ ? हिँड्नुस् न जाँउ म आइहाले । अब काठमाडौं जाउँ हिँड्नुहोस् भने । मलाई अलिकति धकेलमकेल पनि गर्न खोजियो ।

कतिपयले राजनीतिक अभिष्ट पूरा गर्नको लागि उपयुक्त मौका खोजि गरिरहेका थिए र यो उपयुक्त समयहो भनेर लागेका छन् भने मेरो भन्नु केही छैन । लोकतन्त्र र यो व्यवस्थाका लागि लडेका साथीहरुसँग यी र यस्ता विषयमा कुरा गरौंला तर मण्डले, यो पद्दतीमाथि धावा बोल्नेहरुसँग किन डराउने ? प्रश्न यहाँ उव्जिएको छ

मैले सरी भने र सरासरी विमान चढें । विमाको अन्तिम सिटमा बसे । त्यहाँ बसेपछि पनि उहाँहरुले मलाई औंला ठड्याइ ठड्याइँ पछाडिबाट धकेल्ने प्रयासले आउनुभयो । मेरो सुरक्षामा खटिएका साथीहरुले छेक्न खोज्दै हुनुहुन्थ्यो मैले सुरक्षामा खटिएकालाई नगर्नुहोस् भने ।

मैले माफी माग्दा माग्दै पनि ति नियोजित र पूर्व तयारी अवस्थामा रहेकाहरुले गुण्डागर्दी र मण्डले शैली देखाए । हामी मण्डलेलाई संरक्षण गर्ने संस्थाविरुद्ध लडेर आएका हौं । तर पनि अरु यात्रुको अवस्थालाई ध्यान दिएर त्यसलाई सहन गर्ने काम भयो ।

दवाव दिएर जहाज रोक्ने कल्पनै गर्न सक्दिँन

मैले यो घटनापछि सामाजिक सञ्जाललाई पनि नजिकबाट नियालिरहेको छुँ । कतिपय साथीहरुले मन्त्रीको पदको दुरुपयोग गरेर दबाब दिएर विमान रोकेको विषयलाई पनि उठाउनु भएको छ । कतिपय साथीहरुको विचारमा राजनीतिक प्रतिशोध पनि देखिएको छ, त्यो विषयतर्फ जानु उपयुक्त समय यो होइन ।

म पर्यटन मन्त्री हुँ, खबरदार तेरो विमानले मलाई जति समय कुरेर भएपनि लिएरै जानुपर्छ भन्ने दबाव दिने बारे मैले कल्पना पनि गर्न सक्दिन । तर एक सामान्य व्यक्तिको नाताले विमान कम्पनीलाई मैले म आउँदै छु, मलाई काठमाडौं जानुपर्ने बाध्यता छ यदी केही मिनेट कुर्न मिल्छ भने कुर्नुहोस् होइन मिल्दैन भने जानुहोला भनेको थिएँ त्यसमा ढाट्नु जरुरी छैन ।

विमान स्थल पुग्न ८÷१० मिनेट ढिला हुनेजस्तो भएपछि मैले साथीहरुलाई नेपालगञ्जमा होटल खोज्न पनि भने । विमान गयो भने भोलि विहानको अरु केही विकल्पबारेमा सोचौंला भनेर । तर धेरै ढिला नभएको र विमान जाने तयारीमा रहेपछि म विमानस्थल गएँ ।

मण्डलेसँग किन डराउने ?

