औषधि किन्न नसकेर ज्यान जाने बिरामीको संख्या नेपालमा धेरै | Khabarhub Khabarhub
Logo
७ माघ २०७६, मंगलबार

औषधि किन्न नसकेर ज्यान जाने बिरामीको संख्या नेपालमा धेरै

पहाडमा पाठेघर र तराईमा मुटुको भल्भका बिरामी धेरै



काठमाडौं– मुटुरोग विशेषज्ञ डाक्टर मुकुन्द शर्मा बिरामीसँग उनीहरुको रोग र अवस्था बुझ्न हाँसेर बोल्छन् । उनको त्यही बानीले बिरामीहरु पनि उनको सेवाप्रति सन्तुष्ट हुन्छन् ।

जब बिरामीले निको भएपछि खुसी हुँदै डा शर्मासँग आफ्नो खुसी व्यक्त गर्छन् । तब उनी आफुलाई डाक्टर हुनुमा गर्व महशुस हुन्छ ।
डा शर्माले भने, ‘बिरामीहरुले डाक्टर साब तपाई राम्रोसँग बोल्नुहुन्छ भन्छन्, उहाँहरुको त्यो कुरा सुन्दा खुसी लाग्छ ।’

चीनमा एमबीबीएस र मुटुरोगको विषयमा एमडी गरेका डा शर्माले २ वर्ष काठमाडौंको मोडल हस्पिटलमा मेडिकल अफिसर भएर काम गरे ।
सन् २०१२ मा मुटुरोग विशेषज्ञ भएर नेपाल फर्किएपछि गंगालाल अस्पतालमा ६ वर्ष काम गरे । डा शर्मा अहिले धुम्बाराहीको ह्याम्स अस्पतालमा कार्यरत छन् । डा शर्माले काठमाडौंकै अस्पतालहरुमा काम गरेपनि विभिन्न शिविरहरु लिएर गाउँ गाउँ पुगेका छन् । जहाँ उनले गाउँमा रहेका बिरामीको अवस्थालाई बुझेका छन् ।

बाल्यकालमा होस्टल नै घर 

डा मुकुन्द शर्मा २०३९ सालमा दोलखामा जन्मिएका हुन् । छोरालाई राम्रोसँग पढाउनुपर्छ भनेर शर्मालाई उनका बुबाले ४ वर्षकै उमेरदेखि काठमाडौं कञ्चनजन्घा बोर्डिङ स्कुलको होस्टलमा राखिदिए ।

४ वर्षकै उमेरमा घर छाडेर होस्टलमा बसेका शर्मालाई शुरुमा होस्टल मन पर्दैन थियो । तर विस्तारै उनी होस्टलमै रमाउन थाले ।
‘बुबाले सानैमा होस्टलमा ल्याएर राख्दिनु भयो, सायद त्यतिबेला म ४ वर्षको थिए होला,’ डा शर्माले बाल्यकाल सम्झिए, ‘पहिलो पटक होस्टलमा छोडेर बुबा कता जानुभयो, बुबा आउनुहुन्छ अनि घर जाने भनेर म दिनभरी बाटो कुरेर बसे,तर बुबा आउनुभएन । पछि पछि हुँदै गएपछि घरमा जाँदा भन्दा पनि होस्टलमै बस्दा रमाइलो लाग्न थाल्यो ।’

सानोमा बदमास,चस्मा फुटाउँदा शिक्षक नै हैरान 

शर्मा सानैदेखि चस्मा लगाउथे । स्कुलमा हुँदा पढाइ भन्दा पनि खेलहरुमा उनको ध्यान हुन्थ्यो । धेरै चकचके बानीले हरेक महिना उनको चस्मा फुट्ने गथ्र्यों । चस्मा धेरै फुटाउँदा शिक्षकहरु नै हैरान हुन्थे ।

‘म त सानोमा एकदम बदमास थिए, जेजे पाइन्छ त्यहि खेलिहाल्ने, म सानैदेखि चस्मा लगाउथें, खेल्दाखेरी प्रत्येक महिना चस्मा चेन्ज गर्नुपर्ने अवस्था हुन्थ्यो,’उनले हाँस्दै बाल्यकाल सम्झिए, ‘चस्मा फुटाएपछि त होस्टलले नै तत्काल पैसा तिरेर किनिदिनु पर्ने, उनीहरु त हैरान हुन्थें ।’

