१५ हजार ऋण लिएर खोलेको ढाका उद्योगमा २ सयलाई रोजगारी ! « Khabarhub

१५ हजार ऋण लिएर खोलेको ढाका उद्योगमा २ सयलाई रोजगारी !



काठमाडौं । सुन्दा अचम्म लाग्न सक्छ । ‘नेपालमा पनि कपडा बन्ला र’ भन्ने कुरा । हामी सबैलाई आयातित कपडा लगाउने बानी परिसकेको छ । तर सीप र क्षमता हुनेहरुले नेपालमै राम्रा र आकर्षक कपडा उत्पादन गरिरहेका छन् । जुन विदेशसम्म निर्यात भइरहेका छन् ।

सुन्दा र हेर्दा कठिन जस्तै लाग्छ ‘ढाकाबाट कपडा बुन्न’ । तर त्यही कठिनलाई सजिलोसँग पार गरिरहेकी छिन् बौद्धकी-कल्पना लिम्बूले । उनको मेहनत र काम गर्ने लगनशीलताले हेर्नेहरुलाई पनि ऊर्जा थपिने गर्छ । लामो समयदेखि विभिन्न पेशामा आवद्ध भएकी कल्पना अहिले ‘सफल महिला उद्यमी’बनेकी छिन् ।

निरन्तरको मेहनत र कामप्रतिको लगाव भएमा निश्चय पनि सफल बन्न सकिन्छ भन्ने उदाहरण समेत बनेकी छिन्–कल्पना । उनी यस्ती महिला हुन् जसले आफ्नो परम्परा र सँस्कृतिलाई लोप हुनबाट बचाउन तथा नेपाललाई कपडामा आत्मनिर्भर बनाउन उल्लेख्य भूमिका निभाइरहेकी छिन् ।

वि.सं. २०१९ सालमा पाँचथर जिल्लामा उनको जन्म भयो । परिवारमा ६ जना दिदीबहिनी र एक भाइ थिए । उनी परिवारकी साइली छोरी हुन् । पाँचथरको थर्पु गाउँमा जन्मिएकी कल्पनाले कक्षा सातसम्म अध्ययन गरिन् ।

उनी पढेको विद्यालयमा कक्षा ७ सम्म मात्र अध्यापन गराइन्थ्यो । त्यसकारण उनले पढाइलाई त्यही बिट मारेर घरको काममा व्यस्त हुन थालिन् । गाउँघरमा हुर्किएकी उनी काममा भने बढो मेहनति छन् । १५ वर्षको उमेरमा बिहे गरेर उनी ताप्लेजुङ पुगिन् । विवाहपछि उनको थप संघर्षमको जीवन शुरु भयो । विवाह भएको केही वर्ष गाउँमै खेतीपातीको काम व्यस्त बनिन् ।

१७ वर्षको उमेरमा आमा बनेकी कल्पनालाई अझ बढी जिम्मेवारी थपियो । ‘सन्तानकै लागि पनि अरु काम पनि गर्नुपर्छ जस्तो लाग्न थाल्यो’, उनले भनिन् ।

पहिलो खुड्किलो ओर्लिन मोरङसम्म

सन्तानलाई पढाउन र अन्य व्यवसाय पनि थालनी गर्ने सोचले कल्पना ताप्लेजुङदेखि मोरङ झरिन् । मोरङको बेतौनामा केही वर्ष उनले गाइभैँसी पालन व्यवसाय गरिन् । छोराछोरीलाइ हुर्काउन, पढाउन र बढाउन निकै परिश्रम गरिन् उनले । मोरङमा बसेर लगभग ३ वर्षसम्म काम गरिन् । जतोतसो जीवन धोनेकै थिइन् तर अचानक उनलाई राजधानी पस्न मन लाग्यो ।

०४८ सालमा राजधानी प्रवेश

छोराछोरीलाइ राम्रो शिक्षा दिने र केही व्यवसाय थाल्ने सोचले उनी ०४८ सालमा राजधानी प्रवेश गरिन् । राजधानी त आइन तर के काम गर्ने भन्ने कुरामा अन्योल थिइन् ।

ललिलपुरको कुमारीपाटीमा डेरा लिएर बस्न थालिन् । शहर न हो, बसेर खाना कहाँ सकिन्थ्यो र । उनले बानेश्वरमा कपडा स्टोर खोलिन् । परिवारले साथ नपाए पनि कामप्रति लगावलाई छाडिनन् । विस्तारै चाइनाबाट कपडा ल्याउँदै बेच्ने काम समेत गरिन् । त्यति मात्र होइन फर्निचर पनि खोलिन् । तर त्यी सब कुरालाई छोडेर फरक व्यवसाय गर्ने सोच उनमा आयो ।

