यसरी बनाउनुहोस् सुरक्षित घर | Khabarhub Khabarhub
Logo
२३ मंसिर २०७६, सोमबार

यसरी बनाउनुहोस् सुरक्षित घर



काठमाडौं– समुद्री सतहभन्दा १५ सय मिटरको उचाईमा अवस्थित नेपाल भूकम्पीय दृष्टिकोणले संसारका अति जोखिमपूर्ण क्षेत्र मध्ये एघारऔं स्थानमा पर्दछ ।

पृथ्वीको सतह भित्र संचित रहेको विशाल शक्ति यूरेशियन र इण्डीयन टेक्टोनिक प्लेटको पारस्परिक विस्थापन हुन खोज्ने कारणले बाहिरी सतहमा कम्पन भई यहाँ पटकपटक साना ठूला भूकम्प आइरहेको अध्ययनले देखाएको छ ।

वि.सं. १९९० मा गएको महाविनाशकारी भूकम्पले काठमाडौंमा धेरै जनधनको क्षति भएको थियो ।

वि.सं. २०७२ बैशाख १२ गते गोरखा केन्द्र बिन्दु बनाई आएको ७.६ रेक्टरको शक्तिशाली भूकम्प तथा त्यसका थुप्रै पराकम्पनहरुले काठमाडौंमा ५ सय ६८ मानिसको ज्यान गयो । साथै, धेरै पूराना भैसकेका तथा नयाँ भएपनि कमजोर संरचनाका करीब ९ हजार घरहरु भत्किन पुगे ।

वस्ती, खुल्ला स्थानको अभाव तथा जोखिमपूर्ण संरचनाले भूकम्पबाट मानवीय क्षति हुन्छ । पर्याप्त स्टक्चर डिजाइन नगरिएको, निर्माणको क्रममा आवश्यक प्राविधिक सुपरिवेक्षण नगरिएका असुरक्षित संरचनाहरु भत्किन गई मानवीय र भौतिक क्षति हुन पुग्यो ।

तसर्थ, सुरक्षित र भूकम्प प्रतिरोधात्मक भवन निर्माण गर्न सबै घर धनीले घर निर्माण गर्दा निर्माण सामग्री छनौटदेखि लिएर घर सम्पन्न गर्दासम्म अपनाउनु पर्ने सावधानी र सुरक्षा व्यवस्थालगायत अन्य ध्यान दिनुपर्ने कुराहरु काठमाडौं महानगपालिकाले मार्गनिदर्शनमा समावेश गरेको छ ।

भवन निर्माणको क्रममा गुणस्तरबारे ध्यान दिनुपर्ने कुराहरु

भवन निर्माणको लागि माटो परिक्षण गर्नुपर्छ । २०७२ सालको शक्तिशाली भूकम्पमा धेरै भवनहरु भत्किनु वा क्षति हुनुको मूल कारण उपयुक्त स्थान छनौट नगरिनु पनि हो ।

भवनको निर्माणमा उपयुक्त स्थान पत्ता लगाउन सो घडेरी वा क्षेत्रको माटोको (भौगोलिक) अवस्थाबारे थाहा हुनु जरुरी हुन्छ ।

भवन निर्माणको लागि असुरक्षित स्थानहरु

* पानीको दलदल भएको स्थान
* धेरै भिरालो जमिन, ढुंगा खस्न सक्ने स्थान
* नदी र खोला किनारका स्थान
* कालो र कमजोर माटो भएको स्थान
* जमिनमा लामो र गहिरो चिरा देखा परेको स्थान
* अग्ला र जरा फैलने जातका रुख नजिकको स्थान

यस्ता स्थानहरुमा घर निर्माण गरेमा पर्ने नकारात्मक असरहरु

* बाढी, पहिरोले घर बगाएर लग्ने ठूलो सम्भावना
* अग्ला रुख ढलेर घर भत्किने र जराले जग बिगार्ने सम्भावना
* जग बलियो नभई तरलिकरणको सम्भावना

माटोको परीक्षणको महत्व

* घर बनाउन योजना गरिएको उक्त ठाउँ उपयुक्त छ या छैन ।
* जगको उचित प्रकार र गहिराईको विश्लेषण गर्न ।
* घरको तला र आकारको विश्लेषण गर्न ।
* डण्डीको साइज र संख्याको अनुमान गर्न ।

काठमाडौं महानगरपालिकाको भवन निर्माण इजाजत विभागले १०,००० वर्ग फिटभन्दा बढी क्षेत्रफल भएका भवनहरुको नक्शा स्वीकृतिको लागि माटो परीक्षण अनिवार्य गर्नुपर्ने नियम लागू गर्दै आइरहेको छ ।

