पूर्वयुवराज पारसको युट्युबर सोनिकासँग हिमचिम: भन्छिन् – उहाँलाई कसैले गाली गर्दा मलाई दुख्छ | Khabarhub Khabarhub

पूर्वयुवराज पारसको युट्युबर सोनिकासँग हिमचिम: भन्छिन् – उहाँलाई कसैले गाली गर्दा मलाई दुख्छ


२८ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युट्युबमा द्वीर्थी बुझाउने विषय छानेर कार्यक्रम चलाएर चर्चामा आएकी मोडल तथा युट्युबर सोनिका रोकाया र पूर्वयुवराज पारस शाहको नाम जोडिएको छ । पोखराबाट सुमन नाम गरेका एक युवकले पूर्वयुवराज पारस शाहसँग मोटरसाइकलमा राखेर हिँडेको भिडियो अपलोड गरेपछि सामाजिक सञ्जाल तातेको हो । सामाजिक सञ्जालमा पूर्वयुवराज पारस र सोनिकालाई ट्रोल समेत बनाइएको छ ।

यसअघि पनि सोनिकाले पारससँगका कैयन् पटक तस्वीर शेयर गर्ने गरेका थिए । सोनिकाका अनुसार यी दुई ३ महिनादेखि नजिक छन् ।

यता सोनिकाले पारसलाई एक अभिभावकझैँ केयर गर्ने मिल्ने साथी भएको दाबी गरेकी छिन् । खबरहबसँगको कुराकानीका क्रममा सोनिकाले भनिन्, ‘पारस सरकारका कारण ममा चेन्ज धेरै आध्यात्मिक चेन्ज आएको छ, उहाँ मेरो मिल्ने साथी हो ।’

टिकटकमा पूर्वयुवराज पारस र सोनिकाको एक भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा पारसको विरोध शुरु भएको थियो । सुमन नामक युवकले टिकटकमा १५ सेकेन्डको भिडियो सार्वजनिक गरेका थिए । भिडियोमा पारस शाहले बाइकमा सोनिकालाई कुरिरहेका हुन्छन् । पोखरामा खिचिएको उक्त भिडियोमा पारसले केही नेपालीलाई राजावादी भनेर नछुट्याउन र सबैलाई नेपाली भन्न अनुरोध गरेका छन् ।
उनले भिडियोमा भनेका छन्, ‘यो वादी र ऊ वादी भनेर छुट्याउने होइन, हामी सबै नेपाली हो ।’

राजावादी र नेपालीबीचको कुरा चलिरहँदा युट्युबर सोनिका रोकाया बाइक नजिक आउँछिन् । लगत्तै पारसले बाइक स्टार्ट गर्छन् । र, दुवै हुइँकिन्छन् ।

यता सोनिकाले आफूले बिल तिरेर भित्रबाट आएको र कसैले लुकेर भिडियो खिचेको आफूहरुले थाहा नपाएको बताइन् । ‘म रेष्टुरेन्टबाट बिल तिरेर निस्किरहेकी थिएँ, हामीले ड्रिङ्क गरेर निस्किरहेका थियौँ, उहाँले बाहिर केही राजावादीलाई यो वादी र ऊ वादी नभन्नु भन्नुभएको रहेछ,’ खबरहबसँगको कुराकानीमा सोनिकाले भनिन्, ‘मलाई के थाहा त्यहाँ क्यामेराले खिचिरहेको छ भनेर, म त बिल तिरेर बाहिर आएँ, म उहाँसँग आएको थिएँ भने उहाँसँगै जान्छु नि ।’

पूर्वयुवराज पारस शाहसँग नाम जोडिएपछि सोनिकालाई सामाजिक सञ्जाल प्रयोगकर्ताले ‘ट्रोल’ बनाएका छन् ।


उनले सोही होटलमा बसेर टिकटक भिडियो बनाएर आफूले अपलोड गरेको पनि बताइन् ।

सोनिकाले आफ्नो वृत्तिलाई मिडियाले नेगेटिभ बनाइदिएको र त्यहीअनुसार आफू हिँड्न चाहेको बताइन् । ‘म उच्छृङ्खल किन भएँ ? कारण समाज नै हो, सधै मलाई नेगेटिभ मात्र भन्यो,’ उनले भनिन्, ‘कपिल शर्मासँग अन्तर्वार्ता लिँदा कसैले कभर गरेन, अहिले भने यसरी मिडियामा आयो ।’

सोनिकाले पारससँग भेट भएपछि आफूमा धेरै परिवर्तन आएको र पारसले सधै आफूलाई मोटिभेट गरेको पनि बताइन् । ‘म कस्तो बोल्थेँ, कस्तो नराम्रो थिएँ, कस्तो ड्रेसअप गर्थें, अहिले हेर्नुस् त, मैले पूरै ज्यान ढाक्ने कपडा लगाउन थालेकी छु, पारस सरकार राम्रो मान्छे हो,’ उनले दाबी गरिन् ।

