भेनेजुएलाका राष्ट्रपतिका छोरा ‘गुपचुप’ किन आए नेपाल ? | Khabarhub Khabarhub

भेनेजुएलाका राष्ट्रपतिका छोरा ‘गुपचुप’ किन आए नेपाल ?


३० असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोका छोरा निकोलस अर्नेस्टो मादुरो गुयरा ‘गुपचुप’रुपमा काठमाडौं आएका छन् ।

यहाँको राजनीति र सत्ता सञ्चालनमा शक्तिशाली उनले साथमा ३ जना मन्त्री पनि ल्याएका छन्। शनिबार काठमाडौं आइपुगेको उनीहरूको टोलीमा ११ जना छन् ।

चार दिन नेपाल बस्दा निकोलस अर्नेस्टोले कम्युनिस्ट नेताहरूसँग भेटघाट गर्नेछन्। त्यस क्रममा आइतबार नेकपा नेता वामदेव गौतम र नारायणकाजी श्रेष्ठसँग भेटिसकेका छन्। सत्तारुढ दल नेकपाको युवा संगठनको निम्तोमा उक्त टोली काठमाडौं आएको समाचार अन्नपूर्ण पोस्टमा रामकृष्ण अधिकारीले लेखेका छन् ।

भ्रमणमा आउँदा राष्ट्रपतिका छोरा, मन्त्री र टोलीका अन्य सदस्यले आवतजावत गर्ने साधारण कक्ष प्रयोग गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौं प्रवेश गरेका थिए। नेपालका लागि भेनेजुएलाका आवासीय राजदूत कोरोमोतो गेदाई क्लाल्डरनले मात्र भीआईपी कक्ष प्रयोग गरेका थिए।

राष्ट्रपतिका छोरा मादुरो गुयरा विशेष सैनिक फौज (कर्पस् अफ स्पेसल इन्स्पेक्टर्स अफ दि प्रेसिडेन्सी) का प्रमुख हुन्। यसले राष्ट्रपति कार्यालयबाट भएका निर्णय कार्यान्वयन एवं प्रभावको सुपरिवेक्षणसमेत गर्छ। उनी पार्टी र संसद्मा समेत छन्।

नेपाल आएका टोलीका अधिकांश सदस्य इन्टरनेसनल वामपन्थी युवा शक्तिमा आबद्ध छन्। साम्राज्यवादविरोधी युवा–विद्यार्थी संगठनहरूसँगको भाइचार सम्बन्ध विकास गर्ने उद्देश्यसाथ उनीहरू काठमाडौं आइपुगेका हुन्।

आइतबार उनीहरूले राजधानीको पाँचतारे होटल ‘याक एन्ड यती’मा पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनाल, नेकपाका केन्द्रीय सदस्य युवराज चौलागार्इं, रामप्रसाद सापकोटा (दीपशिखा) लगायतको उपस्थितिमा दुई देशबीचको सम्बन्ध विस्तार र विकासका सन्दर्भमा युवा–विद्यार्थीका नेताहरूसँग अन्तक्र्रिया गरेका थिए।

त्यसपछि नेकपा सचिवालय सदस्य गौतमसँग भेटघाट गरे। भैंसेपाटी आवास क्षेत्रमा रहेको निवासमै पुगेर उनीहरूले नेता गौतमसँग करिब साढे दुई घण्टा कुराकानी गरेका थिए। उक्त भेटघाटमा नेकपाकै केन्द्रीय सदस्य बलराम बास्कोटा पनि सहभागी थिए। बास्कोटा राष्ट्रपति निकाले मादुरोको दोस्रो कार्यकालको शपथग्रहण समारोहमा सहभागी हुन पुस २७ गते भेनेजुएला पुगेका थिए।

उक्त कार्यक्रममा ७२ देशका सरकारी र कम्युनिस्ट पार्टीका प्रतिनिधिहरू सहभागी थिए। नेपाल आएका राष्ट्रपतिका छोरासहितको टोलीले नेकपाका प्रवक्ता श्रेष्ठसँग पनि आइतबारै कुपन्डोलस्थित होटल समिटमा भेटघाट गरेको थियो। साँझ भने सत्तारुढ दल नेकपाको विद्यार्थी संगठन अनेरास्ववियुका नेतासँग डिल्लीबजारस्थित भोजनगृहमा भेटघाट भएको थियो।

भेनेजुएलाको मन्त्रिमण्डलमा ५० प्रतिशत युवाको प्रतिनिधित्व गराइन्छ। टोलीमा आएकामध्ये तीन जना युवामन्त्री रहेको स्रोतले जनायो। तर, तिनको विस्तृत विवरण खुल्न सकेन। युवा संघका अध्यक्षसमेत रहेका नेकपा केन्द्रीय सदस्य रामप्रसाद सापकोटाले टोलीमा रहेकाहरू को–को के हुन् भन्ने जानकारी आफूहरूसँग पनि नरहेको बताए।

