फस्टाउँदो अवैध हुण्डी : २ खर्बको नालीबेली « Khabarhub
Logo
८ असार २०७८, मंगलबार

फस्टाउँदो अवैध हुण्डी : २ खर्बको नालीबेली



काठमाडौ‌– राष्ट्र बैंकले २०७४ सालमा गरेको अनौपचारिक अध्ययनअनुसार नेपालमा भित्रिने रेमिट्यान्सको करिव ३० प्रतिशत अर्थात् रु.२ खर्ब २० अर्ब रकम हुण्डी लगायतका गैरकानूनी माध्यमबाट आउने गर्छ । पछिल्लो समय हुन्डीको कारोबार झनै बढेको विभिन्न तथ्याङ्कबाट खुलेको छ ।

गत पुस ९ गते प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको न्यूरोडबाट ३५ लाख रकम सहित सोलुखुम्बुका भरतबहादुर बस्नेत र काठमाडौंका शंकर श्रेष्ठ हुन्डी कारोबारको आरोपमा पक्राउ गरेको थियो ।

महाशाखा प्रमुख एसएसपी धिरजप्रताप सिंहका अनुसार, गत साउनमा पनि महाशाखाले चलाएको दुई वटा अपरेशनमा दुई जना हुन्डी कारोबारी पक्राउ परेका थिए । महाशाखाको तथ्याङ्क अनुसार, चालु आर्थिक बर्षको पुस मसान्तसम्म मात्र प्रहरीले ३ वटा घटनामा चार जनालाई पक्राउ गरेको छ । उनीहरुबाट ७१ लाख बढी रकम बरामद् गरिएको छ ।

महाशाखाको तथ्याङ्क अनुसार, पछिल्लो ३ वर्षको अवधिमा ४२ वटा घटनामा ५४ जना हुन्डी कारोबारी पक्राउ परे । राजस्व अनुसन्धान विभागका महानिर्देशक दिर्घराज मैनालीका अनुसार गएको आर्थिक वर्षमा विदेशी विनिमय अपचलनका ७६ वटा मुद्दा विभागमा दर्ता भएका थिए । चालु आर्थिक वर्षको पुस मसान्तसम्म मात्रै पनि ४५ वटा मुद्दा दर्ता भइसकेका छन् ।

गैरकानूनी हुन्डी कारोबारमा वैध च्यानल प्रयोग

गत जेठ २२ गते राजस्व अनुसन्धान विभागले काठमाडौंको गोङ्गबुमा रहेको रेमिट्यान्स कम्पनी रिलायन्स सब रेमिटले विदेशबाट गैरकानूनी रूपमा रकम भित्र्याउने हुन्डी कारोबार गरिरहेको दाबीसहित सञ्चालक गोविन्द सुब्बालाई नियन्त्रणमा लियो ।

विभागका महानिर्देशक मैनाली भन्छन्– अनुसन्धान गर्दै जाँदा सो कम्पनीले हुण्डीमार्फत भित्रिएको रु.३ करोड ६६ लाख आन्तरिक रेमिट्यान्स च्यानलबाट सम्बन्धित व्यक्तिलाई पठाएको तथ्य फेला परेको थियो ।

त्यो कम्पनीले प्रभु मनी ट्रान्सफर, नबिल रेमिट, हिमाल रेमिट, वेस्टर्न यूनियन मनी ट्रान्सफरको एजेन्टका रूपमा काम गर्दै आएको थियो । त्यस्तै विभागले गत कात्तिक २९ गते मात्र जनकपुरको जानकी इम्पेक्स मनी ट्रान्सफर र विभास मनी ट्रान्सफरका पाँच सञ्चालक विरुद्ध हुन्डी कारोबारको आरोपमा मुद्दा दायर गरेको थियो ।

