विप्लवसँग ५०० मिटरसम्म मार हान्नसक्ने ड्रोन, फौजी क्षमताबारे सेना र प्रहरीकै फरक मूल्याङ्कन | Khabarhub Khabarhub

विप्लवसँग ५०० मिटरसम्म मार हान्नसक्ने ड्रोन, फौजी क्षमताबारे सेना र प्रहरीकै फरक मूल्याङ्कन



काठमाडौं–  गत फागुन २७ गते अपराह्नको मन्त्रिपरिषद वैठकले नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको ‘नेपाल कम्युनिस्ट पार्टी’का सम्पूर्ण गतिविधिमाथि प्रतिबन्ध लगाउने निर्णय गर्‍यो । यसअघि पनि राज्यबाट ‘राजनीतिक दल’को ‘मान्यता’ नपाएको विप्लव नेतृत्वको नेकपालाई सरकारले ‘अवैध समूह’को दर्जा दिएर उसका गतिविधिमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

सरकारको निर्णयसँगै विप्लवका गतिविधिमाथि सुरक्षा निकायले थप उच्च निगरानी बढाएका छन् । यसअघि पनि ‘विध्वांत्समक’ समूहको रुपमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले आ–आफ्नै तरिकाले विप्लवमाथि निगरानी गरिरहेका थिए ।

विप्लव समूहले हतियार समेत संकलन गरेर सैन्य तालिम दिन थालेको रिपोर्ट सुरक्षा निकायबाट सरकारले प्राप्त गरेको थियो ।

मन्त्रिपरिषदले गरेको निर्णय सार्वजनिक गर्न बिहीवार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले विप्लव समूहबाट अवैध हतियार बरामद हुन थालेपछि उसका गतिविधिमाथि प्रतिबन्ध लगाइएको बताए ।

विप्लवबारे सेनाको विश्लेषण– तरिका पुरानो माओवादीकै

२०५२ सालदेखि ‘जनयुद्ध’ शुरु गरेको तत्कालीन माओवादीबारे नेपाली सेनाको विश्लेषण थियो, राजनीतिक आवरण बोकेको फौजी संगठन । अहिलेको विप्लव समूहलाई पनि सेनाले पहिलेकै माओवादीको ‘क्याटेगोरी’मा राखेको छ ।

तत्कालीन माओवादीले आफ्नो अभियान शुरु गर्दा राज्यशत्ताप्रति वितृष्णा जगाएर ग्रामिण क्षेत्रका जनतालाई आफ्नो एजेण्डाप्रति आकर्षित गराएको थियो । विप्लवले पनि उस्तै रणनीति लिएको एक उच्च सैनिक अधिकारीको विश्लेषण छ ।

सैनिक स्रोतका अनुसार विप्लव अहिले स्थानीय तहका काम रोक्ने अभियानमा छन् । ‘स्थानीय तहलाई जसरी हुन्छ असफल बनाउने यो समूहको पहिलो प्राथमिकता छ,’ सैनिक स्रोत भन्छन्, ‘हालै निर्वाचित भएका जनप्रतिनिधिहरुलाई असफल बनाउन सकियो र उनीहरुप्रति ग्रामिण क्षेत्रका नागरिकमा वितृष्णा जगाउन सकियो भने आफू सफल हुन्छौं भन्ने उनीहरुको बुझाइ छ ।’

पहिलेका माओवादी समर्थकहरुलाई आफूतर्फ आकर्षित गर्न पनि विप्लव समूहले पहिलेको माओवादीकै जस्तो रणनीति लिएको सेनाको बुझाइ छ ।

सैनिक स्रोतका अनुसार विप्लवको सबैभन्दा बढी प्रभाव अहिले कर्णाली प्रदेशका ६ जिल्लामा छ । विस्तारै सुदूरपश्चिमका जिल्ला हुँदै अन्य प्रदेशका पहाडी क्षेत्रमा समेत विप्लवले आफ्नो प्रभाव विस्तार गर्दै लगेको सेनाको बुझाइ छ ।