बुबाको चाहना अनुसार एमबीबीएस अध्ययन

शर्माले भक्तपुरको माउन्ट एभरेष्ट स्कुलबाट २०५५ मा एसएलसी दिए । एसएलसी प्रथम श्रेणीमा पास भएपछि उनले सिद्धार्थ बनस्थलिबाट प्लस टु साइन्स पढे ।

सन् २००१ मा प्लस टु सकिएपछि उनले बुबाकै चाहना अनुसार एमबीबीएस पढ्न उनी चीन गए ।

चीनमा एमबीबीएस पढ्न मात्र होइन दैनीक जीवन चलाउन पनि चिनियाँ भाषा आवश्यकता पर्छ । त्यहि भाषाबारे सामान्य जानकारी नलिइ चाइना पुग्दा खाना खानको लागि समेत समस्यामा परेको उनी अझै सम्झन्छन् ।

‘बुबाको साथीको छोरा पनि चाइनामा एमबीबीएस पढ्नुहुन्थ्यो, उहाँले एकवर्ष भाषा सिकेपछि पढ्न पाइन्छ भन्नुभयो,’ शर्माले भने, ‘शुरुमा त गाह्रो भयो, दाइले कलेजमा छाडिदिएर जानुभयो, चिनियाँहरुल्े अंग्रेजी पनि नबुझ्ने, आफुलाई चाइनिज नआउने,भोक लाग्यो रेष्टुरेन्टमा खाजा खान गएको सबै चाइनिज, अर्डर गर्दा पनि किचनमै पुगेर यो यो पकाउनु भनेर संकेत गर्नुपर्ने ।’

शर्माले शुरुमा एकवर्ष चिनियाँ भाषा बढेपछि मात्र एमबीबीएस भर्ना भए । शर्माले २००६ मा एमबीबीएस पढेर नेपाल फर्किए ।

नेपाल फर्किएर मोडल हस्पिटलमा मेडिकल अफिसर

२००६ मा एमबीबीएसको पढाइ पुरा गरेपनि डा शर्माले काठमाडौंको मोडल हस्पिटलमा पहिलो पटक मेडिकल अफिसरको रुपमा जागिर शुरु गरे । मोडल अस्पतालमा दुईवर्ष काम गरेका डा शर्माले तीन महिनाजति मोडल अस्पतालकै प्रोजेक्टमा दोलखामै बसेर पनि बिरामीहरु परीक्षण गरे ।

मोडल हस्पिटलमा दुईवर्ष काम गरेपछि उनीले विशेषज्ञ चिकित्सक बन्न एमडी अध्ययनका लागि चीन जाने योजना बनाए । डा शर्माले सन् २००९ मा एमडी गर्न चीन सरकारको छात्रवृत्ति पनि पाए ।

चीनमा एमडी शुरु गर्दा कुन विषयमा विशेषज्ञता हासिल गर्ने भनेर उनमा अन्यौलता थियो । आफु विशेषज्ञ भएपछि नेपाली बिरामीकै सेवा गर्ने उनको चाहना थियो । त्यसैले उनले नेपालीहरुमा देखिएको रोगबारे जानकारी लिए र मुटुरोग विशेषज्ञ हुने सोच बनाए ।

सन् २०१२ मा मुटुरोग विशेषज्ञ भएपछि उनी नेपाल फर्किए । नेपाल फर्किएपछि डा शर्माले नेपाल मेडिकल काउन्सिलमा विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षा दिए । त्यसपछि उनी बाँसबारीमा रहेको गंगालाल अस्पतालमा सेवा गर्न थाले ।

डा शर्माले ६ वर्ष गंगालाल अस्पतालमा मुटुरोग विशेषज्ञ भएर काम गरेपछि विगत एवर्षअघि देखि धुम्बाराहिमा रहेको ह्याम्स हस्पिटलमा आवद्ध भएर बिरामीको उपचार गरीरहेका छन् ।

ग्रामिण क्षेत्रमा देखेको बिरामीको समस्या

डा शर्माले एमबीबीएस पछि नै देशका विभिन्न जिल्लाहरुमा शिविर लिएर पनि पुग्ने अवसर पाए । काठमाडौंमै हुर्किएर चीनबा६ एमबीबीए, एमडी पढेका डा शर्माका लागि ग्रामिण वातावरण र जनजीवन नौलो थियो ।

