यस्तो छ इन्द्रजात्राको महिमा

सविना कार्की

मङ्लबार, भदौ २४, २०७६

Reading Time: 4 minutes

यस्तो छ इन्द्रजात्राको महिमा

काठमाडौं– वर्षा र सहकालका देवता इन्द्रको पूजाआराधना गरी इन्द्रजात्रा पर्व मनाइन्छ । भाद्र शुक्ल द्वादशीको दिनबाट शुरु हुने इन्द्रजात्रा पर्व काठमाडौं उपत्यकालगायत अन्य जिल्लाहरुमा पनि विधिवत् रुपमा मनाइन्छ ।

इन्द्रजात्राले छुट्टै पहिचान बोकेको छ । इन्द्रजात्रा विशेषगरी नेवार सुमदायसँग जोडिएको पर्व पनि हो । येंया इन्द्रजात्रा पर्वको शुरुको दिनमा हनुमान ढोकाको श्री काल भैरव मन्दिर परिसरमा भाद्र शुक्ल द्वादशीको शुभ साइतमा ३३ फुटे लिंगो अर्थात् ध्वजा ठड्याएपछि इन्द्रजात्रा पर्व शुरु भएको छ ।

यो लिंगो जात्राको शुरुको दिनदेखि जात्रा अवधिभर प्रदर्शनमा राखी अन्तिम दिन ढालेर जात्रा समापन गरिन्छ । परम्परादेखि नै इन्द्रजात्रामा नाँचगान, रथयात्रा र देवीदेवताको पूजा गर्ने प्रचलन छ । जुन निरन्तर चलिरहेको छ ।

हरेक वर्ष भाद्र शुक्लपक्ष–यँलाथ्व द्वादशीका दिन इन्द्रजात्रा शुरु भइ यँलागाः चौथी अर्थात् विभिन्न नाँचगान गरी आठ दिनपछि समापन गरिने परम्परा छ । तर यसवर्ष भने काठमाडौंको हनुमान ढोकामा शुरु भएको जात्रा नौ दिनसम्म चल्ने इन्द्रजात्रा सञ्चालक समितिले जनाएको छ ।

इन्द्रजात्रा के हो ?

इन्द्र स्वर्गका राजा हुन् । यो पर्व उनै इन्द्रदेवका नाममा समर्पित छ । इन्द्रदेवलाई नेपालभाषामा ‘यमाःद्यः’ भनिन्छ । यही ‘यमाःद्यः’ बाट ‘येँ’ शब्द उत्पत्ति भएको हो । काठमाडौंलाई नेपालभाषामा ‘येँ’ भनिन्छ भने इन्द्रजात्रालाई ‘यँयाः’ भनिन्छ जसको अर्थ ‘काठमाडौंको जात्रा’ भन्ने हुन्छ ।

राजा गुणकामदेवले व्यवस्थित काठमाडौं शहर बसाएपछि त्यसैको सम्झना स्वरुप इन्द्रजात्रा अर्थात ‘यँयाः पर्व’ चलाएको विश्वास गरिन्छ । ‘यँयाः’ अर्थात इन्द्रजात्रा काठमाडौंकै नामबाट चलाइएको पर्व भएको कारणले पनि काठमाडौं महानगरपालिकाले यो जात्रालाई विशेष महत्व दिई अन्तर्राष्ट्रिय रुपमै प्रचार हुने शैलीमा मनाउने योजना बनाएको छ ।

यो जात्रा हनुमानढोकामा लिंगो उठाएपछि शुरु हुन्छ । त्यसपछि जीवित देवदेवीहरू श्री कुमारी, श्री गणेश र श्री भैरवको रथ काठमाडौंको माथिल्लो र तल्लो भेगमा तान्ने, इन्द्रका आमाका रुपमा परिचित दागिं निकालिने, मरु टोलको बीचमा इन्द्रदेवलाई बाँधेर पूजा गर्ने, राति बौमत निकालिने, पुरानो काठमाडौंको सीमा क्षेत्र परिक्रमा गर्ने गरी उपाकू घुम्ने, हनुमानढोकामा अवस्थित स्वेत भैरव (हाथुद्यः) र इन्द्रचोकमा अवस्थित आकाश भैरव (आजुद्यः) को मुखबाट पितृका नाममा जाँडको तर्पण गर्ने जस्ता सांस्कृतिक कार्यहरू यो जात्रामा गरिन्छ । इन्द्रजात्राकै बेलादेखि काठमाडौंमा कुहिरो लाग्न शुरु हुने विश्वास गरिन्छ ।

यस्तो छ परम्परा

येंया इन्द्रजात्रा पर्वको शुरुको दिनको साँझ वर्षभरीका दिवंगत व्यक्तिका आफन्तहरु पाल्चा (बत्ती) बाल्दै उपाकु मार्ग (पुरानो बस्ती नगरको बाहिरी मार्ग) भइ दिवंगत आत्माको स्वर्गमा बास होस भनी उपाकु जाने परम्परा रहेको छ ।

