भएन रक्तचन्दनको व्यवस्थापन : २ लाख किलो राख्न समस्या, १९ हजार किलो गायब

रक्तचन्दन तस्करी : सुरक्षाका नाममा करोडौ खर्च, सुरक्षा घेराबाटै हराउँछ

गजेन्द्र बस्नेत

आइतवार, जेष्ठ २६, २०७६

Reading Time: 6 minutes

भएन रक्तचन्दनको व्यवस्थापन : २ लाख किलो राख्न समस्या, १९ हजार किलो गायब

काठमाडौं- धार्मिक प्रयोजनमा प्रयोग हुने रक्तचन्दन सकेसम्म नेपालीले आफ्नो पूजा कोठामा पूजा गरेरै राख्छन् । पूजा थाली मै हुने रक्तचन्दन अहिले सबैभन्दा बढी तस्करी हुने सामान बनेको छ । सुरक्षा संयन्त्रले तस्करीमा प्रयोग हुने रक्तचन्दनको सुरक्षा गर्ने काम गरेपनि सुरक्षा संयन्त्रबाटै गायब हुने, नियन्त्रणमा लिएको रक्तचन्दन व्यवस्थापन गर्न नसक्नेलगायतका नियती सुरक्षा निकायले भोगिरहेको छ ।

प्राचिनकालदेखि नै रक्तचन्दनको महत्व बुझेका नेपाली एक दशक अघिबाट हुन थालेको ओसारप्रसार र तस्करीबाट भने चकित बनेका छन् ।
रक्तचन्दनसँगै जोडिएको राजनीतिक जालोको नालिबेली छोटो समयमा निक्कै नै फैलिएको छ । एउटा काठको दाउरोका रुपमा रहेको रक्तचन्दनले कसरी राजनीतिक पकड जमायो यो खोजीको विषय हो ।

२०६४ यताको १२ बर्षको अवधिमा हरेक राजनीतिक दलका कार्यकर्तादेखि लिएर तस्कर, पुलिससम्मको ध्यान रक्तचन्दनले खिचेको थियो । बीचको ५/६ बर्षको अवधिमा रक्तचन्दन तस्करीका समाचार बाक्लै आए । योबीचमा प्रहरीले श्रृङ्खलाबद्ध रक्तचन्दन बरामद् पनि गर्‍यो ।

यस्तो छ बरामद् श्रृङ्खला

– २०६४ कार्तिक २७ गते, सिन्धुपालचोकबाट कुटनीतिक नम्बर प्लेटको नक्कली नम्बर ११ सीडी ३८ र ११ सीडी २६ को प्रयोग गरी खासा कटाउन लागेका २ वटा भ्यानसहित रक्तचन्दन बरामद् ।
– २०६४ असोज ३ गते, कपिलवस्तुको भिल्मीबाट ८ सय ८३ किलो रक्तचन्दनसहित ५ जना पक्राउ ।
– २०६४ बैशाख ६ गते, सिन्धुपाल्चोकको चेहेरेबाट ना २ ख २६३४ नम्बरको भ्यान सहित रक्तचन्दन बरामद् ।
– २०६४ बैशाख ६ गते, वीरगञ्जको सिमावर्ती क्षेत्रबाट २ वटा गोदाममा लुकाएर राखेको रक्तचन्दन बरामद् ।
– २०६४ मंसिर १३ गते, बालाजु बाँजोघारी बाईपासबाट ८३ थान रक्तचन्दन सहित १ जना पक्राउ ।
– २०६६ भदौ ३ गते, दोलखा लादपबाट ६ सय किलो रक्तचन्दन बरामद् ।
– २०६६ भदौ २८ गते, भक्तपुरबाट २ हजार किलो रक्तचन्दन बरामद् ।
– २०६८ साल जेष्ठ १८ गते, सिन्धुपालचोकको तातोपानीबाट १ हजार ४ सय ५३ किलो रक्तचन्दन बरामद् ।
– २०६८ साल असार १७ गते, सिन्धुपालचोकको कोदारीबाट १ हजार ४ सय किलो रक्तचन्दन बरामद् ।
– २०६८ साल भदौ १६ गते, काभ्रेको पाँचखालबाट ६ सय किलो रक्तचन्दन बरामद् ।
– २०६८ साल भदौ २४ गते, सिन्धुपाल्चोक स्थित तातोपानी भन्सार कार्यालयबाट १ सय २८ किलो रक्तचन्दन बरामद्

यस बाहेक पनि अघिल्लो बर्षसम्म नै सानो–सानो परिमाणमा रक्तचन्दन बरामद् भएका छन् । वन तथा भू–संरक्षण मन्त्रालयका अनुसार, रक्तचन्दन भारतका आन्ध्र प्रदेश, कर्नाटक र तामिलनाडु राज्यबाट नेपालका विभिन्न सीमा नाका हुँदै चीनतर्फ तस्करी हुने क्रममा बरामद गरिएको हो । नेपाल सन् १९७५ जुन १८ मा ‘दुर्लभ वन्यजन्तु तथा वनस्पतिको अन्तराष्ट्रिय व्यापार महासन्धि’ (साइटिस) को पक्ष राष्ट्र बनेको हो । रक्तचन्दन सो महासन्धिको अनुसूची २ मा सूचीकृत वनस्पति हो । महासन्धिको व्यवस्था विपरीत नेपाल प्रवेश गरेका रक्तचन्दन बरामद गरिएको हो ।

प्रतिबन्धित भन्दै प्रहरीले रक्तचन्दन पक्रन्छ र वन मन्त्रालयलाई जिम्मा दिन्छ । प्रहरी प्रवक्ता विश्वराज पोखरेल अहिलेसम्म जतिपनि रक्तचन्दन बरामद् भयो त्यो सबै कानूनी प्रक्रियाका लागि वन तथा वातावरण मन्त्रालय अन्तर्गतका निकायलाई जिम्मा लगाएको बताउँछन् ।

