ढुकुटीसँग जोडिएको यौन शोषण– उच्च घरानियाँ वर्गकै संलग्नता ! | Khabarhub Khabarhub

ढुकुटीसँग जोडिएको यौन शोषण– उच्च घरानियाँ वर्गकै संलग्नता !



काठमाडौं–एकताका धेरै चर्चामा रहेको ढुकुटी खेल प्रकरण विस्तारै मत्थर भएको थियो । फाट्टफुट्ट घटनाबाहेक खासै सुनिन छाडेको ढुकुटी काण्ड फेरि विस्तारै बढ्न थालेको छ । त्यसमा पनि यौन शोषणको प्रकरण जोडिएर । यसको पछिल्लो उदाहारण चैत १५ गते दाङमा भएको घटनालाई लिन सकिन्छ।

दाङमा प्रहरीले पत्रकारको आवरणमा ढुकुटी खेलाई ठगी गर्ने भन्दै महेश भन्ने भुवन धिताललाई पक्राउ गर्‍यो । भुवनले श्रीमान् विदेश भएका र एकल महिलालाई ढुकुटी खेलाएर करोडौं रुपैयाँ ठगी गर्ने र तिनै महिलालाई ललाई-फकाई नभए धम्क्याएर यौन शोषण गर्ने गरेको तथ्य पनि सार्वजनिक भयो । यो विषयमा प्रहरीले अनुसन्धान गरिरहेकै छ ।

ढुकुटीसँग जोडिएको यो घटना पछिल्लो पटक सार्वजनिक भएको हो । भित्रभित्रै घट्ने र सार्वजनिक नहुने यस्ता घटना कैंयौं छन् ।

क्षणिक रमाइलोका लागि खेलिने ढुकटीले धेरैलाई लामो समयसम्म रुवाएको छ । पूर्व एआइजी देवेन्द्र सुवेदी भन्छन्–‘ख्याल ख्याल मै ढुकुटी खेल्न थालेका कतिपय ढुकुटीकै कारण घर न घाटको भएका छन् ।’ सुवेदीले भनेजस्ता घटना धेरै घटेका छन् । ढुकुटीकै कारण समाजमा मुखै देखाउन नसकेर आत्महत्याको बाटो रोजेका घटना पनि  सार्वजनिक नभएका होइनन् । अहिले पनि धेरै ढुकुटी पीडित आफ्नो पहिचान र परिचय लुकाउँदै भागीभागी हिँड्नुपर्ने बाध्यात्मक अवस्थामा छन् ।

सम्पन्न परिवारका पढेलेखेका फस्छन्

चेतनाको अभाव अर्थात अज्ञानताले धेरैलाई दुःख दिन्छ । तर, ढुकटीमा भने जान्ने बुझ्ने र आर्थिक हैसियत राम्रो हुनेहरु फस्ने गरेका छन् । सम्पन्न परिवारका बुहारीहरु यसको शिकार हुने गरेको पटक-पटक घटेका ढुकुटी काण्डले पुष्टि गर्दछ ।

एक समयकी चर्चित लोक गायिका सृजना बिरही थापा २०७० सालको सुरुवातमै प्रहरी फन्दामा परिन् । कुटपिटको आरोपमा समातिएकी उनी ढुकुटी खेल्ने र खेलाउने गिरोहको नाइके नै भएको खुल्यो । सबैले सम्मान गर्ने गायन पेशा नै छाडेर ढुकुटीको रमाइलोमा होमिएकी उनी विस्तारै घर न घाटको बनिन् ।

लोकगायक याम क्षत्री पनि ढुकुटीमा मुछिए । उनले आफ्ना साथीहरुलाई पनि यसको लतमा फसाए । उनीसँग ‘लेनदेन’ कारोबार जोडिनेमा गायिका निशा सुनार, गीतकार शिव हमाल, वसन्त थापा, दोहोरी गायक रामजी खाँड लगायत छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी बसन्त लामाका अनुसार ढुकुटी खेल्ने र खेलाउनेहरु सर्वसाधारण, व्यापारी, कर्मचारी प्रहरी परिवारदेखि कलाकारसम्म छन् । सबै तह र तप्काका मानिसहरुले लुकिछिपी खेलिरहेको ढुकुटीबाट कमाउने भन्दा पनि गुमाउने गरेको पाइएको छ ।

