‘सगरमाथा संरक्षणका लागि केही समय यसलाई आराम दिऔँ’

ट्राफिक जामका कारण सगरमाथामा आरोहीको मृत्यु हुनै सक्दैन

एकराज बास्तोला

शनिबार, जेष्ठ ३२, २०७६

Reading Time: 8 minutes

‘सगरमाथा संरक्षणका लागि केही समय यसलाई आराम दिऔँ’

काठमाडौं- हालसम्म २० पटक सगरमाथाको सफल आरोहण गरेका पेम्बा दोर्जे शेर्पा हिमाली वातावरणबारे निकै चिन्तित छन् । सन् २००० यता हरेक वर्ष सगरमाथाको आरोहण गर्दै आएका शेर्पा निरन्तर बिग्रदो हिमाली वातावरणको साक्षी हुन् ।

हिमाली वातावरणमा त्यहाँका वनस्पती र जीवहरु कसरी घुलमिल भइरहेका छन् भन्ने जान्नका लागि पर्यावरणीय अध्ययन आवश्यक पर्छ । उनका अनुसार तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीको पहिलो सगरमाथा आरोहणका क्रममा उनका बाबु छिरिङ नोर्बू शेर्पाले हिउँका कारण ४ हजार मिटरको उचाईदेखि नै पर्वतारोहणका लागि चाहिने जुत्ता लगाउनु परेको थियो । खबरहबसँगको कुराकानीमा उनले बताएअनुसार अहिले भने ६ हजार ५ सय मिटरको उचाईसम्म पनि आरोहीहरु सामान्य स्पोर्ट्स जुत्ता लगाएर जाने गरेका छन् ।

सगरमाथा सफाइ अभियानका नाममा राजनीतिक खेल भइरहेको प्रति उनी खुशी छैनन् । हरेक वर्ष यस्ता अभियानका नाममा लाखौं रुपैयाँ खर्च हुने गरेको भन्दै उनी भन्छन्, ‘हिमाली वातावरण र सरसफाइमा कुनै सुधार भएको मैले देखेको छैन ।’ ‘हरेक पटक वास्तविक रुपमा संलन गरिएकोभन्दा धेरै नै फोहोर संकलन गरेको दाबी गर्छन्, अनि मूलधारका सञ्चारमाध्यमले पनि त्यसलाई पत्याएर समाचार बनाउँछन् ।’ उनले भने ।


‘आरोहणको सिजनमा शुरु गरिएको यस्तो अभियान वर्षा याममा पनि चल्ने भनिएको छ । यस्तो अभियानबाट सरकारले के देखाउन खोजिरहेको छ, मैले बुझेको छैन ।’ उनले भने, ‘सगरमाथाको फोहोर आरोहणको सिजनमा पालले छोपेको हुन्छ । यस्तो बेलामा फोहोर संकलन गर्न पालसम्म नै आइपुग्ने मानिसहरुले आरोहणका निकै महङ्गा सामानहरु चोरी गर्ने गरेको पनि पाइन्छ । फेरि यस्ता घटना सार्वजनिक पनि हुँदैनन् । यसबाट पनि सफाइ अभियानप्रति आरोहीहरु निकै सशंकित हुने गरेका छन् ।’

साँच्चैभन्नु पर्दा सरकारले पर्यटक र आरोहीलाई केही समय आरोहण गर्न नदिएर सगरमाथालाई आराम दिनुपर्छ । हतारमा अव्यवस्थित तवरबाट सफाइ अभियान सञ्चालन गर्नुभन्दा केही समय आराम दिएर त्यहाँको हिमाली जलवायुलाई पुरानै अवस्थामा फर्काउन नसकेपनि धेरै हदसम्म सुधार गर्न सकिन्छ । उनी सरकारलाई त्यहाँका स्थानीय र पर्वतारोहणमा विज्ञता हासिल गरेका मानिसहरुलाई सहभागी गराएर आरोहणको सिजन शुरु हुनुभन्दा कम्तीमा दुई महिनाअघिबाट सगरमाथा सफाइ अभियान सञ्चालन गर्न सल्लाह दिन्छन् ।

उनी सगरमाथा आधार शिविरमा सरकारले सामान्य सरकारी कर्मचारीभन्दा पनि पर्वतारोहणमा विज्ञता हासिल गरेका आरोही वा नेपाली सेनाको टोलीलाई खटाउनुपर्ने बताउँछन् । त्यहाँ खटिएका सरकारी कर्मचारीहरु धेरैजसो समय आधार शिविरमा उपस्थित नहुने र आरोहण तथा पर्यावरणका विषयमा जानकार पनि नहुने उनले बताए ।

