उपाकर्मको बदलिएको रूप जनैपूर्णिमा

रामप्रसाद धिताल

बिहिबार, साउन ३०, २०७६

Reading Time: 4 minutes

उपाकर्मको बदलिएको रूप जनैपूर्णिमा

श्रावण शुक्ल पूर्णिमा । सनातन समाजमा यो दिनलाई रक्षाबन्धन भनिन्छ भने नेपाली समाजमा जनैपूर्णिमा । यो दिन बिहान सबेरै पवित्र तलाउ वा नदीमा गएर विधिपूर्वक स्नान गरी सप्तर्षि (कश्यप, अत्रि, भरद्वाज, विश्वामित्र, गौतम, जमदग्नि र वशिष्ठ) लाई तर्पण दिइन्छ । विधिपूर्वक यी ऋषिहरूको आवाहन गरी पूजा आराधना गरी घरमै अथवा देवालयमा बसेर जनै र रक्षासूत्र (डोरो) को विधिपूर्वक पूजा गरिन्छ ।

जनै व्रतबन्ध भइसकेका द्विजाति पुरुषहरूले मात्र लगाउँछन् भने रक्षासूत्र सबैले लगाउँछन् । विशेषतः जनै नमन्त्री लगाउन नहुने मान्यताअनुरूप बिहानै वैदिक एवं पौराणिक मन्त्रहरूले मन्त्रिने परम्परा छ । सामान्यतया आवश्यक्ता जहिले पर्छ, त्यही दिन नै मन्त्रेर जनै लगाउन सकिन्छ । तर सबैले मन्त्रिन नजान्ने हुनाले पनि बाह्मण–पुरोहितले मन्त्रेर दिएको जनै वर्ष दिनसम्म लगाउने गरेको बताइन्छ । यजुर्वेदका मन्त्रले रुद्राभिषेक गरेर पनि जनै मन्त्रिने चलन छ । कसैकसैले नजिकका शिवालयमा पनि यो काम गर्छन् ।

के हो जनै ?

सनातन धर्ममा जनैको ठूलो महत्त्व छ । जनैलाई संस्कृतमा यज्ञोपवीत भनिन्छ । यज्ञोपवीत यज्ञ र उपवीत शब्दको संयोजन भएर बनेको शब्द हो, जसको अर्थ हुन्छ– यज्ञ प्राप्त गराउने । अथवा यज्ञद्वारा पवित्र गरिएको उपवीत वा सूत्रलाई नै यज्ञोपवीत भनिन्छ । विधिपूर्वक तयार गरिएको जनैले बल बुद्धि र तेज प्रदान गर्छ भन्ने मान्यता छ । हामीले अहिले प्रयोग गर्ने कपासबाट बनाइन्छ । सामान्यतया वैदिक देव तथा पितृकार्यमा यज्ञोपवित अनिवार्य मानिएको छ । यज्ञोपवीत वा जनै वस्त्र वा सूत्रको रूपमा प्रयोग गरिने कतिपय स्मृति पुराणमा उल्लेख छ ।

यज्ञोपवीतं परमं पवित्रं प्रजापतेर्यत्सहजं पुरस्तात्, आयुष्यमग्य्रं प्रतिमुञ्च शुभ्रं यज्ञोपवीतं बलमस्तु तेजः, अर्थात्, यज्ञोपवीत (जनै) अत्यन्तै पवित्र वस्तु हो, यो सृष्टिको प्रारम्भमै सृष्टिकर्ता ब्रह्माजीको साथमा नै उत्पन्न भएको हो, आयु, तेज र बलका लागि यज्ञोपवीत धारण गर्नुपर्छ ।

जनैका अवस्था

सामान्यावस्थामा यज्ञोपवीत देब्रे काँधबाट दाहिने बाहुको मुनि पर्ने गरी लगाइन्छ । यस अवस्थालाई सव्य भनिन्छ । बायाँ काँधमा सारेर दाहिने बाहुमुनि पर्नेगरी लगाइने अवस्थालाई ‘अपसव्य’ भनिन्छ । मालाजस्तो गरी लगाइने अवस्थालाई कण्ठ अथवा ‘निवित’ भनिन्छ । श्राद्धादि कार्यमा यज्ञोपवीतलाई सव्य, अपसव्य र कण्ठ गरी तीन अवस्थामा लगिन्छ । देवकार्य सव्य र पितृकार्य अपसव्य भएर गरिन्छ । यज्ञोपवीतको अधिष्ठाता क्रमशः ओमकार, अग्नि, अनन्त, चन्द्र, पितृगण, प्रजापति, वायु, सूर्य र सर्वदेव हुन् । विधिपूर्वक यी देवताहरूको आवाहन गरी बनाइएको जनै लगाउनाले यी देवताहरूबाट क्रमशः ब्रह्म, तेज, धैर्य, आल्हादकत्व, स्नेह, पालन, शुचि, प्राण र सर्वगुण प्राप्त हुने शास्त्रमा उल्लेख छ ।

रक्षाबन्धन किन?