ग्रामिण क्षेत्रमा शिविरका कार्यक्रममा चिकित्सक भएर पुग्दा उनले नेपालीहरुको वास्तविक पीडा र समस्याका कथाहरु देखे ।

‘काठमाडौंमै काम गरेपनि कहिलेकाही विकट पहाड, तराईको क्षेत्रमा शिविरमा जान्थें, त्यो बेलामा विशेषगरी पहाडमा महिलाहरुमा बढी पाठेघरको समस्या हुन्थ्यो, तराईका बालबालिकाहरुमा मुटुको भल्भ सम्बन्धि समस्या बढी हुन्थ्यो, तराईका बालबालिकामा बढी मुटुको समस्या देखेको थिए ।’

शिविरहरुमा आउने बिरामीहरुमा पोषण र सरसफाइ नहुँदा रोगहरुले लाग्ने र महिलाहरुमा छिटै बिहे गर्दा महिलामा पाठेघरको समस्या देखिएको बताए ।

‘शिविरहरुमा जाँदा ग्रामिण क्षेत्रका महिलाहरु सानै उमेरमा विवाह गरेर धेरै बच्चा जन्माउने र धेरै काम गर्ने, जसको कारण महिलाहरु बढी बिरामी,’ डा शर्माले भने, ‘पुरुषहरु भन्दा महिला र बालकालिका धेरै बिरामी भएर शिविरमा आउथें ।’

जब बिरामीले रोग पत्ता लागेर नियमित औषधि खान सक्दैनन्

डा शर्माले करिब ६ वर्ष गंगालाल अस्पतालमा मुटुरोग विशेषज्ञको रुपमा काम गरे । सरकारी स्वामित्व समेत रहेको गंगालाल अस्पतालमा देशभरका बिरामीहरु उपचारका लागि आउथे ।

गंगालाल अस्पतालमा रहँदा डा शर्माले मुटुको भल्भ सम्बन्धि समस्या, हार्ट अट्याक भएर रेफर भएर आएका बिरामीहरुको लागि औषधि सिफरिस गर्ने र रोगबारे परामर्श दिन्थे ।

डा शर्माले भने, ‘तर बिरामीहरुले नियमित औषधि खान पैसा छैन, खेतीपातीले जीविका चलाएका छौं भन्छन्, हामीले त बिरामीको रोग पत्ता लगाएर औषधि सिफरिस गर्ने हो, औषधि नै दिन त सक्दैनौं तर बिरामीले औषधि पनि किनेर खान नसकेको देख्दा नराम्रो लाग्छ ।’

एउटा चिकित्सकलाई आफुले रोग पत्ता लगाएर औषधि सिफारिस गरेपछि त्यो बिरामीले नियमित औषधि खाएर निको होस् भन्ने चाहना राख्छन् ।

तर गंगालाल अस्पतालमा आउने कतिपय बिरामीहरु डाक्टरको त्यो चाहना पुरा गर्ने क्षमताका हुँदैन थियो । अर्थात बिरामीको आर्थिक अवस्थाको कारण नियमित औषधि खान नसक्दा निको हुनुपर्ने बिरामी रोगले जटिल अवस्थामा पुगेपछि फेरि अस्पताल आइपुग्छन् ।

त्यो अवस्थाले बिरामीलाई मात्र होइन स्वयं उपचारमा खटिएका चिकित्सकको मन पनि चसक्क पार्छ ।

रोग जाँच गर्न आफूकहाँ आउने बिरामीलाई चिकित्सकले औषधि सिफारिस गर्न सक्छन् । तर औषधि नै निशुल्क दिएर पठाउन सक्ने अवस्था चिकित्सककै पनि हुँदैन ।

कहिलेकाही अस्पतालले शिविर लिएर जाँदा दिने सिमित औषधिले जीवनभर औषधि खानुपर्ने बिरामीको स्वास्थ्यलाई पूर्ण रुपमा निको पार्दैन । शिविरको सिमित औषधि सकिएपछि बिरामीले औषधि किनेरै खानुपर्ने हुन्छ ।

तर शिविरमै पुग्दा बिरामीले रोगबारे थाहा पाएर पनि औषधि किनेर खान नसक्ने बताउँछन् । बिरामीको यस्ता बाध्यता देखर डा शर्मालाई पनि दुःखी बनाएको छ ।

