आलम पक्राउ परेको एक महिना दुई दिन, के-के भयो आजसम्म ? | Khabarhub Khabarhub

आलम पक्राउ परेको एक महिना दुई दिन, के-के भयो आजसम्म ?


२८ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 7 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जितेन्द्र कुमार दास 

रौतहट- नेपाली काँग्रेसका नेता एवम पुर्वमन्त्री मोहमद आफताब आलम पक्राउ परेको बिहीबार एक महिना दुई दिन भएको छ ।

रौतहटको राजपुर फरहदवामा २०६४ साल चैत्र २७ गते भएको बम विस्फोटमा घाइते भएकाहरुलाई जिउँदै जलाएको अभियोगमा रौतहट क्षेत्र नं.२ बाट निर्वाचित नेपाली काँग्रेसका सांसद मोहम्मद आफताव आलमलाई जिल्ला प्रहरी कार्यालय रौतहटले गत असोज २६ गते पक्राउ गरेको थियो ।

असोज, २६ गते आइतबार

घरबाट जन्ती जानका लागि निस्केका पूर्वमन्त्री आलमलाई रौतहट प्रहरीले गौर चपुर सडकखण्डको शेख इद्रिस गेट अगाडिबाट करिब ९ः३० बजेको समयमा नियन्त्रणमा लिएको थियो ।

आलमलाई प्रहरीले नियन्त्रणमा लिएको खबर करिब २ घण्टा पछि बाहिरिएको थियो । तत्पश्चात उनका समर्थकहरुले जिल्ला प्रहरी कार्यालय अगाडि असोज २६ गते प्रदर्शन गरेका थिए ।

रौतहट जिल्ला अदालतबाट पक्राउ पुर्जी तथा ३ दिनका लागि म्याद लिएको प्रहरीले एकातर्फ आफनो अनुसन्धान थालेको थियो भने अर्कातर्फ आलमका समर्थकहरु ठाउँ-ठाउँमा टायर बाली लगातार तीन दिन नै आलमको रिहाको माँग गर्दै सडकमा उत्रिएका थिए ।

असोज, २८ गते मंगलबार

अदालतले राजपुर बमकाण्डका आरोपी रौतहट क्षेत्र नं. २ का सांसद् तथा पूर्व मन्त्री आलमको म्याद सात दिनको लागि थप गरेको थियो ।

अनुसन्धानका लागि प्रहरीले थप समय मागेपछि जिल्ला अदालत, रौतहटका न्यायाधीशका चित्रबहादुर गुरुङ्गको इजलासले कात्तिक ३ गतेसम्म अनुसन्धान गर्नका लागी प्रहरीलाई म्याद प्रदान गर्यो ।

निकै कडा सुरक्षा व्यवस्थाबीच असोज २८ गते अदालत ल्याइएका आलम न्यायाधीशसामु सो घटनाको मुद्दा ०६५ मै नचल्ने निर्णय भएको र अहिले आफूलाई सोही मुद्दाका कारण पक्राउ गरिएकोमा उनले आश्चार्य लागेको बताएका थिए ।

अदालत परिसरबाट बाहिरिँदै गर्दा आलमले घटनाको दूध को दूध र पानीको पानी चाँडै छुट्टिने प्रतिक्रिया दिँदै, आफूले अदालतको सम्मान गर्ने र मुद्दाका विषयमा पछि थप कुरा गर्ने उनले बताएका थिए ।

म्याद थप पछि आलमलाई पुन : जिल्ला प्रहरी कार्यालय रौतहट पुर्‍याइएको थियो ।

कात्तिक, १ गते शुक्रबार

आफ्ना छोराको हत्यारालाई कानूनी कारबाही नभएसम्म काजकिरिया नगर्ने प्रण लिएको प्रतिक्रिया सञ्चारमाध्यममा मृतक त्रिलोक प्रताप सिंहका बुबा श्रीनारायण सिंहले दिदैं आलम पक्राउपछि प्रण पूरा हुने आशा पलाएको बताएका थिए ।

