डेंगु नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

नियन्त्रणका लागि ९ करोड बढी बजेट, संक्रमण झन बढ्दो

रिता लम्साल

सोमवार, भदौ २३, २०७६

Reading Time: 8 minutes

डेंगु नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

काठमाडौं– सरकारले डेंगु लगायतका महामारी नियन्त्रणका लागि स्थानीय सरकार, प्रदेश र संघमा ९ करोड ६४ लाख बजेट विनियोजन गरिएको भएपनि संक्रमण दिन प्रतिदिन बढ्दो छ ।

अघिल्ला वर्ष डेंगुको प्रकोप देखिएका ८५ स्थानीय तहलाई लक्षित गरी  सरकारले  यस वर्ष ५० हजार देखि ५ लाख सम्म गरी १ करोड ६७ लाख, ७ वटै प्रदेशमा ८७ लाख देखि ८९ लाख सम्म गरी ६ करोड १७ लाख र केन्द्रमा १ करोड ८० लाख विनियोजन  गरेको हो ।

सरकारले रोग नियन्त्रणका लागि बजेट छुट्याए पनि रोग लाग्नु अगावै नियन्त्रणको योजना नबनाउँदा डेंगुले प्रकोपको रुप लिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकको अनुसार डेंगुका बिरामी दिन प्रतिदिन बढ्दै गएका छन् ।

महाशाखाल सार्वजनिक गरेको तथ्यांकको अनुसार साउनदेखि भदौं ६ गते सम्ममा एक हजार २ सय ९ जनामा डेंगु भएको थियो । यस्तै भदौंको २२ गतेसम्ममा डेंगुका बिरामीको संख्या ३ हजार ८ सय ९९ पुगेको छ ।

भदौंको तेस्रो साता सम्ममा डेंगुका बिरामीको संख्या तेब्बर भइरहेको महाशाखाको तथ्यांकले देखाउँछ ।  भदौंको पहिलो सातामा ३७ जिल्लामा देखिएको डेंगु भदौंको तेस्रो साता पुग्दा ५६ जिल्लामा फैलिएको छ ।

प्रकोप नियन्त्रणबाट पन्छिदै महाशाखा

डेंगुले देशभर महामारीको रुप लिँदा केन्द्र सरकारको मातहतमा रहेको महाशाखा भने अधिकार नभएको भन्दै जिम्मेवारीबाट पछि हटेको छ ।

संघीयता लागूहुनुभन्दा अघि डेंगु लगायतका किटजन्य रोग नियन्त्रणका लागि स्वास्थ्य सेवा विभागमा रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले प्रकोप रहेको क्षेत्रमा औषधि पठाउने तथा नियन्त्रणका लागि जिल्ला जनस्वास्थ्य कार्यलयहरुलाई निर्देशन दिने कार्य गर्ने गरेको थियो ।

संघीयता लागुभए पछि रोग नियन्त्रणका लागि बजेट र अधिकार स्थानीयत तहमै गएको छ । रोग नियन्त्रणका लागि स्थानीयत तहलाई निर्देशन दिने अधिकार समेत नभएकाले आफूहरुले रोग निन्त्रणको पहल गर्न नसकेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा विवेक कर्ण लालले बताए ।

‘पहिला जस्तै सबैले इपिडिमियोलोजीले नियन्त्रण किन गरेन भनेर गुनासो गर्नुहुन्छ, अहिले नियन्त्रणको कुरामा स्थानीय तहमै बजेट गएको छ, उहाँहरु बाटै नियन्त्रणको अभियान चल्ने हो,’ डा लालले भने, ‘संघीयता लागू भएपछि हाम्रो जिम्मेवारी पनि परिवर्तन भएको छ, हाम्रो काम नीति बनाउने हो नियन्त्रण गर्ने, निर्देशन दिने अधिकार अहिले छैन ।’

डा लालका अनुसार काठमाडौं टेकु अस्पताल भित्रै डेंगुको प्रकोप फैलिए पनि नियन्त्रण गर्ने अधिकार र बजेट आफूहरुसँग नभएको बताउँछन् ।

