फेसबुकका साथीको सुझावबाट शुरु भएको किवी खेतीले ‘मालामाल’

आत्म निर्भरका लागि सिर्जनात्मक सोच र जाँगर चाहिन्छ

सविना कार्की

शनिबार, साउन २५, २०७६

Reading Time: 9 minutes

फेसबुकका साथीको सुझावबाट शुरु भएको किवी खेतीले ‘मालामाल’

काठमाडौं– नेपाल कृषि प्रधान देश । तर, अनेक परिवन्धले अधिकांश नेपाली भूमि बाझो छ। खेती गर्नेलाई प्रोत्साहनको साटो हेय भावले हेरिन्छ भन्ने मान्यताले सुन फल्ने बारी छाडेर नेपाली युवा खाडीमा पसिना बगाउन बाध्य छन् । तर, यो अवस्था विस्तारै परिवर्तन हुन थालेको छ । स्वदेशमै सिर्जनात्मक काम गरे आत्मनिर्भर बन्न सकिन्छ भन्ने योजनासहित धेरै युवाले स्वावलम्बी बनेर उदाहरणीय काम गरेका छन् ।

नेपाल जस्तो प्राकृतिक सम्पदाले भरीपूर्ण मूलुकमा सिर्जनात्मकता र जाँगरको मात्र खाँचो देख्नेहरु पनि धेरै छन् । यही सोचका साथ थालिएका नयाँ काम आम युवाका लागि उदाहरणीय र आत्मनिर्भरको बाटो पनि बन्न थालेका छन् । यस्तै मध्येका एक हुन किवी खेतीमा रमाइरहेका दोलखाका पासाङ तेन्जी शेर्पा ।

वैदेशिक रोजगारका क्रममा १३ वर्षसम्म विदेशी भूमिमा पसिना बगाएका शेर्पा अहिले दोलखामा सबैको तारिफ पाउँदै काम गरिरहेका छन् ।

आफ्नै जन्मभूमिमा रमाउन पाउँदा स्वर्गको आवास महशुस गर्छन् उनी । जति सकेको स्वदेमै काम गरौँ कमाऔँ, दुःख र मेहनत गर्न सकेमा स्वदेशमै हीरा फलाउन सकिन्छ भन्ने उनको धारणा छ ।

शेर्पा वि.स. २०३२ सालमा दोलखाको जिरीमा जन्मिए । उनी परिवारका एक्लो छोरा हुन् । गाउँघरमा खेतीको काम गर्दै विद्यालय पढ्दै गर्दा ०५० सालमा उनले जिरीबाटै एसएलसी पास गरे ।

परदेशले सिकाएको पाठ

साथीहरु विदेश गएपछि पलाएको परदेश मोहले उनलाई एक दशकबढी देश बाहिर राख्यो । उनी भन्छन्, ‘साथीहरु परदेश गएको देख्दा मलाइ पढाइ छोडेर विदेश जान मन लाग्यो।’ एसएलसी दिन साथ उनी जागिरको शिलशिलामा कुवेत पुगे । कुवेतमा उनले साढे ३ वर्ष काम गरेको अनुभव खबरहबसँग साट्दै भने, ‘शुरुमा चिया पकाएँ, आम्दानी ठिकै थियो चित्त बुझाउथेँ।’

कुवेतको बसाइमा अचानक शेर्पाको भेट राजकुमार दिपेन्द्र मल्लसँग भयो । कुराकानीका क्रममा राजखानदानबाट दिपेन्द्रले पिएचडी गर्ने सोच त्यहाँ दर्शाएका थिए । दिपेन्द्रले त्यहाँ त्यी कुराहरु दर्शाइरहँदा शेर्पाको दिमागमा पनि पढ्नु चाहिँ पर्ने रहेछ भन्ने सोच उत्पन्न भयो ।

त्यही सोचले उनी ०५७ सालमा शेर्पा स्वदेश फर्किए । ‘मित्रपार्कस्थित पशुपति बहुमुखि क्याम्पसमा उच्च शिक्षाका लागि अंग्रजी र अर्तशास्त्रमा भर्ना पनि भएँ’ शेर्पाले खुसी हुँदै भने, ‘आफैँले गौशालामा सानो कपडा पसल पनि खोलेको थिएँ।’

