अमेरिकाको बिलासी जीवन छाडेर बाख्रा पालनमा रमाएका वीरभद्र

व्यवसायिक बाख्रा पालन गर्ने पूर्वप्रधानमन्त्रीका छोरा भन्छन् : आफ्नै व्यवसाय गरे देश आत्मनिर्भर हुन्छ

सविना कार्की

बुधबार, साउन २२, २०७६

Reading Time: 10 minutes

अमेरिकाको बिलासी जीवन छाडेर बाख्रा पालनमा रमाएका वीरभद्र

काठमाडौं-प्रधानमन्त्री तथा मन्त्रीका छोराहरुको क्षेत्र प्रायः राजनीति नै हुन्छ । अन्य पेशा र क्षेत्रमा भएका पनि विस्तारै राजनीतितर्फ आकर्षित हुन्छन् । बुवाको उत्तराधिकारीका रुपमा काम गर्न फरक पृष्ठभूमिबाट राजनीतिमै फर्कने चलन पनि छ । तर प्रधानमन्त्री बनेर देश सञ्चालनको बागडोर सम्हालेका व्यक्तिका छोराछोरी कृषि पेशामा रमाउँदै राम्रो आम्दानी गरेर सन्तुष्ट रहेको खबर धेरैलाई नयाँ र नौलो लाग्नसक्छ । यस्तै छ वीरभद्र आचार्यको जीवन । पूर्वप्रधानमन्त्री टंकप्रसाद आचार्यका कान्छा छोरा वीरभद्रले बाख्रा पालनलाई आफ्नो व्यवसाय बनाएका छन् ।

विगत ४ वर्षदेखि नवलपरासीको गैंडाकोटस्थित आफ्नो फार्म हाउसमा पशुपालन व्यवसायमा रमाएका उनी दिनभर बाख्रासँगै घुलमिल भएर बिताउने गर्छन ।

बुबा टंकप्रसादको सोच विपरीत बाख्रा पालन व्यवसायमा रमाएको बताउने वीरभद्र जागिरे जीवन तथा ऐसआरामको शक्तिशाली राष्ट्र अमेरिकाको बसाई भन्दा नवलपरासी गैडाकोटको जीवनलाई नै स्वर्ग ठान्छन् ।

देशलाई आत्मनिर्भर बनाउन सबै जिम्मेवार हुनुपर्ने धारणा राख्ने उनी सीप भएका र पढेलेखेका व्यक्ति विदेश गएको देख्दा दिक्क लाग्ने बताउँछन् । भन्छन्, ‘अब देश बनाउन पढेलेखेका व्यक्ति र सीप भएका व्यक्तिले देश मै केही गर्नुपर्छ । काम सानो ठूलो हुँदैन । देशमा उत्पादन भएको जनशक्तिले स्वदेशमै काम गर्ने वातावरण बनेमात्र मुलुक आत्मनिर्भर र समृद्ध बन्छ ।’ ‘कृषिप्रधान देशका रुपमा नेपाललाइ चिनिन्छ, तर सम्पूर्ण जग्गा जमिन बाझो बन्दै गएको छ,’ उनले भने ‘काम गर्नेहरु पनि विदेशतिर भौतारिरहेका छन् ।’

पुशपालन व्यवसायमा रमाएका वीरभद्र वि.स. २०१६ सालमा काठमाडौंमा जन्मिए । बच्चैदेखि चञ्चले स्वभावका उनको खेदकुदमा बढी रुची थियो । ‘मैले स्युमिङ गर्दा माथिबाट सबैले छक्क परेर हेर्थे’ उनले बालकपनलाई कोट्याउँदै भने ।

कसैको बन्धनमा बाधिन नचाहने वीरभद्र निरन्तर पढिरहँदा पनि बन्धनमा बाधिएँको महशुस गर्थे । पढ्नमा थोरै र अनुसन्धान गरेर नयाँ कुरा पत्ता लगाउनमा उनको रुचि धेरै थियो ।

एसएलसी पछि व्यवस्थापन विषय लिएर उच्च शिक्षा हासिल गरेका उनले स्नात्तक र स्नात्तकोतर तहसम्म मार्केटिङ विषय पढे । उनले २४ वर्षमा आफ्नो पढाइलाई भने बिट मारे ।

