किन बढ्यो अमेरिका–चीन व्यापार युद्ध ? | Khabarhub Khabarhub

किन बढ्यो अमेरिका–चीन व्यापार युद्ध ?


२८ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वको पहिलो र दोस्रो अर्थतन्त्र भएका मुलुकहरु अमेरिका र चीन अहिले व्यापार युद्धमा होमिएका छन् । यो युद्धमा हतियार बनेको छ, एक अर्काको सामान आयातमा भन्सार दरको बृद्धि ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत ५ मेमा १० मेबाट लागू हुनेगरी २ खर्ब अमेरिकी डलर बराबरको चिनियाँ सामानमा यसअघि लाग्दै आएको १० प्रतिशत भन्सारलाई बढाएर २५ प्रतिशत पुर्‍याउने घोषणा गरे । त्यसअघि पनि उनले केही चिनियाँ सामानमा भन्सार बढाएका थिए ।

चाँडै ट्रम्प प्रशासनले थप ३ खर्ब अमेरिकी डलर बराबरको चिनियाँ सामानमा भन्सार बढाउन सक्ने बताइएको छ । ट्रम्पको घोषणाको बदलामा चीनले पनि अमेरिकाबाट आयात हुने ६० अर्ब अमेरिकी डलर बराबरका सामानमा भन्सार बढाउने घोषणा गरेको छ । घटनाक्रम यस्तै रहेमा यो चक्र अझ लम्बिन सक्ने अवस्था छ । यो व्यापार युद्धमा हारजित कस्को होला अनिश्चित रहे पनि उपभोक्ता र उत्पादनमूलक कम्पनीहरुलाई भने असर पर्न थालिसकेको छ।

अमेरिकी तथ्याङ्क अनुसार सन् २०१८ मा दुई मुलुकबीच ६ खर्ब ५९ अर्ब ८० करोड अमेरिकी डलर बराबरको व्यापार भएको थियो । जस अनुसार चीनले अमेरिकातर्फ ५ खर्ब ३९ अर्ब ५० करोड अमेरिकी डलरभन्दा धेरैका वस्तु निर्यात गरेको छ । अमेरिकाले चीनतर्फ केबल १ खर्ब २० अर्ब ३० करोड अमेरिकी डलर बढीको निर्यात गरेको छ । यसअनुसार चीन अमेरिकी बजारमा धेरै निर्भर छ ।

यी दुईबीचको ब्यापार युद्ध अझ चर्केमा विश्वको अर्थतन्त्र र आर्थिक बृद्धिदरमै असर पर्ने चिन्ताहरु पनि छाएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफले व्यापार युद्धकै कारण विश्वको कुल ग्राहस्थ उत्पादनमा ०.५ प्रतिशतको गिरावट आउनसक्ने बताइसकेको छ

चिनियाँ तथ्यांक अनुसार चिनियाँ निर्यातको १९ प्रतिशत अमेरिकामा मात्र निर्यात हुने गरेको छ । अर्कोतर्फ अमेरिकाको कुल निर्यातको केबल ९ प्रतिशत मात्र चीनतर्फ निर्यात हुने गरेको छ । अर्थशास्त्रको सिद्धान्तअनुसार व्यापार युद्धले आयातकर्तालाई भन्दा बढी निर्यातकर्तालाई असर पार्छ । सोही अनुसार अमेरिकाले चिनियाँ सामानमा भन्सार बढाएका कारण त्यसको सबैभन्दा ठूलो बोझ चिनियाँ कम्पनीलाई पर्ने देखिन्छ ।

अमेरिकीसहित विश्वका उत्पादनमूलक कम्पनीहरु सस्तो श्रम बजारका कारण चीनमा निर्भर छन् । खासगरी पानीजहाज, भारी मेसिनरी, स्मार्टफोन, कपडा र अन्य उत्पादनमूलक अमेरिकी कम्पनी सस्तो चिनियाँ श्रम बजारमा निर्भर छन् । व्यापार युद्ध अझ चर्किंदै गएको अवस्थामा ती उत्पादनमूलक कम्पनीहरुले आफ्ना कारखानालाई सस्तो श्रम बजार रहेका अन्य मुलुकतर्फ सार्ने या अमेरिकातर्फ सामान निर्यात गर्दा बढी भन्सार तिर्नुपर्ने दुई विकल्प आउँछ ।

सोही अनुसार चीनमा रहेका उत्पादनमूलक बहुराष्ट्रिय कम्पनीहरुले आफ्ना कारखाना भियतनाम, इण्डोनेशिया, मेक्सिको वा अन्य अफ्रिकी मुलुकतर्फ लैजाने र त्यसले अन्ततः चिनियाँ श्रम बजारलाई असर पार्ने सम्भावना छ । यदी व्यापार युद्ध चर्कदै गएमा त्यस्ता कम्पनीहरुमाथी समेत भन्सार दर बढाउने एक अर्कासँग बिकल्प बाँकी नै छ ।