व्यापार गरिरहँदा उनलाई खाना लगाउन त पुगेकै थियो । तर, उनलाई अरुले गरिरहेको भन्दा पृथक व्यवसाय थाल्ने सोच पैदा भयो । उनले सोचिन् ‘घरेलु हस्तकला खोल्छु र कपडा बुन्छु’।

पूर्वका विभिन्न स्थानमा ‘तान’ बाट कपडा बुन्ने प्रचलन अझै छ । अझ लिम्बू समुदायको पुख्र्यौंली पेशा जस्तै हो ‘तान’ बुन्नु । उनले सानो छँदा आमाले घरमा कपडा बुनेको देखेकी थिइन् । उनका घरमा पनि २ वटा ‘तान’ थिए । तर उनलाई राम्रोसँग बुन्न भने आउँदैनथ्यो ।

‘त्यो समय स्वदेशी कपडा लगाइन्थोे, बोजु, आमा, दिदीहरुले घरमै कपडा बुन्नुहुन्थ्यो ।’ विगतलाई स्मरण गर्दै खबरहबसँग कल्पनाले भनिन् ‘घरमा आमाले कपडा बुन्दा टुलुटुलु हेर्थे । आमा नहुँदा खुसुक्क गएर बुन्थेँ तर आमाले गाली गर्नुहुन्थ्यो बिगार्छु भनेर ।’

‘बाल्यकालको सम्झना ताजै छ । अब कपडा बुन्ने पेशा अपनाउनैपर्छ भन्ने अठोट लिएँ ।’ उनले भनिन्, ‘नेपालको परम्परागत व्यवसाय लोप हुँदै जाँदा त्यसलाई बढवा दिनकै लागि पनि मैले कपडा उद्योग खोलेँ । माइतीघरबाट यसका लागि ठूलो साथ–सहयोग मिल्यो ।’

जब महिला उद्यमी बनिन्

०६४ सालमा उनले ‘द हाइल्याण्ड आर्ट’ नामक कम्पनी दर्ता गरिन् । दर्ता त गरिन् तर उनलाई त्यस सम्बन्धी राम्रो ज्ञान थिएन । सुरुमा काम गर्नका लागि निकै गाह्रो भएको उनले सुनाइन् ।

उनी आफ्नो अनुभव सुनाउँदै भन्छिन्, ‘धागो कहाँ पाउँछ, तानको प्रयोग कसरी गर्ने, गाउँमा देखेकाले मात्र कहाँ हुन्थ्यो र फेरि आमा पनि बितिसक्नुभयो, गाउँघरमा पनि तान मासिई सकेका थिए ।’

त्यसपछि उनी कपडा बुन्ने तालिम सिक्नका लागि उपत्यकाभर भौतारिइन् । उनी भन्छिन्, ‘मान्छेले चिताउनुपर्छ पूरा नहुने भन्ने हुदैन’ । अन्ततः उनले सिटिइभिटि ‘टेक्सटायल’अध्ययन गरिन् ।

‘अहिले सिटिइभिटिमार्फत पढेको टेक्सटायल सम्बन्धी विषयमा इन्जिनियर सकेँ, त्यति मात्र होइन सानो छँदादेखिको सोच समाजसेवी बन्ने त्यो पनि गरिरहेकी छु’ कल्पनाले भनिन् ।

त्यो समय उनी जोरपाटीस्थित गोकर्णमा बस्थिन् । आर्थिक अवस्था न्यून भएकाले सहकारी संस्थाबाट १५ हजार ऋण लिएर तान किनेको उनले सुनाइन् । त्यसपछि भने व्यावसायिक रुपमा नै कपडा उद्योगतिर लागेँ ।

द्वन्द्वकालीन समय । विस्तारै उद्योग कलकारखानाहरु विस्थापित हुदैँ थिए । कल्पना भने नयाँ उद्योग स्थापना गर्दै थिइन् । त्यसबेला यो व्यवसाय आफैँमा चुनौतीपूर्ण थियो । चुनौतीका बाबजुत पनि आफूलाई मजबुद र स्थापित गराइन्–कल्पनाले ।

‘एउटा तानमा आफैँले कपडा बुन्थेँ, बुनेको कपडा लगाउने मान्छे कोही हुँदैनथे ।’विगतको समझना गर्दै कल्पनाले भनिन्, ‘दुःख लाग्थ्यो दिनरात नभनि बुनेको कपडा बजारमा नबिक्दा, मन अमिलिन्थ्यो ।’

कतै प्रदर्शनी हुँदा, विदेशी घुम्न आउँदा उनी विभिन्न संघसंस्थाबाट सक्रिय रुपमा ढाकाका कपडा बेच्न पठाउथिन् तर त्यसो गर्दा पनि खासै व्यापार नभएको उनले बताइन् ।

