‘आ’ माने आमाको आँशु « Khabarhub
Live on

RADIO CANDID

Your Voice, Your Power

0%

‘आ’ माने आमाको आँशु



मदनमणि दीक्षित

त्यति बेला चन्द्रशमशेर श्री ३ महाराज अर्थात् प्रधानमन्त्री थिए र उनैका काममा मेरा पिताजीले सन् १९२४ मा बम्बई जानुपरेको थियो । पिताजीसँग मेरी माता, मेरी ठूली दिदी देवकुसुम, माहिली दिदी विमला तथा म पनि थियौँ ।

हामी काठमाडौँबाट प्रस्थान गरेको तेस्रो दिन मेरो मावली बनारस पुग्यौँ । त्यहाँ पुगेपछि पिताजीले भन्नुभयो, ‘बम्बईमा डेरा बन्दोबस्त गरेपछि तार खबर गरेर बोलाउँछु । अहिले सबै यहीँ बस्नू ।’ आफ्ना जेठान भगवतीप्रसाद उपाध्यायलाई पछि हामी सबैलाई बम्बई पुर्‍याइदिने जिम्मा दिएर पिताजी हिँड्नुभयो । त्यस बेला म पन्ध्र महिनाको बालक थिएँ ।

बनारसमा हामीले छ महिना बस्नुपर्‍यो । त्यस बेला मेरा मामाका लागि म भर्खरको जेठो भानिज थिएँ । मेरी माताकी दिदी मलाई आफ्नो काखमा राखेर खेलाउने गर्नुहुन्थ्यो । भर्खर केही महिनापहिले ‘बाबा’, ‘आमा’ बोल्न सिकेको मलाई उहाँले २,००० वर्षपहिले लेखिएको वाल्मीकि रामायणको श्लोक घोकाउन थाल्नुभयो । भर्खर दुई शब्द बोल्न जानेको म ठूलीआमाका ती शब्दहरु सुन्दो रहेछु तर दोहोर्‍याउन सक्दो रहेनछु । तर उहाँले पनि ‘ल मदन, भन त’ भन्दै रोजरोजै पटक–पटक त्यो श्लोक दोहोर्‍याउन छाड्नुभएन ।

एवंरीतले दुई महिना बिते । एक दिन उहाँले फेरि त्यो श्लोक मेरो सामुन्ने दोहोर्‍याउनुभएछ । दुई शब्दबाहेक तेस्रो शब्द बोल्न नजानेको मैले त्यो दिन उहाँले सिकाउन खोज्नुभएको पूरै श्लोकलाई जस्ताको तस्तै दोहोर्‍याएँछु । मैले त्यसरी दोहोर्‍याएको सुनेपछि मेरो मावली खलक आश्चर्यमा परेछ । दुई शब्दभन्दा बढी बोल्दै नबोल्ने शिशुले कसरी पूरै श्लोक दोहोर्‍यायो होला । त्यो श्लोक थियो–

मा निषाद प्रतिष्ठां त्वमगमः शाश्वती समा ।
यत् क्रौन्चामिथुनादेकमवधीः काममोहितम् ।।

म आफू जन्मिएपछि पहिलोपटक बनारस पुगेको थिएँ । बनारस छ महिना बसेपछि मेरा ठूला मामाले हामीलाई बम्बई पुर्‍याइदिनुभयो । बम्बई पुगेपछि मेरा पिता तथा मेरा कान्छा पितामह हरिहर आचार्य दीक्षितले बनारसको घटना सुनेपछि आश्चर्य मान्नुभयो । त्यो ठूलो परिवारभित्र बनारसको घटनाबारे चर्चा चलिरहँदा मेरी माताजीले भन्नुभएको थियो, ‘मदन जन्मेको छैटौँ दिन यसका साहिँला बाजे सदाशिव आचार्य दीक्षित (डा. सिद्धिमणि दीक्षितका पिता) ले भन्नु पनि भएको थियो– ठूलो भएपछि यो बालक हाम्रो परिवारको ठूलो मानिसमध्येमा गनिनेछ । अहिले यसको जन्मकुण्डलीबारे सबै विवरण भन्नु हुँदैन । न्वारनपछि म लेख्ने नै छु ।’ सदाशिव ज्योतिषशास्त्रको ठूलो विद्वान् हुनुहुन्थ्यो ।

