बाटो खोज्दै बस्ती पसेको विष्णुमतिले बनायो यो गति !

लगाउने कपडासमेत नरहेपछि टालाटुली बटुल्दै बालबालिका

अर्घेलो थापा

आइतवार, असार २२, २०७६

Reading Time: 5 minutes

बाटो खोज्दै बस्ती पसेको विष्णुमतिले बनायो यो गति !

काठमाडौं – काठमाडौं साँघुरिँदै गएको छ । यहाँ बग्ने नदीहरुले आजकाल सानो गोरेटो बाटो जस्तै बनाएर बग्नुपर्ने अवस्था छ । त्यो पनि सङ्लो हैन धमिलै धमिलो । पानीसँगै बोकेर लैजानुपर्ने फोहोर ।

राजधानीमा घरबार नहुने र कोठा भाडामा लिएर पैसा तिर्न पनि धौ-धौ हुनेहरुले यही नदी किनारमा बस्ती बसाएका छन्, सुकुम्बासीका नाममा ।

त्यसो त काेही हुकुमबासी पनि सुकुम्बासी बस्तीमा नभएका हाेइनन् । उनीहरु अन्तै बसेर ठाउँ हडप्नकै लागि सुकुम्बासीको ढोङ रचिरहेका हुन्छन् । उनीहरुलाई त्यो खोलाको दुर्गन्धले सताउँदैन ।

सताउने त उनीहरुलाई नै हो, जो वास्तविक सुकुम्बासी छन् ।

वास्तविकतामा बाँचेकाहरुलाई यो पनि थाहा छ- कुनै दिन मासिँदै गएको खोलो एक्कासी उर्लेर आयो भने हरिबिजोग बनाउँछ । शायद, उनीहरुलाई यस्तो बाध्यता मोल्नु पनि आफ्नै बाध्यता हो । एकैछिन मात्र पनि पानीको सतह बढ्यो भने हालत के हुन्छ ? सप्पै सर्लक्कै बगाएर लैजान्छ,  वारपार सम्मै बनाएर ।

रिस्क मोलेर विष्णुमतिको छेउमा बस्ने बस्तीले शनिवार राति यस्तै क्षति बेहोर्नुपर्‍यो । शनिबार दिउँसोदेखि निरन्तर बगेर आएको पानीले विष्णुमति आसपास बस्ने सुकुम्बासीको बिजोग बनायो ।

भलै छिनभरमै मत्थर भयो ।

शनिबार बिहान पसिना निकाल्ने घाम लागिरहेको थियो त्यही सुकुम्बासी बस्तीमा । दिउँसो फेरि मौसम गडबड हुन खोज्दै थियो ।

बर्दियाका राधेश्याम शेषमतिको लामबगर छेउमा सानो टिनको छाप्रो बनाएर बस्छन् । ढुंगाका अनेक आकृति बनाउँछन् । बेच्छन् ।

परिवारसँगै उनी यता बस्न थालेको लामै समय भयो । हिजो बिहानसम्म ठीकठाक थियो । दिउँसोसम्म पनि मौसम ठीकै थियो ।

बेलुका हुनै लाग्दा विष्णुमतिको पानी एकाएक बढ्यो । बिस्तारै साँघुरिँदै गरेको खोलामा नअटेको पानी ‘ओभरफ्लो’ भएर बाटो खोज्दै बस्तीमा पस्न थाल्यो ।

राधेश्यामको टहरोमा पनि पानी पस्यो । ७ जना छोराछोरीलाई बोकेर उनी सुरक्षित स्थान खोज्दै निस्किए । बिहानसम्म उनको टहरोमा भएको सबै थोक बाढीले बगाइसकेको थियो ।

‘खाने कुरा केही छैन, कसैले चामल दिए पनि हुन्थ्यो, बाढी पसेर बिजोग बनायो,’ आफ्ना स–साना छोराछोरी देखाउँदै राधेश्यामले भने ।
बिहान त्यही बाढीको किनारमा खेलिरहेका थिए राधेश्यामका छोराछोरी।

बिहान सबेरै उठेर राधेश्यामले घरको हिलो बाहिर हुत्याए। घरको पनि के भन्ने छाप्रोको ।  छेउमै धमिल भएर बगिरहेको विष्णुमतिको खोलाबाट स–साना छोरीहरुले खोलाले बगाएर ल्याएका कपडाहरु समाइरहेका थिए माछा मारेझैँ ।

राधेश्यामकी श्रीमतीले भनिन्, ‘सबै बगायो, पकाउने चामल पनि छैन, यी सन्तानलाई के खुवाउने हो ।’

छोराछोरीलाई खानेको कुनै चिन्ता छैन, उनीहरु त्यही टहरोअघि थुप्रिएको बालुवामा खेलिरहेका थिए ।

एक स्थानीयले भने, ‘हिजो त्यस्तो लीला थियो, अहिले त बिहानै घामले सुक्यो ।’

बिहान लागेको चर्को घाममा बाढी पसेर बगाउन नपाएका डसनाहरु लस्करै सुकाइएका थिए । त्यही छेउमा केटाकेटीहरु खुशी मान्दै खेलिरहेका थिए ।

नजिकै उभिएका आकाश श्रेष्ठले भने, ‘हिजो एकछिन त सातो नै लग्यो नि, बाढी यति उर्लेर आउँदो रहेछ, मैले देखेकै थिइनँ, बिजोग बनायो ।’

राधेश्यामले सबथोक गुमाए । परिवार जोगाए । तर, त्यहीँ वरिपरि अरु कसैले भन्दै थिए, ‘कति केटाकेटी त बेपत्ता छन् रे ! उनीहरु कतै बस्न गएको पनि थाहा छैन, आफन्तसँग पनि छैनन् रे !’

बिहान भने शेषमति आफ्नै पूरानै लयमा फर्किएको थियो । घाम चर्को लागिसकेको थियो । दिउँसोतिर फेरि आकाशमा कालो बादल मडारिएको थियो । राधेश्यामहरु भन्दै छन्, ‘टहरोमा भएको सबै हिजै बगाएर सकिसक्यो, फेरि आज पनि बाढी पस्ने हो कि ! कहाँ गएर बस्ने होला ?’

भर्खर

0