जागरण अभियान– कांग्रेसले नवीन उर्जा पायो ? | Khabarhub Khabarhub

जागरण अभियान– कांग्रेसले नवीन उर्जा पायो ?



काठमाडौं– नेपाली कांग्रेसले पहिलो चरणको जागरण अभियान सफलतापूर्वक सम्पन्न भएको जनाएको छ । गत वर्षको पुसमा सम्पन्न भएको कांग्रेस महासमिति बैठकको एजेण्डाअनुसार कांग्रेसले बैशाख २५ गतेदेखि देशव्यापी शुरु गरेको थियो ।

सोही घोषणाअनुसार पहिलो चरणको कार्यक्रम आइतबार सकिएको हो । ‘हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेसको राष्ट्रिय जागरण अभियान’ नाम दिइएको सो अभियानले पार्टीमा नवीन उर्जा दिएको नेपाली कांग्रेसको प्रारम्भिक ठहर छ ।

पहिलो चरणको अभियान कति सफल भयो भन्ने जानकारी आउन केही समय लाग्ने भएपनि कांग्रेसले प्रारम्भिक रुपमा जिल्लाबाट आएका प्रतिवेदनका आधारमा सफल भएको दाबी गरेको हो । कांग्रेस सहमहामन्त्री डाक्टर प्रकाशशरण महतले पहिलो चरणको जागरण अभियान कार्यक्रम सोचेअनुरुप सफल भएको बताए ।

उनी भन्छन्,‘जो जिल्लामा प्रतिनिधिका रुपमा जानुभएको छ, उहाँहरुले आधिकारीक प्रतिवेदन पेश गर्नुहोला, समग्रमा प्रारम्भिक रिपोर्टहरु आएको छ, देशभरी नै उत्साह थपेको छ, कार्यकर्ताहरु समेत उत्साहित भएका छन् । दोस्रो र तेस्रो चरणको अभियान चलाउने ठोस अभियानको आधार तयार भएको छ ।’

पहिलो चरणको अभियानको समापनसँगै कांग्रेसले दोस्रो र तेस्रो चरणको अभियान समेत सरकारका विरुद्ध प्रयोग गर्ने संकेत गरेको छ । पहिलो चरणको अभियानमा कार्यकर्ताहरुका बिचमा मात्रै पुगेको र दोस्रो चरणको अभियानमा जनताको घरघरमा पुग्नै कांग्रेसले बताएको छ ।

सहमहामन्त्री महत भन्छन्, ‘मुलतः तीन चरणको कार्यक्रम समापन गर्दा हरेक नेपाली नागरिको घरघरमा पुग्ने काम हुनेछ । सरकारले गरेका गलत कामबाट जनताको जीवनमा परेका असरबारे जानकारी दिने काम समेत कांग्रेसले अभियानकै शिलशिलामा गर्नेछ ।’

समिक्षाका लागि केन्द्रीय समिति बैठक बोलाइँदै

पहिलो चरणको अभियान सम्पन्न भएसँगै कांग्रेसले अभियानको समिक्षा गर्न केन्द्रीय समिति बैठक बोलाएर छलफल गर्ने जनाएको छ ।

सहमहामन्त्री महतका अनुसार सबै जिल्लामा गएका केन्द्रीय प्रतिनिधिहरु राजधानी फर्किएपछि केन्द्रीय समिति बैठक बोलाउने बताए । उनले जिल्ला पुगेका प्रतिनिधिहरु राजधानी फर्किएपछि केन्द्रीय समिति बैठक बोलाएर, उनीहरुले तयार पारेको प्रतिवेदनमाथि समेत छलफल गर्ने अनि दोस्रो र तेस्रो चरणको अभियानका लागि तयारी थाल्ने बताए ।

दोस्रो चरणमा सरकारविरुद्ध लाग्ने संकेत

पहिलो चरणको अभियान सफलतापूर्वक सकिएपछि कांग्रेसका नेताहरुले दोस्रो र तेस्रो चरणको अभियानको एजेण्डाका विषयमा समेत मुख खोल्न लागेका छन् ।

पहिलो चरणको अभियान सफल बनाएको भन्दै केन्द्रीय प्रतिनिधिसहित जिल्ला सभापति लगायतलाई धन्यवाद दिएका कांग्रेस सभापति शेरबहादुर देउवाले आइतबार प्रेस विज्ञप्ती जारी गर्दै भनेका छन्,‘जागरण अभियानका क्रममा प्राप्त विभिन्न सुझाव ग्रहण गरेर नेपाली कांग्रेसलाई सुदृढ र थप गतिशील बनाउँदै अघि बढ्ने संकल्प यो घडीमा हाम्रो साझा दायित्व भएको छ ।’

