विश्लेषकको टिप्पणी– प्रचण्डलाई शक्ति चाहिएको छ ! | Khabarhub Khabarhub

विश्लेषकको टिप्पणी– प्रचण्डलाई शक्ति चाहिएको छ !



काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको आन्तरिक द्वन्द्व अहिले सतहमा आएको छ । पार्टीका दुईजना अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)का परस्पर विरोधी अभिव्यक्तिले एकता प्रक्रियामै असर पर्ने चिन्ता पनि व्यक्त हुन थालेको छ ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली डाभोस सम्मेलनमा सहभागी हुन देश बाहिर रहेका बेला अर्का अध्यक्ष प्रचण्डले भेनेजुएलामा अमेरिकाले हस्तक्षेप गरेको भन्दै कडा शब्दमा निकालेको वक्तव्यले नेकपा भित्र विवाद सिर्जना भएको हो ।

परराष्ट्र मन्त्रालय र नेकपा सचिवालयलेसमेत प्रचण्डकै अभिव्यक्तिलाई ‘साथ दिने’ खालको वक्तव्य जारी गर्दा प्रधानमन्त्री ओलीले भने प्रचण्डको ‘शब्द चिप्लिएको’ बताएका छन् । जसका कारण दुई अध्यक्षबीच दूरी बढेको देखिन्छ ।

‘जनतासँग प्रधानमन्त्री’ नामक कार्यक्रममा प्रधानमन्त्री ओलीले भेनेजुएला प्रकरणमा अनावश्यक वक्तव्यबाजी भएको समेत संकेत गरे ।

ओलीको यस्तो अभिव्यक्तिले प्रचण्ड रुष्ट बनेका छन् । जसको संकेत उनले शुक्रवार राजधानीमा आयोजित एक कार्यक्रममा दिइसकेका छन् ।

शुक्रवार राजधानीमा आयोजित ‘स्थानीय तह सञ्चालन ऐनः न्यायिक समिति, कार्यविधि र प्रक्रिया’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै प्रचण्डले देशमा पुनः द्वन्द्व निम्तिने खतरा रहेको समेत चेतावनी दिए ।

शान्ति सम्झौताका बाँकी कार्यभार पूरा गर्नेतर्फ गम्भीर नभए मुलुकमा भयावह अवस्था आउने चेतावनी दिएका प्रचण्डले सरकार र सरोकारवालाले यसलाई वेवास्ता गरे देशमा माओवादी द्वन्द्व भन्दा ठूलो र भयानक अर्को लडाइँ हुनेतर्फ पनि सचेत गराए ।

‘माओवादीहरुलाई सिध्याइहालियो भन्ने ठानिएको छ भने त्यो दुर्भाग्यको कुरा हुन्छ । अर्काे माओवादी जन्मिन्छ र झन् ठूलो लडाइँ हुने खतरा आउँछ,’ प्रचण्डको भनाइ थियो ।

पूर्वएमालेकै नेताहरुबाट ओली नेतृत्वको सरकारको चर्को आलोचना भइरहँदा बचाउमा उत्रने गरेका प्रचण्डले शुक्रबार भने प्रधानमन्त्री ओलीलाई ‘नाम नलिएरै’ गम्भीर चेतावनी दिएका छन् । यस्तो अवस्थामा नेपालको भावी राजनीति र नेकपाको एकता प्रक्रिया के हुन्छ ? भन्ने प्रश्न उव्जिएको छ । प्रचण्डको भाषणसँगै नेकपाका नेता कार्यकर्ता दुई पक्षमा विभाजित भएर वहसमा केन्द्रित भएका छन् ।

राजनीतिक विश्लेषक अरुणकुमार सुवेदी यसलाई ‘दुई नेताबीचको शक्ति र सत्ता संघर्ष’को रुपमा अथ्र्याउँछन् । प्रचण्ड सत्ता र शक्ति लिन चाहने, तर ओली दिन नचाहने भएका कारण नेकपामा ‘भद्र हानाहान’ भइरहेको सुवेदीको विश्लेषण छ ।