शेर्पाको पढाइ राम्रै चलिरहेको थियो । तर उनको जीवनमा अर्को घटना घट्यो जसकारण उनलाइ पढ्ने रहर कहिल्यै पलाएन । ‘राजदरबार हत्याकाण्ड भयो, राजा जस्तो मान्छेले त जे पनि गर्न चाहन्थ्यो नि’ उनले भने ‘तर राज खानदान कै वंश नाश हुने गरी नरसंहार हुँदा हामी जस्तो मान्छेले पढेर के गर्ने भन्ने सोच आयो।’ दिमागमा २०५८ साल जेठ महिना बिर्सन नसक्ने कालो दिन बनेर बसेको शेर्पाले सुनाए ।

त्यो घटना घटेसँगै पढाइ र व्यवसाय दुवै छोडेको शेर्पाले सुनाए । त्यसलगात्तै उनलाइ फेरि परदेश जाने मोह जाग्यो । ‘स्वदेशमा बसेर के गर्नु’ महंगी सधै कहिले के हुन्छ थाहा हुदैँन अझ त्यो बेला आन्दोलन भइरहन्थ्यो’ विगतलाइ स्मरण गर्ने क्रममा उनले सुनाए ।

रोजागरको शिलशिलामा शेर्पा ताइवान पुगे । शेर्पाको वैदेशिक यात्रा ताइवान मात्र रहेन उनी त्यतैबाट चीन, थाइल्याण्डसम्म पुगे । पढेर मात्र सिकिन्छ भन्ने भनाइ शेर्पाको जीवनमा कहिल्यै लागू भएन ।

‘मैले पशुपति क्याम्पसमा जति पढे त्यो भन्दा बढि त्यहाँ पुगेर सिके र जाने’ उनले दंग हुँदै भने ‘त्यसैले मानिसले पढेर भन्दा सिकेर बढि जान्छ।’ उनले त्यहाँ ३ वर्ष बसे ।

परदेश त शेर्पाका लागि गाउँघर जस्तै बनिसकेको थियो । उनी आउँदै जाँदै गरिरहन्थेँ । त्यसैक्रममा उनी ३ वर्षको थाइल्याण्ड यात्रा पछि नेपाल फर्किए । त्यसपछि पनि उनलाई परदेश नै गइरहन मन लाग्यो । भन्छन्, ‘विदेश बसिरहेपछि गइरहुँ झैँ लाग्दो रहेछ।’

उनी २०६० सालतिर यूएइतिर प्रस्थान गरे । त्यसो त उनी धेरै देशहरुमा रोजगारीकै शिलशिलामा पुगिसकेका थिए । किन फरक फरक देशमा रोजगारीकै लागि भौतारिनु भयो भन्ने प्रश्नमा शेर्पा जवाफ दिन्छन्, ‘रोजि रोटीका लागि परदेश धाएको थिएँ, त्यो सब गरीबीकै कारण थियो।’

उनी यूएइमा होटल एण्ड हस्पिटालिटीको क्षेत्रमा काम गर्ने ‘जुमेरियअ डटकम’ नामक कम्पनीका जागिरे भए। ‘विभिन्न देशमा त्यसका शाखाहरु पनि थिए’ उनले भने ‘काम पनि राम्रै थियो।’

शेर्पाले करिब ८ वर्षसम्म सोही कम्पनीमा बसेर काम गरे । ‘लामो समयसम्म टिक्न सकेको भनेको त्यही कम्पनी थियो’ हाँस्दै उनले भने । परदेश बस्दा बस्दा उनी थाकिसकेका थिए । ‘गाउँको सम्झना महशुस गर्न थालेँ’ त्यसपछि उनले सुनाए ।

जब स्वदेश फर्किए

विदेशमै बसिरहँदा पनि शेर्पा सोच्ने गर्थे ‘गाउँमा गएर गाइ पालन गरौँ कि माछापालन पो गरौँ कि।’

‘१३ वर्षसम्म विभिन्न देशमा बसेर आएको थिएँ’ शेर्पा भन्छन् ‘अब नेपालमै केही गर्नुपर्छ भन्ने सोच पलायो।’ कुरा हो आजभन्दा ८ वर्षअघिको । उनी स्वदेश फर्किए ।

