साबित्राका लागि फुटबल नै दशैं ! | Khabarhub Khabarhub

साबित्राका लागि फुटबल नै दशैं !



काठमाडौं – गाउँबाट टाढा रहेका दाजु भाइसँग भेट हुने मौसम हो, दशै‌ं । दशैंमा कामको खोजिमा विदेशमा रहेका दाजुभाइ दिदीबहिनिहरु नेपाल फर्किन्छन् । कामका लागि गाउँबाट टाढा रहेकाहरु गाउँ फर्किन्छन् ।

यहिँ समय हो लामो समयसम्म टाढिएका मानिसहरुबीच भेटघाट हुने । तर, कति बाध्यताले दशैंमा गाउँ जान पाउँदैनन् । यसअघिका दशैंमा सधै गाउँमा रमाइलो गरेकी नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी सावित्रा भण्डारी ‘साम्बा’ भने यो दशैंमा घर नजाने योजनामा छन् ।

काठमाडौं र पोखरामा हुने १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताको बन्द प्रशिक्षणमा रहेकी सावित्रा यो दशैंमा अभ्यासमा रहेका कारण घर नजाने बताउँछिन् ।

तर, उनलाई यसअघिका दशैंका सम्झनाले भने झस्काउने छ । तीनै सम्झनालाई मनमा राखेर उनी दशैंका दिन काट्ने लक्ष्यमा छिन । सावित्राको घर लमजुङको पाँमचोकमा छ । पाँमचोकमा दशैं मनाउँदा निकै रमाइलो हुने गरेको उनको अनुभव छ ।

दशैंका बेलामा गाउँका क्लबहरुले विभिन्न किसिमका सांस्कृतिक कार्यक्रमको पनि आयोजना गर्छन् । त्यसमा हुने रमाइलो सावित्रा अहिले पनि सम्झिन्छन् । यो दशैंमा उनले ती सबै सम्झनालाई याद गर्नेछिन् ।

सावित्राको यो सहित दोस्रो दशैं घर बाहिर मनाउँदैछिन् । अघिल्लो बर्ष पनि उनले काठमाडौं मै दशैं मनाईन ।

‘अघिल्लो बर्ष ३ दिनको विदा थियो । तर, बसको टिकट पनि पाइएन । काठमाडौं अरुबेला जस्तो कोलाहल पूर्ण हुँदैन रैछ । शुनसान हुन्छ । त्यसैले पनि अलि अमिलो लाग्यो,’ सावित्राले अघिल्लो बर्षको अनुभव सुनाइन् ।

‘मैले प्रायजसो सबै दशैं घर परिवार सँगै मनाएकी छु । तर, अघिल्लो वर्षको दशैं घर बाहिरै भयो । यो वर्ष पनि दशैं घरमा मनाउन पाउँदिन्,’ सावित्राले भनिन्, ‘यो बर्ष पनि यस अघिका मिठा सम्झनालाई सम्झँदै दशैं बित्नेछ ।’

दशैं घर परिवारसँग टाढा रहेर मनाउँदा खल्लो हुने गरेको सावित्राको भनाई छ । घर जाँदा आमाबुबा सँग बसेर सुख, दुःख साट्न पाउँदा आनन्द महसुस हुन्छ । तर, त्यो नहुँदा दुख लाग्ने गरेको उनको अनुभव छ ।

सानोमा हुँदा दशैंको छुट्टै आनन्द आउने गरेको उनको अनुभव छ । ‘दशैं भन्ने वित्तिकै नयाँ लुगा किन्ने समय, मिठो मिठो खानेकुरा र गाउँबाट टाढा रहेका आफन्तसँगको भेटघाटका रुपमा लिइन्छ,’ सावित्राले भनिन्, ‘त्यतिबेला दक्षिणाको पनि बढी महत्व हुन्छ । त्यतिबेला घरमा भन्दा बढी दक्षिणा मामा घरमा पाइन्छ भन्दै मामा घर गइन्थ्यो ।’

आफ्नो बालापनलाई सम्झिँदै सावित्रा भन्छिन्, ‘त्यतिबेला दक्षिणा यति हुन्थ्यो भन्ने नै छैन् । सय–पचास यस्तै हुन्थ्यो । त्यो पनि त्यति बेला धेरै हुन्थ्यो । दिदी र मेरो दक्षिणा धेरै तलमाथि हुन्थ्यो । पछि म पनि आफुसँगै बहिनीलाई लिएर हिड्थे । त्यस्तो गर्दा बहिनीलाई भन्दा धेरै मलाई दिन्थे ।’

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले दशैंमा बन्द प्रशिक्षणमा रहेका खेलाडीका लागि ५ दिनको विदाई दिइसकेको छ । तर, पनि सावित्रा घर नजाने बताउँछिन् । किन त ? सबै गाउँ फर्किन्छन् ? भन्ने प्रश्नमा उनी भन्छिन्, ‘मैले सागमा नेपाललाई स्वर्ण जिताउँन सके भने मेरा लागि मंसिर नै दशैं हुन्छ । त्यो गोल्ड नै दशैं हुन्छ ।’

मिठो बोल्ने र स्पष्ट वक्ता सावित्राले यसअघिका दशैंलाई निकै आनन्दित बनाउँथिन् । सावित्रा खेलाडी हुनु अगाडिको आफ्नो दशैं निकै विन्दास हुने गरेको बताएकी छन ।

‘दशैंमा म अरु केटीहरु जस्तो एक ठाउँमा बस्यो पुग्यो भन्ने खालको थिइन्,’ उनी विगत सम्झन्छिन्, ‘दशैंमा म केटाहरुको जस्तै खुडा बोकेर खसि, बोका काट्न जान्थे । मैले कति पटक काटेकी पनि छु । शुरुमा काट्नु हुँदैन भन्थे तर, म कसैको कुरा मान्दिनथे ।’

साथिहरुसँग पिङ, खेल्नु राम्रो–राम्रो खाने कुरा खानु उनका लागि रमाइलो लाग्ने कुरा भएनै । त्यसबाहेक दशैंमा बुबाले किनिदिएको लुगामा पनि दशैं राम्रो लाग्ने गरेको सावित्रा सुनाउँछिन् ।

तर, जबदेखि उनी राष्ट्रिय फुटबल टोलीमा अटाइन् त्यसपछि भने उनको दशैं समेत केही परिवर्तन भयो । अहिले उनले खसि बोका काट्नु छाडेकि छन् ।

उनी घर पुगेपछि गाउँ भरीका मानिसहरु उनलाई भेट्न घरसम्मै आउँछन् । सबैले शुभकामना दिन्छन् । आफ्ना सन्तानलाई फुटबलमा लगाउने माध्यम के होला भन्दै सल्लाह गर्छन् ।

‘मेरो अहिलेको दशैं धेरै परिवर्तन भइसक्यो । पहिलेको जस्तै खुलाभएर हिँड्न पनि नमिल्ने ! गाउँमा जाँदा पनि भेट्नेजति सबैले फुटबलकै कुरा गर्छन् । मेरा लागि त फुटबल नै दशैं हो जस्तो लाग्छ,’ साबित्रा भन्छिन् ।

प्रकाशित मिति : २० आश्विन २०७६, सोमबार  ११ : १५ बजे

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

आज २०८१ साल वैशाख १४ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना