अन्तर्राष्ट्रिय बजारमा नेपाली ‘हेम्प’ चिनाउँदै विनोद « Khabarhub
Logo
२१ श्रावण २०७८, बिहीबार

अन्तर्राष्ट्रिय बजारमा नेपाली ‘हेम्प’ चिनाउँदै विनोद



काठमाडौं-सुन्दा अचम्म लाग्न सक्छ, ‘नेपालमै झोला बन्ला र’ भन्ने। किनकी हामी सबै बजारमा आएका ब्रान्डेड ब्याग किन्ने बानी परिसकेका छौँ। अझ नेपाली बजारमा स्वदेशीभन्दा विदेशी उत्पादनका सामग्रीले स्थान ओगटेको पाइन्छ।

तर, सीप र क्षमता भएका व्यक्तिहरुले नेपालमै पनि विभिन्न सामग्री बुन्ने गरेका छन्। उनीहरु पुरानै पेशामा रमाएर वर्षौदेखि निरन्तर काम गरिरहेका छन्। अनि राम्रो आम्दानी पनि गर्दै आएका छन्। नेपाल मै काम गरेर नेपाली ब्राण्डलाई विश्वमा चिनाउन लागि परएका यस्तै एक व्यक्ति हुन्- ‘संखुवासभाका ५४ वर्षीय विनोद शाक्य’।

एउटा बालकले ठूलो भएपछि के बन्ने भन्ने कुरा सानो छँदै सोचिसकेको हुन्छ। उ भोलिको उद्देश्य पुरा गर्न निरन्तर प्रयत्न गरिरहन्छ, र एकदिन निश्चय नै सफल हुन्छ।

त्यहि उदाहरण भित्र विनोद पनि पर्छन्। सानो छँदा उनी सोच्थे ‘ठूलो भएपछि व्यापार गर्छु, ‘त्यति मात्र होइन् नेपाली उत्पादनलाइ विश्वबजारमा चिनाउँछु’। बीचमा बाधा अड्चन नआएका होइनन् तर निरन्तरको प्रयत्नले उनलाई एक सफल उद्यमी बनाएको छ।

पढाईले ल्यायो काठमाडौं

विनोदको स्थायी घर संखुवासभाको चैनपुर हो। २०२२ सालमा जन्मेका विनोदको बाल्यकाल चैनपुरमै बित्यो। गाउँकै एक विद्यालयमा एसएलसी पास गरे।

कुरा आजभन्दा ३४ वर्षअघिको हो। एसएलसी पश्चात उनी उच्च शिक्षा अध्ययनका लागि राजधानी आइपुगे। उनका मामा ललितपुरको पुल्चोकमा डेरा लिएर बसेका थिए। उनी पनि मामासँगै बस्न थाले। साथमा मामा भएकाले बस्न खानाको लागि सजिलो भएको उनले सुनाए।

उमेरले २० पुगिसकेका थिए। काम गर्ने र पैसा कमाउने उमेर पनि भइसकेको उनी अनुभव गर्थे। उच्च शिक्षाका लागि क्याम्पस भर्ना भएपछि उनी कामको खोजीमा भौतारिए। ‘चाहना त आफ्नै व्यवसाय थाल्ने थियो नि तर के गर्नु त्यो बेला आफुसँग पैसा थिएन’ विनोदले विगतलाई सम्झँदै भने।

तत्कालका केही काम नपाएपछि मामाको व्यवसायमा सहयोग गर्न थाले। ‘दरवारमार्गमा मामाको चैनपुर ब्रास थियो’ विनोदले भने ‘दिउसो त्यही जान्थेँ र काममा सहयोग गर्थे’। करिब ७ वर्षसम्म उनले त्यही काम गरे।

८० हजारबाट व्यवसाय

०४९ सालतिर उनी २७ वर्षको थिए। त्यही समय वैवाहिक सम्बन्धमा बाधिए। विवाहपश्चात अरुकोमा नोकरी गर्ने चाहना विनोदमा रहेन। जस्तो भएपनि आफ्नै व्यवसाय गर्नुपर्छ भन्ने सोच उनीमा उत्पन्न भयो।

व्यवसाय गर्ने सानैदेखिको इच्छा साकार बनाउन उनले मेहनत त गरिरहे। तर, मेहनतले मात्र नहुने रहेछ। ‘व्यवसाय शुरु गर्न पैसा चाहिने रहेछ’ उनले अनुभव सुनाउँदै भने ‘खल्तीमा ६ हजार रुपैयाँ मात्र थियो।’

‘६ हजारले के नै आउथ्यो र ?’ विनोदले भने ‘पैसा जुटाउन नसकेपछि हातमा लगाएको औठी र गलामा लगाएको सिक्री बेचेर पैसा जम्मा गरेँ’।

‘मानिसले जाँडरक्सी जुवातासमा त पैसा सक्छन् मैले त व्यवसाय शुरु गर्दैछु’ उनले त्यो समय सोचेका थिए ‘निडर भएर निरन्तर काम गर्छु पैसा भनेको कमाइहालिन्छ नि।’