शहरमा जन्मिएका उनी सानैदेखि गाउँघरलाई नै प्यारो मान्थे । भन्छन्, ‘घरमा हुँदा बुबालाइ भेट्न धेरै मानिसहरु आइरहन्थे, ‘के गर्ने’ कसो गर्ने ? कसरी अघि बढ्ने भन्ने कुराको छलफल भइरहन्थ्यो, बुबाको पलङको पछाडी बसेर सुनिरहेको हुन्थेँ म चाहिँ ।’ त्यसकारण सानैदेखि उनी सोच्ने गर्थे, ‘बुबाको जसरी अघि बढेर हुदैँन, मैले देशमा केही नयाँ काम गर्नुपर्छ ।’

‘राजनीति त बुबाबाटै देखेको थिएँ मैले’ खबरहबसँग कुरा गर्दै उनले भने ‘त्यसैले पनि समाजमा मेरो योगदान बुबाको भन्दा फरक होस भन्ने चाहना थियो ।’

स्नात्तकोतर तहको अन्त्यसँगै सन् १८८४ मा उनी अमेरिका पुगे । त्यहाँ गएर ‘पब्लिक एडमिनिस्टेशन’ मा भर्ना भए । अमेरिकामा भौतिक सुख महशुस भएपनि अमेरिकी वातावरणले उनलाई रत्याउन सकेन ।

‘ज्यान अमेरिकामा थियो मन कहाँ कहाँ गाउँमा हराउँने गथ्र्यो । त्यही भएर होला अमेरिका बसाई लामो भएन,’ प्रफुल्ल हुँदै भने ।

अरुलाई देखाउन अमेरिका रमाइलो भएपनि भोग्नेका लागि रमाइलो नहुने स्मरण सुनाएका उनी भन्छन्, ‘अमेरिकामा बसेर पढ्नु र जागिर खानु अरुले हेर्दा निकै ठूलो उपलब्धी गरेको ठानिन्छ । मलाई त्यो ठीक लागेन । इन्ड्रोल गर्न गएको थिएँ १ वर्षमै सके अनि स्वदेश फर्किँए ।’ ‘काठमाडौं बस्दा त गाउँ मनपर्ने मान्छेलाइ अमेरिकामा बस्न के रमाइलो लाग्थ्यो’ मुस्कुराउँदै उनले भने ।

जागिरका लागि आएका प्रस्तावमा पनि गाउँमा जान पाउने भए जागिर खान्छु भन्ने प्रस्ताव गर्ने गरेको उनले सुनाए । काठमाडौं केन्द्रित जागिरका प्रस्तावलाई अस्वीकार गरेको अनुभव उनले सुनाए ।

अमेरिकाबाट काठमाडौं फर्किएपछि उनले ‘स्मल स्केल बिजनेश प्रमोशन प्रोजेक्ट’ मा काम गरे । उनका अनुसार त्यो जर्मन प्रोजेक्ट थियो । विशेषगरी व्यापारलाई प्रोत्साहन गर्ने हिसाबले २ वर्ष सोही संस्थामा काम गरेको उनले बताए ।

‘मार्केटिङ गराउनका लागि तालिम दिने’ ‘कन्सल्टेन्सी हेर्ने’ लगायतका सबै काम वीरभद्रले गर्थे । भन्छन्, ‘१ वर्ष बुटवल, १ वर्ष नारायणघाट बसेर काम गरेँ ।’

त्यसपछि कृषि विकास बैंकमा जागिरे भएका उनले प्रोजेक्ट बेसका सबै काम छाडे ।

लामो भएन बैंकको जागिर

दुई वर्ष विदेशी प्रोजेक्टमा काम गरेर कृषि विकास बैंकको जागिरे भएका वीरभद्रका लागि बैंकको जागिर पनि त्यति लामो भएन । उनी बैंकमा म्यानेजमेन्ट एक्स्पर्ट भएर गएका थिए । बैंकको जागिरे अनुभव सुनाउँदै उनले भने, ‘म कृषि विकास बैंकमा म्यानेजमेन्ट एक्स्पर्ट भनेर गएको तर, जागिर ऋण अधिकृतको पाइयो,’ उनले भने, ‘ऋणका लागि अनुगमनलगायतका काम गर्न फिल्ड जानुपर्ने भएकाले त्यो पनि मेरो रोजाइकै क्षेत्र बन्यो ।’ ऋणको कामका लागि धेरै जिल्लामा गएका उनका लागि बैंकको जागिर पनि दुई वर्षभन्दा लामो भएन ।