२५ लाख रकमसहित पक्राउ परेका उनीहरू विरुद्ध विभागले १३ करोड ७७ लाख बिगो दाबी गरेको छ । यी दुवै मनी ट्रान्सफरले सिटी एक्सप्रेस मनी ट्रान्सफर, हिमाल रेमिट, नबिल रेमिट, रिलायबल रेमिट (आई पे), प्रभु मनी ट्रान्सफर र बेस्ट रेमिट कम्पनीको एजेन्टका रूपमा काम गर्दै आएका थिए ।

यी दुई घटनाबाट गैरकानूनी हुण्डी कारोबारमा रेमिट्यान्स कारोबार गर्ने अनुमतिप्राप्त वैध च्यानलको प्रयोग भइरहेको पुष्टि हुन्छ । विभागका महानिर्देशक दीर्घराज मैनाली पनि आन्तरिक रेमिट्यान्सका च्यानल प्रयोग गरेर हुने हुण्डी कारोबार विदेशमा रहेका नेपालीसँगको मिलेमतोमा हुँदै आएको स्वीकार्छन् ।

पछिल्लो समय अष्ट्रेलिया, जापान, दक्षिण कोरिया, अमेरिका, बेलायतलगायतका देशमा मात्र नभई खाडी मुलुकहरूमा समेत हुण्डी कारोबारलाई आन्तरिक रेमिट्यान्स च्यानलसँग जोड्ने क्रम बढेको छ ।

अपराध महाशाखाका एसएसपी सिंहका अनुसार हुण्डी कारोबारमा रेमिट कम्पनी मात्र होइन, ट्राभल एजेन्सीहरू समेत संलग्न देखिन्छन् । राजस्व अनुसन्धान विभागले काठमाडौंमलस्थित जेबु टुर्स एण्ड ट्राभलले हुण्डी कारोबार गरिरहेको दाबीसहित १२ भदौ २०७४ मा रु.४ अर्ब १४ करोड बिगो दाबी गर्दै जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो । यो घटनाबाट पनि हुन्डीमा ट्राभलको समेत हात रहेको पुष्टि हुन्छ ।

सहकारी पनि हुन्डी कारोबारी

पुस अन्तिम साता प्रहरीले विराटनगरस्थित आस्था नेपाल बहुउद्देश्य सहकारी संस्थामा आवद्ध तीन जनालाई हुन्डी कारोबारको आरोपमा ५९ लाख ७ हजार ६ सय रुपैयाँ रकम सहित पक्राउ गर्‍यो । पक्राउ पर्नेमा विराटनगरकै राजेश हेडा, दीपक कुमार कर्ण र सुमित साह थिए ।

उनीहरुले सहकारी सञ्चालन गरेर हुन्डी कारोबार गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो । हेडा सहकारीका अध्यक्ष हुन् भने दीपक कुमार कर्ण सहकारी व्यवस्थापक र सुमित साह सहकारीका म्यानेजर रहेको प्रहरीले बताएको छ । उनीहरूले भारत, दुबई, चीन लगायतका देशहरूमा हुन्डीको कारोबार गर्ने गरेको खुलेको छ ।

कसरी हुन्छ हुन्डी कारोबार ?

रेमिट्यान्स औपचारिक र अनौपचारिक माध्यमबाट आउछ । अनौपचारिक माध्यमबाट भित्रिने रेमिट्यान्स हुन्डी हो । पूर्व डीआइजी हेमन्त मल्लका अनुसार, हुन्डी अन्तरदेशबीच पैसा कारोबार गर्ने अवैध तरिका हो ।

दुवै देशमा सम्पर्क व्यक्तिहरू राखेर यस्तो कारोबार हुने गरेको छ । मल्लका अनुसार नेपालबाट भारतमा पैसा पठाउन हुन्डीको भारतमा रहेको एजेन्टले नेपालको एजेन्टलाई खबर गर्छ । नेपालको एजेन्टलाई पैसा दिएपछि भारतको एजेन्टले आफ्नो व्यक्तिलाई पैसा उपलब्ध गराउँछ । यसबापत उनीहरूले केही प्रतिशत कमिशन लिने गर्छन् ।

