सगरमाथाको फोहोर उठाउन १० वर्ष लाग्ने !

२० टनभन्दा धेरै फोहोर रहेको अनुमान

टंक खनाल

शनिबार, चैत्र २, २०७५

Reading Time: 8 minutes

सगरमाथाको फोहोर उठाउन १० वर्ष लाग्ने !

काठमाडौं-सरकारले आगामी सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउने घोषणा गरेको छ । नेपाल भ्रमणमा आउने विदेशीको रोजाइ मेचीदेखि महाकालीसम्म फैलिएको हिमालको दृश्य अवलोकन गर्नु नै हो । पर्यटनमार्फत समृद्धि खोज्ने सरकारको अभियानलाई सफल बनाउन पनि हिमालका सुन्दर दृश्य सहयोगी हुनसक्छन् ।

नेपाल आउने विदेशी पर्यटकमध्ये झण्डै ५० प्रतिशतको रोजाइ हिमाल नै रहेको पर्यटन बोर्डको तथ्यांकमा उल्लेख छ । विदेशी पर्यटकले नेपालमा शाहासिक क्षेत्रमा नै आफ्नो कदम राख्ने गरेको पाइन्छ ।

यसरी नेपालको समृद्धिसँग जोडिएको हिमालमा पछिल्लो समय हिउँ पग्लिन थालेको छ । यो ठूलो समस्यामा रुपमा रहेको पर्यटन क्षेत्रका जानकारहरु बताउँछन् । हिमालमा हिउँ पग्लनुको प्रमुख कारण त्यहाँको फोहोर भन्छन् पर्यटनकर्मी तथा आरोही पीके शेर्पा । उनले नेपालका हिमालमा भएको फोहोरले धेरै हिमालको हिउँ पग्लिएको आफूले पाएको बताए ।

सगरमाथामा ६६ वर्षदेखिको फोहोर छ । क्याम्प २ भन्दामाथि मात्रै अझ १५/२० टनभन्दा धेरै फोहोर छ । नियमित सफाइ गर्दा पनि १० वर्ष लाग्छ 

हिमाल सफा गर्ने अभियान

हिमाललाई सफा बनाउनुपर्छ भन्ने अभियानलाई लिएर हिँडेका पीके शेर्पाले सन् २०१० बाट यो अभियान नै चलाएका छन् । सबैभन्दा पहिला सगरमाथा सफाइ अभियानलाई लिएर गएका उनले सगरमाथा आरोहणका क्रममा ज्यान गुमाउनेको शव तथा त्यहाँ फालिएको फोहोर जम्मा पारेका छन् । उनले आफ्नै नेतृत्वमा ६ जनाको शव ल्याउनुका साथै धेरै फोहोर पनि संकलन गरेर ल्याएको बताए ।

कसरी हुन्छ हिमालमा फोहोर

नेपाली हिमालमा ६० वर्षभन्दा पहिलादेखिको फोहोर भेटिएको छ । सन् १९५३ बाट तेन्जिङ नोर्गे र एडमन्ड हिलारीले सबैभन्दा पहिला सगरमाथाको आरोहण गरेका थिए । त्यहीबेलादेखि नै सगरमाथामा फोहोर थुप्रिन थालेको पाइएको छ । सगरमाथाको आरोहण आफैंमा जोमिखपूर्ण काम हो । आरोहण गर्ने व्यक्तिले पहिला आफ्नो ज्यानलाई जोगाउनुपर्छ भन्ने मान्यता राखेर यात्रा गर्नुपर्छ । त्यसैले आरोहण गर्ने दलले आफूलाई जोगाउने क्रममा आफूसँगै रहेका सामान बाध्यात्मक अवस्थामा छाडेर आउनुपर्छ । ति नै सामग्री फोहोरका रुपमा हिमालमा नै जम्मा हुन्छन् ।

के के फोहोर भेटिन्छन् ?