‘हामीले केन्द्रले  नै यो नियन्त्रणको पाटो तपाईहरुको होइन, यो नियन्त्रणको पाटो स्थानीय तहको हो भनेको छ,’ डा लालले भने, ‘हामीलाई आएके बजेट रोग नियन्त्रणका लागि होइन नीति निर्माण र तालिमका लागि हो, विभागभित्रै डेंगु देखिएपछि हामीले आफै नियन्त्रण गर्न सक्दैनौं, काठमाडौं महानगरलाई गुहार्नुपर्ने बाध्यता छ ।’

डेंगु नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

गत बैशाखमा सुनसरीबाट फैलिएको डेंगुले अहिले ५८ जिल्लामा प्रकोपको रुप लिएको छ । लामखुट्टेको टोकाइबाट सर्ने डेंगुले एकै परिवारका सबै सदस्यमा संक्रमण फैलिएपछि डेंगुको प्रकोपबाट मानिसहरु त्रसित बनेका छन् । रोग नियन्त्रणका लागि समयमै योजना नबनाउँदा देशभर डेंगुको प्रकोप फैलिएको चिकित्सकहरु बताउँछन् ।

‘बैशाखमा नै धरानमा डेंगुका बिरामीहरु देखिए, त्यसपछि काठमाडौंमा पनि डेंगु सार्ने लामखुट्टेका लार्भाहरु भेटिएपछि हामीले सतर्क रहन भनेका थियौं,’ नाम नबताउने सर्तमा एक चिकित्सकले भने, ‘डेंगुका बिरामी अस्पताल आउन शुरु हुँदा नै हामीले भनेका थियौं । अब डेंगुले महामारीको रुप लिनसक्छ सरकारले समयमै योजना बनाउँनुपर्छ भनेर, तर सरकारले बैशाख यतासम्म के गर्‍यो ?’

डेंगुको प्रकोप नियन्त्रणमै आउन नसक्ने अवस्था भएपछि सरकारले खोजी र नष्ट गर्ने अभियान शुरु गरेको चिकित्सकको भनाइ छ ।

‘सरकारी निकायले रोग लाग्नुअघि नै नियन्त्रणको प्रयास नगरेर कति बिरामी भए र कतिको मृत्यु भयो भनेर बसेको छ,’ उनले भने, ‘रोग लाग्नुअघि नै अघिल्ला वर्षमा देखिएको प्रकोपको अवस्था अनुसार त्यस क्षेत्रमा सचेतनाको अभियान चलाउनुपर्ने हुन्थ्यो, रोग नियन्त्रण बाहिर आएपछि खोजी र नष्ट गर्ने भनेर एकदिन गरेर नष्ट हुनै सक्दैन ।’

देशभर डेंगुको प्रकोप फैलिएपछि भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा अन्य विभिन्न निकायसँग छलफल र बैठकका कार्यक्रम तीव्र बनाएको छ ।

‘हामीले डेंगुको प्रकोप फैलिएकाले रोग नियन्त्रणका लागि के गर्न सकिन्छ भनेर काठमडाौंका सबै स्थानीय तह, अस्पतालहरुसँग छलफल गरीरहेका छौं,’ डा लाले भने, ‘स्वास्थ्य मन्त्रालयले गृह मन्त्रालयसँग समन्वय गरेर सबै जिल्ला प्रशासन कार्यलयबाट पनि डेंगु नियन्त्रणको प्रयासमा लाग्न पहल शुरु गरेका छौं ।’

अझै तीन महिना प्रकोप नहट्ने

देशभर डेंगुको प्रकोप बढेसँगै टेकुस्थित शुक्रराज ट्रपिकल तथा रोग नियन्त्रण महाशाखामा बिरामीको चाप बढेको छ । दैनिक ३ सयभन्दा बढी बिरामीहरु डेंगुको आशंकामा स्वास्थ्य परीक्षणका लागि अस्पताल पुग्ने गरेको अस्पतालका सरुवा रोग विशेषज्ञ डा शेर बहादुर पुन बताउँछन् ।

‘अहिले डेंगुको संक्रमणले मानिसहरु त्रतिस बनेका छन् । शुक्रराज अस्पतामा बिरामीहरुको निकै भीड लागिरहेको छ,’ डा पुनले भने, ‘डेंगुको आशंकामा अस्पताल आउने मध्ये आधा बिरामीमा संक्रमण पनि देखिएको छ, परिवारभित्रकै धेरै सदस्यमा डेंगुको समस्या भएर अस्पताल धाइरहेका छन् ।’