विदेशबाट पैसा पठाउँदा बैंकिङ च्यानलबाट पठायो भने त्यो रेमिट्यान्समा गनिन्छ भने बैंकिङ च्यानलबाट नभई अन्य दलालहरुमार्फत सिधै पैसा पठाउनुलाई हुन्डी कारोबार भनिन्छ । कार्यथलोमै लिन आउने र घरमै पु¥याइदिने त्यसमाथि धेरै शुल्क पनि नलाग्ने भएपछि हुन्डीमा आकर्षित हुने बढेका हुन् ।

राष्ट्र बैंकको नीतिले झन मौलायो 

नेपाल राष्ट्र बैंकले डलर सटही सुविधामा कडाई गरेसँगै त्यसको फाइदा हुण्डी कारोबारमा देखिएको छ । राष्ट्र बैंकले नेपालीहरु विदेशमा गएर गर्ने खर्च न्यूनीकरण तथा डलरको संचितिका लागि सहटी सुविधा कटौती गरेको थियो ।

तर, राष्ट्र बैंकले सहटी सुविधामा कटौती गरेसँगै त्यस्ता व्यक्तिहरुले हुण्डीबाट डलर सटही सुविधा लिन थालेको सम्वद्ध सरोकारवालाहरु बताउछन् ।

यसअघि विदेश भ्रमणमा जाने व्यक्तिलाई २ हजार ५ सय डलर सटही सुविधा दिंइदै आएकोमा घटाएर १ हजार ५ सय डलरमा झारिएको थियो । २५ सय डलरको सुविधा बढाउन माग भइरहेको अवस्थामा घटाउँदा झन बढी हुण्डी कारोबारीलाई फाइदा पुगेको हो ।

अर्थतन्त्रमा हुन्डीको प्रभाव

विभागका महानिर्देशक मैनालीका अनुसार हुन्डी रेमिट्यान्स नै भएपनि यो अनौपचारिक माध्यमबाट आउने भएकाले रेमिट्यान्समा गनिंदैन । यसको मतलब हुन्डीले रकम आउने क्रमलाई घटाउँदैन ।

सरकारी तथ्यांकमा मात्रै नदेखिने हो । सरकारी कोषमा विदेशी मुद्रा आउँदैन । अनौपचारिक क्षेत्रबाट आएको रेमिट्यान्सले विदेशी मुद्राको सञ्चिति घटाउँछ । यसले अनाधिकृत व्यापार व्यवसायसँगै राजश्व समेत घटाउँछ ।

हुन्डी नियन्त्रण नहुँदा बढ्यो अपराध

हुन्डी नियन्त्रण हुन नसक्दा अन्य किसिमका अपराध पनि बढेको एसएसपी धिरज प्रताप सिंहको अनुभव छ । उनका अनुसार, नेपालबाट ठूलो मात्रामा लागूऔषध विभिन्न देशमा तस्करी हुने गरेको छ ।

यसरी तस्करी हुने लागूऔषधको पैसा नेपालमा अवैध तरिकाबाट नै आउने गर्छ । हुन्डीको अनुसन्धान नै नहुने भएकाले निर्वाध रूपमा अर्बौं रकम यसकै माध्यमबाट लेनदेन हुने गरेको छ । हुन्डीको अवैध कारोबारसँगै सुन तस्करी पनि मौलाएको छ ।

लागूऔषध, हतियार तथा सुनलगायत सामान तस्करीमा पनि हुन्डीमार्फत नै आर्थिक लेनदेन हुने गरेको प्रहरी अधिकारीहरु बताउँछन् । उनीहरूका अनुसार नेपालमा पछिल्लो समय दैनिक सय किलोभन्दा धेरै सुन तस्करी हुने गरेको छ भने त्यसको लेनदेन हुन्डीमार्फत नै हुने गरेको छ ।