बम्बईमा हामी कान्छा बाजेकै छिमेकी भएर बस्यौँ । बनारसको घटना सुनेपछि उहाँले मलाई पढ्न–लेख्न सिकाउने गर्न थाल्नुभयो । यी सबै घटनाबारे हामी बम्बईबाट साढे चार वर्षपछि काठमाडौँमा फर्किएपछि मेरी माताजीले हामी केटाकेटीलाई बारम्बार बताउनुभएको थियो ।

बम्बई बसेका बेला पनि वाल्मीकि रामायणकै कुरा दोहोरिएको थियो । मेरा पिताजीले वाल्मीकि रामायणको मूल संस्कृतको दुई भाग किनेर ल्याउनुभयो । त्यसमा रहेका श्लोकहरुको पाठ पिताजी र माताजीले मलाई सुनाउने गर्नुहुन्थ्यो । त्यस क्रममा उहाँहरुले त्यस पुस्तकमा रहेका राम, सीता, लक्ष्मण, दशरथ आदिका रेखाचित्रहरुमा रङ भर्ने पनि गर्नुहुन्थ्यो । दुई भागको पुस्तकको पहिलो भाग मसित अझै छ । त्यो पुस्तकमा १८–१२–२५ सन् लेखेर मेरा पिताजीले दस्तखत गर्नुभएको छ ।

बम्बईमा रहँदा मेरी माहिली दिदीमा दाहिने हातको कान्छी औँलो चुसिरहने बानी थियो । त्यो बानी छुटाउन दिदीको काननेर बिस्तारै पटाका पड्काइदिनुपर्छ भनी माताजीलाई कसैले सिकाएछ । अनि माताजीले त्यसै गर्नुभयो । एक दिनमा चार पटकसम्म त्यसरी पटाका पड्काएपछि दिदीको औँला चुस्ने बानी ठ्याम्मै हरायो । त्यो नराम्रो बानी अन्त्य गर्न उहाँले अनन्त प्रयास गरेको पनि म सम्झिन्छु ।

हामी बम्बई बस्दा मेरा कान्छा पितृव्य हरिहर आचार्य दीक्षितकी जेठी छोरी चित्रामा मेरी माताजीप्रति ठूलो स्नेह र श्रद्धा रहने गरेको थियो । दस वर्षको सानो उमेरमा विवाह भएलगत्तै उहाँ विधवा हुनुभयो । हामी बम्बई पुग्दा उहाँ त्यस बेला भारतका महान् नेता महात्मा गान्धीका विचारको समर्थक भइसक्नुभएको थियो । महात्मा गान्धीको सत्याग्रह नामक राजनीतिक सङ्घर्ष र ब्रिटिस साम्राज्यविरुद्ध भारतको स्वाधीनताको आन्दोलनप्रति मेरी माता र चित्रा फुपू उत्सुक हुनुहुन्थ्यो । तर उहाँहरु दुवै जना आफ्ना विचारलाई मेरा कान्छा पितृव्य र मेरा पिताका अघि प्रकट गर्नुहुन्नथ्यो ।

विचारशीलताको त्यस गुणको परिणाम के भयो भने चित्रा फुपूकी माता दुर्गादेवीले नेपाली भाषाको पहिलो पुस्तक भार्या कर्तव्य लेख्दा उहाँहरु दुवै जना त्यसमा सहायक हुनुभयो । दुर्गादेवीले नारी कर्तव्यबारेको त्यो पुस्तक मेरी माताजी र आफ्नी छोरीसँग सल्लाह गरेर, सहमतिका आधारमा लेख्नुभयो । मेरी माताजीले त्यो पुस्तक पढेर हामीलाई सुनाउँदै समर्थन र प्रशंसा गर्ने गर्नुहुन्थ्यो । माताजीका ती साहित्यिक दार्शनिक विश्लेषणबारे मैले पहिलोपटक बम्बईमा थाहा पाएको हुँ । त्यस लेखमा रहेको सारतङ्खव ममा अझै कायम रहेको छ । त्यसो हुनु स्वाभाविक पनि हो, आखिर मैले उहाँबाटै जन्म पाएको हुँ ।