‘पारस सरकारले ममा भएको नेगेटिभिटीलाई हटाइदिनुभयो, उहाँले देशका लागि केही गर्नुपर्छ भन्ने पार्दिनुभयो, यसलाई पनि मान्छेले नकारात्मक सोचिरहेको छ,’ उनले अगाडि थपिन् ।

सोनिकाका अनुसार पारस शाहसँग उनको निकटता दरबारमार्गमा रहेको लिक्विड लाउन्जमा भएको हो । उक्त लाउन्जमा सोनिकाको पनि शेयर थियो । पारस सधै त्यहीँ आउँथे । पारस र सोनिकाको निकटता बढ्दै गयो ।

पछि पारसकै सल्लाहमा आफूले लाउन्जबाट शेयर निकालेको समेत उनले दाबी गरिन् ।

पारस शाहको क्रिकेटर पारस खड्कासँग तुलना गर्दै व्यङ्ग्य ।


‘त्यहाँ मलाई धेरैले छुन खोज्थे, उहाँले यदि परिवर्तन हुनु छ भने यो रेस्टुरेन्ट छोड भन्नुभयो, मैले छोडेँ,’ सोनिकाले भनिन्, ‘म त्यहाँ व्यापार गर्थेँ, अहिले छोडिसकेँ, त्यहाँ फेक संसार छ ।’

सोनिका र पारसमा केही समानता पनि छ । यी दुवै पश्चिमी सभ्यतालाई खुला रुपमा स्वीकारेका छन् । दुवैले आफूहरु पश्चिमी कल्चरमा हुर्केकाले पश्चिमी संस्कृतिलाई अंगालेको बताउँछन् । तर, त्यो सभ्यता नेपाली समाजमा सहजै पच्न गाह्रो हुन्छ । अर्कातिर पारस त झन् पूर्वयुवराज समेत भएकाले जनताको सम्मान र केही हदसम्म विश्वास छ ।

सामाजिक सञ्जालमा ‘उत्तेजक’ बनेर चर्चामा आएका कारण सोनिकाप्रति दर्शकको सकारात्मक दृष्टिकोण छैन । आफूहरु दुवै उस्तै परिवेशबाट गुज्रेकाले पनि दुवै मिल्ने साथी भएको सोनिकाको बुझाइ छ ।

पारस भने यो बारेमा आफ्नो भनाइ राख्न चाहन्नन् । ‘म उहाँसँगै छु, केही सोध्नु छ भने मलाई नै सोध्नुस् न, उहाँ केही बोल्नुहुन्न,’ हामीले कुरा गर्न खोज्दा उनको प्रतिक्रिया थियो ।

‘म तीन महिनादेखि उहाँसँग भेट्दा हामी कहिल्यै पनि प्रेमका कुरा गरेनौँ, हामी सधै नेपाललाई कसरी राम्रो बनाउने भन्ने कुरा गर्छौं,’ सोनिका रोकायाले सुनाइन्, ‘तर, यत्ति हो, यहाँ जे कुरालाई पनि नकारात्मक रुपमा लिइन्छ ।’

सोनिकाले पारससँग बनाएको एक टिकटक भिडियो अपलोड गरेकी थिइन् । उनले टिकटकमा ‘मुख खोलेर भन्न पो भा’छैन तर कल्लाई थाहा छैन’ बोलको गीतमा टिकटक बनाएकी छिन् । उक्त टिकटक भिडियोको पृष्ठभूमिमा पारस शाहलाई देख्न सकिन्छ ।

यो भिडियो पनि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

त्यसो त यसअघि पनि पारस र सोनिकाका तस्वीर सार्वजनिक भएका थिए । अहिले आएर सोनिकाले पारससँग आफ्नो ‘ब्याइफ्रेण्ड र गर्लफ्रेण्डको सम्बन्ध’ नभएको दाबी गरेकी छिन् । बरु उनले पारसलाई मिल्ने साथी भएको बताउँछिन् ।

‘कोहीसँग बोल्दैमा भेट्दैमा प्रेम हुन्छ र ? त्यसो हो भने त कपिल शर्मा (भारतका कमेडियन) पनि मेरो बेस्ट फ्रेन्ड हुन्, उनीसँग पनि रिलेशनमा छु भन्दिने?,’ सोनिकाले भनिन्, ‘यस्तो हल्ला चल्छ, त्यो पनि बीच बाटोमा छु यार, म बेडरुममा भेटिएको त होइन नि, भित्रबाट बिल तिरेर आउँदैछु ।’

को हुन् सोनिका ?