बैंकको जागिर छोडेर वीरभद्र ‘फ्रील्यान्स म्यानेजमेन्ट कन्सलटेन्ट’ का रुपमा काम गरे । गैर सरकारी संस्थाको कामको मूल्यांकन गर्ने जिम्मेवारी पाएका उनले संस्थामा काम गर्ने कर्मचारीलाई स्टाफ ट्रेनिङ, गाउँमा विभिन्न सीप विकास तथा क्षमता विकास तालिम प्रदान गरे ।

धेरै संघसंस्थाहरुसँग काम गरेको अनुभव साट्दै खबरहबसँग उनले भने ‘त्यही कामको शिलशिलामा ७० वटा जिल्ला घुमेँ । यो घुमाईसँगै नयाँ खोज तथा अनुसन्धान गर्ने मेरो चाहना विस्तारै बढ्दै गयो ।’ ‘फ्रील्यान्स म्यानेजमेन्ट कन्सलटेन्ट’का रुपमा उनले धेरै वर्ष काम गरे ।

कामकै शिलसिलामा नवलपरासी पुगेका बेला ०५४ सालमा उनले १ बिघा जमिन किनेका थिए । आफ्नै काम गर्नुपर्छ भन्ने सोचका कारण जग्गा किनेको उनले बताए।

‘हाम्रो देशको मुख्य स्रोत भनेको पानी, जमीन, जंगल र पशुधन हो’ उनी भन्छन्, ‘यस्ता स्रोतलाई परिचालन गर्नुपर्छ समाजमा केही न केही योगदान पुर्‍याउनुपर्छ भन्ने सोच थियो। विस्तारै पूरा गर्दैछु।’

कृषिप्रतिको मोह

५ वर्षअघिसम्म वीरभद्र थुप्रै जिल्ला घुमे । कृषिमा नयाँ वस्तु उब्जाउनु उनको लक्ष्य थियो । कृषिप्रधान देश नेपालको जीडीपीमा कृषि क्षेत्रको योगदान कसरी बढाउँन सकिन्छ भन्ने सोच राखेर उनी किसानसँग नजिक भएर काम गर्न चाहन्थे ।

विस्तारै कृषिसँग जोडिएका उनले थाहा पाए । जमीन र श्रम गाउँमा छ, प्रविधि र पैसा शहरमा । यसको उचित व्यवस्थापन ठूलो चुनौती हो भन्दै उनी गाउँमै गएर केही गर्नुपर्छ भन्ने सोचका साथ काम गर्न थाले ।

पढ्नका लागि विदेश जाने नफर्कने तथा सबैलाई विदेशकै मोह बढ्ने भएकाले नेपालीका लागि कृषि टाढा र अन्तिम विकल्पको पेशा बन्यो । यसलाई सबैले आत्मसाथ गराउनका लागि बुझेका मान्छे यो पेशामा लाग्नुपर्छ भन्ने बुझाई वीरभद्रको छ ।

उत्पादन मुखी काम गर्ने सोच राखेका उनले खिन्न हुँदै भने, ‘सबै क्षेत्रमा पहुँच पुर्‍याउने गरी काम गर्न सकिएन। जसका कारण कृषि उत्पादनमा काम गर्छु भन्ने सोचलाई अहिलेसम्म पूरा गर्न सकेको छैन्।’

आचार्य फार्ममा रहेको ब्रोयर जातको बाख्रा

पशुपालनबाट पाएको खुसी

ती दिनहरु सम्झँदै उनी भन्छन्, ‘अब के गर्ने होला भन्ने कुराले पिरोलिरहेको थियो त्यसै बेला बुबाको साथीको छोरा अस्ट्रेलियाबाट आएछ ।’
ऊ पनि केही गरौँ कि भन्ने सोचले स्वदेश फर्केको रहेछ मैले मेरो सोच सुनाएपछि मेरो कुरामा समर्थन भइहाल्यो । वीरभद्रलाई ढुंगा खोज्दा देवता मिले जस्तै भयो ।

