चाबहिल-साँखु सडक खण्डः समस्यै-समस्याको पोको, कहिले फुक्छ गाँठो ? | Khabarhub Khabarhub

चाबहिल-साँखु सडक खण्डः समस्यै-समस्याको पोको, कहिले फुक्छ गाँठो ?



काठमाडौं–बुधबार दिउँसो बौद्धस्थित सडकमा एक महिला पानी खन्याउँदै थिइन् । उनको यहाँ कपडा पसल छ । ‘सडकका धुलोले कपडा एकैदिनमा पुरानो जस्तै देखिन्छ’ उनले भनिन्, ‘मासिक एक हजार रुपैयाँ सडक भिजाउन पानीलाई मात्र तिर्नुपर्छ’ । उनले धुलो उड्न नदिन हरेक दिनमा चार बाल्टिन पानी सडकमा खन्याउँछिन् ।

यो समस्या उनले मात्रै भोग्नु परेको होइन । यहाँका हरेक स्थानीय तथा व्यापारीहरुले लामो समयदेखि झेल्दै आइरहेका छन् । १३ किलोमिटर लम्बाइ रहेको चाबहिल–साँखु सडक खण्डको निर्माण समयमै सम्पन्न नहुँदा स्थानीयले सास्ती भोग्नु परिरहेको छ भने पटक–पटक आन्दोलन गर्न बाध्य बन्ने गरेका छन् ।

चार वर्षदेखि निर्माणधीन यो सडक समयमै सम्पन्न नुहँदा आवातजावत गर्ने यात्रुहरु धुलोले आजित बनेका छन् । झट्ट हेर्दा निर्माण भइरहेको देखिने यो सडकका बीचमा १/२ वटा डोजर र केही कामदारहरु देखिन्छन् ।

निर्माणधीन यो सडकमा फुटपाथ भत्काइएको छ, जसकारण पैदलयात्रु सडकबाटै आवतजावत गर्न बाध्य छन् । सडकमा जथाभावी बिजुलीका तार छरिएका छन् । साथै ढल व्यवस्थापनका लागि खनिएका खाडलहरुले सडकलाई जोखिमपूर्ण बनाएको छ । खल्डाखुल्डीका साथै धुलो र हिलोले सडकलाई कुरुप बनाएको छ ।

काम सुरु गर्ने तर समयमै सम्पन्न गर्न नसक्ने ठेकेदारको प्रवृत्तिका कारण आफुहरु मारमा परेको स्थानीयको भनाइ छ ।

यो सडकमा दैनिक हजारौँ सवारी साधन आवतजावत गर्छन् । यो सडकले सिन्धुपाल्चोकको सीमानासम्म छोएकाले पछिल्लो समय सिन्धुपाल्चोकबाट साँखु हुदै राजधानी प्रवेश गर्ने सवारी साधनको संख्या पनि बढिरहेको छ ।

सवारी साधनको चाप बढेपनि बाटो बढ्न सकेको छैन । झनै जीर्ण बन्दै गएको छ । कतिपय स्थानमा सडक कालोपत्रे भएको छ । यद्यपि धेरै स्थानमा सडक कच्चीमा परिणत भइसकेका छन् । यस्तो सडकबाट आएका सवारीले हिलो ल्याउने हुँदा सडकको अवस्था झनै नाजुक बन्न पुगेको छ ।

गत वैशाख २६ गते स्थानीय तथा व्यापारीले बौद्धमा आन्दोलन समेत गरेका थिए । उनीहरुको माग थियो ‘सडक छिटो भन्दा छिटो बन्नुपर्ने र धुलोमुक्त हुनु पर्ने’ । आन्दोलनका क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडपको अवस्था नै सिर्जना भएको थियो । त्यसपछि भने तत्काल कालोपत्रे गर्ने सम्झौता पनि भयो ।

त्यसलगत्तै चुच्चेपाटी नजिकैको ह्यात होटलदेखि बौद्ध गेटसम्म कालोपत्रे गरिएको थियो । तर एक महिना बितिसक्दा पनि अन्य स्थानमा भने कालोपत्रे गर्ने कार्य अगाडि बढेको छैन । अन्य क्षेत्रको कालोपत्रे गर्ने कार्यमा ठेकेदार कम्पनीबाट पुरानै शैलीको ढिलासुस्ती हुन थालेको छ । सडक निर्माणमा भएको सुस्तताले बौद्धबासीले फेरि पनि आन्दोलनमा उत्रिने चेतावनी दिइरहेका छन् ।