कारबाही गर्न कानून छैन

सरकारले हुण्डी कारोबारलाई अवैध माने पनि कारबाही गर्ने कानूनी व्यवस्था भने छैन । हुण्डी कारोबार गर्ने तौरतरिका फेरिइसक्दा पनि साढे पाँच दशक पुरानो विदेशी विनिमय ऐन, २०१९ का आधारमा मुद्दा चलाउने गरिएको छ ।

राजस्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनाली स्पष्ट कानून नहुँदा हुण्डीका कारोबारीलाई कारबाही गर्न कठिन भइरहेको बताउँछन् ।

पूर्वडिआइजी मल्लकाका अनुसार हुन्डी कारोबार नियन्त्रण गर्न सरकारले नीति नै परिमार्जन गर्नुपर्छ । अर्काे कुरा पुर्णतः इनफोर्समेन्ट नै हो । कारबाहीको दायरा बढाउँदै लैजाने हो भने हुन्डी कारोबार विस्तारै नियन्त्रणमा आउँछ ।

एसएसपी धिरजप्रताप सिंह, प्रमुख, महानगरीय अपराध महाशाखा

हुन्डी कारोबारीहरुको कारोबार शैली पहिले भन्दा अहिले निकै फरक छ । ४/५ बर्ष अघि सम्म हुन्डीकारोबारीहरुले भौतिक रुपमा नै पैसा ल्याएर वितरण गर्दथे ।

अहिले चाहीं सीमा क्षेत्रका केही स्थानमा बाहेक पैसा बोकेरे मानिस ओहोर–दोहोर गर्दैनन् । कारोबारीले सहकारी, फाइनान्स वा बैंकीङ च्यानल मार्फत चेक प्रयोग गरेर भुक्तानि गर्छन् । अब यसको नियन्त्रणका लागि एउटै मान्छेको १० लाख भन्दा बढी रकम अस्वभाविक रुपमा खातामा आउँछ भने त्यसको स्रोत खोज्नुपर्छ ।

दीर्घराज मैनाली, महानिर्देशक, राजश्व अनुसन्धान विभाग

हुन्डीले गर्दा देशले प्राप्त गर्नुपर्ने राजश्व देशले प्राप्त गर्दैन । जस्तो भन्सारमा न्यून बिजीकरण भएर आयात भयो भने त्यसबाट राज्यले प्राप्त गर्नुपर्ने राजश्व पाउदैन ।

हाम्रो लागि महत्वपुर्ण हुने विदेशी मुद्रा जो बाहिरबाट आउनुपथ्र्याे त्यो आउँदैन । हामीलाई यसले दोहोरो घाटा गराउँछ । त्यसकारण हुन्डी नियन्त्रण हुनुपर्छ ।

त्यसका लागि सबै कानूनहरु कडाईका साथ कार्यान्वयन गर्नुपर्छ र सम्पत्ति शुद्धिकरण सम्बन्धी अरु सम्बद्ध कानून र त्यसको कार्यान्वयनलाई प्रभावकारी बनाईनु पर्छ ।

हेमन्त मल्ल, पूर्व डीआईजी

हुन्डी कारोबार नियन्त्रण नहुनु भनेको सरकारको आर्थिक नीति पनि हो । विदेशी मुद्रा उपयोग गर्न नेपालको सिस्टमले नदिने भएकाले पनि हो ।

अर्काे चाहीं निर्यात वेसमा हुने ब्यापारका लागि चाहिने मुद्रा बैंक छलेर लुकाएर गर्ने वा त्यसको भाउ घटाएर गर्ने चलनले पनि यो हुन्डीको कारोबार बढेको छ । त्यसैले यसको नियन्त्रणका लागि सरकारले नीति नै परिमार्जन गर्नुपर्छ ।

अर्काे कुरा पूर्णतः इनफोर्समेन्ट नै हो । कारबाहीको दायरा बढाउने र कारबाकीको स्कील पनि बढाउँदै गएपछि यो नियन्त्रणमा आउँछ । त्यो बाहेक अरु कुनै उपाय हुँदैन ।


भर्खर

0