कार्तिक १ गते शुक्रबार

शुक्रबार भक्तपुरको बोडेमा आयोजित नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यक्रममा नेपाली कांग्रेस सभापति देउवाले आलम निर्दोष रहेको र आलमलाई सरकारले फसाउन लागेको आरोप लगाएका थिए ।

कात्तिक, २ गते शनिबार

आफ्ना पार्टीका सांसद आलमको बचाउका पक्षमा बोलेको भन्दैं देउवाको अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा कांग्रेस नेताहरुमाथि चर्को आलोचना भएको थियो ।  बम बिस्फोट एवं ईंटाभट्टामा जिउँदै मानिस जलाएको आरोपमा पक्राउ परेका आलमको बचाऊमा बोलेको विषयमा  अभिव्यक्ति सच्याउँदै विज्ञप्ति जारी गरेका थिए ।

कार्तिक, ३ गते आइतबार

आलमलाइ दोश्रो पटक म्याद थपाउन प्रहरीले जिल्ला अदालत गौरमा लगेको थियो । आलम निर्दोष भन्दै जिल्ला आदलत गौरमा आलमका तर्फबाट ८ जना अधिवक्ताहरुले बहस गरे । सोहीक्रममा आलमलाई प्रहरीले अनुसन्धानको लागि मागेको त्यस अवधिसम्म आफताबले आफू अस्वस्थ भएको र घर परिवारका साथै कानूनी सल्लाहकारसँग राय सुझाव नलिएको कारण बयान दिन मानेका थिएनन् ।

कार्तिक ३ गते आइतबार नै राजपुर बमकाण्डको आरोपमा पक्राउ आलमलाई जिल्ला न्यायाधीश चाणकमणि अर्यालको इजलासले थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दियो ।  म्याद थपपछि आलमलाई पुनः जिल्ला प्रहरी कार्यालय रौतहट र्पुयाइयो ।

कार्तिक, ४ गते सोमबार

रौतहटमा २०६४ साल चैत २७ गते हत्या भएका भनिएका पिन्टु अर्थात त्रिलोकप्रताप सिंह फरार अभियुक्त भएको खुलासा भएको छ । २०६४ सालमै रौतहटका राकेशकुमार साहलाई अपहरण गरी भारतको विहारमा पुर्‍याई ज्यान मार्ने धम्की दिएर २ लाख फिरौती बुझ्ने व्यक्ति नै त्रिलोकप्रताप सिंह अर्थात पिन्टु रहेका समाचार विभिन्न अनलाईन तथा पत्रिकाहरुमा प्रकाशित भएको देखियो ।

कार्तिक, ५ गते मंगलबार

प्रहरी हिरासतमा रहेका आलमले अनुसन्धानका क्रममा झूठ बोले नबोलेको पत्ता लगाउन जिल्ला प्रहरी कार्यालय रौतहटले पोलिग्राफ टेस्ट गर्ने तयारी गर्यो तर आफू अस्वस्थ रहेको भन्दैं आलमले पोलिग्राफ टेस्ट गर्न मानेन् ।

कार्तिक ६ गते बुधबार

२०६४ चैत्र २७ गते भएको राजपुर बमकाण्ड घटनाका प्रत्यक्षदर्शी आफू रहेको भनी मृतक ओसी अख्तरका ससुरा समसुल मियाँले विष्फोटपछि आफू राजपुर पुगेको र घटनामा घाइते भएकाहरुलाई इँटाभट्टासम्म लगेको आफूले देखेको तथा सोही घटनामा आफ्ना ज्वाइँ ओशी अख्तरसमेत मारिए प्रतिक्रिया संचारमाध्यमहरुमा दिए ।

कार्तिक, ८ गते शुक्रबार

रौतहट प्रहरीको हिरासतमा रहेका आलमलाई जिल्ला अदालत रौतहटले तेस्रो पटक म्याद थप्दैं आठ दिन थुनामै राख्न अनुमति दियो ।

