‘बुबाआमाको काखमा बसेर मनाए जस्तो दशैं कहिल्यै नआउने रहेछ’

वरिष्ठ कलाकार बसुन्धरा भुसालको दशैं अनुभव र योजना

अर्घेलो थापा

आइतवार, असोज १९, २०७६

Reading Time: 4 minutes

‘बुबाआमाको काखमा बसेर मनाए जस्तो दशैं कहिल्यै नआउने रहेछ’

काठमाडौं –वरिष्ठ कलाकार बसुन्धरा भुसाललाई आजकाल दशैँ पहिलेको जस्तो रमाइलो लाग्दैन । दशैँका बेलाजति रमाइलो थियो, त्यस्तो रमाइलो अहिले नभएको भुसाल बताउँछिन् ।

पहिलेको दशैँ खुबै रमाइलो थियो भने अहिलेको दशैँ फिक्का लाग्न थालेको छ । ‘पहिलेको जस्तो दशैँ त अहिले कहाँ छ र, बाबुआमाको काखमा दशैँ मनाउन जस्तो रमाइलो कहाँ हुन्थ्यो र?,’ भुसाल सुनाउँछिन् ।

अहिले भुसाल आफै आमा बनेकी छिन् । बाल्यकालमा बाबुआमाको काखमा हुँदा उनलाई दशैँ खुबै रमाइलो लाग्ने तर अहिले जिम्मेवारी जस्तो लाग्ने गरेको छ, उनलाई ।

‘अहिले त दशैँ पनि कहाँ पहिले जस्तो छ र, त्यो बेलाको दशैँ त सम्झँदै रमाइलो लाग्छ,’ भुसाल भन्छिन्, ‘अहिले त सबै थोक महंगो छ, तरकारी पनि किनेर खान मुस्किल छ, हुँदा खानेले कसरी दशैँ मनाउलान्?’

उनको बाल्यकालको दशैँ खुबै रमाइलो हुने गरेको बसुन्धरा सुनाउँथिन् । त्यसो त बसुन्धरा सानैदेखि नाचगान गर्थिन् । छमछमी नाच्थिन् । जसले गर्दा उनलाई दशैँमा ‘दक्षिणा’ माग्थिन् ।

‘त्यो बेलामा दुई/चार पैसा कमाइ हुन्थ्यो, ऊ बेला प्वाल परेको पैसा हुन्थ्यो नि, हो त्यही पैसा दशैँमा टीका लगाएर पाइन्थ्यो, मैले त अझ नाचेर धेरै पैसा माग्थेँ,’ बसुन्धराले हाँस्दै सुनाइन्, ‘हामीले पाएका ढ्याक पैसा जम्मा गर्ने चलन थियो, खुत्रुके बनाइन्थ्यो, ऊ बेला दशैँमा नयाँ जोर लुगा पाउँदा कम्ता रमाइलो लाग्थेन ।’

उनले बाल्यकालको रमाइलो पनि सुनाइन्– हामीलाई सधै दशैँमा दुई लुगा किनिदिनुहुन्थ्यो । एक जोर पूजा गर्दा लगाउने र अर्को जोर दशैँमा टीका लगाउँदा लगाउने । लुगा किन्न जाँदा नजिकै एउटा मुकुट बेच्न राखिएको पसल थियो, त्यही मुकुट लगाएर साथीहरुलाई तर्साउँथे ।

‘म त सानोमा खुबै चकचके स्वभावकी थिएँ,’ बसुन्धराले हाँस्दै आफ्नो बाल्यकाल सुनाइन् ।

उनलाई त्यतिबेला राजधानीमा फुल्ने फूलको सुगन्ध अझै याद छ । अहिले यस्तो माहोल कहाँ देख्न पाउनू? चारैतिर घरैघर छन् । बाहिरबाट ल्याएका फूलहरु बेचिन्छन् आजभोलि ।

‘त्यो बेलाको त्यो माहोल कसरी वर्णन गरौँ, हामी त्यतिबेला पैसा चढाएर पिङ खेल्थ्यौँ, आफ्नो परिवारसँग टीका लगाउँथ्यौँ,’ ६९ वर्ष पुगेकी बसुन्धराले आफ्नो बाल्यकाल सुनाइन्, ‘प्रसादमा पाएका रोटी पनि जम्मा गर्दै हिँड्थ्यौँ, पाएका सिक्का राख्थ्यौँ, ठूलाबडा धेरै भइदिएहुन्थ्यो भन्ने लाग्यो ।’

ऊ बेला बिहानै बाजाबजाएर मान्छे स्वयम्भुतिर जान्थे । राजधानीमा अहिलेको जस्तो भीड थिएन । खाना पनि ‘अर्गानिक’ पाइन्थ्यो । राजधानीमा बज्ने ती दशैँका धून अहिले पनि बसुन्धराको स्मृतिमा गुञ्जिन्छन् ।

‘पहिले कहाँ यस्तो धूलो धुवाँ थियो र? टीका लगाएर पनि सिक्का पाइन्थ्यो, पछि पो नयाँनोट पाउन थालियो,’ उनले सुनाइन् ।

उनका अनुसार अहिले त दशैँमा खाने खाना पनि स्वस्थ छैन । ऊ बेला दशैँमा जति खाए पनि बिरामी पर्ने भन्ने थिएन ।

‘त्यो बेला दशैँमा बन्ने परिकार नै विशेष हुन्थ्यो, ओहो, त्यो खसीको मासुको स्वाद,’ उनी हाँसिन् ।

यो उमेरमा आइपुगेपछि बसुन्धरा भन्छिन्, ‘बाबुआमाको काखमा मनाएको त्यो दशैँजस्तो अरु दशैँ नहुने रहेछ, त्यो समय जीवनभर कहिल्यै बिर्सन सकिन्न ।’

जीवनको यो उमेरमा आइपुग्दा भने बसन्धरा आफै आमा बनेकी छिन् । आफै हजुरआमा बनेकी छिन् । तर, उनले परिवारका साथदशैँ मनाउन पाएकी छैनिन् ।

‘यसपालि दशैँ मान्न अमेरिका जाने योजना थियो, तर म आफै बिरामी परेँ,’ संविधान दिवसमा गरेको कामले धपेडी बढेपछि टाइफाइड भएर आराम गरिरहेकी बसुन्धराले भनिन्, ‘पति त अमेरिका गइसक्नुभयो, म चाहिँजाने सक्ने भइनँ ।’

नेपाल छोडेर अमेरिका जानुपरेको कारण चाहिँ बसुन्धराका दुई छोरी र एक छोरा उतै छन् । सबैले उतै घरजम गरेर बसेका छन् । ‘छोराछोरी आउन नभ्याएकाले उतै जाने कि भन्ने थियो, तर बिरामी परेँ,’ बसुन्धराले सुनाइन् ।

टाइफाइड कम भयो भने उनले दिदीबैनीसँगै बसेर दशैँ मनाउने योजनामा छिन् । घरमै आउने आफन्त र इष्टमित्रलाई टीका लगाइदिने र खाना खुवाउने उनको योजना छ । भनिन्, ‘यसपटक अलिक बिरामी छु, नरमाइलो त लागिरहेको छ, सबै नेपालीले दशैँ मनाउनुहोला, शुभकामना छ ।’

भर्खर

0