त्यसपछि उनी बाख्रापालन व्यवसाय शुरु गर्ने सोचका साथ आवश्यक ज्ञान र सीपका लागि अनुसन्धानमा केही महिना खटे । अन्ततः नवलपरासीको गैंडाकोट नगरपालिका वडा नं १३ मा व्यवासायिक रुपमा बाख्रापालन थाले ।

सुरुवाती चरणमा उनले नेपालभित्रै पाइने बाख्राहरु ल्याए र व्यवसाय थाले । शुरुमा ३५ वटा बाख्राबाट थालिएको व्यवसायले सन्तोषजनक फाइदा दिएन । एक वर्ष पालेको बाख्रा ३५ किलो पुगे फाइदा हुने त्यहाँ भन्दा कम भए फाइदा नहुने थाहा पाएपछि उनले त्यसको नश्ल सुधार गर्न आवश्यक देखे । भन्छन्, ‘इम्ब्रिडिङले गर्दा साइज नबढ्ने रहेछ । १ वर्षमा २५ किलो मात्र भयो । ३५ किलो नभई फाइदा नै भएन ।’

ती बाख्राबाट फाइदा नभएपछि उनले अन्तर्राष्ट्रिय रुपमै अनुसन्धान थाले । उनले त्यसपछि अस्ट्रेलियाबाट बोयर बाख्रा ल्याए । ब्रोयर बाख्राको उत्पतीको इतिहास पनि उनले गज्जब रुपमा सुनाए । वीरभद्र भन्छन्,‘१ सेन्चुरीतिर दक्षिण अफ्रियाका दक्ष किसानलाई बोर भनिन्थ्यो । उनीहरुले व्यवसाय गरेर यी जातका बाख्राको विकास गरेको भएर नाम नै ‘बोयर’ राखिएको हो ।’

उनलाई पनि बोयर जातका बाख्रा ल्याउने उत्सुकता जाग्यो । दक्षिण अफ्रिकाबाट नेपालको पोर्टिगल नभएको कुरा उनले सुनाए ।

किनभने बिरामी पनि आउन सक्छ, पोर्टिगल छैन । पशुको स्वास्थ्य अवस्था अष्ट्रेलियामा जस्तो राम्रो कही पनि नहुने भएको थाहा पाएपछि उनले अस्ट्रेलियाबाट ल्याए । ‘नेपालको पोर्टिगल अहिले अष्ट्रेलियासँग छ’ उनले भने ।

नयाँ जातको बाख्रा भित्र्याउनु सजिलो नरहेको भन्दै उनले भने, ‘पहिले हामीले ३५ वटा लोकल बाख्रा शुरु गरिसकेका थियौँ । त्यसलाई क्रस बेस्ट बनाउन १७ वटा (बाख्रा र बोका) बोयर बाख्रा ल्यायौँ । त्यसको २ वर्षपछि २० वटा मगाऔँ । भर्खरै २८ वटा मगाएका छौं । अहिले राम्रो छ ।’

क्रस बेल्ट गरेर अगाडी बढ्ने क्रममा अहिलेसम्म उनको फार्ममा ३ सयभन्दा बढी बाख्रा छन् । अष्ट्रेलियाबाट ल्याएको माउ र बोकाबाट बोयर बाख्रा उत्पादन गर्ने गरेको उनले बताए ।

‘१८ देखि २० महिनाभित्र १ सय ३० देखि ५० किलोसम्म पुग्छन्’ बाख्राको बारेमा बताउँदै उनी भन्छन् ‘एक सय ३० केजीको बाख्रा २ लाख ६० हजारसम्ममा ल्याउँछौँ। ‘

स्वच्छ र सुन्दर ठाउँको कृषि कर्मले जति अरु कुराले मनमा शान्त नमिल्ने उनको अनुभव छ । भन्छन्, ‘नेपालका ७० जिल्लामा पुगेँ त्यति मात्र कहाँ हो र अमेरिका पनि पुगेँ यति खुसी कही मिलेन ।’

गैंडाकोटको नारायणी नदीको आसपासमा थालेको व्यवसायबाट मिलेको सन्तुष्टि कुराकानीका क्रममा उनको अनुहारमा छर्लङ्ग देखिन्छ ।