नेकपाका दुई अध्यक्षबीचको ‘भद्र हानाहान’ले समग्र राजनीतिक अवस्थामा असर पुर्‍याउन सक्छ ? खबरहबले नेकपाकै नेता, राजनीतिक विश्लेषक लगायतसँग कुराकानी गरेको छ । प्रस्तुत छ, नेकपाका दुई अध्यक्षबीचको पछिल्लो ‘चर्काचर्की’बारे विश्लेषकहरुकोे प्रतिक्रिया–

 

झलक सुवेदी
वाम विश्लेषक 

एकीकरण प्रक्रिया नटुंगिएकाले नेकपाका दुई अध्यक्ष अलमलमा परेका छन् । एमाले पक्षलाई दवावमा राख्न प्रचण्डले यस्तो अभिव्यक्ति दिएको हुनुपर्छ ।

केपी ओलीले पार्टी र सरकार सञ्चालनमा प्रचण्डसँग सरसल्लाह कम गरेकाले दवाव र असन्तुष्टिका रुपमा यस्तो अभिव्यक्ति आएको हुनुपर्छ ।

संक्रमणकालीन न्यायका सम्बन्धमा पश्चिमा देशले जारी गरेको वक्तव्यको जवाफमा भेनेजुएला प्रकरणमा प्रचण्डको वक्तव्य स्वभाविक हो । यसमा प्रचण्ड, ओली र शेरबहादुर देउवा एकै मत छन् । फसे सबै फस्छन् ।


मुमाराम खनाल
राजनीतिक विश्लेषक

आफूबाट अलग्गिएर अलग पार्टी गठन गरेका नेत्रबिक्रम चन्द (विप्लव) शक्तिशाली बन्दै गएपछि प्रचण्ड एमालेसँग मिल्न गएका हुन् ।

एमालेसँग मिलेपछि आफ्नो कुरा लागू नहुने देखेर प्रचण्ड आफ्नो औचित्य स्थापना गर्ने सोचमा पुगेका छन् ।

पार्टीभित्र सही भूमिका नपाएका कारण प्रचण्डले यस्तो अभिव्यक्ति दिएका हुन् । आफूले प्रधानमन्त्री पद पाउने पनि टुंगो नभएपछि उनमा असन्तुष्टि झन् बढेको देखिन्छ ।


हरिबोल गजुरेल
स्थायी समिति सदस्य, नेकपा

परिवर्तनलाई आत्मसाथ नगर्ने र परिवर्तनमा जान नचाहने शक्ति देशभित्र र बाहिर पनि छन् । यस्तै शक्ति अहिले भड्काउन लागिरहेका छन् । पार्टी अध्यक्ष प्रचण्डले नेपाली जनतालाई जागृत र सजग गराउनका लागि भेनेजुएलाका सन्दर्भमा बोलेको हुनुपर्छ ।

प्रधानमन्त्री कतिपय विषयमा बोल्न उपयुक्त नहुने भएकाले पार्टी अध्यक्षका नाताले प्रचण्डले भेनेजुएला प्रकरणमा आफ्नो वक्तव्य जारी गर्नुभएको हो ।

शान्ति प्रक्रिया टुंग्याउने सन्दर्भमा पार्टी भित्र केही अन्तरविरोध छ । तर, निरन्तर संवाद भइरहेको छ । भेनेजुएलाको सवालमा पनि पार्टीमा छलफल भएकै हो ।


तस्वीरहरु, झलक सुवेदी, मुमाराम खनाल र हरिबोल गजुरेलको फेसबूकबाट लिइएको ।

प्रकाशित मिति : २५ माघ २०७५, शुक्रबार  ८ : १८ बजे

बारम्बार तिर्खा लाग्नु स्वास्थ्य समस्या हुन सक्छ !

काठमाडौँ– अहिले गर्मी मौसम सुरु भएको छ । गर्मीमा पसिना

आईपिएल : ८९ रनमा समेटिएको गुजरातमाथि दिल्लीको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत बुधबार राति भएको

कतै मेघगर्जन र चट्याङसहितको वर्षा, कतै हावाहुरी

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै

काठमाडौं– सरकारले ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ६ गते बुधबार सन्