तेस्रो पटक अनुसन्धानको लागि थप आठ दिनको म्याद थपिएका आलमलाई प्रहरीले जिल्ला प्रहरी कार्यालयमा लगेको थियो ।

इटा भट्टीमा पोलेर मान्छे मारेको आरोप लागेका आलमले अदालत बाहिरिँदै गर्दा सञ्चारकर्मीसँग प्रतिक्रिया दिए ‘ मेरो गिरफ्तारी असान्धर्भिक हो । यो गिरफ्तारी कानूनी राज्यको अवधारणा र संविधानको पनि ठाडो उल्लंघन हो । राजनीतिक प्रतिशोध बाहेक केही पनि होइन ।’ भनेका थिए ।

कार्तिक, ८ गते शुक्रबार

प्रहरी हिरासतमा रहेका आलमको घटनाको निष्पक्ष छानबिन गर्न माग गर्दै तथा आफ्ना नेतालाई विना शर्त रिहाईको माँग सहितका प्ले कार्ड बोकी शुक्रबार नेपाली कांग्रेसले रौतहटमा मौन जुलुस निकालेको थियो ।

कार्तिक, १५ गते शुक्रबार

प्रहरीले सांसद अफताल आलम समेतको संलग्नतामा बम विस्फोटका घाइतेहरुलाई इँटा भट्टामा जलाएको निष्कर्षसहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय रौतहटमा बुझायो ।

प्रहरीले अनुसन्धान सकेर शुक्रबार सरकारी वकिलको कार्यालयमा बुझाएको प्रतिवेदनमा आलमलाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र बम विस्फोट गरी तीनवटा आरोप लगाई जन्मकैद सजाय माग दाबी गर्‍यो ।

प्रहरीले विस्फोटमा घाइते भई उपचारका लागि भारतस्थित एक क्लिनिकमा गएका व्यक्तिको उपचार रिपोर्टलाई पनि प्रमाणका रुपमा पेस गर्यो ।

त्यसका ब्लाष्ट इन्जुरीका कारण उपचार गरिएको साथै १२ जना साक्षी, पूर्व प्रहरी महानिरीक्षक ओमविक्रम राणा र तत्कालीन मध्यक्षेत्रका प्रमुख (डिआइजी) किरणकुमार गौतमको बयानलाई पनि प्रमाणको रुपमा पेस गरिएको थियो ।

तत्कालीन समयमा राणा र गौतमले आफूहरुलाई बम विस्फोटको रिपोर्टिङ भएको बताएका थिए । त्यसैगरी तत्कालीन प्रहरी निरीक्षक इन्द्र सुवेदीले पनि त्यहाँ बम विस्फोट भएको बयान दिएको प्रहरीले जनाएको थियो ।

कार्तिक, १८ गते सोमबार

आलमलाई जन्मकैदको माग दाबीसहित जिल्ला सरकारी वकिलको कार्यालयले रौतहट जिल्ला अदालतमा मुद्दा दायर गरयो ।

१२ वर्ष अघिको बम काण्डका अरोपी आलमलाई जिल्ला प्रहरी कार्यालयले करिब २० दिनसम्म हिरासतमा राखी लामो अनुसन्धन पश्चात जिल्ला सरकारी वकिलको कार्यालयमा १५ गते शुक्रबार मुद्दा बुझाएपछि सरकारी वकिलको कार्यालयले आलम सहित ११ जनालाई जन्म कैदको माग गर्दै ३९ पानाको अभियोग जिल्ला अदालतमा दर्ता गर्यो ।

त्रिलोकप्रताप सिंह र ओसी अख्तर मियाँको हत्या कसुरमा आलमलाई २५ वर्ष जेल, बम विष्फोटमा घाइते भएर बाँचेका सर्लाहीका सखी मोहम्मदको केसमा ज्यान मार्ने कसुर अन्तर्गत १० वर्ष जेल र विष्फोटक पदार्थ बनाएको कसुरमा पनि १० वर्ष जेल सजाय दिन प्रहरीले माग दाबी गरेको जिल्ला सरकारी वकिल खडिन्द्रराज कटुवालले प्रतिक्रिया दिएका थिए ।