उनले त्यही साल ललितपुर महानगरपालिका कार्यालय छेउमा सटर भाडामा लिएर ८० हजार रुपैयाँ लगानीमा ब्रासको व्यवसाय शुरु गरे।
‘थाल, कचौरा, करुवा लगायतका धातुका सामान राखेर केही समय व्यापार गरे’ खबरहबसँगको कुराकानीमा उनले विगतलाई सम्झिए।

धातुसँगै हेम्प ब्याग पनि

विनोदले २ वर्षसम्म ब्रासको काम गरे। उनका पसलमा आउनेहरुले हेम्प ब्यागको चाहना राखेकाले हेम्प ब्याग उत्पादन गर्न थालेको उनले सुनाए। ‘हेन्डिग्राफका सामान ५० प्रतिशत र धातुका सामान ५० प्रतिशत राखेर व्यवसाय गरे केही समय’ उनले भने।

उनको पसलमा ह्यान्डिग्राफको बढि माग आउन थाल्यो। विस्तारै धातुको सामान राख्न छोडेको सुनाउँदै उनी भन्छन्, ‘जे काम गरिन्छ त्यसलाइ विशेष तरिकाले गर्नुपर्छ सबैतिर हात हालेर हुन्न भन्ने सोच आयो त्यसैले एउटा मात्र व्यापार गर्न थालेँ’।

व्यवसाय शुरु गरेको एक वर्ष पछि ०५० सालमा उनले ‘डेकन द हेम्प कम्पनी’ का नाममा पसल दर्ता गराए। ‘ह्यान्डिग्राफबाट उत्पादन भएका सामानहरुको माग त्यो समय निकै थियो’ त्यो पल स्मरण गर्दै विनोद भन्छन् ‘स्वदेशमाभन्दा विदेशमा बढि माग हुन्छ।’

सुरुवाती चरणदेखि नै उनले सफलता हासिल गर्न थाले। व्यवसाय थालेको २ वर्षमै वसन्तपुरको झोचेःमा शाखा खोले उनले।

वसन्तपुर क्षेत्र पर्यटकीय क्षेत्र रुपमा चिनिन्छ। ‘उद्योगमा उत्पादन भएका सामग्री पनि विदेशीले नै बढि उपयोग गर्ने हुँदा वसन्तपुरमा शाखा खोलेको थिएँ’विनोदले सुनाए।

खुसीको त्यो पल

हरेक मानिसको जीवनमा कुनै समय बिर्सन नसक्ने पलहरु आइरहन्छन्। खबरहबसँग कुराकानीका क्रममा विनोदले जीवनमा बिर्सन नसक्ने त्यो खुसीको पल यसरी सुनाए ‘मैले ०५० साल मंसिरमा ह्यान्डिग्राफको व्यापार शुरु गरेँ’ शुरु गरेको ५ दिनदेखि राम्रो अर्डर आउन थाल्यो।’

‘पहिलोपटक ३ लाखको अर्डर आयो त्यसलाइ पुरा गरे, दोस्रो पटक ६ लाखको अर्डर आयो त्यो नि समयमै पुरा गरे’ विनोदले त्यी दिनलाइ ताजै बनाएर सुनाए।

कुराकानीको क्रममा विनोद निकै खुसी देखिन्थ्यो। व्यवसायको सुरुवाती चरणमै पाएको त्यो खुसीसाट्न पाउँदा उनी निकै उत्साहित पनि देखिन्थे।

‘कामको अर्डर थपिदैँ गएपछि कामदार पनि थप्दै गएँ’ उनले भने ‘७ महिनापछि ५ वर्षको लागि ३० लाखको अर्डर आयो’। ‘५ वर्षभित्र त्यो अर्डर सके त्यसपछि ३० लाखको अर्डर पुरा गर्न साथ कोटेश्वरमा एउटा घर बनाएँ’ विनोदले सुनाए।

सय जनालाई रोजगारी

विनोदले ८० हजार रुपैयाँमा सुरुवात गरेको ‘डेकन द हेम्प’ बाट ५ वर्षभित्र सय जनाले रोजगारी पाए। रोजगारका लागि दैनिक सयौँको संख्यामा युवाहरु विदेश गइरहेका छन्।

उद्योग खोल्न सकेमा र राम्ररी सञ्चालन गर्न सकेमा युवालाइ स्वदेशमै परिचालन गर्न सकिन्छ। त्यति मात्र होइन अन्तराष्ट्रिय बजारमा नेपाली उत्पादनलाई पुर्‍याउन सकिन्छ भन्ने मान्यता विनोदको छ।

झोचेःबाट ठमेल

८ वर्षसम्म वसन्तपुरको झोचेः मा व्यापार गरे। अर्डर राम्रो आएसँगै काम गर्न भ्याइनभ्याइ हुन्थ्यो उनलाई। त्यो क्षेत्रमा विस्तारै पर्यटकका लागि टिकटको व्यवस्था लागुभयो। त्यसपछि पर्यटकको संख्यामा कमी हुन थालेको विनोदले महशुस गरे।

