के वसन्तपुर घुम्नका लागि योग्य छैन ? | Khabarhub Khabarhub

के वसन्तपुर घुम्नका लागि योग्य छैन ?



काठमाडौं– नेपालकै इतिहास बोकेको पर्यटकीय क्षेत्र हो वसन्तपुर । यसको छुट्टै पहिचान छ । देशको शासकीय वर्गसँग जोडिएको यस क्षेत्र नेपाल आउने पर्यटकको एउटा प्रमुख गन्तव्य स्थल पनि हो । तर सरकारको पर्यटकीय गन्तव्य सूचीमा भने वसन्तपुर अटाउन सकेन ।

वाह्य पर्यटक हुन् वा आन्तरिक, वसन्तपुर अवलोकनका क्रममा रमाउने गर्छन् ।  उनीहरु सम्पदाको अवलोकन गर्न पाउँदा निकै आनन्दको अनुभूति गर्छन् ।

विश्वसम्पदा सूचीमा समेत समेटिएको छ ‘हनुमानढोका दरबार’ । त्यसकारण पनि अझ यसको महत्व बढ्दै गएको सँस्कृतविद्हरु बताउँछन् ।

मल्लकालदेखि शाहकालसम्मका भौतिक सांस्कृतिक संरचना र स्थानीय परम्परा, सम्पदालाई एकैपटक अवलोकन गर्न पाइने भएकाले पनि पर्यटकको आकर्षण केन्द्रको रुपमा वसन्तपुर रहेको छ ।

जीवित देवी कुमारीको दर्शनका लागि पनि वसन्तपुर प्रमुख पर्यटकीय गन्तव्यमध्येको एक हो ।

आन्तरिक र बाह्य पर्यटकले काठमाडौं टेक्दा उनीहरु वसन्तपुर घुम्न छुटाउँदैनन् । नेपालको सँस्कृति र इतिहास झल्काउने तस्वीरहरु प्रशस्तै पाइन्छ यहाँ । जसकारण पर्यटकहरुको मन लोभ्याएको र उनीहरु त्यसप्रति आकर्षित भएको पनि प्रस्टै देख्न सकिन्छ । तर सरकारले भने यसलाई पर्यटकीय गन्तव्यको रुपमा सूचीमा राखेको छैन ।

सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउने भन्दै प्रचार गरिरहेको सरकारले यो अवधिमा २० लाख पर्यटकलाई नेपाल भित्र्याउने लक्ष्य राखेको छ । तर, देशकै केन्द्रमा रहेको पर्यटकीय क्षेत्र वसन्तपुर भने पर्यटकको गन्तव्य सूचीमा राख्न सरकारले आवश्यक ठानेन ।

सरकारले पर्यटकीय गन्तव्यका लागि सूचिकृत गरेको १०० वटा स्थानमा मल्लकालिन ऐतिहासिक क्षेत्र वसन्तपुरको नामसमावेश भएको छैन ।

आर्थिक वर्ष २०७५/७६ को बजेट वक्तव्यको बुँदा नम्बर ११४ बमोजिम नेपालमा पर्यटन प्रवद्र्धन तथा नयाँ गन्तव्य पहिचान एवम् विकासका लागि तयार पारेको सूचिमा पर्यटकको रोजाइमा रहेको वसन्तपुरको नाम देखिँदैन ।

सरकारले छनोट गरेका सय स्थानहरुमा काठमाडौं जिल्लाबाट ७ वटा स्थानको नाम समावेश गरिएको छ । जसमध्ये पुशपतिनाथ, वौद्ध, स्वयम्भूनाथ, नारायणहिटी, चन्द्रगिरी, सुन्दरीजल, बुढानिलकण्ठ रहेका छन् ।

काठमाडौं महानगरपालिकाबाट ३ वटा मन्दिर मात्र पर्यटकीय स्थलका रुपमा राखिएको छ । त्यस्तै चन्द्रगिरी नगरपालिकाको अन्तर्गत पर्ने चन्द्रगिरी, गार्कर्णेश्वर नगरपालिकामा पर्ने सुन्दरीजल र बूढानिलकण्ठको नाम समावेश गरिएको छ ।

ओझेलमा परेका स्थललाई प्राथामिकता दिनुपर्छ : पर्यटन मन्त्रालय

लाखौं पर्यटकको रोजाइमा पर्न सफल वसन्तपुरलाई पर्यटकीय गन्तव्यका रुपमा छनोट गरिएका सय स्थलहरुमा किन राखिएन भन्ने प्रश्नमा संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालयलका प्रवक्ता घनश्याम उपाध्याय भन्छन्, ‘विश्व सम्पदा सूचीमा परेको वसन्तपुर मात्र होइन, अन्य क्षेत्रपनि छुटेका छन्’ । उनले भनेजस्तै उपत्यकाका अन्य थुप्रै स्थानहरु पनि सूचीमा अटाएका छैनन् ।

‘विश्व सम्पदा सूचीमा परिसकेको सम्पदा क्षेत्रहरु यत्तिकै पनि पर्यटकीय गन्तव्य स्थलका रुपमै चिनिन्छन्’ खबरहबसँगको कुराकानीमा उनले भने ‘ओझेलमा परेका क्षेत्रलाई चिनाउनपर्छ अब’ । काठमाडौं जिल्लाका ७ वटा स्थानलाई स्थापित गर्न प्रर्वद्धन गरिनुपर्ने ठाउँको सूचीमा राखिएको उनको भनाइ छ ।

उनका अनुसार पर्यटकीय स्थल छनोट गर्दा धार्मिक, साँस्कृति तथा प्राकृतिक सबै हिसाबले भरिपूर्ण स्थानहरु छनोट गरिएको र ओझेलमा परेका स्थानलाई आकर्षणको केन्द्रविन्दू बनाइएको हो ।

महानगर के भन्छ ?