भूकम्प प्रतिरोधी भवनको लागि उचित आकार प्रकार

भूकम्प आएको बेला घर कसरी हल्लिन्छ भन्ने तथ्यको आधारमा घर बढी बलियो र सुरक्षित बनाउन घरको उचित आकार प्रकारमा ध्यान दिएर डिजाइन गर्नुपर्छ ।

* उपयुक्त आकार र अनुपात ।
* घरको लम्बाइ त्यसको चौडाईको तीन गुणाभन्दा कम ।
* सुरक्षित संरचनाको उपाय (धेरै लामो संरचना बनाउनुपरेमा बीचमा जोर्नी राख्ने)

भवन निर्माणका क्रममा अपनाउनु पर्ने केही प्राविधिक पक्षहरु

सुरक्षित पिलर सिस्टम

५ फिटको डण्डीको जाली बनाई पिलर त्यसको बीचमा पर्ने गरी १.५ फिटको स्लोपमा हात्तिपाइला ढलान गर्नुपर्छ ।

सो हात्तिपाइलाको ठीक माथी सबै पिलरहरुलाई जग बिमले बाँध्नुपर्छ ।

जमिनमुनी जगमा तथा जमिन माथि टाइ बिम राखेमा सबै पिलर बाँधिएर भूकम्पमा पनि एक ढिक्का भएर हल्लिन्छ र भास्सिने सम्भावना कम हुन्छ ।

उल्लेखित बुँदाहरु बाहेक यी कुराहरुमा पनि ध्यान दिनुपर्छ

* जग खन्दा माटो झर्ने अवस्था आएमा जगको छेउमा काठको पाता ठोकी काम गर्नुपर्छ ।
* जगमा माटो भर्दा प्रत्येक ६ इञ्च को तहमा राम्ररी माटो सम्याएर मात्र गर्नुपर्छ ।
* पिलर, बिम, स्लाबको लागि राखिने फर्मा नयाँ, बलियो र सम्म परेको सतह भएको हुनुपर्छ ।
* फर्माको टेको लगाउनुपरेको अवस्थामा बलियो भएन भने ढलान बाङ्गिने डर हुन्छ ।
* ढलानको लागि मिश्रण बनाउँदा सिमेन्ट, बालुवा र गिट्टीको अनुपात मिलेको हुनुपर्छ ।
* कम्तीमा सिमेन्ट १ भाग, बालुवा १.५ भाग र गिट्टी ३ भागको अनुपातमा मसला बनाउनुपर्छ । यो भन्दा कमजोर मसला बनाउनु हुँदैन ।

* भाइब्रेटर प्रयोग गर्दा बिम र पिलरको जोर्नीमा विशेष ध्यान दिनु जरुरी छ । बिम , पिलरमा भाइब्रेटर चलाउँदा ठाडो र बलनगबिच पोजिसनमा लगाउँदा उचित हुन्छ भने स्लाबमा ठाडो बलनगबिच र तेर्सो गरि समेत लगाउन सकिन्छ ।

* ढलान गरेपछि यसलाई ७ देखि १० दिन सम्म चिसो पारी राख्नुपर्छ । पिलरहरुमा भिजेको जुटको बोराले बेरेर राख्नुपर्छ ।
* एकैपटक ढलान हुन नसक्ने भए इन्जिनियरको परामर्शमा जोर्नी राख्नुपर्छ ।

निर्माण सामग्रीबारे सामान्य जानकारी

काठमाडौं महानगरपालिका क्षेत्र भित्र पछिल्लो समय आरसीसी अर्थात् सिमेन्ट ढलान गरी भवन निर्माण गर्ने चलन बढेको छ ।

आवासीय घरहरुमा पूरानो परम्परागत निर्माण सामग्री र प्रविधि प्रयोग गर्ने चलन क्रमशः हराउँदै गएको छ ।

तर आधुनिक प्रविधिको प्रयोग गर्दैमा बलियो र भूकम्प प्रतिरोधी घर बन्छ भन्ने धारणा गलत हो । भवन निर्माण गर्दा प्रयोग हुने निर्माण सामग्रीको गुणस्तरले भवन संरचनाको दिगोपनमा ठूलो भूमिका खेल्छ ।