समाजमा नारीको सहभागिताबेगर देशले न प्रजातन्त्र पाउँछ, न प्रगति र न उन्नति गर्न सक्छ भनी वर्षौंवर्षपछि नेपालका प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाले संवत् २०३६ असार २१ गते भाषण गर्नुभएको थियो । श्रोताहरुको त्यो विशाल समूहमा जम्माजम्मी बीस–एक्काइस जना मात्र नेपाली नारीको उपस्थिति रहेको देखेपछि मैले आफ्नो साप्ताहिक पत्रिकामा लेखेको थिएँ– ‘नेपालमा प्रजातन्त्र र प्रगति ल्याउने हो भने पहिले नारी जागृति र नारी सहभागिता अत्यावश्यक हुन्छ ।’ मेरो त्यो लेख भार्या कर्तव्यबारे मेरी माताजी र चित्रा फुपूबीच वर्षौंवर्ष पहिले बम्बईमा भएका छलफलकै परिणाम थियो भन्ने म ठान्छु ।

मेरो जन्म सन् १९२३ को दोस्रो महिनामा भएकाले बम्बईसँग सम्बन्धित मेरा सम्झनाहरु सन् १९२६ देखि १९२८ सम्मका छन् । हाम्रा ती रमाइला दिनहरु त्यसै बितेर गए । बम्बईका दुईवटा घटना मेरा मनमा अझै ताजा छन् । पहिलो सम्झना हो, बम्बईको फलफूल बिक्रेता भागुजीसँगको । भागुजीले दुई टोकरी ताजा अङ्गुर, स्याउ, सुन्तला, रोजै चन्द्रशमशेरसम्म काठामाडौँ पठाउँदा एक झुप्पा अङ्गुर मेरी माताजीलाई दिने गरेका थिए ।

माताजीसँगै हामी त्यही दृश्य हेथ्र्यौं र हामी केटाकेटीलाई उहाँ भन्नुहुन्थ्यो, ‘विश्वकर्माले यी जगहरुमाथि भोलि घर ठड्याउँछन् । ल, तिमीहरु विश्वकर्मालाई नमस्कार गर ।’

अर्को अचम्मको कुरा– बम्बईमा मुसाको ताँती । हामी बसेको घरको दोस्रो तलाको बार्दलीको एउटा कुनाबाट दर्जनौँ मुसाहरु निस्की खुरुक्क दौडेर बार्दलीकै छ हात परको अर्को कुनामा रहेको अर्को प्वालभित्र बिलाउने गर्थे । रोजै तीन–चारपटक बार्दलीमा ओहोरदोहोर गर्ने ती मुसाहरु मतिर हेर्दैनथे । म पनि तिनलाई चलाउँदिनथे । आफ्नो जीवनको शैशवकालमा मैले मानिसबाहेक राम्रोसित देखेको पहिलो प्राणधारी पशु मुसा नै हो ।

त्यस बेला बम्बईमा सिनेमाघर थियो कि थिएन, म पटक्कै सम्झिन्नँ । आजको मरिन ड्राइभ रहेको ठाउँमा त्यस बेला भर्खर जग खनेर खाली ठाउँ माटोले पुर्ने गरिन्थ्यो । माताजीसँगै हामी त्यही दृश्य हेथ्र्यौं र हामी केटाकेटीलाई उहाँ भन्नुहुन्थ्यो, ‘विश्वकर्माले यी जगहरुमाथि भोलि घर ठड्याउँछन् । ल, तिमीहरु विश्वकर्मालाई नमस्कार गर ।’ उहाँमा रहेको त्यो भक्तिभाव र देवताप्रति रहेको प्रेमबाट म अत्यन्तै प्रभावित हुने गर्थें । त्यो मेरो देवताप्रतिको पहिलो भक्तिभाव थियो । माताजीले गर्दा ममा अझैसम्म विश्वकर्माप्रति भक्तिभाव छ ।

त्यस्तै एक दिन बम्बईमा फ्रान्सेली कलाकारहरुको सर्कस हेर्न जाने क्रममा बग्गीबाट ओर्लिंदा म भीडमा छुट्न गएको, दुई मिनेटपछि उहाँले आफैँ आएर मलाई बोकेर लैजानु भयो । उहाँले मलाई काखमा राखेर सर्कस हेरेको तथा सर्कसमा कसले केके काम, कसरी कसरी गरिरहेको छ भनेर बताउनुभएका कुरा अहिले पनि म सम्झिन्छु ।

ती वर्षहरु बम्बईमा रहँदा मेरा कान्छा पितामह हरिहर आचार्य दीक्षित आफ्ना चार छोराहरु तथा मेरा पिता र मातालाई आफ्नो फराकिलो कोठाको गलैँचामा बस्न लगाएर प्राणायाम गर्न सिकाउनुहन्थ्यो । प्राणायाम के हो, मलाई थाहा थिएन । मैले जिज्ञासा राख्दा माताजी भन्नुहुन्थ्यो, ‘ठूलो भएपछि बुझ्छस् ।’

