बहुआयामिक अल्बर्ट आइन्सटाइनको संघर्षमय जीवन | Khabarhub Khabarhub

बहुआयामिक अल्बर्ट आइन्सटाइनको संघर्षमय जीवन



अल्बर्ट आइन्सटाइनको नाम नसुन्ने संसारमा सायदै होलान् । २० औं शताब्दीका महान् भौतिकशास्त्री अल्बर्ट आइन्सटाइनको सापेक्षतावादको सिद्धान्त अर्थात् ‘थ्योरी अफ रिलेटिभी’ लाई भौतिकशास्त्रको महानतम् सिद्धान्तका रुपमा लिइन्छ । यही सिद्धान्तका कारण २० औं तथा २१ औं शताब्दीमा भौतिकशास्त्रमा क्रान्ति नै ल्याएको छ । सोही सिद्धान्तमा आधारित रहेर परिकल्पना गरिएको ‘ब्लाक होल’ समयसँगै सत्य हुँदै गइरहेको छ । उनले प्रतिपादन गरेको उर्जा र पिण्ड समतुल्यताको सिद्धान्तलाई पनि भौतिकशास्त्रको क्षेत्रमा नवीन खोजको रुपमा लिइन्छ ।

भौतिकशास्त्रका क्षेत्रमा क्वान्टम भौतिकशास्त्रको नवीन खोजका लागि प्रकाशको विद्युतीय प्रभावको शोध र सैद्धान्तिक भौतिकशास्त्रमा उनले पुर्‍याएको योगदानको कदर गर्दै उनलाई सन् १९२१ मा विश्वको सबैभन्दा प्रतिष्ठित नोबेल पुरस्कारसमेत प्रदान गरिएको थियो ।

अल्बर्ट आइन्सटाइन महान् भौतिकशास्त्री एवं वैज्ञानिकमात्र नभएर विश्व शान्ति, राजनीति, दर्शन, विश्वव्यापी विषयका प्रखर अभियन्तामा समेत गनिन्छन् । शान्ति अभियन्ता आइन्सटाइनको ‘तेस्रो विश्व युद्धमा त के होला भन्न सकिन्न तर, चौथो विश्वयुद्धमा भने मानिसहरुले ढुङ्गामुढाले युद्ध लड्नेछन्’ भन्ने भनाइ निकै चर्चित छ ।

खुला सोच भएका र बहुमुखी प्रतिभाशाली आइन्सटाइनको जीवन भने निकै नै उतारचढावमय थियो । सन् १८७९, मार्च १४ मा तत्कालिन जर्मन साम्राज्यको उल्ममा एक यहूदी परिवारमा जन्मेका आइन्सटाइनको जीवन संघर्ष नै संघर्षबीच बितेको थियो ।

सानो उमेरमा उनी अध्ययनमा भने निकै नै कमजोर थिए । उनी त्यसबेला निकै प्रचलित रहेको घोकन्ते विद्या, भाषा र परीक्षा पास गर्न पढाइने अनावश्यक शिक्षातर्फ आकर्षित हुन सकेनन् । यस्ता किसिमको अध्ययन पद्दतीका कारण कक्षामा पढ्न उनलाई निक्कै नै झण्झट लाग्थ्यो । उनको यही विशेषताका कारण सानो उमेरमा उनलाई पढाउने शिक्षकहरुले मन पराउँदैनथे । उनका शिक्षकहरुका लागि उनी निकै कमजोर मष्तिष्क भएको र अध्ययन गर्न नसक्ने विद्यार्थीका रुपमा रहेका थिए ।

तर, एउटा किताबले उनको जीवनमा ठूलो परिवर्तन ल्याइदियो । जब उनी १२ वर्षका थिए, त्यसबेला पाठ्यक्रमको ज्यामितीको पुस्तकले उनलाई निकै आकर्षित गर्‍यो । उनले त्यो किताब केही बाँकी नराखी पढे । पछि उनले उक्त किताबलाई ‘पवित्र पुस्तिका’ को संज्ञासमेत दिएका थिए । सोही किताबले उनलाई गणित, युक्लिडियन ज्यामिती, बिजगणित र भौतिकशास्त्रतर्फ आकर्षित गर्‍यो । त्यसपछि उनले यिनै विषयमा स्वाध्ययन अघि बढाए । उनी घरमा गणितमात्र पढेर बसिरहन्थे ।