थलीमा पनि उस्तै समस्या

थलीको बसपार्क क्षेत्र अव्यवस्थित देखिन्छ । सडक बीचमा बिजुलीका पोल ठडिएका छन् । सम्बन्धित निकायले समयमै ध्यान नदिँदा पुरानै समस्या यथावत रहेको स्थानीयको गुनासो छ । त्यस्तै साँघुरो सडकमा हुने जाम, धुलो, हिलोले स्थानीय मारमा परिरहेका छन् ।

साँखुका नरेश नेपाल चाबहिलमा कपडा व्यवसाय गर्छन् । १० बजे पसल खोल्न उनी ७ बजे नै घरबाट निस्कछन् । ‘बाटो राम्रो हुने हो भने १ घण्टा पनि लाग्दैँन थियो’ उनी भन्छन्, ‘सडक कच्ची भइदिँदा ३ घण्टा लाग्छ’ ।

बाटोकै कारण बेलुका भएपछि सवारी साधन नै नचल्ने र हिँड्दै घर जानुपर्ने बाध्यता रहेको उनले सुनाए ।

सडकको खाल्डाखुल्डीकै कारण दुई चक्के सवारीसाधन मोटरसाइकल र स्कुटर बढी चिप्लने र दुर्घटनाको जोखिम रहेको सवारी चालकहरु बताउँछन् ।

सडकको दुरावस्थाकै कारण सवारीसाधनको पार्टपुर्जा चाँडै बिग्रने र बढी क्षति ब्यहोर्नु पर्ने अवस्था रहेको थलीका माइक्रो चालक सुमन नेपालले बताए । ‘सडकमा खाल्डाखुल्डी धेरै छन्’ उनले भने, ‘पानी पर्दा समथर भूभाग हो या खाल्डो छुट्याउन सकिदैँन यात्रा गर्न गाह्रो छ ।’

पटक–पटक सरकारलाई दवाव दिइरहे पनि सडक जस्ताको त्यस्तै रहेको स्थानीयको भनाइ छ । ‘सडक बनाउँनका लागि आन्दोलन नै गर्नुपर्ने रहेछ’ थलीका स्थानीय गोपाल तामाङले भने, ‘स्थानीय सरकारलाई दवाव दिँदा पनि सडक नबनेपछि गत मंगलबार हामीले आन्दोलन गरेका हौँ’ ।

के भन्छ सडक विस्तार आयोजना ?

चाबहिल-बौद्ध-जोरपाटी-थली-साँखु सकडखण्डको काम पाँच वटा प्याकेजमा भइरहेको उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ ।

जसअन्तर्गत चाबहिल-नारायणटारस्थित बाग्मती सडकखण्ड पहिलो प्याकेज अन्तर्गत पर्दछ । यो सडकको निर्माण जिम्मा युनाइटेड विल्डर्स एण्ड इन्जिनिर्यस प्रालीले पाएको छ ।

दोस्रो खण्ड अन्तर्गत नारायणटार-मूलपानीसम्म रहेको छ । यो सडक निर्माणको जिम्मा भने बज्र गुरु जेभीले पाएको छ ।

तेस्रो खण्ड अन्तर्गत मूलपानी-थली हुदैँ ब्रह्मखेलसम्म रहेको छ । यो सडकको निर्माण कार्य अत्यन्तै सुस्त देखिएको छ ।

चौथो प्याकेजअन्तर्गत ब्रम्हखेल-खुलालटार-इन्द्रयाणीदेखि सेलम्बुटारसम्म रहेको छ । यसको निर्माण ठेक्का सुनकोशी/वर्ल्ड वाइड जेभीले पाएको छ । आयोजनाका अनुसार सडक निर्माणका लागि कठिन बनिरहेको खण्ड पनि यही हो ।

अन्तिम अर्थात् पाचौँ प्याकेज सेलम्बुटारदेखि साँखुसम्म रहेको छ । यो खण्ड निर्माणको जिम्मा समानन्तर जेभीले पाएको छ ।

पाँचवटै प्याकेजको काम सुस्त ढंगले अघि बढिरहेको आयोजना प्रमुख अर्जुनप्रसाद अर्यालले स्वीकार गरे ।