‘गाउँमा स्वास्थ्य सेवा पाउन गाह्रो छ, बल्लतल्ल शिविर पुगेको हुन्छ, बिरामीहरु आउँछन्, हामीले त सिमित औषधि लिएर गएका हुन्छौं, तर बिरामीले लामो समय औषधि खानुपर्छ, हामीले परीक्षण गरेर यो औषधि नियमित खानुस् भनेर औषधि सिफरिस गछौं,’ डा शर्माले भने, ‘तर बिरामीहरुले नियमित औषधि खान पैसा छैन, खेतीपातीले जीविका चलाएका छौं भन्छन्, हामीले त बिरामीको रोग पत्ता लगाएर औषधि सिफरिस गर्ने हो, औषधि नै दिन त सक्दैनौं तर बिरामीले औषधि पनि किनेर खान नसकेको देख्दा नराम्रो लाग्छ ।’

बिरामीले नियमित औषधि खाँदा महिनामा ५ सय जति खर्च हुन्थ्यो तर त्यहि पाँच सय खर्च गर्न नसक्दा ती बिरामीले अकालमै ज्यान गुमाउन पर्ने अवस्था आयो

यस्तै प्रकृतिको एउटा घटना डा शर्माले यसरी सुनाए

मनिसहरुलाई गाउँमा स्वास्थ्य सेवा पाउन पनि गाह्रो छ । बल्लतल्ल ऋण गरेर उनीहरु काठमाडौंको अस्पतासम्म आइपुग्छन् । तर डाक्टरले खानु भनेर सिफरिस गरेको औषधि नै नियमति खान सक्दैनन् । उनीहरुको आर्थिक, भौगोलिक अवस्था देखेर हामीलाई पनि दुःख लाग्छ ।

पाँचवर्ष अगाडी जाजरकोटको एउटा बिरामीलाई गंगालाल अस्पतालमा मुटुको भाल्भ चेन्ज गरेका थियौं । मुटुको भाल्भ चेन्ज गरेपछि रगत पातलो बनाउने औषधि नियमित खानुपर्ने हुन्छ । उहाँलाई त्यो औषधि नियमित खानु भनेका थियौं । एक दुई महिनामा रगत नियमित जाँच गरी नियमित औषधि खानुपर्ने हुन्थ्यो । तर त्यो बिरामी फलोअफ चेकअपमा आउनुभएन ।

पछि जाजरकोटमा शिविरमा जाँदा त्यही बिरामी सिकिस्त भएर आउनुभयो । उहाँको अवस्था निकै गम्भिर थियो । धेरै अगाडी देखि सास फेर्न समेत गाह्रो भएको रहेछ, अरुले बोकेर ल्याएको थियो । उहाँँले नियमति औषधि नखादा रगत बाक्लो भएर उपचार गरेर फेरेको भाल्भ नै विग्रिएछ । हामीले इको मेसिनले परीक्षण गरौं । एम्बुलेन्स बोलाएर अस्पतालमा भर्ना गर्न पठायौं तर उहाँको बाटो मै ज्यान गयो । यो घटना त उदाहरण मात्र हो यस्तो घटना धेरै हुन्छ । अहिले पनि भइरहेको छ ।

डा शर्माका अनुसार ती बिरामीले नियमित औषधि खाँदा महिनामा ५ सय जति खर्च हुन्थ्यो तर त्यहि पाँच सय खर्च गर्न नसक्दा ती बिरामीले अकालमै ज्यान गुमाउन पर्ने अवस्था आयो ।

यस्तो घटनाहरु अहिले पनि हुने गरेको तर अस्पतालहरुमा यसको कुनै तथ्यांक नभएको डा शर्माले बताए ।

‘नियमित औषधि खान नसकेर धेरैले औषधि छोड्ने गरेको घटना धेरै हुन्छ, कतिले चेतना नपाएर, अतिले हेलचेक्याइ गरेर उनीहरुको अकालमा मृत्यु हुन्छ,’ डा शर्माले भने, ‘बिरामीले औषधि किन्न नै नसक्ने अवस्था देख्दा निकै दुःख लाग्छ, मुटुको भल्भ सम्बन्धि समस्याका बिरामीले नियमित जस्तै औषधि खानुपर्छ, यहि रोग गरिव बिरामीलाई धेरै लाग्छ ।’


भर्खर

0