सरकारले डेंगु नियन्त्रणका लागि अभियानहरु शुरु गर्दै गरे पनि डेंगुका बिरामी अझै बढ्न सक्ने डा पुनको भनाइ छ । डा पुनका अनुसार डेंगुको प्रकोप अझै तीन महिनासम्म रहन्छ ।

‘डेंगुको प्रकोप जताजतै देखिएको छ, अझै दुई देखि तीन महिनासम्म प्रकोप देखिने सम्भावना छ,’ डा पुनले भने, ‘अब दशैं पनि नजिकिँदै छ दशैंको समयमा आवतजावत धेरै हुने भएकाले दशैंमा पनि प्रकोप देखिनसक्ने सम्भावन छ, त्यसैले सरकारले अब सम्भावित क्षेत्रहरुमा समयमै सचेत हुनुपर्छ ।’

डेंगु नियन्त्रणमा आफै सचेत बनौं : डा बास्तोला

सरकारले डेंगु नियन्त्रणका लागि लामखुट्टेको बासस्थानको खोजी र नष्ट गर्ने अभियानहरु पनि चलाइरहेको छ । तर सो कार्यक्रम प्रभावकारी नभएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोला बताउँछन् ।

सरकारले एकपटक गर्ने खोजी र नष्टको अभियानले डेंगु सार्ने लामखुट्टेको पूर्ण रुपमा नष्ट हुन नसक्ने डा बास्तोला बताउँछन् ।

‘सरकारले डेंगु नियन्त्रणको कार्यक्रम भनेर लामखुट्टेको लार्भा हुने ठाउँको खोजी र नष्ट गर्ने अभियान चलाएको छ, तर त्यो अभियान जहाँ भएको छ एकपटक भएको छ,’ डा बास्तोला भन्छन्, ‘सरकारले एक पटक लार्भा नष्ट गरेको ठाउँमा एक सातामा फेरि लामखुट्टेको लार्भा देखिनसक्छ र त्यहाँ फेरि डेंगु हुने जोखिम हुन्छ, त्यसैले खोजी र नष्ट गर्ने अभियान एक पटक माब गरेर पुग्दैन ।’

डेंगु नियन्त्रणको अभियान बाग्मती सफाइको अभियानभन्दा कम नभएको भन्दै डेंगु नियन्त्रणका लागि स्थानीय नै बढी जिम्मेवार र सचेत हुनुपर्ने डा बास्तोलाको भनाइ छ ।

‘यो बाग्मती सफाइ गरे जस्तै हो एकपटक सफा गर्दा सफा गरेको दिन मात्रै राम्रो हुन्छ, त्यसैले प्रत्येक घर परिवारले आफ्नो घर वरिपरि लामखुट्टेको बासस्थान खोज्ने र नष्ट गर्ने अभियान संचालन गर्नुपर्छ,’ डा बास्तोला भन्छन्, ‘महाअभियानकै रुपमा सबैले नियन्त्रणको प्रयास नगरेसम्म डेंगु नियन्त्रणमा आउन सक्दैन, स्वास्थ्य मन्त्रालयले मात्रै गरेर डेंगु नियन्त्रण हुँदैन, सबै नागरिक नियन्त्रणको लागि लाग्नुपर्छ ।’

महाशाखाको पछिल्लो तथ्यांक यस्तो

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले यस वर्ष डेंगुबाट ६ जनाको मृत्यु भएको र ५६ जिल्लाका ३ हजार ८ सय ९९ जनामा संक्रमण फैलिएको जनाएको छ ।

महाशाखाका अनुसार काठमाडौंमा दुई जना, सिन्धुपाल्चोक, सुनसरी, चितवन र डोटीमा १-१ जना गरी ६ जनाको ज्यान गएको छ । भदौ २२ गते आइतबारसम्मको तथ्यांक अनुसार प्रदेश १ मा ८३१ जना, प्रदेश २ मा ३९ जना, प्रदेश ३ मा २०१० जना, गण्डकी प्रदेशमा ८९६ जना, प्रदेश ५ मा ९७ जना, कर्णाली प्रदेशमा ३ जना र सुदूर पश्चिम प्रदेशमा २३ जना गरी मुलुकभर ३ हजार ८ सय ९९ जना संक्रमित भएको महाशाखाले जनाएको हो ।