त्यो सँगै व्यापारकै सिलसिलामा उनी पर्यटकीय स्थान ठमेल पुगे। उनले त्यही कारखाना खोले। कारखाना र पसल एकै ठाउँमा हुँदा उनलाइ सजिलो थियो। व्यापार पनि राम्रै थियो।

१२ वर्षसम्म ठमेलको कुनामा बसेर व्यापार गरे। विस्तारै ललिपुरको कुपनडोल पुगे।

उनको हेम्प कारखाना अहिले पनि ठमेलमै छ। पसल भने कुपन्डोलमा छ। विगत ५ वर्षदेखि उनी कुपन्डोलमै छन्।

अर्डर अनुसार बढि व्यापार हुने हुँदा उनको हात भने कहिल्यै खाली देखिदैँन। तर २७ वर्षको उनको अनुभवले भन्छ ‘हेम्पमा काम गर्नेको अभाव छ।’

‘डेकन द हेम्प’को उत्पादन विश्वजारमा

अहिले नेपाली झोलाको माग विश्वबजारमा उत्तिकै छ। मैले बुनेका झोलाहरु अमेरिका, जापान, फ्रान्स, जर्मनीलगायतका थुप्रै देशहरुमा पुग्छन्। यसमै गर्व लाग्छ मेरो पेशा र व्यवसायप्रति’। उनी भन्छन्, ‘विदेश जानेहरु मात्र होइन विदेशबाटै पनि अर्डर आउँछ।’

उनको उद्योगमा विशेषगरी अर्डर अनुसारका झोलाहरु पाइन्छन् त्यति मात्र होइन विनोदले अर्डर आएसम्म जस्तोसुकै सामानलाइ पनि बढो मेहनतका साथ तयार पार्छन्।

अहिले विनोदले डेकनमा आफ्नै उत्पादनका जुत्ता, चप्पल, पकेट ब्याग, झोला लगायतका सामानहरु सजाएका छन्।

कुपन्डोल चोकबाट उकालो चढ्दै जाने क्रममा सडकको दाँया पट्टि ‘डेकन द हेम्प’ नाम गरेको बोर्ड छ। झट्ट हेर्दा नै पसल भरी झोला झुन्डाएको देखिन्छ।

कसरी बुन्ने ब्याग ?

काम गर्नका लागि अनेक व्यवसाय हुन्छन् तर विनोदले किन ब्यागमै हात हाले त ? यो विषयमा उनी भन्छन्, ‘कम पुँजी भएकाले गर्ने व्यवसाय हो यो’। ‘सिजनल जस्तो होइन’ उनले भने ‘जाडो गर्मी जुनसुकै समयमा पनि प्रयोग गर्न सकिने सामान हो’।

उनको कारखानामा तयार हुने ब्याग गाँजाको रेसा (हेम्प) सिस्नोबाट बनेको कपडा (अल्लो) बाट बन्ने गर्छ। विनोदले अल्लोको कपडा संखुवासभाबाट मगाउँछन् भने हेम्प बझाङ, बाझुरा र दार्चुलाबाट।

ब्याग बनाउने तरिका राम्ररी जानेका उनले अरुलाइ पनि सिकाउने गर्छन्। भन्छन्, ‘सिस्नोलाइ भुँवामा परिणत गरिन्छ, स्पाइनिङ मेसिनले धागो काट्छ र धागो निस्केपछि ह्यान्डलुममा लैजान्छ र कपडा तयार गरिन्छ। तयार भएको कपडा रफ हुन्छ त्यसलाइ उम्लेको पानीमा हालिन्छ कालोपन निकाल्न। अन्तिममा कपडा बन्छ। यसरी सबै कुरा तयार भएपछि एउटा ब्याग बनाउन ३ घण्टासम्म लाग्छ।

‘हेम्प भनेको नेचुरल प्रोडक्ट हो’विनोद भन्छन्, ‘यसले पोलुसन गर्दैन त्यसकारण सबैले रुचाउने ब्याग हो यो।’

हेम्पमा आउन युवालाइ आग्रह

विनोदले हेम्पमा काम गर्न थालेको २६ वर्ष बितिसकेको छ। उनी विगतमा हरेक काम आफैं गर्थे भने अहिले सानो तिनो काम गर्छन् र पसल सम्हालेर बसेका छन्। ब्याग तयार गर्नका लागि उनको कारखानामा प्रशस्त कामदार छन्।

‘नेपाली उत्पादनको माग पछिल्लो समय स्वदेशमै पनि राम्रो छ, मानिसहरुले स्वदेशी उत्पादनलाई चिन्दै र बुझ्दै गएको अवस्था छ, त्यसकारण यो क्षेत्रमा युवापुस्तालाइ आउन आग्रह गर्छु’ उनले भने।

‘विशेषगरी महिलाहरु यो क्षेत्रमा आउन सकेमा रोजगारीको राम्रो अवसर हुनेछ’ उनी भन्छन्, घरमै बसेर पनि मेशिनमा खुट्न सक्छन् नि।’ अन्त्यमा उनले भने, ‘सबै मिलेरस्वदेशी वस्तु उत्पादन गरौँ, आयत घटाऔँ।’


भर्खर

0