प्रहरीको रायअनुसार जिल्ला सरकारी वकिलको कार्यालयले आलम, मोबिन आलम, शेख भदई, शेख सेराज, शेख फजलेहक, सगिर आलम, शेख मलकार, गौरीशंकर साह, बद्री सहनी र मुक्ति साह लगायत ११ जना विरुद्ध मुद्दा चलायो ।

कार्तिक, १८ गते सोमबार

सांसद मोहम्मद अफताब आलमविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले समेत छानविन थाल्यो । एक दर्जनभन्दा बढी व्यक्तिलाई इँटाभट्टाको चिम्नीमा हालेर जिउँदै जलाएको अभियोगमा पक्राउ परेका आलमविरुद्ध सोमबारदेखि नै विभागले सम्पत्ति छानविन शुरु गरेको हो ।

कार्तिक, १९ गते मंगलबार

सोमबार जिल्ला सरकारी वकिल कार्यालयले आलम सहित ११ जना विरुद्ध अभियोग पत्र दर्ता गरे पछि आफताव आलमलाई बयानको लागि मंगलबार करिब ३ः३० वजे अदालत लगिएको थियो ।

आलममाथि प्रहरीले ३ वटा अभियोग लगाएर प्रहरीले ८ सय १८ पेजको प्रतिवेदनसहित जिल्ला सरकारी वकिल कार्यालयमा पेश गरेका फाइल सोमबार ३९ पेजको अभियोग पत्रसहित आलमविरुद्ध मुद्दा दर्ता गरिएको थियो ।

मंगलबार बिहानै गोला प्रथाद्वारा जिल्ला अदालतको इजलाश नम्बर ४ का न्यायाधीश दिपक ढकालको इजलासमा आलमको बयान हुने भयो । जिल्ला अदालत रौतहटमा बयानका लागी आलमलाई सवा १० बजे नै प्रहरीले उपस्थित गराए पनि उनको बयान सवा ३ बजेदेखि शुरु भएको थियो ।

निकै छोटो समयमा आलमको परिचयमै कार्यालयको समय सकिएपछि बुधबार बयान पनि जारी रहने देखिएको थियो । उक्त दिन आलमसंग न्यायधीश दीपक ढकालले ९ वटा प्रश्न गरेका थिए ।

कार्तिक, २० गते बुधबार

मंगलबार परिचयमै सकिएको राजपुर बम काण्डका आरोपित भनिएका मोहम्मद आफताव आलमको बयान दोस्रो दिन बुधबार पनि शुरु भयो । प्रहरीले आलमलाई बिहान १० बजे जिल्ला अदालत रौतहटमा उपस्थित गराए पनि बयान ११ बजेदेखि शुरु भएको थियो ।

आलम पक्षका कानून व्यवसायीहरुले काउन्सलिङ्ग पश्चात मात्र बयान शुरु गर्न आग्रह गरेपछि जिल्ला न्यायाधीश दीपक ढकालको ईजलासमा बयान ढिलो गरी सुरु भएको थियो । दोस्रो दिन आलमसंग २५ प्रश्न गरिएको थियो ।

कार्तिक, २१ गते बिहीबार

पहिलो दिन मंगलबार न्यायाधीश दीपक ढकालको इजलासमा ९ वटा प्रश्न, दोस्रो दिन बुधबार २५ प्रश्न तथा विहीबार तेस्रो दिन २६ वटा प्रश्नका साथ उनको बयान सकिएको थियो ।

