चट्याङको पीडा : वर्षेनी सय बढीको मृत्यु, हजारौं घाइते, अर्बौंको क्षति « Khabarhub
Logo
१३ मंसिर २०७८, सोमबार

चट्याङको पीडा : वर्षेनी सय बढीको मृत्यु, हजारौं घाइते, अर्बौंको क्षति



नेपाल प्राकृतिक प्रकोपका हिसावले जोखिमपूर्ण देश हो । हुन पनि प्रत्येक वर्ष हुने प्राकृतिक प्रकोपमा परी धेरै नेपालीले ज्यान गुमाउने गरेका छन् । वर्षायामको सुरुवातसँगै नेपालीले सामना गर्ने अर्को विपत्ती हो चट्याङ ।

गृहमन्त्रालयको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार, चट्याङबाट धेरै धनजनको क्षति हुने गरेको छ । यो प्रकोपबाट मानिसका आँखामा असर गर्नुका साथै ठूलो आवाज आउने हुँदा कानको जाली फुट्ने समस्या हुन्छ । त्यस्तै घरका सिसा फुट्ने, वन–जंगलमा आगलागी हुने, रूख–बिरुवा मर्ने, जीव जन्तु मर्ने चट्याङबाट हुने मुख्यमुख्य क्षति हुन।

गत चैत ३० गते, तनहुँको शुक्लागण्डकी–१० लोकदीटारकी २४ वर्षीया भूमिका खत्रीको चट्याङमा परी मृत्यु भयो । त्यसको तीन दिन अघि अर्थात चैत २७ गते, कास्कीको रुपा गाउँपालिकामा चट्याङ लागेर एकै घरका तीन जना घाईते बने । त्यसको ठीक अघिल्लो दिन अछामको पञ्चदेवल विनायक नगररपालिकमा चट्याङका कारण एकजनाले ज्यान गुमाए । १६ जना घाइते बने ।

यी तीन घटना पछिल्लो समय घटेका र प्रतिनिधिमुलक उदाहारण मात्र हुन् । राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रको तथ्याङ्क अनुसार, पछिल्लो एक महिनामा मात्र चट्याङका ८ घटनामा परी ६ जनाको मृत्यु भएको छ । २६ जना घाइते भएका छन् ।

एक महिनामा ८ घटना, ९ को मृत्यु

अघिल्लो महिना अर्थात २०७५ को चैतमा मात्र देशभर चट्याङका ८ घटना घटे । जसमा ९ जनाले ज्यान गुमाएका छन् ।

चैतमा घटेका चट्याङका घटना सूचीमा हेर्नुहोस्ः

 २०७५ चैत ३० गते, तनहुँको शुक्लागण्डकीमा चट्याङ लागेर एकको मृत्यु
 २०७५ चैत्र २७ गते, कास्कीको रुपा गाउँपालिकामा चट्याङ लागेर तीन घाइते
 २०७५ चैत २६ गते, कास्कीको रुपा गाउँपालिका ५ काफ्ले डाडाँमा चट्याङ पर्दा ३ घाईते
 २०७५ चैत २६ गते, आछामको पञ्चदेवल नगरपालिकामा चट्याङ लागेर एकको मृत्यु, १६ घाइते
 २०७५ चैत्र २३ गते, झापाको मेचीनगरमा चट्याङ लागेर एकको मृत्यु, दुई घाइते
 २०७५ चैत्र १९ गते, संखुवासभाको पाँचखपन नगरपालिकामा चट्याङ लाग्दा दुईको मृत्यु
 २०७५ चैत्र १९ गते, रोल्पाको माडी गाउँपालिकामा चट्याङ लागेर एकको मृत्यु
 २०७५ चैत्र १२ गते, झापाको अर्जुनधारमा चट्याङ लागेर दुई घाइते, आधा दर्जन विजुलीका पोल ध्वस्त

केन्द्रको तथ्याङ्क अनुसार, २०६८ देखि २०७५ सम्म चट्याङका कारण ९ सय जनाको मृत्यु भयो । १ हजार ९ सय ८४ जना घाइते बने । केन्द्रका उपसचिव बेदनिधि खनालका अनुसार, चट्याङबाट प्रत्येक वर्ष १ सय १० जनाको मृत्यु हुन्छ भने २ सय ४२ जना घाइते हुन्छन् ।

८ वर्षमा ९ सयको ज्यान गयो
राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले तयार पारेको ८ वर्षको तथ्यांक अनुसार ९ सयले चट्याङका कारण ज्यान गुमाउनुपरेको छ । १ हजार ८ सय ८४ जना घाइते भएका छन् ।
     वर्ष                           मृत्यु                            घाइते
२०६८ साल                       १०३                                २९३
२०६९ साल                        १३१                                २३२
२०७० साल                        १११                                १९८
२०७१ साल                        १२८                                १६१
२०७२ साल                          ८०                                १४८
२०७३ साल                        ११५                                २७९
२०७४ साल                        १०५                                २८४
२०७५ साल                       १२७                                 २८९

जम्मा                              ९००                              १८८४

स्रोतः राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्र, गृहमन्त्रालय

के हो चट्याङ् ?