यही कारण कक्षामा उनको पढाइ भने कमजोर बन्न पुग्यो । उनले यस्तो ‘खराब उदाहरण’ प्रस्तुत गरेको र उनको कक्षामा अध्ययनरत अन्य विद्यार्थीमा गलत प्रभाव पार्नसक्ने भन्दै उनलाई आधारभूत विद्यालयबाट समेत निस्कन उर्दी जारी गरियो । तैपनि उनको स्वाध्ययन रोकिएन, त्यो निरन्तर जारी नै रह्यो । १३ वर्षको उमेरमा उनी जर्मन दर्शनशास्त्री एम्मानुएल कान्टको दर्शनतर्फ समेत आकर्षित हुन पुगे । १४ वर्षको उमेरमा गणितको निकै कठिन मानिने कलनको विषयमा सम्पूर्ण ज्ञान हासिल गर्न पुगे ।

उनी १५ वर्षको हुँदा अर्थात् १८९४ मा उनको परिवार इटालीको मिलान शहरमा बसाइ सरेको थियो । मिलानमा रहँदा उनका बाबुले उनलाई मेकानिकल इन्जिनियर बनाउन चाहेका थिए । तर, उनको आकर्षण मेकानिकल इन्जिनियरिङमा भन्दा पनि भौतिकशास्त्रतर्फ थियो ।

यहीअनुसार उनी १८९५ मा स्विट्जरल्याण्डको ज्युरिचस्थित प्रतिष्ठित ‘एइजेनोइस पोलिटेक्निस स्कूल’ अर्थात् संघीय प्रविधि प्रतिष्ठानमा भर्ना हुनका लागि पुगे । तर, प्रवेश परीक्षामा वनस्पतीविज्ञान, जीवविज्ञान र भाषामा उनले आवश्यक अंक प्राप्त गर्न नसकेपछि उनले एक वर्ष कुर्नु पर्‍यो ।

एक वर्षसम्म उनी स्विट्जरल्याण्डकै आराउ शहरमा गएर आफ्नो पढाइलाई अघि बढाए । त्यसको एक वर्षपछि अर्थात् १८९६ मा उनी एइजेनोइस पोलिटेक्निस स्कूलमा भर्ना हुन सफल भए । ज्युरिचमा उनी औसत विद्यार्थीको रुपमा रहेका थिए । उनको अध्ययन सामान्य थियो । ज्युरिचमा अध्ययनरत रहँदा उनको ध्येय गणित र भौतिकशास्त्र विषयको शिक्षक बन्ने थियो । सन् १९०० मा उनले ज्युरिचबाट डिप्लोमा डिग्री हासिल गरे ।

सेनामा अनिवार्य भर्ती हुनुपर्ने व्यवस्थाका कारण त्यसबाट बच्न आइन्सटाइनले सन् १८९६ मा जर्मन नागरिकता त्यागेका थिए । यही कारण उनी ५ वर्षसम्म राज्यविहीन बन्न पुगे । उनले पछि सन् १९०१ मा स्विट्जरल्याण्डको नागरिकता लिएपछिमात्र उनी कुनै राज्यसँग आबद्ध हुन पुगे ।

अब उनी काम खोज्ने ध्याउन्नमा लागे । यहीक्रममा उनले विन्टरथर र साफहाउजन शहरमा शिक्षकका रुपमा काम पाए । सन् १९०२ मा उनी स्विस राजधानी बर्न पुगे । त्यहाँ उनले व्यक्तिगत अध्यापनलाई अघि बढाए । बर्नमा उनले ‘एकेडेमी ओलम्पिया’ नामक प्राज्ञिक समूह गठन गरेका थिए । उक्त समूहले नियमित रुपमा दर्शनशास्त्र र भौतिकशास्त्रका विषयमा गम्भीर बहस चलाउने गरेको थियो । बहसका क्रममा बर्नमा त्यसबेलाका महान भौतिकशास्त्रीहरुको सहभागिता हुने गरेको थियो । त्यसले निकै लामो समयसम्म निरन्तरता पाइरह्यो ।