ऋण लिएर खोलेको व्यवसाय यत्तिकै छाड्न पनि नसकिने । छोरा–छोरी पढाउनु पर्ने, घर व्यवहार पनि त्यही तानमा अड्केको थियो । त्यसैले उनले हिम्मत कहिल्यै हारिनन् । एक दिन विश्वबजारमा यही ढाकाको कपडा पुर्‍याउँछु भन्ने अठोटका साथ काममा निरन्तरता दिइन् ।

कल्पना विगतलाई सम्झिन्छिन्, ‘बिर्सिसकेको ढाकालाई फेरि सबैमा सम्झनयोग्य बनाउन रातदिन नभनी १८ घण्टासम्म काम गरेँ ।’

कामको तिर्सनाले भोक प्यासको महशुस गर्न समय हुदैन्थ्यो । मेहनतले उनको पेशा विस्तारै राम्रो बन्दै गयो । १ वर्षको अन्तरालमा कल्पनाले ४ वटा तान किनिन् ।

आर्टमै पनि विभिन्न सीप सिक्न थालिन् । कल्पनाले आफूले सिकेका कुरा कारखानामा अरुलाई पनि सिकाउथिन् । ‘ढाकाबाट कपडा बुन्दा मुख्य कुरा रङ म्याचिङमा ध्यान दिनुपर्छ’ उनले भनिन् । कल्पनाका अनुसार कसलाई कुन रङ सुहाउँछ भन्ने कुरा बुन्ने व्यक्तिले थाहा पाउनु जरुरी हुन्छ । रङ म्याचिङका लागि कल्पनाले अमेरिकाबाट आएका एक रङ डिजाइनरसँग सिकेको बताइन् ।

त्यो बेला उनी ढाकाबाट दौरा–सुरुवाल, साडी मात्र बुन्थिन् । उद्योगलाई राम्रो बनाउने उद्देश्यले उनले व्यवसायलाई अझ परिमार्जन गर्ने सोच बनाइन् । ‘एकल महिला, अशक्त, अपाङ्गता भएका महिलाहरुलाई ढाकाबाट कपडा बुन्ने सीप सिकाउन थालेँ’ कल्पनाले भनिन् ।

सीप सिके पश्चात धेरैलाई उनले आफ्नै उद्योगमा रोजगारीको अवसर प्रदान समेत गरिन् । विस्तारै उद्योगमा कर्मचारी थपिँदै गए । उनले व्यवसायलाई फराकिलो बनाउनका लागि ढाकाबाट बुट्टा भरेर विभिन्न पहिरन बुन्न थालिन् ।

‘काम गर्न सजिलो त कहाँ हुन्छ र त्यसमाथि कपडा बुन्ने काम अन्य काम भन्दा अलि झन्झट नै थियो एउटै कपडा बुन्न ५÷७ दिनसम्म लाग्थ्यो’ कल्पनाले भनिन् ।

कल्पनालाई ढाकाको टुक्रा पारेर बजारमा पुर्‍याउने पहिलो महिलाको रुपमा चिनिन्छ । ढाकालाई विभिन्न टुक्रा पारी बुट्टा बनाएर पहिरनलाई आकर्षक बनाउन सक्ने खुबी छ–उनीमा ।

जब ढाकाको बजार विस्तार भयो

कल्पनाले विस्तारै ढाकाको मार्केट बुझ्दै गइन् । विभिन्न ४० स्थानका ‘फेशन सो’ मा आफूले बुनेका ढाकाका कपडा देखाइन् । त्यसपछि उनले बुनेका ढाकाका कपडाको बजारमा माग बढ्दै गयो । भन्छिन्, ‘अहिले त फिल्ममा पनि कल्पना बुटिकले आर्ट गरेका ढाकाका कपडा प्रयोग हुन्छन् नि ।’ कल्पना मख्ख पर्दै भन्छिन्, ‘चलचित्र ‘छक्का पञ्जा २’ लगायत विभिन्न म्यूजिक भिडियोमा अभिनय गर्नेहरुले मेरै आर्टको कपडा लगाएका हुन् ।’

चलचित्र, म्यूजिक भिडियोमा मात्र नभएर बजारमा अहिले नेपाली ढाकाको माग बढ्दो छ । ‘राष्ट्रपतिज्यू ले त रक्षामन्त्री हुँदादेखि मैले डिजाइन गरेको कपडा लगाउनुहुन्थ्यो त्यति मात्र होइन धेरै कलाकारहरुले लगाएका ढाकाको डिजाइन पनि मैले गरेकी हुँ’ कल्पनाले उत्साहपूर्वक भनिन् ।