वायुमण्डलमा देखापर्ने एक किसिमको बिजुलीको धार चट्याङ हो । यो आकाशबाट पृथ्वीको सतहतिर प्रवाहित हुन्छ । जब वायुमण्डल अस्थिर हुन्छ र आकाशमा कालो बाक्लो बादलहरु बन्छन्, त्यस्तोमा जमिनको सतहको तातो हावा उठेर माथिको चिसो हावामा ठोकिन्छ त्यसपछि बिजुली चम्किंदा ठूलो मात्रामा विद्युतीय शक्ति निस्कन्छ ।

जल तथा मौसम विज्ञान विभाग, महानिर्देशक, सरजुकुमार वैद्यका अनुसार यो विद्युतीय शक्ति धर्तीमा पुग्दा धेरै क्षति हुन्छ । सामान्यतया वर्षायाममा वायुमण्डलमा विपरित दिशाका तीव्र गतिको वायु एक आपसमा ठोक्किदा वा घर्षण हुँदा चर्को आवाजसहित बढी भोल्टको विद्युतीय लहर उत्पन्न भई खास बाटो बनाएर जान्छ, यसलाई चट्याङ भनिन्छ । यो अचानक हुने विद्युतीय विस्फोटन हो । यस्तो प्रकोप प्रि मनशुन अर्थात चैत, बैशाख, जेठमा बढी हुने गर्दछ ।

सावधानी नै क्षति न्युनिकरणको मुख्य उपाय

चट्याङबाट हुने क्षतिको न्युनिकरणको मुख्य उपचाय सावधानी नै हो । त्यसैले आफू जुन ठाउँमा बसोबास गर्ने हो त्यो अनुसारले सावधानी अपनाउनुपर्छ । विशेषत आम मानिस कित घर भित्र यात घर बाहिर हुन्छ । त्यसैले दुवैबेला फरकफरक सावधानी अपनाउनुपर्छ ।

घर बाहिर हुँदा अपनाउनुपर्ने सावधानी

पानी तथा गड्याङगुडुङ गरिरहेको मौसममा विशेष सावधानी अपनाउनुपर्छ । त्यस्तो बेलामा अग्लो र एक्लो रुखमा ओत नलाग्ने । त्यस्तै पानीमा हुने काम पौडि खेल्ने, माछा मार्ने र र्‍याफ्टीङ जस्ता क्रियाकलाप नगर्नु नै उपयुक्त हुन्छ ।

त्यस्तै खुल्ला मैदानमा नबस्ने, मैदानमा लमतन्न परेर नसुत्ने या नखेल्ने, मानिसको समूह तथा झुन्ड, मेला, हाटबजार या महोत्सवमा नरहने, फुटबल, क्रिकेट, गल्फ जस्ता खेलहरु तत्काल बन्द गर्ने, गाइबस्तुलाई सुरक्षित स्थान तर्फ लैजाने गर्नुपर्छ । धातु तथा करेन्ट प्रवाह हुने बस्तुभन्दा टाढा बस्नुपर्छ ।

जंगलमा भएको बेला त्यहाँ रहेका स–साना रुखहरुको बीचमा बस्नु हुँदैन । पक्की घर या गाडी नजिक भएको बेला पनि झ्याल ढोका बन्द गरेर बस्नुपर्छ । नजिकै हाइभोल्टेज तार भएमा दुई खम्बाको बीचमा ओत लागेर बस्ने, केही गरी खुला मैदानमा परे दुई घुँडाबीच टाउको लुकाई टुक्रुकक बस्नुपर्छ ।

घर भित्र हुँदा अपनाउनुपर्ने सावधानी

घरबाहिर जस्तै भरभित्र हुँदा पनि चट्याङबाट हुने क्षति कम गर्न सावधानी अपनाउनुपर्छ । घरभित्रका विद्युतीय सामाग्रि जस्तै, टिभि, कम्प्युटर, फ्रिज आदि प्रयोग गर्नुहुँदैछ । तारसहितको टेलिफोन प्रयोग गरी कुरा नगर्ने, घरबाट बाहिर ननिस्कने, धारामा ननुहाउने । यदि नुहाउनै पर्ने भए बाल्टिनको पानीले नुहाउने, लुगाधुने तथा भाँडा माझ्ने काम नगर्ने, झ्यालढोका बन्द गरी घरको भित्ता भन्दा टाढै बस्ने । केवल तथा एन्टेनाको तारहरु उपकरणबाट छुटाउने, विद्युतीय सामाग्रीका तारहरु प्लगबाट छुटाउने ।

स्रोतः नेपाल सरकार तथा विभिन्न संघसंस्था

मौसमविद् राजुधर प्रधानङ्गका अनुसार, चट्याङ एक प्राकृतिक प्रकोप हो । प्रि मनसुनको समयमा जहाँ पनि चट्याङ पर्न सक्छ । यसबाट बच्न घरभित्र र घर बाहिर जहाँ भएपनि विशेष सावधानी अपनाउनुपर्दछ । त्यसैले गड्याङगुडुङ शुरु भएपछि सावधान रहन उनको सुझाव छ ।


भर्खर

0