समाजमा केही न केही योगदान पुर्‍याउनु पर्छ भन्ने सोच भएका उनी विस्तारै अन्य स्थानमा पनि व्यवसाय गर्ने सोचमा छन् । अहिले ४८ जिल्लामा बोयर बाख्रा पुगिसकेको बताउँदै उनले अरु कुन ठाउँमा काम गर्न सकिन्छ भन्ने विषयमा अध्ययन भइरहेको बताए ।

एउटा बाख्राका लागि ५ केजी सम्म घाँस चाहिने उनले सुनाए । ‘३ सय वटा बाख्राका लागि दैनिक १ दशमलव ५ मेट्रिक टन घाँस चाहिन्छ’ उनले भने । आफुसँग भएको १ विघा जमीनलाइ विभाजन गरेका वीरभद्रले १० कठ्ठामा खोर बनाएका छन् भने १० विद्या जमीन भाडामा लिएका छन् ।

बाख्रालाई खुवाउने घाँसका लागि प्रशस्त जग्गा छैन उनीसँग । बाख्राका लागि डाले घाँस, भुँइ घास, सिजनल, कोसे घास र परालको व्यवस्था गरेको उनले बताए । त्यसका लागि अझै जग्गा चाहिने भएकाले फेरि जग्गा भाडामा लिनुपर्ने अवस्था आएको बताए ।

२ परिवारलाई रोजगारी

उनको बाख्रा फार्ममा विकट क्षेत्रमा दुःख पाएका मानिसलाई काम दिने योजना छ । त्यही क्रममा उनले हुम्लाको दुई परिवारलाई काम दिएका छन् ।

रोजगारीसँगै दुई परिवारका सन्तानलाई शिक्षाको व्यवस्था पनि गरेका छन् । उनको बाख्रा फार्ममा अन्य ११ जना सञ्चालक छन् ।

युवाले पशुपालन गर्नुपर्छ

४ वर्षदेखि बाख्रापालनमा रमाएका वीरभद्र युवा पुस्ताले यो पेशा अँगाल्नुपर्ने बताउँछन् । नेपाली युवा बाध्यकारी कामका लागि विदेश जानुपर्ने अवस्थाको अन्त्यका लागि युवा पुस्ताले बाख्रापालनसहितका पेशा अँगाल्नुपर्ने उनको सुझाव छ । त्यति मात्र होइन कृषि क्षेत्रमा नेपाललाई आत्मनिर्भर बनाउन युवाको उल्लेख्य भूमिका रहने उनको बुझाई छ ।

‘बाख्रा पालन सम्बन्धी जानकारी लिनेहरुका लागि हामीले सम्पर्क गर्नुस् भनेका छौँ’ उनले भने ‘अहिलेसम्म ८० जनाले त हाम्रो फार्ममा आएर बोयर बाख्राका बारेमा जानकारी लिएर समेत गइसकेका छन्।’

उनका अनुसार धेरै युवाहरु विदेशबाट फर्कने क्रममा सिधैँ गैंडाकोटस्थित आचार्यको फार्ममा पुगेर फार्मका बारेमा विस्तृत रुपमा जानकारी लिएर घर जाने गरेका छन् । त्यस्ता युवालाई नयाँ रुपमा आधुनिक बाख्रा पालन गर्न सुझाव दिने गरेको उनले सुनाए । ‘सबैले व्यवसायीक काम गरे आत्मनिर्भर बन्न सकिन्छ,’ उनले भने, ‘सबै युवालाई आग्रह गर्न चाहन्छु समाज र देशलाइ नै योगदान पुर्‍याउनु छ भने व्यवसाय थाल्नुस्।’

नयाँ सोचका साथ व्यवसाय गर्नेका लागि आफ्नो साथ रहने भन्दै उनले नेपालमै केही गछौं भन्ने सोच लिएका युवालाई सक्दो सहयोग गर्न पनि आफूहरु तयार रहेको वीरभद्रले बताए । युवा पुस्ता व्यवसायिक भएर कृषि पेशामा लागेपछि देश समृद्ध बन्ने उनको विश्वास छ ।

भर्खर

0