‘हामीलाई उहाँहरू त्यहाँको इन्टरनेसनल वामपन्थी युवा संगठनमा आबद्ध रहेका साथीहरू हुनुहुन्छ भन्ने जानकारी छ। हाम्रै निम्तोमा उहाँहरू आउनुभएको हो। अन्य उहाँहरू को–के, कसका नातेदार भन्ने हामीलाई भनिएको छैन, जानकारी पनि छैन’, उनले अन्नपूर्णसँग भने।

भ्रमण टोलीले युवा विद्यार्थीदेखि नेकपाका नेताहरूसँगको भेटघाटमा भेनेजुएला र नेपालको भौगोलिक अवस्था करिब उस्तै रहेको, नेपाल कृषिप्रधान देश भएको र भेनेजुएलाले पनि कृषिलाई प्राथमिकता दिँदै आएको, साम्राज्यवादविरुद्ध लडाइँमा नेपाल र भेनेजुएला दुवै देश रहेकाले पनि आगामी दिनमा दुई देशको सम्बन्ध विस्तार गर्दै जाने विषय उठाएको स्रोतले जनायो। दुई देशबीचको सम्बन्ध सुधारका लागि राजदूतावास नै राखेर जानुपर्नेमा छलफलका क्रममा दुवै पक्षले जोड दिएका थिए।

भेनेजुएलामा पछिल्लो चरण राजनीतिक संकट चुलिँदो छ। सार्वभौम देशमाथि अमेरिकाले हस्तक्षेप गरेको भन्दै त्यहाँको राजनीतिक संकटका विषयमा नेकपाका अध्यक्ष पुष्पकमल दाहालले १० माघमा वक्तव्यसमेत दिएका थिए। दाहालको उक्त वक्तव्यपछि देशभित्रै उनको पार्टीभित्रै र बाहिर पनि विवाद निम्त्याएको थियो। भेनेजुएलाको राजनीतिक संकटलाई हेर्ने दृष्टिकोणमै नेपालका राजनीतिक दल र तिनका नेतामा धु्रवीकरण ल्याइदिएको थियो।

नेकपा अध्यक्ष दाहालको वक्तव्यपछि नेपालस्थित अमेरिकी राजदूतले परराष्ट्र मन्त्रालयलाई भेनेजुएला प्रकरणमा नेपालको धारणा माग गरेको थियो। पछि नेकपा र परराष्ट्रले दाहालकै वक्तव्यलाई बल पुग्ने गरी आफ्नो धारणा सार्वजनिक गरेको थियो। भेनेजुएलामा राजनीतिक संकट यथावत् छ। त्यसले केही दिन चिसिएको नेपाल–अमेरिका सम्बन्ध पुनः सामसुमझैं देखिएको छ। त्यसपछि अध्यक्ष दाहालपत्नी सीताको उपचारार्थ अमेरिका भ्रमण गरी फर्किएका छन्।

राष्ट्रपति निकोलास मादुरेलाई रुस, चीनलगायत देशले साथ दिइरहेका छन् भने युरोपियन युनियन, अमेरिकालगायतले विपक्षी दलका नेता हुवाँ गुवाइदोलाई साथ दिइरहेका छन्। नर्वेले राजनीतिक निकासका लागि दुवै पक्षबीच संवादको पहल गरिरहेको छ। अहिले त्यहाँको संकट सुध्रिनेमा दुवै पक्षले आशा देखाएका छन्।

नेपाल आएका राष्ट्रपतिका छोरासहितको टोलीको भेटलाई ‘गोप्य’ बनाउनकै लागि प्रधानमन्त्रीलगायत मन्त्रीहरूसँगको भेटलाई भने कार्यसूचीमा राखिएको छैन। उनीहरूको टोलीलाई सोमबार नगरकोट, चन्द्रागिरिलगायतका साइड सिन भ्रमणमा लैजाने कार्यसूची युवा संघले बनाएको छ। टोली मंगलबार बिहान स्वदेश फर्किने कार्यक्रम छ।

प्रकाशित मिति : ३० असार २०७६, सोमबार  ८ : २८ बजे

चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’मा प्रकाश सपुत अनुबन्ध

काठमाडौं– चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’मा गायक तथा कलाकार प्रकाश सपुत

डेढ केजी अवैध सुन किनबेच गर्दागर्दै समातियो नेपाली र भारतीय गिरोह

अवैध सुनको कारोबार भइरहेको सूचना पाएपछि सक्रिय भएको उपत्यका अपराध

प्राधिकरणले काटेको बिजुली जोड्दै हर्क साम्पाङले भने– पोलको पैसा तिर

सुनसरी- नगरपालिकाले सडक बत्तीको महसुल नबुझाएको भन्दै विद्युत प्राधिकरणले ताकेता

सोलुखुम्बुमा सरकारी जग्गा बिक्री गर्ने १० जनाविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, सोलुखुम्बुका तत्कालीन खरिदार

एकल र साझा अधिकार सूचीमा रहेका कानून सरकारले छिटो बनाउनुपर्छ : मन्त्री श्रेष्ठ

हेटौँडा– बागमती प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन