वृद्धाश्रममा रहेका बुबाआमा भन्छन् – उ बेलाका दशैं सम्झँदा मन बिथोलिन्छ

परिवारबाट टाढा भएपछि केको चाडपर्व ?

सविना कार्की

सोमवार, असोज २०, २०७६

Reading Time: 6 minutes

वृद्धाश्रममा रहेका बुबाआमा भन्छन् – उ बेलाका दशैं सम्झँदा मन बिथोलिन्छ

काठमाडौं – बजारमा दशैंको माहोल तातिसकेको छ । युवाहरु परदेशदेखि दशैं मनाउन छुट्टि लिएर स्वदेश आइसकेका छन् । स्वदेश मै हुनेहरु पनि दशैं मनाउन गाउँघर तिर गइसके ।

जताततै दशैंले छोएको छ । यो दशैं वृद्धाश्रममा रहेका आमाबुबालाई कसरी लाग्छ भने हामी बुझ्न पुग्यौं । तर, त्यहाँ कुनै दशैंको चहलपहल थिएन । न त बाहिरको आवाज नै । चारैतिर सुनसान बुबाहरु पुर्पुरोमा हात लगाउँदै बसिरहेका थिए भने आमाहरु कपासबाट बत्ती काट्दै सिढीमा टुसुक्क बसिरहेका ।

अनुहार मुजा परिसकेका थिए । कपाल सेतै फुलेका । मुहार मलिन थियो । सायद दशैं आउनु र परिवारबाट टाढा हुनुकै कारण पनि उनीहरुको चेहेरा हसिलो थिएन ।

चाडपर्व नआइदिए पनि हुन्थ्यो झै गर्छन् उनीहरु । जो सन्तानबाट टाढा छन् बाल्यकालको पललाई सम्झँदै वर्षेनि दशैं बिताइरहेका छन् पशुपति वृद्धा आश्रमका बुबाआमाहरु । उनीहरु विगतका दशैंलाई झलझली सम्झन्छन् ।

चाडपर्व आउँदा आँखा कहिल्यै ओभानो हुँदैन गोरखाकी जानुका अगस्तीको । झन दशैंको समझना आउँदा त उनी भक्कानिन्छन् ।

‘असोजको महिना, तालुपोल्ने घाम,दशैं आइसक्यो है नानी,’ मायालु स्वरमा उनले भनिन्, ‘बाहिर तिर दशैंको हल्ला छ होला यहाँ त सुनसान छ।’ उनको शब्दमा निराशा त थियो नै । अझ अनुहारको मलिन उस्तै ।

‘उ बेला त गाउँघरमा दशैं आयो भने नयाँ लुगा लगाउन पाइन्छ भन्ने आशा हुन्थ्यो, परिवार ठूलो थियो, सबैलाई लुगा किन्न मुस्किल नै पथ्र्यो उनले बाल्यकाललाई कोटाउन थालिन् ।

त्यो गुनिउ चोली

बाल्यकालको सम्झना उनको मानसपटलमा ताजै छ अझै । उनी ती दिनहरुलाई सम्झिदा पनि खुसी लाग्ने बताउँछिन् ।

‘बुबाले गुनिउ चोली किनेर ल्याइदिन्थे, म निकै खुसी हुन्थें’ कुराकानीका क्रममा जानुकाले खबरहबसँग भनिन्, ‘दिदीबहिनीलाई लगेको लुगा नि म लगाउथें।’ हुन त बाल्यकाल सबैको खुसीमय नै हुन्छ ।

कहिले दशैं आउला र पिङ खेल्न पाइएला झै लाग्थ्यो जानुकालाई । तर ती दिनहरु आज जानुकाका लागि सपना जस्तै बनेका छन् । उनी विगत केही वर्षदेखि पशुपतिको आश्रममा नै दशैं मनाइरहेकी छिन् ।

‘आश्रमको दशैं त के दशैं’ आँखाभरी आँशु बनाउदै जानुकाले भनिन्, ‘दशैं नआवोस् जस्तो लाग्छ मलाई त, वर्षेनि रुवाउन आइरहन्छ दशैं।’

आश्रमकै सिढीमा बसेर बत्ती काटिरहेकी दोलखाकी ८७ वर्षीया सन्तकुमारी उप्रेतीलाई चाडपर्वको महत्व नै लाग्दैन ।

‘जति रमाइलो गर्नु थियो बाल्यकालमै गरियो’ निराश हुदैं उनले भनिन्, ‘न कोही आफन्त छन् न त परिवार नै हामीलाई चाडपर्वको के महत्व।’

१२ वर्षअघि आश्रम आइपुगेकी सन्तकुमारीका४ दाजुभाई थिए सबै बितिसकेको बताउछिन् । ‘सानै उमेरमा बिहे भयो, रोजगारका लागि परदेशीयका श्रीमानले उतै दास्रो विवाह गरेर बसे’ उनले दुखेसो पोखिन् ‘न माइती छन् न त परिवार नै।’