श्रावण शुक्ल पूर्णिमामा जनैसँगै रक्षासूत्र (डोरो) को पनि पूजा गरिन्छ । यसरी तयार भएको जनै र रक्षासूत्र पुरोहितहरूबाट लगाउने परम्परा छ । रक्षासूत्रले विभिन्न विपत्तिबाट बचाउने भविष्यपुराणमा उल्लेख छ । दानमा नाम कहलाएका राजा बलि वामन अवताररूपी भगवान् विष्णुद्वारा रक्षा गरिएको प्रसंगसँग जोडिएको छ, रक्षाबन्धन ।

येन बद्धो बलीराजा दानवेन्द्रो महाबल/तेन त्वां प्रतिबध्नामि रक्षे मा चल मा चल, अर्थात् जसरी बलिको रक्षा विष्णुद्वारा भयो, त्यसैगरी यो रक्षासूत्रले तिम्रो रक्षा होस् । यो मन्त्र उच्चारण गरी पुरोहितले यजमानका दाहिने हातमा रक्षाबन्धन गर्ने परम्परा छ ।

उपाकर्म

नेपाली समाजले नयाँ जनै लगाउने र हातमा रक्षासूत्र बाँध्ने दिनको रूपमा मात्र बुझेको पाइन्छ । तर वैदिक धर्मावलम्बीहरूले अध्ययन अध्यापन सुरु गर्ने पवित्र दिनको रूपमा पनि यस दिनको महत्त्व छ भन्ने कतिलाई थाहा नहुन सक्छ । चार वेदमध्ये यजुर्वेलाई यज्ञप्रधान वेद मानिन्छ । यजुर्वेदका शुक्ल र कृष्ण गरी दुई भेद छन् । मन्त्र र ब्राह्मण ग्रन्थ छुट्टाछुट्टै भएको यजुर्वेदलाई शुक्लयजुर्वेद भनिन्छ । वाजसनेय (याज्ञवल्क्य) ले प्रवचन गरेको शुक्लयजुर्वेदको शाखालाई वाजसनेयी भनिन्छ । बहुसंख्यक नेपाली ब्राह्मण पनि यसै शाखाका अध्येता मानिन्छन् ।

माध्यन्दिनीय–वाजसनेयी शुक्लयजुर्वेद संहिता चालिस अध्याय र १९७५ कण्डिकामा विभाजित छ । यस शाखाका मन्त्रसंहितामा दर्शमासपूर्ण, अग्न्याधान, अग्निहोत्र, चातुर्मास, निरूढपशुबन्ध, अग्निष्टोम, सोमयाग, वाजपेय, राजसूय, अश्वमेध आदि अग्निमा प्रयुक्त हुने मन्त्रहरूको साथै ईशावास्योपनिषद् संग्रहित छन् ।

शुक्लयजुर्वेदको ब्राह्मण ग्रन्थ शतपथ हो भने श्रौतसूत्रकल्पमा कात्यायन र गृह्यसूत्रमा पारस्करगृह्यसूत्रको अध्ययन गरिन्छ । शुक्लयजुर्वेदीहरूका संस्कारादि कर्महरू पारस्करगृह्यसूत्रमा उल्लेख छन् । आफ्नै वेदशाखाको विधिअनुसार जन्मदेखि मृत्युसम्मका संस्कार सम्पन्न गर्नुपर्ने शास्त्रीय विधान छ । उपाकर्म कहिले? हिजोआज व्रतबन्धकै बेलामा नाम मात्रको वेदारम्भ गराउने चलन छ ।

सामान्यतया श्रावण वा भाद्र पूर्णिमामा ब्राह्मणहरूले अध्यायोपाकर्म (उपाकर्म) गरी वेद पढाउने कार्यको प्रारम्भ गर्ने परम्परा रहेको बुझिन्छ । अथाऽतोऽध्यायोपाकर्म–ओषधीनां प्रादुर्भावे श्रवणेन श्रावण्यां पौर्णमास्याम्, श्रावणस्य पञ्चमी हस्तेन वा, पारस्कर गृह्यसूत्रअनुसार श्रावणपूर्णिमा वा वैदिक नभोमासका श्रवण नक्षत्र वा हस्ता नक्षत्र वा अन्य शास्त्रोक्त दिनमा उपाकर्म गरी गुरुबाट विधिवत् रूपमा चार पाँच महिनासम्म अध्ययन गर्ने शास्त्रीय विधान छ।

हिजोआज जनैपूर्णिमाको दिन श्रावणीप्रयोग आदि विभिन्न विधान अपनाइए पनि वैदिक उपाकर्मको महत्त्वलाई ओझेलमा पारिएको छ । यसैगरी वैदिक परम्परामा धार्मिक कार्यको अनुष्ठान सौरमान सापेक्ष चान्द्रमानका आधारमा गर्नुपर्ने विधान छ । त्यसैले वर्षाकाल आरम्भ हुनेवित्तिकै वनजंगलमा औषधि पलाउन थालेपछिको पूर्णिमामा गर्नुपर्ने पर्व उपाकर्म लगभग वर्षाको अन्त्यतिर मनाउन थालेपछि वास्तविक समयभन्दा पर पुगेको विद्वानहरू बताउँछन् ।

भर्खर

0