बम्बईमा एक दिन मेरा पिताजीले परिवारको तस्वीर खिच्ने पसलमा हामीलाई लग्नुभयो । त्यो दिन माताजीले हामीलाई भर्खर तयार पारिएका नयाँ पोसाक पहिर्‍याइदिनुभयो । मैले कोट भन्ने जिनिस जीवनमा पहिलोपटक त्यही तस्वीर खिच्ने दिन पहिरिएको थिएँ ।

मार्खुमा म माताजीसँगै सुतेको थिएँ । दोस्रो दिन हामी मार्खुबाट थानकोट आइपुग्यौँ । त्यहाँ मेरी पितामहीले आफ्नो अति सुन्दर र विशिष्ट कालो छालाको तामदान मेरी माताजीका निम्ति पठाइदिनुभएको रहेछ ।

बम्बईमा अढाई वर्ष बसेपछि हामी सपरिवार काठमाडौँ फर्कियौँ । नेपाल सीमासम्म आउन हामी ट्रेनको दोस्रो दर्जाको कोठामा बसेका थियौँ । त्यही कोठामा रहेकी एउटी अंग्रेज युवती मेरी माताजीसित कुरा गर्न थाली । उसलाई हिन्दी बोल्न आउँदो रहेछ । ऊ लखनउतिर जाने रहिछ । खानेकुरा पकाउन माताजीले त्यो दिन ट्रेनको भुइँमा स्टोभ बाल्न खोज्नुभयो । स्टोभ नबलेपछि त्यो अंग्रेज युवतीले माताजीलाई सिकाइदिई । खानेकुरा पाक्न थाल्यो । ट्रेनमा साँझपख माताजीले हामीलाई रातिको भोजन गराउनुभयो । त्यो अंग्रेज युवतीले मलाई आफ्नो काखमा राखेर अँगालो हाली, गालामा म्वाइँ खाई । त्यो म्वाइँ खानु, त्यसमा पनि अंग्रेज युवतीले काखमा लिएर म्वाइँ खानु मेरो जीवनकै आश्चर्यमय र आनन्दकारी घटना भएको म सम्झिन्छु ।

हामी रक्सौल आइपुग्यौँ । रक्सौलबाट काठमाडौँसम्म पैदल बाटामा खटौली अथवा तामदान नत्र मान्छेले बोकेको डोकामा आउनुपथ्र्यो । म सम्झिन्छु– खटौलीमा अमलेखगन्जसम्म आउँदा माताजीले मलाई आफूसँगै राख्नुभएको थियो । म चार वर्षको हुन लागेको थिएँ । त्यति बेला रक्सौल–अमलेखगन्ज रेलवे लाइन हाल्ने उपक्रम चलिरहेको थियो । बीचमा आधाभार भन्ने ठाउँमा हाम्रो परिवार एक रात बास बस्यो । भोलिपल्ट हामी भीमफेदी पुग्यौँ । भीमफेदीमा एक रात बसेपछि दोस्रो दिन हामी सबै जनालाई मार्खुमा पुर्‍याइयो ।

मार्खुमा म माताजीसँगै सुतेको थिएँ । दोस्रो दिन हामी मार्खुबाट थानकोट आइपुग्यौँ । त्यहाँ मेरी पितामहीले आफ्नो अति सुन्दर र विशिष्ट कालो छालाको तामदान मेरी माताजीका निम्ति पठाइदिनुभएको रहेछ । त्यसमा पनि म माताजीसँगै बसेँ । माहिली दिदीलाई मेरा पिताजीले आफ्नो घोडाको अघिल्तिरको काठीमा बसालेर घरतिर कुदाउनुभयो । मेरी ठूली दिदी अर्कै तामदानमा बस्नुभएको थियो ।

हामी कुन बेला काठमाडौँ पुग्यौँ, म सम्झिन्नँ । त्यो दिन म रातभरि निदाएछु । भोलिपल्ट बिछ्यौनामा ब्यूँझिँदा मैले माताजीलाई देखिनँ र रुन थालेँ । उहाँ त्यो ठूलो घरको कोठामा देवरानी जेठानीहरुसित पहिलो भेटघाट र कुराकानी गरिरहनुभएको रहेछ । म रुँदैरुँदै उहाँनजिक पुगेछु र उहाँको नयाँ बुट्टे रेशमी धोती समातेर झन् चर्को आवाजमा रुन थालेछु ।