सोनिका रोकाया युट्युबर, भिजे तथा मोडल पनि हुन् । उनले युट्युबमा उत्तेजक अन्तर्वार्ता लिएर दर्शकमाझ चर्चा कमाएकी थिइन् । उनले सेलिब्रेटीसँग भन्दा पनि बढी ‘पब्लिक’ सँग अन्तर्वार्ता लिने गर्थिन् । समाजमा अश्लीलता फैलाएको भनेर आरोप खेपेकी सोनिका पछिल्लो समय भने सोे दुनियाँबाट टाढा थिइन् ।

त्यसो त उनले कार्यक्रम चलाउन छोड्नुअघि सरकारले उत्तेजना फैलाउने केही युट्युबरलाई पक्राउ गरेर कारवाही समेत गरेको थियो । कतिपयले सोनिकाले सरकारले कडाइ गरेका कारण त्यस्ता अपच कार्यक्रम चलाउन छोडेको दाबी गर्छन् ।

केही समय ओझेलमा हराएकी सोनिका पछिल्लो समय व्यवसायमा सक्रिय थिइन् । पछिल्लो समय पारस शाहसँग सम्बन्ध विस्तार भएपछि पारसकै सल्लाहमा आफ्नो लगानी रहेको दरबारमार्गस्थित लिक्विड लाउन्जबाट शेयर झिकेको उनको दाबी छ ।

सामाजिक सञ्जालमा ट्रोल

सोनिकाले पारस शाहलाई ‘गुरु’ बताए पनि सामाजिक सञ्जालमा भने पारस र सोनिकाको नाम जोडिएर विभिन्न ट्रोल बनाइएका छन् । कतिपयले सोनिकाले महारानीका रुपमा परिभाषित गर्दै व्यङ्ग्य गरेका छन् ।

पारस र सोनिकाका तस्वीर यसअघि पनि सार्वजनिक भएका कारण धेरैले पारस र सोनिका प्रेममा रहेको अड्कल काटेका छन् । तर सोनिकाले भने आफूहरु प्रेममा नरहेको बरु राम्रो साथी भएको दाबी गर्छिन् ।

पारसलाई निर्मल निवासमा ‘नो इन्ट्री’

विभिन्न ‘काण्ड’ मा मुछिएका कारण पूर्वयुवराज पारस शाहलाई निर्मल निवासमा प्रवेश निषेध गरिएको छ । थाइल्याण्डमा रहँदा थाई युवतीसँगको सम्बन्ध, नशामा डुब्ने, एग्रिसिभ स्वभाव आदिका कारणले गर्दा उनको सम्बन्ध परिवारसँग पनि राम्रो छैन ।

शेयर झिक्ने कुरा हो तर अझै छः लिक्विड लाउन्ज सञ्चालक

खबरहबसँगको कुराकानीमा सोनिका रोकायाले लिक्विड लाउन्जबाट शेयर निकालिसकेको बताएकी छिन् । तर लाउन्जका एक शेयर होल्डरले भने झिकने कुरा पक्काजस्तै भए पनि अझै शेयर रहेको बताए । ‘उहाँले आफ्नो व्यस्तता देखाउँदै आउनुभएको छैन, शेयर निकाल्ने कुरा चाहिँ पक्काजस्तै हो, कागजात मिलाइएको छैन,’ उनले खबरहबसँग भने ।

पारसको नकारात्मक र प्लेबाय छवि

नकारात्मक छवि बनाएर चर्चामा आएकी सोनिका रोकायासँग नाम जोडिएका पारस शाहको ‘प्लेबाय’ को छवि भने पुरानो नै हो । स्रोतका अनुसार पारसको पिता पूर्व राजा ज्ञानेन्द्र शाह र पत्नी हिमानी शाहसँग पनि राम्रो सम्बन्ध छैन । ‘पारस आफ्नी आमासँग मात्र बोल्छन्, उनको व्यवहारले पूर्वराजपरिवार नै आजित छ,’ स्रोतले भन्यो ।

पारस सरकारमा देशप्रेम छ: सोनिका

केही समय गुमनाम भएकी सोनिका रोकाया पछिल्लो समय पारस शाहका कारण चर्चामा छिन् । सोनिका र पारस यतिबेला पोखरामा छन् । सोनिकाले पारस सच्चा राष्ट्रभक्ति भएको र युवाहरुलाई देशप्रतिको माया झल्काउनुपर्छ भन्ने भावना रहेको बताउँछिन् ।

‘आफ्नो संस्कृति के हो, पहिचान के हो भन्ने कुरा मैले पहिले बुझेकी थिइनँ, म त फेक जिन्दगी जिइरहेकी रहेछु,’ सोनिका भन्छिन्, ‘पारस सरकारमा देशप्रति माया छ, जुन माया अहिलेका नेताहरुमा छैन, कसैले उहाँलाई गाली गर्छ भने मलाई दुख्छ, देशका लागि सोच्ने कोही त छ, मैले उहाँलाई गुरु मानेकी छु ।’

‘उहाँले म जस्तो क्यारेक्टरलेस केटीलाई त चेन्ज गर्नुभयो भने मैले सिक्नु भनेको अरु २÷३ जना युवाहरुलाई पनि सचेत गराउनु हो, मलाई उहाँले त्यो महसूस दिनुभएको छ,’ उनको दाबी छ, ‘खासमा उहाँ राम्रो मान्छे हो, मिडियाले नराम्रो बनाइदियो, के उहाँले एउटा पनि राम्रो काम गर्नुभएको छैन र?’

प्रकाशित मिति : २८ आश्विन २०७६, मंगलबार  २ : ४२ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न