विप्लवले शहरी क्षेत्रमा चन्दा संकलन गरेर ग्रामिण क्षेत्रमा पकड बढाउँदै लगेको सैनिक स्रोत बताउँ । ‘शहरी क्षेत्रका व्यवसायीदेखि विभिन्न पेशा व्यवसायमा लागेका मानिसहरुलाई त्रसित बनाएर चन्दा असुल्ने र ग्रामिण क्षेत्रका जनतालाई विश्वासमा लिने उनीहरुको रणनीति छ,’ एक उच्च सैनिक अधिकारी भन्छन्, ‘यदि उसका गतिविधिलाई नियन्त्रणमा नलिने हो भने देशको अर्थतन्त्र नै धरासायी हुने जोखिम छ ।’

विप्लवलाई सामान्य शक्तिको रुपमा मात्रै मुल्यांकन गर्नु ‘मुर्खता’ हुने सैनिक अधिकारीको विश्लेषण छ । ‘उनीहरुसँग हतियारको उपलब्धता, चन्दा संकलन र संगठन विस्तारको प्रक्रियालाई हेर्दा यो समूह ठूलो समस्याका रुपमा उदाउने खतरा छ,’ सैनिक अधिकारी खबरहबसँग आफ्नो विश्लेषण सुनाउँदै भन्छन्, ‘उसका गतिविधिलाई निस्तेज पार्ने हो भनेपनि प्रहरी परिचालन गरेर मात्रै सम्भव छैन ।’ विप्लवका गतिविधि नियन्त्रणका लागि कुनै न कुनै रुपमा सेना परिचालन गरिनुपर्ने ती अधिकारीको राय छ ।

सरकारको प्रतिबन्धपछि झन् बलियो !

सेनाको विश्लेषणमा सरकारले प्रतिबन्ध लगाउने निर्णय गरेपछि विप्लव समूह आन्तरिक रुपमा झन बलियो बनेको छ । यसअघि चन्दा संकलनको विषयमा महासचिव विप्लव र खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)बीच विवाद थियो ।

कतिपय ठाउँमा प्रकाण्डले विप्लवलाई समेत जानकारी नदिइ चन्दा संकलन गरेर व्यक्तिगत फाइदाका लागि प्रयोग गरेका थिए । साथै जनवर्गीय संगठनहरुमा समेत प्रकाण्डले एकतर्फी गर्न खोजेको भन्दै विप्लवको गुटमा असन्तुष्टि बढेको थियो ।

‘यसअघि उनीहरुमा चन्दा संकलन, जनबर्गीय संगठन परिचालन र सञ्चारकर्मीदेखि नागरिक समाजसँगको सम्पर्कको विषयलाई लिएर आन्तरिक विवाद थियो,’ सैनिक स्रोत भन्छ, ‘सरकारले प्रतिबन्ध लगाउने निर्णय गरेपछि उनीहरुको आन्तरिक विवाद साम्य भइसकेको छ । अब उनीहरु सरकारको पछिल्लो निर्णयको प्रतिवाद गर्ने भनेर लागेको बुझिन्छ ।’

विप्लवसँग ३ हजार लडाकू !

विप्लव समूहले यसअघि देशका विभिन्न ठाउँमा बम विस्फोटन गराउँदै आएको थियो । ललितपुरको नख्खुस्थि एनसेल टावरमा गरिएको आक्रमणमा एकजनाको मृत्यु हुनुका साथै अघिल्लो वर्ष चुनावका बेला गरिएका आक्रमणमा पनि सुरक्षाकर्मीसहित केहीको ज्यान गएको थियो ।

हतियारसहित आक्रमणमा नउत्रिए पनि विप्लवले फौजी आक्रमणका लागि तयारी गरिरहेको भन्ने खबर यसअघि पनि सार्वजनिक भएका थिए ।

नेपाली सेनाको विश्लेषण हेर्दा विप्लव समूह फौजी रुपमा समेत ‘बलियो’ रहेको देख्न सकिन्छ । विप्लव समूहसँग करिब ३ हजारको हाराहारीमा लडाकूहरु छन् । यी लडाकूहरु कुनै पनि बेला आक्रमणमा उत्रिन सक्ने सेनाको मुल्यांकन छ ।

यस्तै विप्लव समूहसँग साना–ठूला, आधुनिक र परम्परागत गरी करिब १ हजारको संख्यामा हतियार रहेको सैनिक स्रोतको भनाइ छ । जसमध्ये १ सयजति आधुनिक किसिमका स्वचालित हतियारहरु विप्लव समूहसँग हुनसक्ने सेनाको मुल्यांकन छ ।

तर, विप्लव समूहमा राजनीतिक र फौजी संगठनबीच प्रस्ट समन्वय नरहेको सेनाको बुझाइ छ । विप्लवबाहेक राजनीतिक संगठनका अन्य व्यक्तिसँग फौजी संगठनको सम्पर्क हुँदैन । अधिकांश राजनीतिक संगठनका व्यक्तिलाई पनि फौजी संगठनबारे जानकारी हुँदैन ।

विप्लवसँग ५०० मिटरसम्म मार हान्नसक्ने ड्रोन !