काठमाडौँ फर्केपछि एक दिन मेरा पिताजी श्री ३ चन्द्रशमशेरले अह्राएका काममा भएका सफलता र विफलताबारे जोहेरी गर्न सिंहदरबार जानुभयो । त्यो जाहेरीका क्रममा उहाँले भन्नुभएछ, ‘छोरो अब केही दिनमा पाँच वर्ष लाग्छ ।’

रात पर्न थालेपछि हामी तीन जना केटाकेटीलाई मालती (पहिलेकी कमारी रेशमाले म जन्मिनुभन्दा वर्षदिनपहिले आफ्नो नाम फेरबदल गरी मालती राखेकी थिई) भन्ने सेविकाले धनी राजा र भोटे राजाको कथा सुनाउन थाली । मेरा आँखा भने दलिनमा छापेको टिनमा रहेका बेलायती राजारानीका तस्वीरमा परिरहेका थिए । मट्टीतेलको कनिस्टरको छानामा ती रमाइला तस्वीरहरु कुँदिएका जस्ता थिए । मैले बनारस र बम्बईमा त्यस्तो टिनको छाना देखेको थिइनँ । म ती टिनका पातातिर हेर्दाहेर्दै निदाएछु ।

काठमाडौँ फर्केपछि एक दिन मेरा पिताजी श्री ३ चन्द्रशमशेरले अह्राएका काममा भएका सफलता र विफलताबारे जोहेरी गर्न सिंहदरबार जानुभयो । त्यो जाहेरीका क्रममा उहाँले भन्नुभएछ, ‘छोरो अब केही दिनमा पाँच वर्ष लाग्छ ।’ त्यो भनाइको अर्थ रहेछ–बाबूको व्रतबन्ध गर्ने बेला भयो ।

चन्द्रशमशेरले भनेछन्, ‘त्यसो भए आउँदो वसन्त पञ्चमीको दिन व्रतबन्ध गर्नू ।’ भयो पनि त्यस्तै । बम्बईबाट फर्किएको छ महिनापछि मेरो व्रतबन्ध भयो । त्यो वर्षको पञ्चमीको अघिल्लो दिन मेरो कपाल मुण्डन गर्न थालियो । मैले अरु कसैको काखमा बस्न नमानेपछि मेरी माताजीले मलाई आफ्नो काखमा राखेर कपाल मुण्डन गराउनुभएको थियो । जन्मेदेखि नकाटिएको, पाँच वर्षदेखि लामो हुँदै लटारिँदै आएको मेरो कपाल साह्रै घुम्रिएको र कुमसम्म लत्रिएको थियो ।

श्रीपञ्चमीको दिन मेरो व्रतबन्ध सम्पन्न भयो । मेरो व्रतबन्ध गराउने महापण्डित श्री रङ्ग भट्टराई हुनुहुन्थ्यो । चारवटै वेदबारे सम्पूर्ण ज्ञान भएका उहाँ अति शुद्ध आचरणका, अग्ला गोरा व्यक्ति हुनुहुन्थ्यो । उहाँले व्रतबन्ध गराउँदा मेरा पितामह काशीनाथ आचार्य दीक्षितले मेरो कानमा तीनपटक गायत्री मन्त्र फुकिदिनुभयो । व्रतबन्ध सकिएपछि पिताजीले मलाई आफ्नो घोडाको अघिल्लोपट्टि बसालेर लैनचौरतिर रहेको सरस्वती मन्दिरमा दर्शन गराउन लैजानुभयो । साँझपख हामी घर फर्किएपछि पिताजीले मलाई आफूसँगै कोठामा लगेर अब छ महिनासम्म मैले गर्नुपर्ने धार्मिक काम–कर्तव्य र गर्न नहुने क्रियाकलापबारे सिकाउन थाल्नुभयो ।

मेरो व्रतबन्धमा चन्द्रशमशेरले आफ्ना एक कर्णेल सेवकका मार्फत् ‘भिक्षादान’का रुपमा एक मुठी चामल, अन्य परिकार पठाएका थिए ।
मेरो व्रतबन्ध भएको केही महिनापछि मेरा पितामहका सात जना छोराहरुबीच धन–सम्पत्तिको अंश भागबन्डा भयो । मेरी पितामही ललितादेवी दीक्षितले घरको चल सम्पत्तिलाई आफ्नो कोठाछेउको ठूलो बैठककोठामा सात छोराबीच सातवटा फरक–फरक भाग लगाउनुभयो र सातवटी बुहारीहरुबीच कुन भाग कसकामा पर्ने भन्ने चिट्ठा हालेर रोजी छाडी गर्न लगाउनुभयो ।