हिमाल आरोहणका क्रममा आरोहीले बोकेर लैजाने ‘नन डिस्पोजल’ सामानहरु नै हिमालका फोहोर हुन् । आरोही र हिमाल सफाइमा सक्रिय पीके शेर्पाका अनुसार यस्तो फोहर हिमालमा पाइन्छ :
खानाका लागि प्याकिङ गरेर लगिएका सामान,
– प्याकिङ गर्न प्रयोग गरिएका टिनका भाँडाहरु,
– अक्सिजन सिलिन्डर(७ हजार मिटरभन्दा माथि अक्सिजन प्रयोग गरिन्छ)
– ईपीआई ग्यास (यो चुलाका रुपमा प्रयोग गरिन्छ । जति उचाईमा पुग्यो त्यहाँ पानी नहुने भएकाले यो ग्यासको प्रयोग गरी हिउँलाई पगालिन्छ र पानी उत्पादन गरिन्छ । हिउँलाई पगालेर ड्राई फुडलाई भिजाएर आरोहीले खाने गरेका छन् ।)
–टेन्टहरु (बस्नका लागि लगिएका टेन्ट धेरै हावाले उडाउँछन् । कति च्यातिएको अवस्थामा छोडिन्छन् ।)
–मृत शरीर (आरोहीले प्रतिकूल मौसमको सामना गर्दागर्द ज्यान गुमाउँछन् । उनीहरु त्यहाँका हिम खाल्डामा परे भने शवको पनि उद्धार सम्भव हुँदैन । त्यस्ता शव नङ लामो भएको अवस्थामा, कपाल जिंग्रिङ्ग भएको र हाड तथा छाला बेग्लाबेग्लै भएको अवस्थामा फेला पर्दछन् ।)
–यो सँगै आरोही दलका सदस्यले छोडेका जुनसुकै बस्नु पनि फोहोरका रुपमा रहन्छन् ।

सफाइ अभियान वर्षमा तीन महिनामात्र चलाउन सकिन्छ । मार्च, अप्रिल र मे सफाइका लागि उपयुक्त हुन् । यही समय आरोहणका लागि पनि उपयुक्त मानिन्छ

पहिलेको तुलनामा अहिले धेरै फोहोर देखिन थालेको छ शेर्पाको भनाइ छ । ‘पहिला हिउँ बढी हुँदा हिउँले ढाकेको ठाउँको फोहोर देखिँदैनथ्यो’ शेर्पाले भने,‘अहिले जलवायु परिवर्तनका कारण हिमालको हिउँ पग्लने गरेको छ । जसका कारण विस्तारै हिउँले छोपिएका फोहोर पनि बाहिर आउने गरेका छन् ।’

सगरमाथाको सरसफाई सगरमाथा पोलुसन कन्ट्रोल कमिटी (एसपीसीसी)ले गर्दै आएको छ । तर, एसपीसीसीले आधार शिविरसम्मलाई ध्यान दिने गरेको भएपनि आधारशिविरभन्दा माथिको भाग पहिलाको भन्दा फरक छैन ।

सगरमाथाको क्याम्प २, क्याम्प ३, क्याम्प ४ लगायत साउथ कोलसम्मको भाग सफाइ गर्न जरुरी छ । क्याम्प २ भन्दामाथि मात्रै अझ १५/२० टनभन्दा धेरै फोहोर रहेको अनुमान शेर्पाको छ । नियमित सफाइ गर्दा पनि ‘क्लीन एभरेष्ट’ बनाउन कम्तिमा १० वर्ष लाग्ने अनुमान गरिएको छ ।

पहिलो पटकमै ल्याइयो ५ जनाको शव र १८ सय केजी फोहोर

पीके शेर्पासहितको टोलीले सन् २०१० मा सगरमाथा सफाइ गर्ने लक्ष्यका साथ ‘एक्सपिन एभरेस्ट एक्पिडिसन’ भन्ने अभियान चलाएको थियो । यो अभियानमा २० जना क्लाइमिङ शेर्पा परिचालन गरिएको थियो ।

जसले क्याम्प २ भन्दा माथि साउथकोल सम्मबाट १८ सय केजी फोहोर र ५ जनाको शव ल्याएको थियो । पहिलो पटक सगरमाथाको सफाइ गर्न गएको यो टोलीले हिम खाल्डाहरुमा रहेका सामान संकलन गरेको थियो । संकलित सामानमा अधिकांश किचनमा प्रयोग हुने सामान थिए । त्यस्तै अक्सिजन ग्यासको सिलिन्डर, बस्नका लागि लगिएका टेन्ट, बोत्तललगायतका सामान फेला परेका थिए ।

सन् २०११ मा सगरमाथा आरोही संघले सफाइ अभियान चलाएको थियो । त्यसबेला ३ टनभन्दा धेरै फोहोर संकलन भएको थियो । अन्य आरोही दलको सदस्य (क्यामेरा पर्सन)का रुपमा सगरमाथा चढेका पीकेले २०११ मा पनि आफ्नै पहलमा आरोहणका क्रममा फेला परेका एक व्यक्तिको शव ल्याएका थिए ।

सन् २०१३ मा हिमाल सफाइ अभियानमा जुटेको शेर्पा नेतृत्वको टोलीले कञ्चनजंघाको सफाइ गरेको थियो ।