महाशाखाको तथ्यांकअनुसार सवैभन्दा बढी प्रदेश ३ को चितवनमा १ हजार ३६ जना डेंगुबाट संक्रमित भएका छन् । त्यसैगरी गण्डकी प्रदेशको कास्कीमा ७ सय १५ जना संक्रमित भएका छन् ।

कसरी सर्छ डेंगु ?

डेंगु एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने सरुवा रोग हो । यो एडिस लामखुट्टेले मानिसलाई बिहान, बेलुका तथा दिउँसोको समयमा टोक्ने गरेको चिकित्सकहरु बताउँछन् ।

यो रोग मानिसबाट मानिसमा सर्दैन तर डेंगुको संक्रमण भएको व्यक्तिलाई टोकेको लामखुट्टेले स्वास्थ व्यक्तिलाई टोक्दा भने यो रोग सर्छ । डेंगु सार्ने लामखुट्टेले सफा पानी जमेको ठाउँमा फुल पार्ने गर्छ ।

वर्षातपछि पानी जम्ने स्थानहरुमा एडिस इजिप्टाई जातको लामखुट्टेको संख्या बढी हुने हुँदा वर्षातपछि डेंगुको संक्रमण पनि बढेको पाइन्छ । पानी जम्ने टिनका डब्बाहरु, रङ्गका खाली डब्बा, थोत्रा तथा पुराना टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरु, फुलदानी, गमला, कुलर, पानीका ट्यांकी आदिमा यो जातको लामखुट्टेले फुल पार्ने र नयाँ लामखुट्टेको संख्या बढाउँने काम गर्छ ।

डेंगु भएको कसरी थाहा पाउने ?

  • –एक्कासी उच्च ज्वरो आउनु,
  • –लगातार ५ देखि ७ दिनसम्म ज्वरो आउनु,
  • –असाध्यै टाउको दुख्नु,
  • –आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्नु,
  • –ढाड जोर्नी तथा मांसपेशीहरु दुख्नु,
  • –शरीरमा बिमिरा आउनु ।

डेंगुबाट यसरी बच्नुहोस्

  • –डेंगुबाट बच्नका लागि लामखुट्टेको टोकाईबाट बच्नुपर्छ,
  • –पानी जम्न सक्ने भाँडाहरु जस्तैः गमला, फुलदानी, खाली बट्टा, अल्कत्रा वा मट्टितेलका खाली ड्रमहरु, गाडीको काम नलाग्ने टायर आदिमा  पानी जम्न नदिने उपाय गर्नुपर्छ,
  • –पानीका ट्याङ्कीमा लामखुट्टे प्रवेश गर्न नदिने गरी ढाकेर राख्नुपर्छ,
  • –कूलरमा रहेको पानीमा प्रत्येक हप्ता एक-दुई चम्चा मट्टितेल हालिदिने साथै जम्मा भएको पानी सफा गर्ने,
  • –फुलदानीमा रहेको पानी कम्तीमा हप्तामा दुई पटक फेर्नुपर्छ,
  • –एडिस एजिप्टाई जातको लामखुट्टेले दिउँसो टोक्ने हुँदा दिउँसो बस्दा पनि प्रायः पूरा बाहुला भएको वा शरीर पुरै ढाकिने लुगा लगाउनु पर्छ,
  • –सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्नु पर्छ साथै साना केटा केटीलाई जुनसुकै समयमा पनि झुलभित्र सुताउनु पर्छ,
  • –लामखुट्टेको टोकाईबाट बच्न लामखुट्टे भगाउने मल्हम पनि दल्न सकिन्छ ।
  • –घरका झ्याल ढोकामा जाली लगाउनु उपयुक्त हुन्छ ।
  • –घर वरिपरि सफा सुग्घर राख्ने, पानी जम्ने खाल्टाखुल्टी पुर्ने गर्नुपर्छ ।

भर्खर

0