म यो सबै हेरिरहेको थिएँ । एउटा अंश भागमा तामाको एउटा चरो राखिएको थियो । त्यो चरोमा चुच्चो, आँखा र कान मात्रै थियो । त्यो चरोको घाँटी छुट्ट्याएर पेटमा टम्म पानी हालेर फेरि घाँटी जोडिदिएर कमलको कालो गोलमाथि राख्दा पेटको पानी तातेपछि त्यसको चुच्चोबाट सिरसिर बाफको पातलो सुइरो निस्केर आगोलाई फुकेर बढाउने गथ्र्यो । म त्यो हेरिरहन्थेँ । त्यो चरो राखिएको अंश माताजीको भागमा परोस् भन्ने म चाहन्थेँ ।

नयाँ घर सरेको केही दिनपछि एक साँझ त्यो खोलामा हामीले एउटा भूतजस्तो देख्न थाल्यौँ । त्यो भूत देखेर तर्सिएका हामीले गएर माताजीलाई बतायौँ । माताजीले पनि झ्यालबाट भूत देख्नुभयो । हेर्दाहेर्दै रात पर्न थाल्यो ।

भयो पनि त्यस्तै । त्यो तामाको चरोसित त्यस बेला म रोजै खेल्ने गर्थें ।

व्रतबन्ध सिध्दिएकै दिन दिउँसो मेरो अक्षरारम्भ गरियो, श्री रङ्ग भट्टराईका माहिला छोरा धरणीधर भट्टराई हाम्रो अंश–भागमा परेको पुरेतबाजे हुनुहुन्थ्यो । उहाँले पहिलो दिन मलाई ‘अ’, ‘आ’ लेख्न सिकाउनुभयो । दोस्रो दिनपछि मेरी माताजी र दुई जना दिदीहरु पनि सँगै बसेर अक्षर लेख्न सिक्न थाल्यौँ । मेरो हात समातेर माताजी कसरी अक्षर लेख्ने भनी सिकाइदिने गर्नुहुन्थ्यो । उहाँको सिकाइबाट म अत्यन्त सुखी हुन्थेँ । अक्षर लेख्न सिक्ने प्रक्रिया दिउँसो एक बजेदेखि एक घन्टासम्म चल्थ्यो । सत्र दिनमा मैले ‘अ’ देखि ‘अः’ सम्म लेख्न सिकेँ । मैले जम्मा पचास दिनमा देवनागरी लिपिका बाउन्नवटा अक्षर लेख्न सिकेको थिएँ । माताजीले निकै खुसी हुँदै भन्नुभयो, ‘ल मदन, अब तँ ठूलो पढ्ने–लेख्ने मान्छे हुन्छस् ।’

अंशबन्डापछि हामी विशालनगर छेउ हाँडीगाउँको दुईतले घरमा सरिसकेका थियौँ । त्यो घरको दोस्रो तलाको पूर्वपट्टिको झ्यालबाट केही टाढा धोबीखोला देखिन्थ्यो । नयाँ घर सरेको केही दिनपछि एक साँझ त्यो खोलामा हामीले एउटा भूतजस्तो देख्न थाल्यौँ । त्यो भूत देखेर तर्सिएका हामीले गएर माताजीलाई बतायौँ । माताजीले पनि झ्यालबाट भूत देख्नुभयो । हेर्दाहेर्दै रात पर्न थाल्यो । आगोको ज्वालाजस्तो देखिएको त्यो भूत झन् उज्यालो भएर ठाउँ सर्न थाल्यो । ठाउँ सर्दा त्यो भूत कहिले खोलाको पानीमाथि बग्थ्यो, नत्र कहिले किनारको बालुवामा । माताजी पनि छक्क पुर्नभयो ।