सगरमाथासँगै नेपालका कञ्चनजंगा, मकालु, अन्नपूर्ण, धौलागिरीलगायतका हिमालमा पनि फोहोर भेटिएको र सफाइ गर्नुपर्ने आवश्यकता देखिएको शेर्पाको भनाइ छ ।

अहिलेसम्म हिमाल सफाइको अभियान निजी क्षेत्रले मात्र चलाइरहेका छन् । तर अहिले सरकारी तवरबाट पनि केही बजेट छुट्टयाएर हिमाल सफाइ अभियानको सुरुवात हुने संकेत देखिएको छ । वातावरण विभागले यो कामको नेतृत्व गरिरहेको छ ।

हिमालको फोहोर संकलन गरेर प्रयोगशाला बनाउने लक्ष

हिमालबाट संकलन गरेको फोहोर तथा पूराना सामग्रीहरुलाई भेला पारेर संग्रहालय बनाउने अभियान शेर्पाको छ । उनले शुरुको सफाइ अभियानका क्रममा संकलित फोहोरबाट सामान निर्माण गरी पर्यटनका क्षेत्रमा काम गर्ने संस्थाहरुलाई वितरण गर्ने तथा नेपालका हिमाल हेर्न आउने पर्यटकलाई मायाको चिनोका रुपमा वितरण गर्ने योजना बनाएपनि अहिले त्यो उद्देश्य परिवर्तन भएको छ ।

शेर्पाले विश्वका सातै महादेशका हिमालबाट पनि त्यहाँको परिचय झल्कने सामग्री ल्याएर प्रयोगशाला बनाउने तयारीमा आफू जुटेको बताए । शेर्पाले अहिले संग्रहालय निर्माणका लागि स्वदेश तथा विदेशमा रहेका हिमालसँग चासो राखेर काम गर्ने संस्था तथा व्यक्तिहरुसँग छलफल, प्रयोगशाला निर्माणका लागि खोज तथा अनुसन्धान गरिरहेको बताएका छन् ।

उनले विभिन्न हिमालको सफाइका क्रममा प्राप्त भएका पूराना सामग्री तथा पूराना डिभाइस भेला पारेर घरमै राखेका छन् । शेर्पाको घरमा हिमाल सफा गरेर संकल गरेको २०/२५ बोरा सामान रहेको छ ।

सगरमाथा चढ्न कति लाग्ला ?

नेपालका हिमाल आरोहणका लागि सरकारले तोकेको मापदण्ड पूरा गरेको ट्रेकिङ कम्पनी आवश्यक पर्दछ । अनुमतिप्राप्त कम्पनीले तोकिएको मापदण्ड पुर्‍याएर हिमाल आरोहणको व्यवस्था गर्ने गरेको छ । नेपालमा जुनसुकै हिमाल आरोहणका लागि नेपाली र विदेशी नागरिकलाई फरकफरक व्यवस्था छ ।
त्यो नियम सगरमाथा आरोहणका क्रममा पनि लागू हुन्छ । सगरमाथा आरोहणका लागि नेपालीले १५ लाख देखि ५० लाखसम्म तिर्नुपर्ने हुन्छ ।

लागत रकम आरोहण गर्ने समूहको आकारले फरक पार्छ । सिंगल नै आरोहण गर्नेलाई ४५ देखि ५० लाख पर्छ भने, १० जनासम्मको समूह भयो भने १५ देखि २० लाखसम्मा सगरमाथा आरोहण गर्न सकिन्छ । एउटा भ्रमण टोलीमा समूह मिलाएर जाँदा लागत रकम सेयर हुने भएकाले सस्तो पर्ने ट्रेकिङ एजेन्सीहरु बताउँछन् । आरोही दलमा जाँदा सिंगल गए पनि समूहमा गएपनि चाहिने सामान उस्तै हुने भएकाले सिंगल जाँदा बढी रकम लाग्ने गरेको हो । एउटा भ्रमण दलमा १० देखि १५ जना सदस्य हुन्छन् ।

आरोहणका लागि निर्धारित रकम तिरेपछि सम्पूर्ण व्यवस्था ट्रेकिङ कम्पनीले नै गर्ने गर्दछ । आरोहीलाई हुने हाइअल्टिच्यूट समस्यादेखि सम्पूर्ण कुराको ज्ञान कम्पनीले दिने गर्दछ । कम्पनीले लिने आरोहण प्याकेजमा फुडदेखि रोयल्टीसम्म र इक्युपमेन्टदेखि जनशक्तिका विषयसम्म जिम्मा लिन्छ ।

भर्खर

0