स्वदेश फर्किएसँगै तत्काल के व्यवसाय गर्ने सोच्न थाले उनी । दुवैबाट फर्किदा उनको खल्तीमा साढे २ लाख रुपैयाँ थियो । कुन व्यवसाय गर्ने भन्दै शहरमा भौतारिरहँदा आधा खर्च भइसकेको थियो । बाँकी थियो डेढ लाख ।

१ लाख लगानीको चिया पसल

मुख्य शहर चिया पसल खोल्ने सोच पनि नबनाएका होइनन् । तर, तत्कालीन समयमा प्रशस्त पैसा पनि थिएन उनीसँग । भन्छन्, ‘म्यानपावरको अभाव थियो।’

उनले १ लाख लगानीमा जोरपाटीको अत्तरखेलमा ‘सेकुवा बजार तथा खाजा घर’ खोले । एक छोरा एकछोरी सहित श्रीमतीलाइ पनि काठमाडौं ल्याए । छोराछोरीलाई जोरपाटीकै एक विद्यालयमा पढाउन शुरु गरे भने श्रीमतीलाई आफुसँगै काम सिकाउन थाले ।

उनको होटलमा रामै्र आम्दानी भएको उनी सुनाउँछन् । ७ वर्षअघिदेखि भाडामा जग्गा लिएर होटल सञ्चालन गरिरहेका शेर्पा होटलबाट पनि सन्तुष्ट नै बताएको बताउँछन् ।

किबी खेतीप्रतिको मोह

यूएइ बसाईका क्रममा पनि शेर्पाले किबीको जुसबारे बुझेका थिए । शेर्पाको सोच थियो ‘गाउँमा बाँझो रहेको जग्गामा केही न केही फलाउने । अन्न बाली लगाउनका लागि धेरै बारीमा झुम्मिनु पर्ने हुँदा त्यो शेर्पाको दैनिकीमा सम्भव थिएन ।

उनी भन्छन्, ‘यता चिया पसल पनि राम्रै चलिरहेकै छ, छोडि हालेर के गर्नु भन्ने सोचेँ।’ किबी खेतीका बारेमा उनी खबरहबसँग कुरा गरिरहेका थिए । उनको मन निकै प्रफुल्ल पनि थियो । चिया पकाउने चटारोसँगै कसरी गाउँ गएर किबी खेती गर्ने सोच पलायो त ?

खुसी हुँदै उनी जवाफ दिन्छन्, ‘फेसबुक चलाइरहँदा ताप्लेजुङका एकजना साथीसँग कुरा भयो, उनले कृषि विषयमै चितवनमा अध्ययन गरेका रहेछन्, उसकै सल्लाह अनुसार नै किबी खेती गर्ने सोचेँ।’

किबी खेती गर्ने सोच त गरे शेर्पाले । तर, उनीसँग जिरीमा भएको जमीनमा किबी फल्छ फल्दैन उनलाइ केही थाहा थिएन । त्यसको अनुसन्धानका क्रममा उनी भौतारिन थाले ।

‘आट गर्नु पर्ने रहेछ ! साथ र सहयोग दिने मान्छे भगवानले पनि जुराइदिने रैछन्’ दंग हुँदै शेर्पाले सुनाए । किबी खेतीका बारेमा विस्तृत रुपमा बुझ्नका लागि उनले दोलखाकै चन्द्रमान श्रेष्ठसँग कुरा गरे फेसबुक मार्फत नै ।

अध्ययनका लागि शेर्पाले श्रेष्ठलाइ जिरी लगे । ‘श्रेष्ठले भनेअनुसार मैले किबी खेतीको सुरुवात गरेँ’ उनले भने ‘२०७१ सालमा ८ सय ५० वटा किबीका विरुवा लगेर रोपेँ।’

जिरीमा उनको ‘विर्खास कृषि फार्म’ रहेको छ । उनले १ करोड लगानीमा किबी खेती सञ्चालन गरेका हुन् ।