अन्तराष्ट्रिय बजारमा माग बढ्दो

अहिले नेपाली ढाकाको माग अन्तराष्ट्रिय बजारमा पनि उत्तिकै छ । मैले बुनेका कतिपय कपडाहरु क्यानडा, अमेरिका, जापानसम्म पुग्छन् । यसैमा गर्ब लाग्छ,–मेरो पेशा र व्यवसायमाथि । उनी भन्छिन्, ‘धेरै मुलुकहरुमा त म आफैँ कपडा लिएर गएकी पनि छु ।’

‘पहिले कपडा किन्नुस् न भन्दा कसैले किन्दैनथे, अहिले अनलाइनबाटै माग आउँछ,’ खुसी हुदैँ कल्पना भन्छिन् । फेसबुकमा अफिसियल पेज बनाएको बताउँदै भन्छिन्, ‘बुनेका कपडाको फोटो त्यो पेजमा हाल्दा त्यहीबाट पनि अर्डर आउँछ ।’

उनको आर्टमा ढाकाबाट कोट, टोपी, टाइ, फेटा, हाते रुमाल, रुमाल, टि-सर्ट, ज्याकेट, पर्स, पर्दा, तन्ना, टेबलपोस, राडीपाखीका खोल, कुर्था, पछ्यौरा, सारी झोला, मोबाइलको खोल, पस्मिनाका सामानहरु, अनारकली, ढाका तागारा, खारीष कोट लगायतका पोषाक तयार हुन्छन् ।

बढिजसो सारी, वनपिस, जुत्ता, सुट पाइन्ट बजारमा जान्छन् भने अन्य पहिरन पनि उस्तै बिक्री भइरहेको उनले बताइन् ।

जनशक्तिको अभाव

ढाका पराम्परागत व्यवसायका रुपमा रहेको र पछिल्ला समय सरकारले नै यसलाई बढावा दिएको उनले बताइन् । उनी भन्छिन्, ‘ढाकाको मार्केट छ, जनशक्ति कम छन्’ कल्पना भन्छिन् ।

सीप सिकेर ढाकाको व्यापार गर्न सकेमा रोजगारीको अवसर सजिलै प्राप्त हुने र नेपाललाई कपडामा आत्मनिर्भर बनाउन सक्ने उनको भनाइ छ । ‘पहिले जस्तो मार्केट छैन भन्नुपर्दैन, त्यसैले यो व्यवसाय थाल्दा राम्रो हुन्छ’ उनले भनिन् ।

अबको योजना

कल्पनाले ‘द हाइल्याण्ड आर्ट’ खोलेर व्यवसाय शुरु गरेको १२ वर्ष भइसक्यो । कल्पना एक कुशल व्यवसायीका साथै ढाकामा दक्षता समेत हासिल गर्न सफल भएकी छिन् । उनले हालसम्म ३ हजारभन्दा बढिलाई सीप सिकाइसकेकी छिन् भने २ सय जनालाई रोजगारी दिएकी छिन् ।

टेक्सटायल सम्बन्धी विद्यालय खोल्ने र ढाका सम्बन्धी पुस्तक निकाल्ने कल्पनाको अबको योजना रहेको छ । पुस्तक निकाल्नकै लागि विभिन्न अनुसन्धान गरिरहेको कल्पनाले बताइन् । उनले बाचुन्जेल यही पेशा सम्हाल्ने बताउँदै अन्य व्यवसायबाट हातधुनुपर्ने अवस्थामा पुगेका व्यवसायीहरु यो क्षेत्रमा लाग्न समेत सुझाउँछिन् ।

प्रकाशित मिति : २५ जेठ २०७६, शनिबार  १० : २२ बजे

माओवादी केस बैठक: साङ्गठनिक अराजकता हटाउनेदेखि आगामी योजनासम्म

काठमाडौँ– पटक पटक सर्दै आएको नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको

बैतडीमा चट्याङ लागेर ३ बाख्रा र एक भैंसी मरे, एक महिला घाइते

बैतडी– बैतडीमा चट्याङ लागेर एक महिला घाइते भएकी छन् ।

बल्खुमा गाडीको ठक्करबाट भारतीय नागरिकको मृत्यु

काठमाडौँ– काठमाडौँको बल्खुमा गाडीको ठक्करबाट भारतीय नागरिकको मृत्यु भएको छ

सात घण्टापछि एकतर्फी सञ्चालनमा आयो दशरथचन्द राजमार्ग

काठमाडौँ– पहिरोले अवरुद्ध बनेको दशरथचन्द राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा आएको

काँग्रेसले मंगलबार बोलायो पदाधिकारी बैठक

काठमाडौँ– नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न पार्टीको पदाधिकारी