हेर्दाहेर्दै त्यो भूत बिलायो । धोबीखोलाको राँके भूतलाई हामीले आठ–दस दिनसम्म हेर्‍यौँ र छक्क पर्‍यौँ । माताजीले हाम्रो घरअगाडिको खेतमा हलो जोत्न आउने एउटा केटासित कुरा गर्दा हामीले थाहा पायौँ– नेपालको एउटा जातिविशेषको मानिस मरेपछि नदीको उत्तरी किनारमा ल्याएर गाडिदिने नत्र मूर्दालाई परालमा उभिन्डो पारेर आगो लगाइदिने चलन रहेछ । त्यस्तो आगोले खप्परलाई फोर्न मात्रै सक्दो रहेछ; पूरै डढाउन सक्दो रहेनछ । त्यसैले आधा डढेको गिदीमा पानी बग्न थालेपछि केही ठाउँमा ज्वाला निस्कँदो रहेछ ।

त्यस्तै, हाम्रो हाँडीगाउँको नयाँ घरको चारैतिर रुखैरुख र अनगिन्ती झ्याङहरु थिए । घरमुनिको आँगनमा रहेको भोगटे बोटको छेउछेउमा पनि झ्याङहरु थिए । त्यो हेरेको केही दिनपछि हामीले नयाँ भूतको आवाज सुन्यौँ । त्यो नयाँ भूतले कराउने बेला छुट्टै थियो । राति आठ बजेदेखि दस बजेसम्म त्यो भूत झ्याङहरुका बीचमा ‘हाफ–हाइँ’ गरी पाँच–दस मिनेटको फरक पारेर दुई घन्टासम्म कराइरहन्थ्यो । हामी तीन जनाले त्यसलाई भूत ठानेर माताजीलाई बतायौँ । उहाँ कान अति कम सुन्नुहुन्थ्यो । हामीले कराएर बताएपछि उहाँले मानिसहरुसँग सोधपुछ गर्नुभयो । रात परेपछि त्यसरी कराउने जन्तु अरु केही नभई न्याउरी मुसोभन्दा केही अग्लो तर जीउमा रौँ नभई हाडजस्तो कत्ला छालाले छोपिएको हाप्सिलो रहेछ । त्यो जन्तु अधिकांश समय जमिनभित्रको प्वालरुपि खोरभित्र बस्दो रहेछ ।

राँके भूत र त्यो जन्तुबारे यथार्थ थाहा पाएपछि हाम्रो घरमा काम गर्ने मालतीले एक दिन हामी केटाकेटीहरुलाई कथा सुनाई– ‘टाउको नभएको मूर्दाले घोडा चढेर ‘खबरदार !’ ‘खबरदार !’ भनी चिच्याउँछ’ भनेर । माताजीसित यो कुरा गर्दा उहाँले हामीलाई फेरि सम्झाउनुभयो, ‘त्यस्तो केही होइन, तिमीहरुले डराउनु पर्दैन’ भनेर ।

खासमा हाम्रो घरको टोलमा रात परेपछि चोरको बिगबिगी हुँदोरहेछ । चोरी रोक्न टोलले खटाएका मानिसहरु राति सडक र गोरेटो हुँदै ‘खबरदार’ भनी चिच्याउँदा रहेछन् । मालतीले भनेजस्तो त्यो मूर्दा होइन रहेछ भन्नेबारे हामीले माताजीबाट थाहा पायौँ ।

विशेष गरी असार–साउनपछि मेरी दिदीहरु र मलाई पेटमा जुका परेर निस्कन थाल्यो । सो जुकाबारे माताजीलाई बताएपछि उहाँले भन्नुभयो, ‘ढुङ्गेधाराको पानीबाट जुकाहरु खस्छन् । खस्नुभन्दा पहिले ती जुकाहरु साना कीराजस्ता हुन्छन् । त्यस्तो अवस्थाको पानी खानु हुँदैन । तिमीहरुले अबदेखि धाराको पानी नखानू । धाराबाट ल्याई उमालेर चिसो पारेपछि मात्र पानी खाने गर्नू ।’

हाँडीगाउँको हाम्रो घर भएको निकै अग्लो ढिस्कोमा अरु दुईवटा घर थिए । ती घरका छाना झिँगटीले छाइएको थियो । घरको केही पूर्व र अलि बढी उत्तरतिर ढुङ्गेधाराको थियो । त्यस ढुङ्गेधाराको अगाडि महादेव, गणेश र पार्वतीका अग्लाअग्ला मूर्तिहरु थिए । हामी त्यसलाई पञ्चेधारा भन्थ्यौँ । त्यो धाराको चारैतिर चेप्टा ढुङ्गाका तीन हात अग्ला पर्खाल थिए । र, ढुङ्गेधारामा जान ढुङ्गैढुङ्गाको फराकिलो सिँढी थियो । हाम्रो परिवारले रोजै बिहान त्यो ढुङ्गेधारामा स्नान गथ्र्यो र त्यहीँको पानी ल्याएर भान्साको काम चलाइन्थ्यो ।