कतिपयले राजनीतिक अभिष्ट पूरा गर्नको लागि उपयुक्त मौका खोजि गरिरहेका थिए र यो उपयुक्त समयहो भनेर लागेका छन् भने मेरो भन्नु केही छैन । लोकतन्त्र र यो व्यवस्थाका लागि लडेका साथीहरुसँग यी र यस्ता विषयमा कुरा गरौंला तर मण्डले, यो पद्दतीमाथि धावा बोल्नेहरुसँग किन डराउने ? प्रश्न यहाँ उव्जिएको छ ।

अहिले हाम्रो पद्तीमाथि केही तत्वले आक्रमण गर्न खोजेको देखिएको छ । मण्डलेहरु हामीले लडेर ल्याएको पद्ती विरुद्ध हावी हुन खोजिरहेका छन् । सरकारले राम्रो गरेन भनेर कु प्रचार गर्ने र त्यसका विरुद्ध अभियान नै चलाउने प्रयास भइरहेको छ ।

तर सरकारले काम गरिरहेको छ । पर्यटन, उद्योग, सडक हरेक क्षेत्रमा सकारात्मक रुपमा काम भइरहेको छ र गर्ने कोशिस गरिरहेको छ । ठूला पूर्वाधार बनाउने काम भइरहेको । रोजगारीको अवसरहरु बनाउन सरकार लागिरहेको छ । सरकारले केही गरेन भन्ने वाहनामा सिष्टम विरुद्धको आवाजलाई किमार्थ स्वीकार गर्न सकिँदैन ।

राजनीतिक नेतृत्वका केही कमजोरी होलान् र छन् । यसबारे जनताका गुनासा र कमजोरी छन् । जनतासँग हामी डराउँछौं, सचेत हुन्छौं तर हामी किन मण्डलेसँग डराउने ? भूत, प्रेत र प्रतिगामीहरु को हुन् ? जो सँग हामी डराएर हिँड्नु ?

अहिले हामी तिनै मण्डले प्रयोग गरेको वा चढेको विमानको नतिरको झण्डै पाँच करोड रुपैयाँको हिसाव खोजिरहेका छौं । तत्कालिन राजामहाराजहरुले पैसा नतिरेर हाम्रा विमान कम्पनी डुबेका छन् । अहिले म त्यो उठाउन लागेको छुँ । त्यो सरकारले तिर्ने कि उनीहरुको जायजेथाबाट उठाउन भन्ने विषयमा हामी छलफल छौं ।

हामी वायुसेवा निगमलाई सुधार गर्न अघि बढिरहेका छौं । एक गते प्रतिवेदन आएपछि कसकसले जहाजको वक्यौता तिर्न बाँकी छ त्यसको सूची सार्वजनिक गछौं र त्यो पैसा उठाउँछौं ।

विमान ‘डिले’ किन हुन्छ ?

म विभागीय मन्त्री बनेसँगै विमानस्थल सुधारका लागि प्रयास गरिरहेको छु । केही प्रयासहरु सार्थक भएको तपाईहरुले देख्नु भएको छ ।
विमान होल्ड हुने समस्या नेपाल मात्र हुने भने होइन । विमान होल्ड हुने धेरै कारण हुन्छ ।

विश्भर भीआइपीको उडानको क्रममा सूचना जारी हुन्छ । जसलाई हामी ‘नोटरान’ भन्छौं । त्यसबेला जहाजहरु रोकिन्छन्, यो अन्तर्राष्ट्रिय अभ्यास हो । कतिपय विमानस्थलमा दुई तीनवटा रनवेहरु हुन्छ र एउटा रनवे रोकिँदा पनि अरु सूचारु हुन्छ । एउटा भीआइपीले प्रयोग गर्दा पनि रोकिँदैन । नेपालको बाध्यता भनेको एउटा मात्र रनवे छ । त्यसमा अर्को थप्न मिल्दैन ।

एउटा रनवे का लागि सात सय मिटरदेखि १ किलोमिटर स्थान चाहिन्छ जुन काठमाडौंको विमानस्थलमा सम्भव छैन । त्यस्ता कारणले पनि होल्ड हुन्छ । विमान होल्ड हुनु राजानीतिक मात्र कारण होइन प्राविधिक पनि हुन्छ । त्यसको समाधानका लागि हामी अन्य अन्तर्राष्ट्रिय विमानस्थल बनाइरहेका छौं ।

(खबरहबसँग मन्त्री भट्टराईले गरेको कुराकानीमा आधारित)

भर्खर

0