ढुकुटीले कतिपयको पैसामात्रै स्वाह भएको छैन, इज्जत र प्रतिष्ठा पनि धम्ल्यिाइदिएको छ । महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहका अनुसार ढुकुटीमा आर्थिक हिनामिनामा मुछिएका, उच्च परिवारका र बौद्धिक समुदायका धेरै छन् । उनीहरुले संगठित रुपमै अपराध गर्ने गरेका छन् । सिंहले भने, ‘यस्तो अपराधमा मुख्य योजनाकारको प्रत्यक्ष संलग्नता देखिँदैन, उनीहरुलाई अप्रत्यक्ष पहुँचवालाको संरक्षण हुन्छ । यसले गर्दा पनि नियन्त्रणमा कठिनाई भइरहेको छ।’

राष्ट्र बैंको अध्ययन अनुसार शहरमा रिक्सा चलाउनेदेखि भारी बोक्नेसम्म ढुकुटीको जालोमा फस्ने गरेका छन् । कलाकार, पत्रकार, प्रहरी तथा सैनिक अधिकृतका श्रीमती, व्यापारी, सर्वसाधारण सबै तह र तप्काका मानिसहरु ढुकुटीको लतमा फसेका छन् । सजिलै धेरै पैसा आउने लोभमा अधिकाशंले भएभरको सम्पत्ति सकाएर आपराधिक क्रियाकलापको बाटो पनि रोजेको पाइन्छ ।

के हो धेरैलाई घरबार बिहीन बनाउने ढुकुटी ?

ढुकुटी समूहमा खेलिने एक किसिमको अवैध  खेल हो । निश्चित समयसम्म समूहका सबै सदस्यले बराबर पैसा उठाएर जम्मा गर्छन् । त्यही जम्मा भएको पैसालाई नै ढुकुटी भन्ने चलन छ । जहाँ  ढुकुटी खेलाउने एक जना नाइके हुन्छ ।

पूर्व डीआइजी केशव अधिकारीका अनुसार ढुकुटीबाट जम्मा भएको पैसा गोला प्रथा वा आपसी समझदारीमा शुरुमा कुनै एक सदस्यले लिने गर्छ । यसलाई ढुकुटी खाने भनिन्छ । ढुकुटी खानेले बैंकबाट कर्जा लिंदा जस्तै केही व्याज तिर्नुपर्ने हुन्छ । ढुकुटी एक पटक खाएपछि फेरि बराबर पैसा हालिन्छ । अर्को सदस्यलाई ढुकुटी खाने मौका दिइन्छ । यसरी समूहका सबै सदस्यले पालैपालो ढुकुटी खाने मौका पाउने ‘नियम’ बनाइएको हुन्छ ।

अधिकारी भन्छन्, ‘असल नियत र आपसी समझदारी रहुँन्जेल ढुकुटीले सबै सदस्यलाई धैरथोर फाइदै नै पुर्‍याउँछ । तर, जब ढुकुटी खेल्ने कुनै एक सदस्यले बदमासी गर्छ, तब त्यहीबाट ढुकुटी अभिशाप बन्न थाल्छ । जम्मा भएको ढुकुटी खाएर नतिरेपछि ढुकुटी खेल्ने र खेलाउनेहरु डुब्न थाल्छन् र डुबेको पैसा उठाउन अपराधको साहारा लिने गरेको पाइन्छ ।’