ढुङ्गेधाराको पानी निस्कने मुखहरुमा नागको फणा बनाइएको थियो । केही महिनापछि विशेष गरी असार–साउनपछि मेरी दिदीहरु र मलाई पेटमा जुका परेर निस्कन थाल्यो । सो जुकाबारे माताजीलाई बताएपछि उहाँले भन्नुभयो, ‘ढुङ्गेधाराको पानीबाट जुकाहरु खस्छन् । खस्नुभन्दा पहिले ती जुकाहरु साना कीराजस्ता हुन्छन् । त्यस्तो अवस्थाको पानी खानु हुँदैन । तिमीहरुले अबदेखि धाराको पानी नखानू । धाराबाट ल्याई उमालेर चिसो पारेपछि मात्र पानी खाने गर्नू ।’ हाम्रो नराम्रो बानीलाई अन्त्य गर्न उहाँले अनन्त प्रयास गरेको म सम्झन्छु ।

हामी सर्दा त्यस घरमा चर्पी भने थिएन । सबै जना घरको भुइँतलाको अँध्यारो कोठालाई चर्पीका रुपमा प्रयोग गर्नुहुन्थ्यो । हामी केटाकेटी भने बारीमा रहेका नासपाती, लप्सी, भोगटे आदिका बोटमुनि बसेर आफूलाई हलुका पार्ने गथ्र्यौं ।

पञ्चेधाराको पूर्वपट्टि फराकिलो र निकै अग्लो ढिस्को थियो । ढिस्कोको टुप्पामा चार–चार हातजति फराकिलो एउटा कुटी थियो । कुटीका बीचमा पूजा गर्ने आगो चौबीसै घन्टा बलिरहन्थ्यो । आगाको छेउमा मद्रासतिरका एक साधु परालको सुकुल ओछ्याएर नाङ्गै सुत्ने गर्थे । त्यस कुटीमा बजेको शङ्खध्वनि हामी घरबाटै सुन्थ्यौँ । सूर्योदय र सूर्यास्तका बेला त्यो शङ्खध्वनि चारैतिरबाट दुई–दुई मिनेटजति लगातार सुनिन्थ्यो । रोजै दुईचोटि ती साधुले शङ्खध्वनि झिक्ने कारण के हो भनी हामी केटाकेटीले माताजीसँग सोध्यौँ । उहाँले भन्नुभयो, ‘ती साधु धर्मात्मा हुन् । त्यसकारण उनी रोजै दुईपटक शङ्ख बजाएर गाउँघरका मानिसहरुलाई बिहानको पूजा र साँझको आरती गरी देवतालाई खुसी पार्नू भनेर सूचना दिने गर्छन् ।’

त्यो ढिस्कोको चारैतिर फुल्ने फूलहरु म टिप्ने गर्थें । मैले फूल टिपेको देखे ती साधु हप्काउँथे । मैले माताजीलाई सो कुरा बताएपछि उहाँले भन्नुभयो, ‘अब फेरि हप्काए भने घरमा रहेको पाञ्चायन देवताको पूजा गर्दा चढाउन मलाई फूल चाहिएको हो भन्नू ।’ मैले त्यसै गर्ने गरेँ ।

एक दिन ती साधुले फूल टिपिरहेको मलाई आफ्नो कुटीमा लगे र मेरा दुवै हत्केला नियालेर हेर्न थाले । औँलाका रेखाहरु हेर्दै उनले भने, ‘बच्चा, तेरो दायाँ हातको चोर औँलामा मात्र एउटा चक्र रहेछ । बाँकी नौ औँलामा शङ्ख छन् । यो साह्रै शुभ लक्षण हो । यस्तो लक्षण भएका मानिस या त जोगी हुन्छन् या भोगी । बच्चा, तँ भोगी नबन् । बरु जोगी बन्न मेरो शिष्य बनी मसँग हिँड् ।’

मलाई जोगी र भोगी भन्ने कुरा थाहा थिएन । मैले माताजीसँग सोधेँ । उहाँले ‘अबदेखि ती साधुकहाँ नजानू’ भनी मलाई सावधान गराउनुभयो ।

(स्व. दीक्षितको पछिल्लो कृति मेरी माताको अंश । यो पुस्तक मञ्जरी पब्लिकेसनले बजारमा ल्याएको हो ।)


0