‘पहिलो वर्ष रोपेका ८ सय ५० वटा विरुवालाइ नै बचाएँ’ मेहनती शेर्पाले भने ‘त्यतिमात्र होइन, रोपेकै वर्षबाट फलाउन पनि सफल भएँ।’ अहिले उनले ९५ रोपनी जग्गामा १२ सय किबीका विरुवा लगाएका छन् भने अझ त्यसको क्षेत्र विस्तार गर्ने बताउँछन् ।

कसरी गर्ने किबी खेती

शेर्पाले समुन्द्री सतहबाट २३०० देखि २४०० को उचाइमा किबी खेती गरिरहेका छन् ।

किबी खेती गरिरहेका शेर्पाले आफ्नो अनुभव सुनाउँदै खेतीका बारेमा भने, ‘किबीलाइ चर्को घामबाट बचाउनुपर्छ, साथै पानीको मुहानका छेउछाउमा रोप्नु हुदैँन।’

काठमाडौंबाट किबीका लागि जैविक मल लैजान्छन् बताउँदै उनी भन्छन्, ‘गाउँमै झारपात कुहाएर पनि कम्पोष्ट मल बनाउँछु, मानिसको मूत्र संकलन गरेर पनि हाल्छौँ, त्यसले विरुवा अझ मौलाउने गर्छ।’

न्युजरल्याण्डको कथन अनुसार एउटा किबीको विरुवा कम्तीमा १ सय ८५ केजी फल फल्ने भनिएको छ । तर, शेर्पा भन्छन्, ‘नेपालको सन्दर्भमा १ सय २७ केजी सम्म फलाएका छन्।’

किबी खेतीमा पनि अन्य खेती विरुवा मर्ने र रोग लाग्ने समय हुने बताउँछन् शेर्पा । ‘किबीका खेतीमा प्राविधिक दक्षता हासिल गरेका व्यक्ति छैनन्’ उनले भने ‘त्यसलाइ के रोग लागेको र कसरी बचाउने भन्ने कुरा नै पत्ता लगाउन मुस्किल छ।’

४ वर्षमा कति फलाए

९५ रोपनी जग्गामा शेर्पाले लगाएको किबीका विरुवाबाट पहिलो वर्ष ५० केजी फलाएका थिए भने त्यसपछि क्रमश, १०० केजी, ९०० केजी उत्पादन गरेका थिए । यसपाली २ हजार केजी उत्पादन हुने उनको अपेक्षा छ ।

किबीको बजार मुल्य प्रतिकेजी ८ सयदेखि एक हजार रुपैयाँसम्म छ ।

२ जनालाई रोजगारी

शेर्पाको किबी खेतीमा २ जना कृषकले रोजगारी पाएका छन् । उनका अनुसार दुई कृषकमध्ये १ जना खोटाङका र एकजना दोलखाकै हुन् । ‘किबी खेतीमा रमाएर काम गरिरहेका छन्’ उनले भने ।

त्यति मात्र होइन, उनको जिरीमा रहेको ‘सर्वाखास कृषि फार्म’ मा विद्यार्थी तथा अन्य जिल्लाबाट किबी खेतीका बारेमा अध्ययन गर्न आउने गर्छन् । ‘उनीहरुलाई पनि किबी खेतीका बारेमा बुझाउने र खेती गर्न आग्रह गर्ने गरेको छु’ उनले भने ।

किबीका खेतीमा आउन युवालाई आग्रह

विषेशगरी युवावर्गलाइ किबी खेतीमा आउन शेर्पा आग्रह गर्छन् । गाउँमा बाँझो बन्दै गएको जग्गालाई उपभोग गर्न सकेमा राम्रो हुने उनको भनाई छ । हामी ‘रोजगारको खोजीमा म्यानपावर धाउछौँ परदेश गएर अनेकौँ दुख गर्छौ’ उनी भन्छन्, ‘स्वदेशमा गर्न सके के हुदैँन।’

किबी खेती पछिल्ला समय नेपालमा फस्टाउँदै गएको छ । त्यसकारण जग्गा हुनेहरुले पनि यो खेती गर्न सकेमा राम्रो आम्दानी हुनेछ । ‘स्वदेशमा मेहनत गरौँ, स्वदेशमै रमाऔँ’ अन्त्यमा शेर्पाले भने ।

भर्खर

0