‘२०७२ सालमा पाँचवटै प्याकेजको काम २७ महिना भित्र सम्पन्न गर्ने गरी ठेक्का दिएका थियौँ’ खबरहबसँग कुरा गर्दै उनले भने, ‘समयावधी सकिए पनि निर्माण कार्य सम्पन्न हुन सकेको छैन ।’

उनका अनुसार २७ महिने ठेक्का २०७४ साल असारमा सकिएको थियो । ठेक्का सम्झौता सकिएसँगै आयोजनाको काम एक वर्ष अलपत्र भएको र पुनः २०७५ साल साउन १० गते तिनै कम्पनीहरुलाई ठेक्का दिइएको आर्यालले बताए ।

के छन् समस्या ?

चार वर्षअघि निर्माण कार्यको थालनी भएको थियो । तर निर्माण कार्य अघि बढेसँगै विभिन्न समस्या झेल्नु परेकाले कामको समयावधी लम्बिदै गएको अर्यालले खबरहबलाई जानकारी दिए । ‘लामो समयसम्म मुआब्जा विवादमै आयोजनाको काम अड्कियो’ अर्यालले भने, ‘जग्गा उपलब्ध भएसम्म सडकको निर्माण कार्य भइरहेको छ’ ।

अहिले खानेपानी र ढलको पाइप बिछ्याउने कामले तिव्रता पाएको उनले बताए । ‘सेलम्बुटारदेखि साँखुसम्म ग्राबेल बिछ्याउने कामका लागि निर्माण व्यवसायीलाई भनी सकेकाछौँ’ उनले भने ।

सुस्त गतिमा अघि बढिरहेको सडकको निर्माण कार्य कहिले सम्पन्न हुन्छ भन्ने कुरामा भने सम्बन्धित निकायलाई नै थाहा छैन । अर्यालका अनुसार सडक निर्माण कहिले सम्पन्न हुन्छ भन्ने निश्चित छैन ।

कागेश्वरी नगरपालिकामा काम हुदैँ

कागेश्वरी, मनोहरा र शंकरापुर नगरपालिका अन्तर्गत थली, डाँछी, इन्द्रयाणी र साँखुलगायतका स्थानमा स्थानीयले घर भत्काउन नदिएपछि काम स्थगित भएको थियो । तर पछिल्लो समय स्थानीयले मुआब्जाको साटो क्षतिपूर्ति मात्रै दिएपनि घर भत्काउने बताएपछि काम अघि बढ्ने भएको छ । ‘स्थानीयले अब हामीलाई मुआब्जा चाहिँदैन क्षतिपूर्ति दिए पुग्छ भनेका छन्’ आयोजना प्रमुख आर्यालले भने ।

आयोजनाकाअनुसार उपत्यका विकास प्राधिकरणले स्थानीयलाई क्षतिपूर्ति दिनासाथ त्यहाँको काम सुरु हुनेछ । स्थानीयसँगको विवाद टुंगिएपछि बर्खा लागेपनि निरन्तर काम गर्ने र छिट्टै सक्ने अर्यालको भनाइ छ ।

प्रकाशित मिति : ३१ जेठ २०७६, शुक्रबार  ८ : ५५ बजे

सवारी दुर्घटनामा आठ चिनियाँ पर्यटक घाइते

कास्की– पोखरामा आज बिहान भएको सवारी दुर्घटनामा आठजना चिनियाँ पर्यटक

सुदूरपश्चिममा सरकारमा दाबी गर्न दिएको समय आज सकिँदै

धनगढी– सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले नयाँ मुख्यमन्त्री दाबी

लगानी सम्मेलन : हात्ती आयो फुस्सा !

काठमाडौं– सरकारले आगामी वैशाख १६ र १७ गते ‘नेपाल इन्भेष्टमेन्ट

सार्वजनिक पदमा रहेकाले सामुदायिक विद्यालयमा सन्तान पढाउनुपर्ने

गोरखा– गोरखाका स्थानीय तहमा सार्वजनिक पद धारण गरेका व्यक्तिले आफ्ना

व्यापार र रोजगारीका लागि ताक्लाकोट जानेको सङ्ख्या बढ्दै

हुम्ला– रोजगारी र व्यापारका निम्ति चीनको स्वशासित क्षेत्र पुराङ काउन्टीको