सजिलै क्याम्प–३ सम्म चढ्नसक्ने क्षमता भएका १ सय ५० जना सम्मिलित नेपाली सेनाको एक एकाई सगरमाथा आधार शिविरमा रहनुपर्ने उनको सल्लाह छ । उनले यस्तो सैनिक एकाईले सगरमाथाको फोहोरबारे समेत जानकारी राख्न सक्ने जनाए । तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले आरोहण गरेको समयदेखिका फोहोर अझै सगरमाथामा भेटिने र अझैसम्म पनि ति फोहोरहरु संकलन हुने गरेकोप्रति उनी आश्चर्य प्रकट गर्छन् ।

खबरहबसँगको कुराकानीमा शेर्पाले बाहिर भनिएजस्तो सगरमाथामा ट्राफिक जामका कारण आरोहीको मृत्यु भएको कुरालाई अस्वीकार गरे । उनी सगरमाथा आरोहणका क्रममा आरोहीको ट्राफिक जाम भएको भन्ने कुरालाई अस्वीकार नै त गर्दैनन् तर सोही कारण आरोहीको मृत्यु भएको भन्ने मान्न तयार छैनन् । नेपाल सरकारसँग अरोहीका लागि मौसममा हुने आकस्मिक परिवर्तनबारे यथार्थ पूर्व जानकारी दिने संयन्त्र नभएका कारण यस्तो जाम भएको उनको भनाइ छ । उनी यसका लागि सरोकारवालाको गैर जिम्मेवारी तथा वेवास्तालाई दोष दिन्छन् ।

‘सरकारले घाम लाग्ने भनेको हुन्छ, तर हिउँ परिरहेको हुन्छ ।’ कसरी मौसम पूर्वानुमान विभागले काम गर्छ भन्ने उदाहरण दिँदै उनी भन्छन् ‘त्यसैले हामीले विदेशी मौसम पूर्वानुमान निकायको भर पर्नु पर्छ । यही कारण आरोहीहरु सगरमाथा चढ्ने उपयुक्त मौसम पर्खिरहेका हुन्छन्, यो वर्ष सगरमाथा आरोहण गर्न उपयुक्त मौसम भएका सीमित दिन मात्र रहेछन् । आरोहीले आरोहणको समय पछाडि सार्न सक्ने कुरा हुँदैन, त्यसैले यो वर्ष सगरमाथामा ट्राफिक जाम भएको हो ।’ तैपनि ट्राफिक जामलाई नियन्त्रण गर्न आरोहीका विभिन्न समूह बनाइएको थियो । तर यो वर्ष आरोहीको सङ्ख्या धेरै नै रहेकाले समस्या परेको उनी बताउँछन् ।यो वर्ष सरकारले आरोहणका लागि ३ सय ८१ जनालाई अनुमति दिएको थियो । आरोहीलाई सहयोग गर्ने शेर्पाहरुको सङ्ख्यासमेत जोड्दा यो संख्या ६ सयसम्म पुगेको थियो ।

उनका अनुसार कुनै भागदौड वा अस्तव्यस्त नभएको खण्डमा यस्ता ट्राफिक जामकै कारण कसैको पनि ज्यान जाँदैन । सडकमा हुने जामसँग तुलना गर्दै उनी भन्छन्, ‘सडकमा जाम हुँदा कसैको ज्यान जान्छ ? ट्राफिक जामकै कारण तपाईंलाई कतै पुग्न ढिला होला, तर ज्यानै त जाँदैन नी ? यो कुरा आफैंमा हास्यास्पद छ । म टिम लिडर हुँ, आरोहणका बेला हिउँले हात खाने, हिउँका कारण दृष्टिमा समस्या आउने, हात र औंलामा हिउँको संक्रमण हुने गर्छ । यस्ता साइड इफेक्टका कारण केही समस्या आउछन्, तर मानिसको ज्यानै भने जाँदैन ।’