आरसीसी भवन निर्माणमा प्रयोग हुने सामग्रीहरु यी हुन्

सिमेन्ट, बालुवा, रोडारगिट्टी, पानी, फलामे छड (डण्डी), इँटा ।

यी सामग्रीहरुको गुणस्तरमा ध्यान दिनुपर्ने कुराहरु निम्नानुसार छन्

सिमेन्टको गुणस्तर

सामान्यतया बजारमा ओ.पी.सी., पी.पी.सी., छिटो जम्ने, ढिलो जम्ने, सेतो सिमेन्ट पाइन्छ । यी सबै खालका सिमेन्टहरु गुणस्तर चिन्ह प्राप्त हुनुपर्छ ।

* ताजा र सामान्यतया उत्पादन मितिबाट २ महिना ननाघेको ।
* सेट नभएको वा डल्ला नपरेको ।

बालुवाको गुणस्तर

* सफा र दानादार ।
* जैविक पदार्थ र फोहोर नमिसिएको ।
* चिसोपन अर्थात पानीको मात्रा नभएको ।
* टल्कने खालका पदार्थ नमिसिएको ।
* हातमा बालुवा लिएर मुठ्ठी बनाएर मुठ्ठी खोल्दा हातमा माटो जन्य पदार्थ नमिसिएको ।

रोडा र गिट्टीको गुणस्तर

* ढुंगा खानी वा खोलाको ढुंगा कुटेर तयार गरिएको कडा र कोणात्मक आकारको ।
* गोलाकार, लाम्चो, पातलो आकार नभएको र चिल्लो सतह नभएको ।
* जैविक पदार्थ तथा फोहोर नमिसिएको ।
* ४ इञ्च मोटो ढलानको लागि ३.४ इञ्च भन्दा सानो हुनुपर्छ ।
* २ देखि ४ इञ्च मोटो ढलानको लागि १.२ इञ्च भन्दा सानो हुनुपर्छ ।

पानीको गुणस्तर

* सकेसम्म पिउन योग्य पानी ।
* सफा र तेल, अम्लीय पदार्थ र जैविक पदार्थ नमिसिएको ।
* फलामे छड (डण्डी) को गुणस्तर ।
* आवश्यक गुणस्तरको र उत्पादक कम्पनीको छाप भएको ।
* एकनासको मोटाई वा व्यास भएको ।
* खिया नलागेको, पूरै लम्बाईमा चिरा नपरेको ।
* तेल, ग्रीज नलागेको ।

इँटाको गुणस्तर

* राम्ररी पाकेको र सबैतिर एकैनासको रातो रङ्ग भएको ।
* एकैनासको आकार, साइज र चिल्लो सतह भएको ।
* दुइटा इँटा आपसमा ठोक्काउदा धातुको जस्तो गुन्जिने आवाज आउने ।
* इँटामा नङले कोतार्दा नकोरिने ।
* इँटालाई एक मिटरको उचाईबाट खसाउँदा नफुट्ने ।
* २४ घण्टा पानीमा भिजाउँदा इटाको तौल २५५ भन्दा बढ्न नहुने ।

निर्माण प्रक्रियाको गुणस्तरमा इन्जिनियरको भूमिका

भवन निर्माण कार्यमा निर्माण सामग्रीको गुणस्तर बाहेक निर्माण पूर्व र निर्माणको क्रममा पनि धेरै कुरामा ध्यान दिनुपर्छ । यसको लागि प्राविधिक सरसल्लाह र सुपरिवेक्षणको ठूलो महत्व छ ।

कुनै पनि घर निर्माण गर्नु पहिले जग्गाको स्थान र प्रकृति हेरी प्रचलित भवन निर्माण मापदण्ड तथा राष्ट्रिय भवन संहिता पालना गरी घर धनीको आवश्यकता बमोजिम उचित डिजाइन अनुसारको नक्शा तयार गर्ने जिम्मेवारी इन्जिनियरको हुन्छ ।

हाल काठमाडौं महानगरपालिकाले १०,००० वर्ग फिट भन्दा ठूलो भवनको नक्शा पास प्रक्रियामा काठमाडौं महानगरपालिकामा गठित प्राविधिक विज्ञ समितिको सिफारिस अनिवार्य गरेको छ ।

स्वीकृत आर्किटेक्चरल र स्ट्रक्चरल नक्शा बमोजिम चरणवद्ध रुपमा इन्जिनियरद्वारा निर्माण सामग्री र निर्माण प्रक्रियाको गुणस्तरको निरीक्षणले निर्माण क्रममा हुने सानाठूला त्रुटीहरु समाधान भई बलियो घर निर्माणको सुनिश्चिता दिन्छ ।


भर्खर