चार नम्बर इजलासका न्यायाधीश दीपक ढकालले सोधेका अधिकांश प्रश्नको जवाफमा आलमले अपराध अस्वीकार गरेका थिए भने तत्कालीन समयमा सरकारी वकिलको कार्यालयले मुद्दा नचलाउने निर्णय गरेको थियो भन्ने प्रश्नमा मात्रै आलमले हो त्यसबेला मुद्दा नचलाउने निर्णय भएको बताएका थिए ।

करिव १ बजे विहीबार सकिएको आलमको बयान पछि २ बजेदेखि सरकार र पीडित पक्षकोतर्फबाट शुरु भएको थियो । पीडितका पक्षबाट उक्त दिन ५ वटा अधिवक्ताहरुले बहस गरेका थिए ।

कार्तिक, २२ गते शुक्रबार

आलम प्रकरणमा जिल्ला अदालत रौतहटमा भइरहेको थुनछेक बहस शुक्रबार वादी पक्षका ११ वकिलहरुको बहस सकियो ।

आलमलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्ने, धरौटीमा छोड्ने वा तारेखमा छोड्ने भन्नेबारे बहस भइरहेका बेला यो मुद्दामा नयाँ ट्वीस्ट आयो । राजपुर बम विस्फोटमा घाइते भएर इँटा भट्टामा लगाइएको भनिएका ओसी अख्तरकी पत्नीले ओसी अख्तर वैदेशिक रोजगारीमा गएर नफर्किएको भन्दै अदालतमा निवेदन दिइन् ।

कार्तिक, २२ गते शुक्रबार

बम विस्फोटका घाइतेलाई जिउँदै जलाएको भनिएको समयमा रौतहटका सशस्त्र प्रहरी प्रमुख रहेका एसपी रामकृष्ण लामालाई खोज्न जिल्ला प्रहरी कार्यालय, रौतहटले प्रहरी प्रधान कार्यालयसँग सहयोग मागेको खबर सार्वजनिक भयो ।

अनुसन्धानका क्रममा तत्कालीन एसपी लामाको बयान लिनुपर्ने भए पनि उनी नभेटिएपछि सहयोग गरिदिन भन्दै प्रहरी प्रधान कार्यालयमा पत्राचार गरिएको खबरहरु सार्वजनिक भएको थियो ।

कार्तिक, २३ गते शनिबार

उक्त खबर भ्रामक रहेको भन्दै सर्तक रहन तथा सत्य तथ्य समाचार प्रकाशन गर्न जिल्ला प्रहरी कार्यालय रौतहटले एक प्रेस विज्ञप्ति जारी गर्दै संचारमाध्यम तथा संचारकर्मीहरुलाई सजग बनाएको थियो ।

कार्तिक, २५ गते सोमबार

रौटहटको राजपुर बम काण्डसम्बन्धी मुद्दाका आरोपी आलमको पक्षमा जिल्ला अदालत रौतहटमा बहस शुरु भयो । सोमबारबाट प्रतिवादी आलमका वकिलहरुले बहस सुरू गरे ।

आलमविरुद्ध कर्तव्य ज्यान, ज्यानमार्ने उद्योग र विस्फोटन भण्डारणको आरोपमा मुद्दा चलेको छ । अदालतमा आलम पक्षका अधिवक्ताहरूले बहस गरिरहँदा उनका समर्थकहरूले सदरमुकाम गौरमा प्रदर्शन गरिरहेका थिए ।

अहिलेसम्म कानून व्यवसायी अधिवक्ता सुनिल पोखरेलले बहस गरेका छन्। उनले आलमको पक्षमा वकालत गर्दै उनको बचाउ गरेका छन्। त्यस्तै कानून व्यवसायी कृष्ण घिमिरे र योगेन्द्र बहादुर अधिकारीको पनि बहस सकिएको छ ।

आलमको तर्फबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, शेर बहादुर केसी लगायत ३४ जनाभन्दा बढी कानून व्यावसायी बहस गर्ने भएकोले थुनछेक बहस नसकिने देखियो । पूर्वमन्त्री आलमको थुनछेक बहस चलिरहँदा मुद्दा दर्ता गर्नेमध्येका एक भारतीय नागरिक गौरीशंकर राम चमारले आलमलाई जोगाउन लिखित निवेदन दिन आएको बेला चमारलाई सोमबार प्रहरीले नियन्त्रणमा लिएकाे थियो ।