काठमाडौं दरबार क्षेत्र काठमाडौं महानगरपालिका भित्र पर्छ । विश्व सम्पदाको सूचिमा सूचिकृत वसन्तपुरको नाम पर्यटकीय गन्तव्यको सूचीमा छुट्नु त्रुटी भएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

महानगरका प्रवक्ता ईश्वरमान डंगोलले महानगरले अब वसन्तपुरलाई पर्यटकीय गन्तव्य स्थानको सूचीमा राख्न पर्यटन मन्त्री योगेश भट्टराइलाई समेत भेट्ने तयारी रहेको बताए ।

‘महानगरभित्र पर्ने वसन्तपुर किन पर्यटकीय गन्तव्यको सूचीमा परेन भन्ने कुरामा महानगरको गम्भीर चासोको विषय रहेको छ’ खबरहबसँगको कुराकानीमा डंगोलले भने ‘महानगरले यस विषयमा पर्यटनमन्त्रीलाई ध्यानाकर्षण गराउनेबारे छलफल बस्नेछ’ ।

वसन्तपुर क्षेत्र पर्यटकीय गन्तव्यका रुपमा परिचित क्षेत्र रहेको र त्यसकारण पनि यसलाई सोही सूचीमा राख्नु जरुरी रहेको डंगोलले बताए ।

वसन्तपुरको अध्ययन बिना पर्यटकले काठमाडौं मौलिकता नै थाहा नपाउने बताउँदै उनले भने ‘पर्यटकीय गन्तव्यको सूचीबाट वसन्तपुरलाइ हटाउँदा महानगरको पहिचान नै हट्नेछ’ ।

महानगरपालिका अन्तर्गतको सम्पदा तथा पर्यटन समितिले समेत यस विषयमा गम्भीर आपत्ति जनाएको छ । वसन्तपुर अवलोकन बिना काठमाडौंको घुमाइ अधुरो रहने हुँदा यो क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा राख्नुपर्ने समितिको ठहर छ ।

सरकारले वसन्तपुरलाई पर्यटकीय गन्तव्यको सूचीमा समावेश नगरेको भन्दै स्थानीयले विरोध गरेका छन् । नेपाल घुम्न आउनेका लागि वसन्तपुर एउटा महत्वपूर्ण ठाउँ भएकोले यसलाई सच्याउनु पर्ने उनीहरुको भनाइ छ । उनीहरुले के अब वसन्तपुर घुम्नका लागि योग्य नभएको होर भनि प्रश्न समेत गरेका छन् ।

के छ वसन्तपुरको महत्व ?

यो क्षेत्र काठमाडौं नगरको मध्य भागमा पर्छ । हनुमानढोका नामले पनि चिनिने यस दरबार परिसरमा ऐतिहासिक भवन र साँस्कृतिक महत्व झल्काउने मन्दिरहरु रहेका छन् । समयसमयमा आउने जात्रा तथा पर्वले झनै वसन्तपुरको माहोल तताउने र मौलिकता झल्काउने गर्दछ ।

विशेषगरी यस क्षेत्रमा महत्वपुर्ण स्मारकमा तलेजु मन्दिर, जगन्नाथ मन्दिर, शिवपार्वती मन्दिर, ठूलो घण्टा, कालभैरव, कुमारीघर, वसन्तपुर दरवार, गद्दी बैठक, काष्ठमण्डप लगायतका मुख्य आकर्षण्का स्मारक हुन् ।

बसन्तपुर क्षेत्रमा हनुमानढोका, काष्ठमण्डप, कालभैरव लगायत अन्य मन्दिरहरु रहेका छन् ।

प्रकाशित मिति : २२ भाद्र २०७६, आइतबार  १ : ४८ बजे

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको

साउदी प्रो लिग : अल नासरको पुनरागमन जित

काठमाडौँ- साउदी प्रो लिग फुटबलमा अल नासरले पुनरागमन जित निकालेको

संस्कृति संरक्षण गर्न नौमती बाजा हस्तान्तरण

लमजुङ– परम्परागत संस्कृति संरक्षण गर्ने उद्देश्यले जिल्लाका दलित समुदायलाई नौमती

मृत्युमार्गको विकल्प सिद्धबाब सुरुङ (फोटो फिचर)

मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी पाल्पा – मृत्युमार्गले परिचित सिद्धार्थ राजमार्गको

आँबुखैरेनी अस्पताललाई डायलाइसिस मेसिन प्रदान

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस