आबाल ब्रह्मचारी षडानन्द अधिकारी र अष्टाङ्गयोग | Khabarhub Khabarhub
Logo
६ माघ २०७६, सोमबार

आबाल ब्रह्मचारी षडानन्द अधिकारी र अष्टाङ्गयोग



योग ब्रह्मचर्यको मूल आधार हो । चित्तवृत्तिको निरोध र ब्रह्मचर्यद्वारा प्रकृतिलाई वशमा राखेर ब्रह्म साक्षात्कार गर्न सकिन्छ । आबाल ब्रह्मचारी षडानन्द अधिकारी एक आध्यात्मिक साधक हुनुहन्थ्यो । तरति पापादिकं यस्मात् स: तीर्थ: भनेर तीर्थ शब्दको व्युत्पति गरिएको छ ।

त्यसकारण जसले मानिसलाई जन्म जन्मान्तरको पापबाट पार गराउँदछ, त्यो तीर्थ हो। भौमतीर्थ, जङ्गमतीर्थ र मानसतीर्थ गरी तीन प्रकारका तीर्थ छन् । अवतार पुरुषहरूको जन्मभूमि एवम् लीलाभूमि, पवित्र नदी, जलाशय र पर्वतहरू भौमतीर्थ हुन् ।

सात्त्विक सिद्ध साधक र ऋषि तथा सन्तहरू जङ्गमतीर्थ हुन् । जङ्गमतीर्थ स्वरूप साधु सन्तहरूसंगको सत्सङ्ग, उहाँहरूको आशिर्वचन र भौमतीर्थहरूको तीर्थाटनबाट मनलाई परिशुद्ध गर्नु मानसतीर्थ हो ।

यस अर्थले इन्द्रियहरूको विषय भोग गर्ने आसक्तिलाई त्यागेर आत्म चिन्तन गरी ब्रह्मज्ञान प्राप्त गर्नुभएका आबाल ब्रह्मचारी षडानन्द अधिकारी जङ्गमतीर्थ हुनुहुन्छ । यसैगरी उहाँको जन्मभूमि भोजपुरको दिङ्ला र उहाँले साधना गरेका लीलाभूमिहरू पवित्र भौमतीर्थ हुन् ।

आबाल ब्रह्मचारी षडानन्द अधिकारीको जीवनीमा उहाँले दिङ्ला, मिथिला, काशी, काठमाडौँ र पोखरामा साधना गरेको उल्लेख छ । ललितपुरमा वागमतीको बायाँ किनारामा रहेको राजतीर्थमा अघि दाङका सिद्ध रतननाथले साधना गरेका थिए ।

यसैगरी राजतीर्थको पारिपट्टि वागमतीको दाहिने किनारामा वागमती र विष्णुमतीको द्वीप काठमाडौाको टेकु, पचलीघाटमा आबाल ब्रह्मचारी षडानन्द अधिकारीले आश्रम स्थापना गरेर साधना गरेका थिए । आबाल ब्रह्मचारी षडानन्द अधिकारी वि.सं. १९३० मा पोखरा पुगी फेवातालको किनाराको जङ्गल र सेती गण्डकीको किनारामा ६ महिनासम्म बसेर अष्टाङ्गयोगको साधना गरेको बुझिएको छ ।

आबाल ब्रह्मचारी षडानन्द अधिकारीले अष्टाङ्गयोगको साधनाका लागि किन पोखरा नै रोज्नु भएको होला ? यो कुरा विचारणीय छ । भारतमा गङ्गा र यमुनाको बीचको भूभाग अति पवित्र अन्तरवेदी भूमि मानिन्छ ।

यसैगरी नेपालमा कालीगण्डकी र सेतीगण्डकीको बीचको भूभागलाई पवित्र अन्तरवेदी भूमि मानिएको छ । पोखरा माछापुच्छ्रे हिमालको उपत्यका हो । गण्डकी महात्म्यमा माछापुच्छ्रेका दुईटा चुचुरोलाई नर–नारायण स्वरूप मानिएको छ।

नर र नारायण दुई तपस्वी दाजुभाइ हुन् । नर–नारायणलाई जनता र जनार्दनको प्रतीक मानिन्छ । यी दुई तपस्वीलाई देवतातुल्य मानिएको छ । भारतमा बदरिकाआश्रमसंगैको पहाडका दुईटा चुचुरो नर–नारायण पर्वतका नामबाट प्रख्यात छ भने नेपालमा चाहिँ माछापुच्छ्रे हिमालका दुईटा चुचुरोलाई नर–नारायणको प्रतीक मानिएको छ ।

त्यसकारण आबाल ब्रह्मचारी षडानन्द अधिकारीले हिमवत्खण्ड नेपालको पवित्र अन्तरवेदी भूमि तथा तपस्वी ऋषि नर–नारायणको उपत्यका पोखरालाई आफ्नो साधनास्थलको रूपमा चयन गरेको बुझिन्छ।

फेवातालमा तालवाराही मन्दिरदेखि उत्तरपट्टिको ताल प्राकृतिक ताल हो । तालवाराही मन्दिरदेखि दखिनपट्टिको ताल पार्दीमा बाँध बाँधेर बनाइएको कृत्रिमताल हो । तालवाराही मन्दिरको ठीक पारिपट्टिको जङ्गलमा चिसोपानीको मूल छ ।

अहिले उक्त चिसोपानीको मूल पर्यटकीय दृष्टिले पनि निकै आकर्षक बनेको छ । चिसोपानीको मूलसागै अनदु नामक गुरूङ बस्ती छ । अनदु माथिको डाँडामा अहिले शान्ति स्तूप निर्माण गरिएको छ ।

फेवातालको किनाराको गुरूङ बस्ती नेरको जङ्गल भन्नाले आबाल ब्रह्मचारी षडानन्द अधिकारीले यही चिसोपानीको मूलसंगैको जङ्गलमा बसेर अष्टाङ्गयोगको साधना गरेको बुझिन्छ। आबाल ब्रह्मचारी षडानन्द अधिकारीले पोखरामा फेवातालको जङ्गल र सेतीगण्डकीको किनारामा अष्टाङ्गयोगको साधना गरेको कुरा अहिलेका पोख्रेलीलाई सम्झना छैन ।

नारायणस्थानमा ब्रह्मचर्य आश्रम स्थापना गरेका ब्रह्मचारी बालकृष्ण सुवेदी आबाल ब्रह्मचारी षडानन्द अधिकारी भन्दा पछिल्लो समयका हुन्, किनभने आबाल ब्रह्मचारी षडानन्द अधिकारीको जन्म वि.सं.१८९२ मार्गशुक्ल पञ्चमीका दिन भोजपुर, दिङलाको गढीगाउँमा भएको थियो ।

उहाँको देहावसान वि.सं. १९७३ जेष्ठ शुक्लत्रयोदशीका दिन काठमाडौाको टेकु, पचलीघाटमा भएको थियो । उहाँ वि.सं. १९३० मा पोखरा आउनु भएको उल्लेख यस अघि नै भइसकेको छ । सम्भवत: गणेश गिरी वा कुनै रम्ता साधुसंग आबाल ब्रह्मचारी षडानन्द अधिकारीको सम्पर्क भएको हुनसक्छ । त्यसपछि हिमवत्खण्ड नेपालको अन्तरवेदी भूमि र नर–नारायण उपत्यका पोखराको महत्त्व बुझेका आबाल ब्रह्मचारी षडानन्द अधिकारीले पोखराको फेवातालको जङ्गल र सेतीगण्डकीको दायाँ किनारामा स्थित नारायणस्थानमा बसेर अष्टाङ्गयोगको साधना गरेको हुनसक्छ ।

अत: यसैबाट प्रेरणा पाएर दिङ्लाका आबाल ब्रह्मचारी षडानन्द अधिकारीले अष्टाङ्गयोगको साधना गरेको भूमि पोखराको नारायणस्थानमा धनकुटाका ब्रह्मचारी बालकृष्ण सुवेदीले ब्रह्मचर्य आश्रम स्थापना गरेर वैदिक शिक्षाको प्रचार प्रसार गरेको हुनसक्छ ।

आबाल ब्रह्मचारी षडानन्द अधिकारीले आध्यात्मिक साधनाका साथ साथै शिक्षाको विकास, विद्याको साधना र ज्ञानको प्रचार प्रसारमा उत्तिकै जोड दिनु भएको थियो । विद्याको साधना नै ब्रह्म साधना हो । त्यसकारण उपनिषद्हरूमा सत्यं ज्ञानमनन्तं ब्रह्म ।