अहिले नेपालमा ढुकुटी खेल्ने र खेलाउने कति छन् यकिन तथ्यांक छैन । नेपाल राष्ट्र बैंकले केही वर्ष अघि गरेको अध्ययन अनुसार काठमाडौंसहित विभिन्न शहरमा झण्डै ५ हजार ५ सय समूहले ढुकुटी खेल्ने गरेको पाइएको थियो । अध्ययनले ढुकुटीमा झण्डै ५ अर्ब १८ करौड रुपैयाँको कारोवार भएको देखाएको थियो । त्यसयता भने यो विषयमा अध्ययन भएको छैन् । अहिले ढुकुटी खेल्नेहरु नै कम हुने आंकलन भइरहेका बेला प्रहरी अधिकारीहरुले भने भित्रभित्रै जालोका रुपमा बढिरहेको बताउँछन् ।

यस्तो छ ढुकुटीको असर 

अहिले प्रत्येक व्यापारिक क्षेत्रमा ढुकुटीको बर्चस्व छ । ढुकुटीमा जम्मा भएको रकम बैंक तथा वित्तीय संस्थामा पुग्दैन । ढुकुटी अनौपचारिक र गैरकानूनी कारोबार नै हो । पछिल्ला दिनमा औपचारिकभन्दा अनौपचारिक कारोबारले देशको अर्थतन्त्रलाई प्रभावित बनाउन थालेको छ । राष्ट्र बैंकको स्वीकृति नलिई कुनै पनि निकायले निक्षेप वा कर्जा दिन पाउँदैन । बैंक तथा वित्तीय संस्था र सहकारीले निक्षेप वा कर्जा दिन पाउँछन् ।

तर, अहिले समूह र समूह बनाएर अर्बौंको कारोबार भएको सरकारी निकायको अनुमान छ । अर्थविद्हरुका अनुसार ढुकुटीले आर्थिकवाहेक सामाजिक विखण्डनसमेत निम्त्याएको छ । तीन वर्षअघि राष्ट्र बैंकले गरेको अध्ययनले ढुकुटीले अपराध बढाएको देखाएको थियो । ढुकुटीको कारोवारमा हतियारको समेत प्रयोग हुने गरेको प्रहरीको तथ्यांकमा उल्लेख छ।

ढुकुटी लुकिछिपी खेलिने भएकाले के कस्तो अपराध भएको छ ठ्याक्कै भन्न नसकिए पनि आपराधिक गतिविधि बढाउने एक कारक तत्व भएको बुझाई महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी बसन्तकुमार लामाको छ ।

कसरी होला नियन्त्रण ?

ढुकुटीलाई नियन्त्रण गर्न छुट्टै कानून छैन । तर, ढुकुटी खेलेको प्रमाणित भए नेपाल राष्ट्र बैंक ऐन २०५८ अनुसार ३ वर्ष कैद, बिगो जफत र बिगोको ३ गुणा जरिवाना हुने व्यवस्था छ ।

पछिल्लो समय, बैंकिङ क्षेत्र बढी प्रविधियुक्त र अन्तर्राष्ट्रिय वित्तीय क्षेत्रसँग एकीकृत हुँदै जाँदा बैंकिङ अपराधको जोखिम पनि बढ्दै गएको छ । यसको नियमन तथा नियन्त्रणका लागि काम गरिरहेको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख निरजबहादुर शाहीले बताए।

ढुकुटी खेल्ने र खेलाउनेलाई राष्ट्र बैंक ऐन अनुसार कारबाही हुने व्यवस्था भएपनि त्यो प्रभावकारी हुन सकेको छैन । प्रहरीले पनि ढुकुटी नियन्त्रणका लागि उचित कदम चाल्न नसक्दा समस्या भुसको आगो जस्तै विस्तारै बढ्दै गएको छ ।

ढुकुटीबाट पीडित भएकाहरु आफ्नो नाम र प्रतिष्ठा जोगाउने बहानामा उजुरी दिन नजाने गरेका कारण पनि नियन्त्रणको कदम फलामको  चिउरा सरह छ । ढुकुटीले समाजमा बौद्धिक वर्गलाई आपराधिक क्रियाकलापमा लाग्न हौस्याउने भएकाले यसको नियन्त्रण जरुरी छ।

प्रकाशित मिति : २७ चैत्र २०७५, बुधबार  ७ : २९ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०