सभापति देउवाले सरकार अधिनायकवाद उन्मुख बन्दै गएको भन्दै सरकारका गतिविधिविरुद्ध थप जागरण बढाउन आह्वान समेत गरेका छन् । उनले भनेका छन्,‘ लोकतान्त्रिक संविधानको रक्षा र संविधानप्रति अपनत्वको दायरा विस्तार गर्दै संघीयताको सफल कार्यान्वयन गर्न गराउन दवावको प्रभावकारी भूमिका कांग्रेसले निर्वाह गर्नुपर्ने बेला आएको छ ।’

चुनावमा लज्जास्पद हार व्यहोरेपछि कांग्रेस जिल्लामा केन्द्रीत हुँदा पार्टी राजनीतिमा समेत केही सकारात्मक परिणाम हासिल हुनेमा शंका गर्ने ठाउँ त छैन । तर उनीहरु पार्टी संगठन निर्माणभन्दा बढि आगामी महाधिवेशन केन्द्रित हुने र गुटगत स्वार्थका लागि अभियानको प्रयोग हुनसक्ने अवस्था समेत देखिएको छ ।

आलोचक भन्छन्–विना लक्ष्यको भड्काव

काग्रेसले अभियानकै कारण पार्टीको आन्तरिक एकतामा समेत बल पुगेको दाबी गरेपनि कांग्रेस बुझेका विश्लेषकहरु भने कांग्रेस नेतृत्वप्रति जनताको विश्वास नभएको र नेतृत्वप्रति समेत विश्वास गुम्दै गएको हुँदा पार्टीले शुरु गरेको अभियान विना लक्ष्यको भड्काव मात्रै भएको टिप्पणी गर्छन् ।

राजनीतिक विष्लेषक पेशल निरौला भन्छन्,‘कांग्रेस पार्टी नै जागरणबाट आएको पार्टी हो । कांग्रेस मासबेस्ड पार्टी हो । तर जुन पार्टी र पार्टीको नेतृत्वप्रति जनताको विश्वास छैन । त्यस्तो पार्टीले जागरण अभियान सञ्चालन गरेर के गर्ने ? कांग्रेसमा जब आमूल परिवर्तन हुँदैन तब कांग्रेसको नेतृत्वप्रति जनताको विश्वास पनि हुँदैन । त्यसैले यो अभियान विना उद्देश्य र विना लक्ष्यको एउटा भड्काव मात्रै हो ।’

निरौलाले यसअघिको नेतृत्वप्रति जनताको विश्वास रहेको भन्दै भन्छन्, ‘हिजो गिरिजाप्रसादको, कृष्णप्रसाद भट्टराईको जति नै कमी कमजोरी भएपनि सामाजिक मर्यादा थियो । गिरिजाप्रसाद कोइरालाको सामाजिक मर्यादा कम भएपनि बोलेपछि काम गर्ने भएका कारण जनता र कार्यकर्ताले समेत विश्वास गर्थे । अहिलेको नेतृत्वमा त्यो देखिँदैन, चाहे शेरबहादुर हुन् वा अरु कोही ।’

पार्टीभित्र शीघ्र महाधिवेशनको बहश चलिसकेको छ, जिल्ला सभापतिहरुले समेत विषेश महाधिवेशनका लागि हस्ताक्षर संकलन अभियान चलाउने घोषणा गरिसकेको अवस्था छ । महाधिवेशनको विषयलाई लिएर पार्टीभित्रै मतान्तर उत्कर्षमा पुगेका बेला कांग्रेसले शुरु गरेको अभियानले कांग्रेसभित्रको विवाद नै मथ्थर पार्ने काम गरेको विश्लेषकको टिप्पणी छ । यस्तो अवस्थामा जागरण अभियान सरकारले गरेका गलत कामको खबरदारी गर्ने भन्दा पनि महाधिवेशनका लागि मत बटुल्ने अस्त्रका रुपमा समेत विश्लेषकले अर्थाउन थालेका छन् ।

प्रकाशित मिति : २७ जेठ २०७६, सोमबार  ६ : १३ बजे

राति मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौं – हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको

लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान

काठमाडौं- मातातीर्थ औँसी २०८१ का अवसरमा लेखन कुञ्जले समाजसेवी महिलालाई

युक्रेनका थप दुई गाउँ कब्जा गरेको रुसको दाबी

मस्को – रुसले युक्रेनका थप दुई सीमावर्ती गाउँ कब्जा गरेको

चितवनमा चालुआवको हालसम्म ६ बाघ मृत भेटिए

चितवन – चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका क्षेत्रमा छवटा

तुम्लिङटार विमानस्थलमा दुई सातापछि उडान

सङ्खुवासभा – विमानस्थल वरपरको डाँडामा फैलिएको तुवालो हटेपछि हिमाली जिल्ला