इन्दजात्रा पर्वको शुरुको दिन श्री लाखे आजु, श्री एरावत हात्ती—पुलु किसी, श्री देवी नाच गण, श्री महाँकाली नाच गण, श्री हलचोक आकाश भैरव नाच गणलगायत विभिन्न देवीदेवताहरुको विधिवत पूजा गरी बाहिर निकाल्ने र जात्रा अवधिभर नगरको विभिन्न भागमा पूजा अर्चना गरी परम्परागत नृत्य प्रदर्शन गर्ने प्रचलन छ ।

त्यस्तै इन्द्रजात्राको शुरुवाती दिनदेखि जात्राअवधिभर नगरका विभिन्न क्षेत्रमा आकर्षित तथा आकृतीका भैरवका मूर्तिहरु—हनुमान ढोकाको श्वेत भैरव, इन्द्रचोकको श्री आकाश भैरव, श्री बाका देः भैरव, श्री स्वच्छन्द भैरव, मरु टोलमा श्री इन्द्र देवताको प्रदर्शनी तथा नीति पूजा गर्ने परम्परा रहिआएको छ ।

त्यसैगरी शुरुको दिनदेखि नै जात्राअवधिभर साँझतिर कुमारी घरको प्राङगणमा रहेको श्री लक्ष्मीनारायण देवलमा मञ्ज बनाई श्री नारायाणको दश अवतार प्रदर्शन गरिन्छ । साथै इन्द्रचोकको श्री आकाश भैरवको मूर्ति तथा बाका देः आजुको मूर्ति मन्दिर परिसरको बाहिरी भागमा प्रदर्शनी गराउने परम्परा रहेको छ ।

कस्तो छ इन्द्रजात्राको व्यवस्थापन ?

इन्द्रजात्रा शुरु भएसँगै व्यवस्थापन र सुरक्षा प्रबन्धको कार्य पनि अगाडि बढेको छ । इन्द्रजात्राको सुरक्षा व्यवस्थापनका लागि समुदाय प्रहरी साझेदारी कार्यक्रम, सशस्त्र प्रहरी बल, नेपाल स्काउट, नेपाल रेडक्रस सोसाइटीलगायत विभिन्न संघसंस्थाहरु सहभागी भएका छन् ।
मंगलबार महानगरीय प्रहरी वृत्त जनसेवाको संयोजनमा इन्द्रजात्रा व्यवस्थापन समितिले इन्द्रजात्राका लागि गरिएको तयारी र शुरु भएको व्यवस्थापनबारे पत्रकार सम्मेलन गरी जानकारी दियो ।

नौ दिने जात्रा अवधिमा उपाकु (दिवंगत आत्माको स्वर्गमा बास होस भनी बत्ती बाल्दै साँझको समयमा हिड्ने मार्ग–पुरानो बस्ती नगरको बाहिरी मार्ग) का बाटोहरुमा सवारी साधन पार्किङ नगर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

उपाकु मार्गमा पर्ने स्थानका व्यवसायी तथा स्थानीयले गर्ने गरेको अनाधिकृत पार्किङ हटाएको नगर प्रहरीले जनाएको छ । यस्तै जथाभावी सवारी पार्किङ नगर्न नगरप्रहरीले माइकिङ समेत गर्दै आएको छ ।

जात्राका लागि सुरक्षा व्यवस्था मजबुत बनाइएको र नागरिकको सुरक्षा सेवामा मंगलबारबाटै प्रहरी परिचालन गरिएको प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाले जानकारी दिए ।

इन्द्रजात्रा हेर्न ४८ जना विदेशी पाहुना आउँदै

यसैक्रममा काठमाडौं महानगरपालिकाले यसवर्ष इन्द्रजात्रा अवलोकन गर्नका लागि भगिनीसम्बन्ध भएका विभिन्न नगरपालिकालाई निम्तो पठाएको थियो ।

त्यसमध्ये १३ वटा नगरपालिकाका पाँच मेयरसहित ४८ जनाले सहभागिता जनाउने भएका छन् । उनीहरु इन्द्रजात्रा अवलोकनका लागि बिहीबार काठमाडौं आइपुग्ने महानगरपालिकाका सूचना अधिकारी बसन्त आचार्यले खबरहबलाई जानकारी दिए ।

चीन, भारत र संयुक्त राज्य अमेरिकाबाट इन्द्रजात्रा अवलोकन गर्न आउने पाहुनालाई यहाँको मूर्त—अमूर्त सम्पदाका बारेमा जानकारी गराउनुका साथै पाँच दिनसम्मको बसाइमा विभिन्न मठ–मन्दिर अवलोकन गराउने महानगरको योजना छ ।

भर्खर

0