सैनिक स्रोतका अनुसार विप्लवसँग एउटा ड्रोन छ । जसले ५०० मिटरको दुरीसम्म मार हान्न सक्ने अुनमान गरिएको छ ।

उच्च सैनिक स्रोतका अनुसार केही दिन अगाडि मात्रै विप्लव समूहले उक्त ड्रोन परीक्षण गरेको थियो ।

विप्लवले ड्रोन परीक्षण गरेसँगै सरकारका गुप्तचरी संयन्त्रमा समेत हल्लीखल्ली मच्चिएको छ । उक्त ड्रोनले आधा किलोसम्मको विस्फोटक पदार्थ बोक्नसक्ने अनुमान गरिएको छ ।

‘ड्रोनको परीक्षण मात्रै गरेको हो या यसलाई अपरेशनमा पनि ल्याइएको हो भन्नेबारे अहिले स्पष्ट रुपमा खुल्न सकेको छैन,’ सैनिक स्रोत भन्छ ।

विप्लवले ड्रोन परीक्षण गरेको विषयमा प्रहरीको विशेष ब्यूरोले समेत अनुसन्धान थालेको छ । ब्यूरोले यसअघि लामो समयदेखि विप्लवका गतिविधिमाथि निगरानी राख्दै आइरहेको थियो ।

प्रहरीको विश्लेषण– विप्लव सोचेभन्दा कमजोर

सेनाले आन्तरिक सुरक्षाका ‘खतरा’को रुपमा बुझेको विप्लव समूहलाई नेपाल प्रहरीले भने ‘सामान्य आपराधिक समूह’को रुपमा बुझेको छ ।

कानून कारबाहीबाट नै विप्लवका गतिविधिलाई नियन्त्रण गर्न सकिने प्रहरीको बुझाइ छ । प्रहरीका अनुसार विप्लव समूह अहिले राजनीतिक भन्दा बढी ‘अपराधिक’ गतिविधिमा संलग्न छ । बम विस्फोट, चन्दा संकलन जस्ता अपराधिक गतिविधिको भरमा विप्लव समूहले आफ्नो प्रभाव बढाउन खोजेको प्रहरीको बुझाइ छ ।

प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उत्तमराज सुवेदी सरकारले गरेको मुल्यांकनकै आधारमा प्रहरीले पनि विप्लव समूहमाथि कारबाही प्रक्रिया अगाडि बढाइरहेको बताउँछन् ।

‘विप्लव समूहलाई सरकारले नै अपराधिक समूहको संज्ञा दिएर कारबाही गर्न निर्देशन दिएको छ,’ प्रहरी प्रवक्ता सुवेदी भन्छन्, ‘प्रहरीले पनि उक्त समूहका अपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न सबै तयारी गरिरहेको छ । अपराधिक गतिविधि कानूनअनुसार हुने कारबाही उक्त समूहमाथि पनि हुन्छ ।’

प्रहरीले विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड), उमा भुजेल लगायत नेताहरुलाई गिरफ्तार गरी उनीहरुबाट प्राप्त सूचनाका आधारमा आफ्नो रिपोर्ट तयार पारेको छ । जसअनुसार विप्लवसँग अहिले धेरै ठूलो संगठन नरहेको प्रहरीको बुझाइ छ ।

यद्यपि, चर्चामा आउन र आतंक सिर्जना गर्न भने विप्लव समूहले केही चुनौतीहरु दिइरहेको प्रहरीको बुझाइ छ । ‘प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष प्रचण्डलगायत नेताहरुको हत्या गर्ने भनेर निर्णय गर्ने, त्यसका लागि टोली परिचालन गर्नेजस्ता निर्णय पनि भएका छन्,’ प्रहरी स्रोत भन्छ, ‘तर, उनीहरु त्यस्ता घटनालाई कार्यान्वयनमा ल्याउनसक्ने ल्याकत राख्दैनन् ।’