गौरी शंकर राम चमारलाई प्रहरीले नियन्त्रणमा लिए पनि चमारले राजपुर घटनाबारे आफूलाई केही जानकारी नभएको र आफू त्यस्तो घटनामा नभई स्टोभ पडकेर घाइते भएको लिखित बयान जिल्ला अदालतमा आलमपक्षका वकिलले दर्ता गराए ।

कार्तिक, २६ गते मंगलबार

आलमको थुनछेक बहस चलिरहँदा मुद्दा दर्ता गर्ने मध्येका एक भारतीय नागरिक गौरीशंकर राम चमारले आफ्नो बयान पुनः फेरेका थिए ।

आलमलाई जोगाउन लिखित निवेदन दिन आएको बेला प्रहरीले नियन्त्रणमा लिएको चमारले जिल्ला प्रहरी कार्यालय रौतहटले आयोजना गरेको पत्रकार सम्मेलनमा चमारलाई सार्वजनिक गरे पश्चात गौरीशंकरले आफूलाई आलमका व्यक्तिहरुले अपहरण गरि ज्यान मार्ने धम्की दिएको बताए ।  अदालतमा त्यस्तो बयान दिन लगाएको जनाएका थिए ।

बिस्फोटमा परेर घाइते भएका चमारको दुवै कान, अनुहारको तल्लो भागदेखि छातिसम्म पूर्ण रूपमा जलेको छ । चमारले सन २००१ मा मट्टितेलको स्टोभ पड्कँदा आफ्नो अनुहार जलेको विवरण लेखिएको निवेदन लिएर अदालततर्फ जाँदै गर्दा प्रहरीले सोमबार नियन्त्रणमा लिएको थियो ।

अर्को तर्फ त्यसको भोलिपल्ट जारी रहेको आलम पक्षको बहस सकिएन । ५ जना बरिष्ठ अधिवक्ताहरुले गरेको बहस पछि मंगलबार आलमको पक्षमा ३ जना अधिवक्ताहरुले थुनछेक बहस मै समय सकेपछि बाँकी बहस पुन बुधबार हुने जिल्ला अदालतले  बतायो ।

आलमका पक्षबाट बहस गरिरहेको अधिवक्ताहरुले आलम निर्दोष रहेको र काल्पनिक तथा कृत्रिम प्रमाणहरु खडा गरी फसाउन खोजिएकोले साधारण तारेखमा रिहा गर्न माग गरेका थिए ।

कार्तिक, २७ र २८ गते

अदालतका श्रेष्तादार गुणराजले मोहमद आफताब आलमको थुनछेक बहस नसकिएको र बहस अझै जारी रहेकोले सुरक्षा व्यवस्थालाई ध्यानमा राख्दै आलमलाई पुनः जिल्ला प्रहरी कार्यालयको हिरासतमै पठाइएको समेत बताए ।

प्रकाशित मिति : २८ कार्तिक २०७६, बिहीबार  ७ : ३७ बजे

दाङमा अटो रिक्सा दुर्घटना, तीन जना घाइते

दाङ – दाङको लमीमा अटो रिक्सा दुर्घटना हुँदा तीन जना

डोटीमा आगोले जलेर एक महिला घाइते

डोटी । डोटीमा आगोले जलेर एक महिला घाइते भएकी छन्।

उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय

बेलायतसँग थप समन्वय र सहकार्यको अपेक्षा छ : गृहमन्त्री

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि बेलायतका

सिरहाबाट कटुवा पेस्तोलसहित बाबु–छोरा पक्राउ

सिरहा । सिरहा प्रहरीले कटुवा पेस्तोलसहित बाबु छोरालाई पक्राउ गरेको