सन् १९०२ मा उनले बर्नमा रहेको पेटेन्ट कार्यालयमा प्राविधिक विज्ञ तेस्रो श्रेणीको कर्मचारीका रुपमा जागिर शुरु गरे । त्यहाँ काम पाएपछि उनले भौतिकशास्त्रमा पनि महत्वपूर्ण ज्ञान हासिल गरे । उनको स्वाध्ययन र प्राज्ञिक बहस त छँदै थियो । उनले भौतिकशास्त्रका क्षेत्रमा विभिन्न जर्नलमा आफ्नो शोधपत्र पनि प्रकाशित गरिरहेका थिए ।

सन् १९०५ मा उनले बर्नको विश्वविद्यालयमा विद्यावारिधीका लागि ‘अ न्यू डिटर्मिनेसन अफ मोलिक्युलर डाइमेन्सन’ विषयमा शोधपत्र प्रस्तुत गरे । त्यसबेलासम्म उनले दर्जनौं शोधपत्रहरु प्रकाशित गरिसकेका थिए । सन् १९०५ मा मात्रै उनले ४ महत्वपूर्ण शोधपत्र प्रकाशित गरिसकेका थिए । सन् १९०५ उनका लागि जीवनकै सबैभन्दा महत्वपूर्ण वर्ष बन्न पुग्यो ।

यही वर्ष उनले ‘समय सापेक्षित छ तर प्रकाशको गति स्थिर छ । अवलोकनकर्ताहरू जुनसुकै गतिमा रहेका भए पनि सबैले प्रकाशको गति एउटै भएको पाउँछन् तथा पिण्ड र शक्ति एउटै हुन् र यिनीहरू एक अर्कामा बदलिन सक्छन् ।’ भन्ने सिद्धान्तलाई अघि सारे । यसैलाई पछि सापेक्षतावादको विशेष सिद्धान्त भनियो । यही सिद्धान्तका आधारमा भौतिकवादको सबैभन्दा महत्वपूर्ण उर्जा र पिण्ड समतुल्यताको सुत्र तयार भयो ।

आफ्नो शोधपत्र प्रकाशित गर्ने क्रममा आइन्सटाइनले यही वर्ष नै ‘जब कुनै पदार्थ (धातु वा अधातु अथवा ठोस, तलर वा ग्याँस) ले कुनै विद्युत चुम्बकीय विकिरणबाट उर्जा शोषण गर्छ, त्यसबाट इलेक्ट्रोन उत्सिर्जित हुन्छ र यसैलाई प्रकाशको विद्युतीय प्रभाव भनिन्छ । यो विधिबाट निष्काशन हुने इलेक्ट्रोनलाई प्रकाश इलेक्ट्रोन भनिन्छ’ भन्ने प्रकाशको विद्युतीय प्रभावको सिद्धान्त तयार पारे । यही सिद्धान्तका कारण उनलाई पछि सन् १९२१ मा विश्वको सबैभन्दा प्रतिष्ठित भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरियो ।

त्यसपछि उनका सिद्धान्तहरु विश्वव्यापी वैज्ञानिक जगत्मा स्वीकारिन थालियो । यहीक्रममा उनलाई सन् १९०९ मा ज्युरिचको विश्वविद्यालयमा रोजगारी प्रस्ताव गरियो, जसलाई उनले स्वीकार गरे । त्यसपछि सन् १९११ मा तत्कालिन अष्ट्रो हंगेरियन साम्राज्यमा रहेको चाल्र्स फर्डिनाण्ड विश्वविद्यालयमा उनलाई पूर्णकालीन प्राध्यापकको जिम्मेवारी प्रदान गरियो । चाल्र्स फर्डिनाण्ड विश्वविद्यालयमा प्राध्यापन गर्नका लागि उनले त्यहाँको नागरिकता स्वीकार गरे । त्यसपछि जर्मनीको कैसर विल्हाम विश्वविद्यालयमा प्राध्यापनका लागि उनलाई बर्लिन बोलाइयो । उनी सन् १९३२ सम्म जर्मनीमै रहे ।