‘हामी सगरमाथाको शिखरबाट आधार शिविरसम्म ओर्लिने बेला पनि अक्सिजनको सिलिण्डर बोक्छौं । अक्सिजनको प्रवाहलाई नियमन गरिरहेका हुन्छौं ।’ उनी भन्छन्, ‘अनुभवहिन गाइडहरुलाई सगरमाथाको चुचुरोमा श्वास फेर्न अक्सिजन चाहिन्छ भन्ने थाहा नहुन सक्छ । अक्सिजन नहुँदा श्वास फेर्न नसकेर आरोहीहरुको ज्यानै जान्छ । त्यसकारण गाइडले आरोहीलाई उसँग भएको अक्सिजन बाटैमा सक्न दिनु हुन्न ।’ नयाँ आरोहीलाई अधिक थकान र खुट्टामा चोटका कारण माथि उक्लन समस्या पर्न सक्छ । यस्तो शारीरिक चुनौतिको सामना गर्न उनीहरु मानसिक रुपमा परिपक्व नहुन सक्छन् । सगरमाथा आरोहणका बेला धेरैजसो यस्ता नयाँ र अनुभवहिन आरोहीको ज्यान जाने गर्छ । त्यसबाहेक अकस्मात आउने हावाहुरी, हिमनदी र हिमझरना फुट्ने कारणबाट पनि आरोहीहरुले ज्यान गुमाउने गरेका छन् । ‘हामीले आरोहीको ज्यान गुमाउने वास्तविक कारणको पहिचान गर्नुपर्छ । ट्राफिक जामलाई यसको दोष दिएर केही हुन्न ।’ उनी भन्छन् ।

यो वर्षमात्र सगरमाथा आरोहणका क्रममा ११ आरोहीको ज्यान गइसकेको छ । ‘आजकाल हिमाली क्षेत्रमा हिउँको मात्रा कम हुँदै गएकाले पहिलेजस्तो आरोहण गर्दा साहसिक अनुभव हुँदैन ।’ उनले भने, ‘आरोहण गर्दा आरोहण क्षेत्रमा स्पष्ट देखिने गरी बाटो बनिसकेको र आरोहण कम्पनीहरुले आधुनिक आरोहण सामग्री तथा प्रविधिसहित अनुभवी गाइडको व्यवस्था गर्ने भएकाले आरोहीहरु सहजै सगरमाथाको शिखरमा पुग्छन् ।’

पछिल्लो समय सामाजिक सञ्जाल र अन्य मिडियाका कारण सगरमाथाप्रतिको आकर्षण बढ्न थालेको उनी सुनाउँछन् । उनका अनुसार पर्यटकीय दृष्टिकोणबाट सगरमाथाको धेरै प्रचार भइरहेकाले यसबाट सरकारले फाइदा लिइरहेको छ । उनले पहिलो पटक सगरमाथा आरोहण गरेको बेला रेडियोमा आफ्नो नाम सुन्न धेरै उत्साहित भएर पर्खिरहेको सम्झिन्छन्, तर अहिले भने आरोहीले सगरमाथा आरोहण गरेको समाचार सामाजिक सञ्जालमा शुरुमै आउने र पछि मात्र सञ्चारमाध्यममा यस्ता समाचार आउँने गरेको बताउँछन् ।

उनी आफ्ना बुबा छिरिङ नोर्बू शेर्पालाई पर्वतारोहणको क्षेत्रमा गुरु मान्छन् । उनले पिताबाट नै पर्वतारोहणको ज्ञान र सीप प्राप्त गरेका थिए । त्यसबेला उनका पितासहित दोलखा जिल्लास्थित गौरीशंकर गाउँपालिकाका मानिसहरुसमक्ष पर्वतारोहण बाहेक आय आर्जनको कुनै विकल्प नै थिएन । आलु त्यहाँको प्रमुख बाली थियो ।

पेम्बा दोर्जे शेर्पाको जन्म सन् १९७७ मा भएको थियो । उनले पर्वतारोहणका क्षेत्रमा पुर्खाको विरासत जोगाइरहेका छन् । सन् २००४ मे २१ मा ८ घण्टा १० मिनेटमा सगरमाथाको आरोहण गरेका उनको नाममा ‘सबैभन्दा छिटो सगरमाथाको आरोहण गर्ने’ सहित ४ कीर्तिमान छन् । उनका कीर्तिमान गिनिज बुक अफ वल्र्ड रेकर्डमा समेत दर्ता भएका छन् । उनी हाल सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने आरोहीको अर्को कीर्तिमान पनि आफ्नो नाममा लेखाउन लागी परेका छन् ।

उनकी श्रीमती कान्छीमाया तामाङले पनि तीन पटक सगरमाथाको सफल आरोहण गरिसकेकी छिन् । उनी हिमालको हिउँ र चिसो मौसम औधी मन पराउँछन् । आगामी ५ वर्षमा अझै ५ पटकसम्म सगरमाथा आरोहण गर्ने उनको योजना छ । आफ्नो जीवनकालमा कम्तिमा ३० पटक सगरमाथा आरोहण गर्ने उनको धोको छ । यो सपना पूरा हुनेमा उनी विश्वस्त छन् । उनी भन्छन्, ‘सगरमाथा हाम्रो गौरव हो, शान हो, र आमा बराबर हो । हामीले सगरमाथाको संरक्षण गर्नैपर्छ ।’

भर्खर

0