सस्तो श्रम, सस्तो सामान र सस्तो पुँजीका कारण विश्वभर चीनले आफ्नो प्रभाव विस्तार गरिरहेको अवस्थामा चीनको ऋणपासोमा परेर विभिन्न मुलुकहरु टाट पल्टिरहेका छन् । यस्तो अवस्थामा विश्वमा साम्यवादी मुलुक चीनको प्रभाव बढ्नसक्ने र यो अमेरिकी हीतविपरीत हुने भएकाले यसबाट पनि अमेरिकालाई चिन्ता छ । त्यसैले व्यापार युद्धका माध्यमबाट चिनियाँ प्रभाव कम हुने अमेरिकी बुझाइ छ ।

सन् २०१५ मा चिनियाँ प्रधानमन्त्री ली केचियाङले सार्वजनिक गरेको ‘मेड इन चाइना २०२५’ नामक कार्यक्रमअन्तर्गत सन् २०२५ सम्म चीनले आफ्ना सस्ता उत्पादनलाई विविधीकरण गरी अत्याधुनिक प्रविधिमा आधारित उत्पादनमा जोड दिने उल्लेख छ । सोही अनुसार आफ्नो मुलुकमा उत्याधुनिक प्रविधिमा आधारित सामानहरुको उत्पादनलाई जोड दिँदै आएका छन् ।

सोही अनुसार विश्वमा चिनियाँ अत्याधुनिक कम्पनीहरुले पनि विश्वभर प्रभावशाली रुपमा आफ्नो बजार बढाइरहेका छन् । केही चिनियाँ कम्पनीहरुले अमेरिकी बौद्धिक सम्पत्ति पनि चोरी गरिरहेको अमेरिकाको आरोप छ भने अधिकांश अत्याधुनिक चिनियाँ कम्पनीहरु अमेरिकी अत्याधुनिक प्रविधिमा निर्भर छन् ।

त्यसबाहेक अत्याधुनिक प्रविधिको क्षेत्रमा तीब्र विकास गरिरहेको चीनले हाल पाचौं पुस्ताको फाइभजी मोबाइल इन्टरनेट ल्याएको छ । हुवावे नामक चिनियाँ प्राविधिक कम्पनीले ल्याएको फाइभजी मोबाइल इन्टरनेटको लोकप्रियता बढ्दै जाँदा यही प्रविधिको प्रयोग गरी अमेरिका वा अमेरिकाका साझेदार मुलुकहरुको जासुसी गर्नसक्ने र यसबाट ती मुलुकहरुको राष्ट्रिय सुरक्षामा समेत खतरा उत्पन्न हुनसक्ने चिन्ता एकातर्फ छ । सोही कारण हुवावेले राष्ट्रिय सुरक्षामा खतरा उत्पन्न गर्नसक्ने भन्दै अमेरिकाले कालोसूचीमा राखिसकेको छ ।

ट्रम्प प्रशासनको यो कदमलगत्तै गुगल र फेसबुक लगायतका अमेरिकी बहुराष्ट्रिय प्राविधिक कम्पनीले हुवावेसँग कारोबार नगर्ने घोषणा गरे । अमेरिकी कदमपछि हुवावेको व्यापारमा कमी आउन शुरु भइसकेको छ । यसबाट अमेरिकी प्राविधिमा निर्भर अन्य चिनियाँ कम्पनीहरु पनि झस्केका छन् । ती कम्पनीहरुले पनि हुवावेको जस्तै नियती नआओस् भन्नाका लागि आफ्ना कम्पनीलाई अरु मुलुकतर्फ सार्नसक्छन् ।

व्यापारिक युद्धको सबैभन्दा बढी फाइदा भने अमेरिका वा चीनलाई भन्दा तेश्रो मुलुकलाई हुनसक्छ । व्यापार युद्धले चीनमा रहेका कम्पनीलाई सस्तो श्रम बजार रहेका तेश्रो मुलुकमा सर्न बाध्य बनाउने र त्यसबाट ती सस्तो श्रम बजार भएका मुलुकले फाइदा उठाउन सक्छन् । त्यसबाहेक चिनियाँ सामानमा भन्सार लागेसँगै सस्ता चिनियाँ सामानको मूल्य बढ्ने र चिनियाँ सामानको विकल्पमा अन्य मुलुकमा उत्पादन भएका त्यस्तै सामानहरु बढी प्रतिस्पर्धात्मक हुनसक्ने बताइन्छ । यी मुलुकहरुमा भियतनाम, मलेशिया, इण्डोनेशिया, मेक्सिको तथा अन्य अफ्रिकी मुलुकहरु छन् ।