बिहीवार राजधानीमा आयोजित एक कार्यक्रममा नेकपा अध्यक्ष प्रचण्डले विप्लव नेतृत्वको समूहले आफ्नो हत्या गर्ने सूचना पाएको बताएका थिए । प्रहरीको बिशेष ब्यूरोले प्रकाण्डलगायत विप्लव समूहका नेताबाट बरामद गरिएका डायरीको विश्लेषण गरी रिपोर्ट तयार पारेको थियो । सोही रिपोर्ट प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष प्रचण्डसमक्ष पनि पुगेको थियो ।

तर, प्रहरीको विश्लेषण छ, चन्दा आतंक बन्द गरिदिए विप्लव समूह आफैं कमजोर भएर जान्छ ।

प्रहरीको अर्को विश्लेषण पनि छ, विप्लव समूहका माथिल्लो तहका नेताबीच नै विवाद छ । हाइकमान्डका ५ जना नेताहरु– महासचिव विप्लव, प्रकाण्ड, हेमन्तप्रकाश ओली, धर्मेन्द्र बास्तोला र सन्तोष बुढामगरको बीचमा नै विवाद छ । जसका कारण विप्लवले अहिलेको अवस्थामा ‘ठूलो युद्ध’ लड्न नसक्ने प्रहरीको बुझाइ छ ।

प्रहरीले गत वैशाख यता मात्रै विप्लव समूहका ४ सय ११ जना नेता–कार्यकर्तालाई पक्राउ गरेको जनाएको छ । फागुनमा मात्रै ७३ जना नेता कार्यकर्तालाई नियन्त्रणमा लिएको प्रहरीले पछिल्लो समय विप्लव समूहविरुद्ध ‘सर्च एण्ड एरेस्ट’ अपरेशन शुरु गरेको छ ।

प्रहरीले ‘सर्च एण्ड अरेस्ट’ (खोजी गरी पक्राउ गर्ने) अपरेशन शुरु गरे पछि विप्लवका अधिकांश नेता–कार्यकर्ता अहिले ‘भूमिगत’ भइसकेका छन् ।

विप्लवसम्म पुग्नछन् प्रहरीकै सूचना !

विप्लवका गतिविधिमाथि प्रहरीले सुक्ष्म अनुसन्धान गरिरहेको बताइरहे पनि विप्लवले पनि प्रहरीका सूचना प्राप्त गर्ने गरेको तथ्य फेला परेको छ ।

करिब ६ महिना अगाडि प्रहरीले आफूविरुद्ध गरिरहेको अनुसन्धानबारे विप्लवले सूचना प्राप्त गरेका थिए । विप्लवले नेपाल प्रहरीकै सूचना थाहा पाउन थालेको जानकारीमा आएपछि विशेष ब्यूरोले अहिले छुट्टै रणनीति अख्तियार गरेको बुझिएको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७५, बिहीबार  ८ : ०८ बजे

नेपालले युएईलाई दियो १२० रनको लक्ष्य

काठमाडौं– नेपालले युएईलाई १२० रनको लक्ष्य दिएको छ । एसीसी

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

झापा– १६ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा अर्जुनधारा नगरपालिका-११ बस्ने २१

अर्धशतक बनाएर आउट भए सन्दीप जोरा

काठमाडौं- सन्दीप जोराले युएईविरुद्ध अर्धशतक बनाएका छन् । एसीसी प्रिमियर

अर्थमन्त्री पुनको अमेरिका भ्रमण : माथिल्लो अरुणको वित्तिय व्यवस्थापन विश्व बैंकले गर्ने करिब निश्चित 

काठमाडौं– संखुवासभामा निर्माण हुने १ हजार ६३ मेगावाटको माथिल्लो अरुण

वाणिज्य बैंकहरूको नाफा घट्यो, नेपाल बैंकको ९२.६७ प्रतिशतले गिरावट

काठमाडौं– चालु आर्थिक वर्ष (आव)को तेस्रो त्रैमासिक अवधिमा बैंकहरूको नाफामा