सन् १९०९ देखि सन् १९१६ सम्म उनी सापेक्षतावादको सिद्धान्तमा काम गर्न लागी परेका थिए । यहीक्रममा उनले सापेक्षतावादको विशेष सिद्धान्तमा ‘सापेक्षतावादको सामान्य सिद्धान्त’ प्रतिपादन गरी नयाँ आयाम थप्न सफल भए । सन् १९१६ मार्च महिनामा उनको ‘द फाउण्डेसन अफ द जनरल थ्योरी अफ रिलेटिभिटी’ नामक शोधपत्र प्रकाशित भयो ।

गुरुत्वाकर्षण समय र अन्तरिक्षको वक्रताको उपज रहेको निष्कर्षका आधारमा प्रकाशित उक्त सिद्धान्तले भौतिकशास्त्रको क्षेत्रमा क्रान्ति नै ल्याइदियो । यसअघि आइज्याक न्यूटनको गुरुत्वाकर्षण तथा चालसम्बन्धी परम्परागत सिद्धान्तमा आधारित रहेको भौतिकशास्त्रलाई आइन्सटाइनको सापेक्षतावादको सामान्य सिद्धान्तले अर्को स्तरमा पुर्‍यायो ।

अत्यन्त जटिल गणितीय तथा सैद्धान्तिक रहेकाले यसको विश्वसनीयता र भौतिकशास्त्रीय तथ्यलाई लिएर सन् १९२० सम्म उनको उक्त सिद्धान्तबारे विश्वभरका वैज्ञानिक तथा प्राज्ञिक क्षेत्रमा सघन बहस भयो ।

सन् १९१९ मा खग्रास सूर्यग्रहणले भने उनको सिद्धान्तलाई शत प्रतिशत सत्य साबित गरिदियो । आइन्सटाइनको सिद्धान्तअनुसार खग्रास सूर्यग्रहण भएका बेला ताराबाट आउने प्रकाश वक्र हुनुपर्ने थियो । बेलायती खगोलविद अर्थर स्टान्ले एडिङ्टनले खग्रास सूर्यग्रहण अवलोकन गर्ने बेला ताराबाट आएको प्रकाश वक्र भएको पुष्टि गर्दै आइन्सटाइनको सिद्धान्तलाई सत्य साबित गरिदिए । सन् १९२१ मा भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार पाएपछि भने उनलाई आलोचना गर्नेहरु चुप भए ।

त्यसपछि उनले प्राज्ञिक क्षेत्रमा आफ्नो कामलाई निरन्तरता त दिइ नै रहे, त्यसका साथै उनी विश्वभर भ्रमणमा निस्के । उनले एसिया, युरोप, अमेरिकी महादेशसहित विश्वका धेरै मुलुकहरुको भ्रमण गरे । विशेष प्राध्यापनका साथै विश्वलाई नजिकबाट नियाल्नका लागि उनका यी भ्रमणहरु महत्वपूर्ण रहे ।
सन् १९३२, जर्मनीमा हिटलरको नाजी पार्टी शक्तिमा आइसकेको थियो । यहूदी धर्मावलम्बीलाई देख्नै नसक्ने नाजी पार्टीको नीतिले गर्दा यहूदी धर्मावलम्बी भएकै कारण उनले जर्मनीमा आफ्नो अध्यापन पेशालाई त्याग्नुपर्‍यो ।