व्यापारिक युद्धकै सिलसिलामा केही कम्पनीहरु तेश्रो मुलुकतर्फ सर्न तम्तयार भएको भन्ने समाचार पनि सार्वजनिक हुँदै आएका छन् । त्यसैले व्यापार युद्धबाट चीन वा अमेरिकी अर्थतन्त्रमा नकारात्मक असर परेपनि त्यसले विकासशील मुलुकहरुको अर्थतन्त्रमा भने केही सकारात्मक प्रभाव पार्नसक्छ ।

यी दुईबीचको ब्यापार युद्ध अझ चर्केमा विश्वको अर्थतन्त्र र आर्थिक बृद्धिदरमै असर पर्ने चिन्ताहरु पनि छाएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफले व्यापार युद्धकै कारण विश्वको कुल ग्राहस्थ उत्पादनमा ०.५ प्रतिशतको गिरावट आउनसक्ने बताइसकेको छ । विश्वको कुल ग्राहस्थ उत्पादनको ०.५ प्रतिशत भनेको ४ खर्ब ५५ अर्ब अमेरिकी डलर भन्दा धेरै रहेको बताइन्छ । ४ खर्ब ५५ अर्ब अमेरिकी डलर भनेको विश्वको ३२ औं ठूलो अर्थतन्त्र दक्षिण अफ्रिकाको कुल ग्राहस्थ उत्पादनभन्दा धेरै हो । यसले विश्व अर्थतन्त्रमा मन्दी आउनसक्ने चिन्ता पनि उत्पन्न भएको आईएमएफले जनाएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले हालै चेतावनी दिएजस्तो जुन २८ बाट जापानको ओसाका शहरमा हुने जी२० मुलुकहरुको सम्मेलनको भेटवार्ता सकारात्मक नभएमा अमेरिकाले चीनविरुद्ध थप व्यापारिक आक्रमण तीब्र पार्ने देखिन्छ, यसबाट व्यापारिक युद्ध अझ चर्किने सम्भावना छ

व्यापार युद्धलाई रोक्नका लागि चीन र अमेरिकाबीच व्यापार वार्ता नभएका पनि होइनन् । तर, पटक–पटकका वार्ता असफल हुँदै आइरहेका छन् । व्यापार वार्ता असफल हुनुमा दुबै मुलुकले एक अर्कालाई दोष पनि दिँदै आइरहेका छन् ।

तैपनि आगामी जुन २८ बाट जापानको ओसाका शहरमा जी२० मुलुकहरुको सम्मेलन हुने कार्यक्रम छ । सो सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा चिनियाँ राष्ट्रपति सी जिन्पिङबीच भेटवार्ता हुने कार्यक्रम छ । अघिल्लो वर्ष अर्जेन्टिनाको राजधानी ब्युनस आयर्समा भएको जी२० सम्मेलनका क्रममा चिनियाँ राष्ट्रपति सी जिन्पिङको व्यक्तिगत आग्रहमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यापार युद्ध केही समयका लागि स्थगित गरेका थिए ।

यसपटकको जी२० सम्मेलनमा पनि यस्तै हुने अनुमान गरिएको छ । यस्तो सहमति बनेमा कम्तीमा केही समयका लागि व्यापार युद्ध रोकिने छ । तर, अमेरिकी राष्ट्रपति ट्रम्पले हालै चेतावनी दिएजस्तो यदी उक्त भेटवार्ता सकारात्मक नभएमा अमेरिकाले चीनविरुद्ध थप व्यापारिक आक्रमण तीब्र पार्ने देखिन्छ, यसबाट व्यापारिक युद्ध अझ चर्किने सम्भावना छ ।

प्रकाशित मिति : २८ जेठ २०७६, मंगलबार  १० : ३१ बजे

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक आज बस्दैछ

हर्क साम्पाङ र पूर्वप्रतिनिधिबीच वाकयुद्ध : कागजको बाघ !

सुनसरी- एसियाली विकास बैंक (एडीबी) को ऋण तथा अनुदानमा सञ्चालित

आईपीएल : आज कोलकाता र मुम्बई भिड्ने

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) मा आज कोलकाता नाइट राइडर्स

केजरीवालले चुनावी प्रचार गर्न पाउने : यस्ता छन् अदालतका पाँच शर्त

नयाँदिल्ली – मनी लान्ड्रिङ मुद्दामा तीन साताका लागि जमानत पाएका

धरानमा कृषि तथा खाद्य प्रविधि अनुसन्धान केन्द्र स्थापना

सुनसरी– नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले कोशी प्रदेशस्तरीय