अहिलेसम्म पक्राउ परेका रक्तचन्दन एकपटक मात्र भारत फर्काइएको छ । अरु सवै त्यत्तिकै थन्किएर बसेका छन् । करिव १२ बर्षदेखि जम्मा भएको झण्डै २ लाख किलो रक्तचन्दन अहिले समस्याको रुपमा देखिएको छ ।

बरामद लोपोन्मुख जडीबुटी सम्बन्धित स्थानमै फिर्ता गर्नुपर्ने अन्तर्राष्ट्रिय कानुन र महसन्धिको प्रावधानअनुुसार मन्त्रिपरिषद्ले फिर्ता दिने निर्णय गरेको थियो । वन तथा वातावरण मन्त्रालयका उपसचिव सुमन सुवेदीका अनुसार, अदालतबाट फैसला भइसकेका मुद्दाका रक्तचन्दन फिर्ता लैजान भारतलाई पत्राचार गरेपनि नलगेकाले वन विभाग परिसरमै राखिएको छ ।

सुरक्षाका नाममा करोडौं खर्च

तथ्याङ्क अनुसार, बरामद् रक्तचन्दन सुरक्षामा राज्यको करोडौं रुपैयाँ खर्च भइरहेको छ । काठमाडौंको वन विभाग परिसरमा राखिएको रक्तचन्दनको सुरक्षामा मात्र १२ वर्षदेखि ३० सुरक्षाकर्मी र १ वनरक्षक खटिँदै आएका छन् ।

सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा सुरक्षाकर्मीलाई अतिरिक्त सेवा सुविधासहित खटाईएको छ । रक्तचन्दन चार वटा कन्टेनर, एउटा ट्रक र एउटा टाटा मोबाइल गाडीमा लोड गरिएको छ । बर्षौंदेखि थन्किएर बस्दा ती गाडीसमेत थोत्रा र काम नलाग्ने भइ सकेका छन् । वन विभाग बाहेक अन्य एक दर्जन जिल्लाहरुमा पनि रक्तचन्दन राखिएको छ । त्यसको सुरक्षाका नाममा राज्यको करोडौं रुपैयाँ खर्च भइसकेको छ ।

१९ हजार ३ सय २४ किलो गायब

बरामद् गरी थन्क्याएर राखिएको ११ हजार २ सय ४३ किलो रक्तचन्दन २०६४ कार्तिक २६ गते जिल्ला वन कार्यालय ललितपुरमा एकाएक गायब भयो । रक्तचन्दन चोरिएको घटना सार्वजनिक भएपछि अनुसन्धान गर्दा सुरक्षागार्ड, चालकलगायत वन कार्यालयका कर्मचारीकै संलग्नतामा चोरी भएको खुलेको थियो ।

प्रत्यक्ष रुपमा चेरी भएको घटना बाहिर आएको यो एउटा उदाहारण मात्र हो । वन विभागसँग अहिले रहेको रक्तचन्दन र बरामद् भएको रक्तचन्दको तथ्याङ्क हेर्दा करिव २० हजार किलो रक्तचन्द हराएको देखिन्छ ।

तथ्याङ्क अनुसार, वन विभागसँग अहिले एक लाख ९० हजार सात सय ९६ किलोग्राम बरामद रक्तचन्दन छ । नेपालमा हालसम्म दुई लाख ४७ हजार ४८ किलोग्राम रक्तचन्दन बरामद् गरिएको वन विभागका महानिर्देशक डा. रामप्रसाद लम्साल बताउँछन् । बरामद् रक्तचन्दन मध्ये ३६ हजार ९ सय २८ किलो भारतले जिम्मा लिएको छ भने बाँकी १९ हजार तीन सय २४ किलो रक्तचन्दन भने गायब छ ।

कसरी व्यवस्थापन गर्न सकिन्छ ?

महालेखा परीक्षकको कार्यालयले आफ्नो प्रतिवेदनमार्फत पटक पटक ऐन नियम तर्जुमा गरी रक्तचन्दन व्यवस्थापन गरिनुपर्ने सुझाव दिएको छ । संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन २०७३ मा भने फिर्ताको निर्णय भएको ९० दिनभित्र लगिसक्नुपर्ने व्यवस्था छ ।

नत्र देशमै अन्य प्रक्रियाबाट व्यवस्थापन हुने प्रावधान उक्त ऐनमा छ । यसलाई हेर्दा भारतले नलगेको खण्डमा अब नेपाल आफैंले पनि नष्ट गर्न सक्छ ।

नेपाल प्रहरीका पूर्व एआइजी नवराज ढकाल भन्छन्–भारतलाई पत्राचार गर्दा पनि उसले रक्तचन्दन लिन मान्दैन भने नीतिगत रुपमा निर्णय गरेर त्यसको व्यवस्थापन गर्नुपर्छ । नत्र जति लम्बियो उति नै आर्थिक भार थपिदै जाने छ । वन तथा वातावरण मन्त्रालयका उपसचिव सुमन सुवेदीले खबरहबसँग कुरा गर्दै भने, ‘रक्तचन्दन अब व्यवस्थापन गर्ने प्रक्रियामा छ ।’

यता वन विभागका महानिर्देशक डा. रामप्रसाद लम्साल नेपाल साइटिस महासन्धिको पक्ष राष्ट्र भएको र सोही अनुसार नयाँ ऐन ल्याइसकिएकाले अब उक्त रक्तचन्दनको छिट्टै व्यवस्थापन हुने बताउँछन् ।

भर्खर

0