घरमै लुगा सिलाएर लगाइन्थ्यो

नुवाकोटका पुजेबहादुर थापाका दिमागमा ती दिनहरु आजपनि ताजै छन् । जब दशैंको उमंग र खुसीले गाउँभरि छाउँथ्यो तब उनका बुबाआमाले हातैले सिलाएका दौरा सुरुवाल तयार पारिदिन्थे ।

‘त्यो बेला गाउँभरि सबैले हातले नै सिलाएर लगाउने त हो नि’ बाल्यकाल सम्झँदै उनले भने ‘अहिलेजस्तो जस्तो टेलर र मेसिन कहाँ पाइन्थ्यो र।’

३० वर्षअघिसम्म पनि कहिले दशैं आउला र घरमा परिवार जम्मा होलान् भन्दै चाडपर्वलाई कुरेर बस्थे उनी । तर १० वर्षदेखि उनी ती विगतलाई सम्झेरै आश्रममा दशैं बिताइरहेका छन् ।

‘ती दिनहरु सम्झिँदा पनि सम्हाल्न गाह्रो हुन्छ’ कुराकानीका क्रममा उनले भने ‘रातभरि ढिकीमा धान कुटेर चामल बनाइन्थ्यो, जातोमा पिठो पिसिन्थ्यो त्यति मात्र होइन गाउँभरि बाबियो संकलन गर्दै पिङ हाल्न कुदिन्थ्यो।’

‘गाउँघरमा हुँदा चाडपर्वमा साह्रै रमाइलो हुन्थ्यो’ सम्झँदै थापाले भने ‘थालीभरी अक्षता साथमा जमरा राखिन्थ्यो’ कुरा गर्दै उनी अड्किए । ‘मेरा हातबाट टिका थाप्न र आर्शिवाद लिन गाउभरिका मान्छे जम्मा हुन्थे नि नानी।’

विगतका दिनमा आर्शिवाद लिन प्रशस्त मानिसहरु पुनेबहादुरका घरमा आएपनि केही वर्षयता उनी पशुपतिको आश्रममा दशैं मनाइरहेका छन् । अहिले न त आफन्त आउँछन् उनका हातबाट टिका थाप्न न त परिवार नै ।

हरेक दशैंमा उनी परिवार र आफन्तलाई सम्झेर बस्छन् तर पुनेबहादुरका हातबाट टिका थाप्न कोही फर्केर आउँदैनन् ।

एक छाक मासु खाना दशैं कुर्नुपथ्र्यो

‘एक छाक मासु खानालाई दशैं नै कुर्नुपथ्र्यो उ बेला त’ नुवाकोटका८१ वर्षीया धनबहादुर तामाङको अनुभव हो यो । उनीलाई राम्रैसँग याद छ पेटभरि चिउरा खाना दशैं कुरेर बसेको ।

‘अहिलेजस्तोछाक नै पिच्छे मासु खाने चलन पनि थिएन बल्ल बल्ल दशैंमा एक छाक भैसीका मासु खाइन्थो’उनले भने ‘ति दशैं निकै रमाइला थिए।’ तर अहिले दशैं मनाउने चलन नै फरक बन्दै आयो ।

अहिले दशैं आएसँगै गाउँघरको सम्झनाले छात्ती पोल्न थाल्छ उनलाई । दशैंमा गाउँभरी भैंसी, राँगा र कुखुरा काट्ने घरमै रक्सी बनाउने र धुमधामले चाड मनाउने गर्थे उनका परिवारले ।

परिवारबाट एक्लो बनेपछि गाउँकै एक व्यक्तिले पशुपति स्थित आश्रमसम्म ल्याएर छोडिदिए उनलाई । ‘म त यहाँ आएको १५ वर्ष पुगिसक्यो’ हातका औंलाको इशारा गर्दै उनले भने ‘यहाँ आएदेखि के दशैं के तिहार।’

साना बालबालिकालाई राम्रो लुगा लगाउने चाहना भएजस्तै बुढेसकाल लागेका वृद्धवृद्धालाई मिठो मसिनो खाने रहर त हुन्छ नै। तर त्यो रहर पनि आश्रमलेपूरा गर्न नसकेको उनी बताउँछन् ।

‘गाउँघरमा दशैंमा प्रशस्त मात्रामा मासु खाना पाइन्थ्यो’ खबरहबसँग कुरा गर्दै उनले भने ‘आश्रममा त ४ वर्ष भयो माछा मासु देख्न पाइदैँन।’ चाडपर्वमा मात्र होइन अन्य समयमा पनि आश्रम शाकाहारी बन्दै गएको भन्दै उनीहरुले गुनासो समेत पोखे ।

भर्खर

0