प्रज्ञानं ब्रह्म भनेर व्याख्या गरिएको छ । यसैगरी सा विद्या या विमुक्तये भनेर विद्याको प्रशंसा गरिएको छ । त्यसकारण सत्यं परं धीमहि भने झै आफ्नो अन्तरात्मामा अन्तर्निहित परम सत्यलाई चिन्न सक्नु नै निवृत्तिमार्ग र आध्यात्मिक साधना हो । आबाल ब्रह्मचारी षडानन्द अधिकारीले यही निवृत्तिमार्गको अनुशरण गरेर आध्यात्मिक साधनाद्वारा ब्रह्मत्त्व प्राप्त गर्नु भई यस जगत्लाई विकार रहित ब्रह्ममय बनाउने सत्प्रयास गर्नुभयो ।

शिक्षाको माध्यमद्वारा जागरण ल्याई सामाजिक सुधार गर्नु भयो । उहाँले अमानवीय सतीप्रथा र दासप्रथालाई मान्यता दिनुभएन। आबाल ब्रह्मचारी षडानन्द अधिकारीको आध्यात्मिक जागरणमा केवल बाहुन, क्षेत्री मात्र नलागिकन कतिपय किरात राई र मगरहरूले भूमिदान दिएर उहाँको अभियानमा सहभागी भएका थिए। कतिपय नेवार, गुरूङ र भोटेलामाहरू उहाँका अनुयायी थिए ।

आबाल ब्रह्मचारी षडानन्द अधिकारी गर्भे टुहुरा हुनुहन्थ्यो । उहाँले दिङला गढीगाउँकै एउटी दमिनी आमाबाट साधनाका लागि प्रेरणा पाउनु भएको थियो। त्यसकारण आबाल ब्रह्मचारी षडानन्द अधिकारीमा जातीय सङ्कीर्णता थिएन । उहाँ धीर उदात्तभावका प्रतीक र सबैको हितकारी हुनुहन्थ्यो ।

आबाल ब्रह्मचारी षडानन्द अधिकारीको जन्मबाट नेपालमा पनि साधु–सन्त र सिद्ध पुरुषहरू जन्मन्छन् , भगवान्ले पनि जन्म लिनुहुन्छ भन्ने सिद्ध भएको छ । अघि नेपालकै कमलाखोाचमा याज्ञवल्क्य ऋषिको आश्रम थियो, यहीा नै याज्ञवल्क्यले बृहदारण्यकोपनिषद् रचना गरेका थिए । मिथिलामा ब्रह्मनिष्ठ राजर्षि जनक र आदर्शमयी सीता जन्मे ।

तनहुँको दमौलीमा पराशर ऋषिको आश्रम थियो । त्यहिँ नै वेदव्यास जन्मेका थिए । चितवनको त्रिवेणीक्षेत्रमा वाल्मीकिले तपस्या गरेर रामायणको रचना गरेका थिए । कपिलवस्तुक्षेत्रमा क्रक्रुछन्द, कनकमुनि र शाक्यमुनि बुद्ध जन्मे । स्वर्गद्वारी महाप्रभु हंसानन्द गिरीजी महाराजको जन्म नेपालमै भएको थियो ।

यही वैदिक ऋषि परम्परालाई आबाल ब्रह्मचारी षडानन्द अधिकारीले धान्नु भयो । अत: आबाल ब्रह्मचारी षडानन्द अधिकारी नेपालका ऋषि तथा अमर राष्ट्रिय विभूति हुनुहुन्छ। उहाँ अत्यन्तै स्तुत्य हुनुहुन्छ । त्यसकारण आबाल ब्रह्मचारी षडानन्द अधिकारीको जीवनचरित्र, आदर्श, मर्यादा र सत्प्रयाशबाट मनुस्मृतिको यो वचन चरितार्थ हुन्छ –
एतद्देशप्रसूतस्य सकाशादग्रजन्मन: ।
स्वं स्वं चरित्रं शिक्षेरन्पृथिव्यां सर्वमानवा: ।।
(यो देश (भारतवर्ष)मा जन्मेका अघिका ऋषि मुनिहरूबाट पृथ्वीका सबै मानिसले त्यही त्यही चरित्रको सिको गरे) ।


भर्खर

0