उनका सबै सम्पत्तिहरु जफत गरिए । उनले जर्मन नागरिकता पनि त्याग्नुपर्‍यो । यस्तो अवस्थामा त्यसबेलाका महान् भौतिकशास्त्री शरणार्थी बन्न पुगे । उनले जर्मनीका सबै प्रतिष्ठानसँग रहेको सम्बन्ध भंग गरे । त्यसपछि उनी अमेरिकाको प्रिन्सटन विश्वविद्यालयमा अध्यापनका लागि पुगे ।

दोस्रो विश्वयुद्धको समयमा उनी अमेरिकामै थिए । अमेरिकामा रहँदा उनले नै तत्कालिन राष्ट्रपति फ्रांकलिन डिलानो रुजभेल्टलाई म्यानहटन परियोजना शुरु गर्न आग्रह गरेका थिए । आणविक हतियार निर्माण गर्नका शुरु गरिएको सोही म्यानहटन परियोजनाबाट निर्माण भएका आणविक बमले जापानको हिरोशिमा र नागासाकी शहर ध्वस्त पारेका थिए । पछि आइन्सटाइनले म्यानहटन परियोजना शुरु गर्न रुजबेल्टलाई गरेको आग्रहप्रति पश्चाताप जनाएका थिए ।

आइन्सटाइन भौतिशास्त्रीमात्र थिएनन् । उनी दार्शनिक र शान्ति अभियन्तासमेत थिए । यहूदी धर्मावलम्बीहरुको बेग्लै राज्य हुनुपर्ने आन्दोलनमा पनि उनको भूमिका महत्वपूर्ण थियो । उनी भारतीय स्वतन्त्रताको पक्षमा थिए ।

उनले भारत छोडो आन्दोलनका नेता मोहनदास करमचन्द गान्धीसँग पनि नजिकको सम्बन्ध स्थापना गरेका थिए । त्यस्तै, भारतीय साहित्यकार रवीन्द्रनाथ टेगोरसँग पनि उनको सम्बन्ध राम्रो थियो । उनी मानव अधिकार, आर्थिक अधिकार, सामाजिक अधिकार, लैंगिक तथा यौनिक अधिकार र जनावरको अधिकारका लागि पनि उत्तिकै क्रियाशील थिए । समाजवादी राजनीतिक विचारधार भएकै कारण उनी अमेरिकामा संदिग्ध कम्युनिष्ट कार्यकर्ताको सूचीमा समेत राखिएका थिए ।

सन् १९५५ अप्रिल १८ मा अमेरिकाका प्रिन्सटन शहरमा उनको देहान्त भयो । उनको मृत्युले विश्वभरका वैज्ञानिक, प्राज्ञिक तथा राजनीतिक अभियानका लागि अपूरणीय क्षति पुग्न गयो । उनको मृत्यु भएसँगै २० औं शताब्दीका महान् भौतिकशास्त्री, वैज्ञानिक, मानवतावादी अभियन्तालाई विश्वले सदाका लागि गुमायो । उनको निधन भएको ६४ वर्ष भइसकेको छ । तैपनि उनले भौतिकशास्त्रका क्षेत्रमा पुर्‍याएको योगदान अझै पनि उत्तिकै सान्दर्भिक छ ।

प्रकाशित मिति : २५ श्रावण २०७६, शनिबार  ५ : ०९ बजे

इलाम–२ मा कांग्रेस उम्मेदवार खड्काले गरे मतदान

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत

उम्मेदवार बनेर मतदान गर्दा उत्साहित भएको छु : सुहाङ

काठमाडौं– इलाम–२ बाट एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतदान गरेका छन्

कहिले सकिएला बुटवल-नारायणगढ सडकको काम ? (फोटो फिचरसहित)

बुटवल – वि. सं. २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री

छालाको क्यान्सरविरुद्ध भ्याक्सिनको परीक्षण सुरु

काठमाडौं – सबै भन्दा घातक किसिमको छालाको क्यान्सर ‘मेलानोमा’ विरुद्धको

इलाम र बझाङमा मतदान सुरु, अपराह्न ५ बजेसम्म जारी रहने

काठमाडौं– इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा (१) मा