व्यस्त सडकमा साझा यातायात हुँइक्याउँने हर्मिता

टेम्पोदेखि सरकारी गाडीसम्मको २ दशकको यात्रा

सविना कार्की

शनिबार, असार २१, २०७६

Reading Time: 7 minutes

व्यस्त सडकमा साझा यातायात हुँइक्याउँने हर्मिता

काठमाडौं। काठमाडौंको व्यस्त सडकमा सवारी हुँइक्याउने हिम्मत हत्तपत्त जोकोहिलाई आउँदैन। अझ सवारी साधन चलाउने काममा महिला सहभागिता पुरुषको तुलनामा निक्कै कम हुन्छ। जीविकोपार्जनका लागि पछिल्ला समय महिलाहरु केही न केही पेशा गरिरहेका छन्। भने कतिपय महिलाहरु टेम्पो तथा साना माइक्रोबस चलाइरहेका देखिन्छन्।

अवसर पाएमा महिलाहरुले पुरुषसरह काम गर्न सक्छन् भन्ने गतिलो उदाहरण धरानकी हर्मिता श्रेष्ठबाट लिन सकिन्छ। ‘अवसर नपाएको खण्डमा खोस्न पनि सक्नुपर्छ! महिलाहरु घरमै सीमित हुनु हुदैँन’ यो उनै हर्मिताको धारणा हो।

हर्मिता एउटा यस्ती महिला हुन्। जसले जीवनमा आइपरेका हरेक बाधा अड्चनलाइ छिचोल्दै विना कसैको साहरा आफु र २ छोराछोरीको जीवन धान्दै आइरहकी छिन्। व्यस्त सडकमा आत्मविश्वासका साथ साझा यातायात हुइक्याइरहेकी छिन् उनी।

समाजमा अझै पनि महिलाले घरको बाहेक अन्य केही काम गर्न सक्दैनन् भन्ने मान्यता बोकेकाहरु छन्। हर्मिता पनि त्यही समाजकी एक पात्र हुन्। तर उनलाइ आफ्नो लक्ष्य पुरा गर्न समाजले कहिल्यै छेकेन्।

जीवन धान्नका लागि निरन्तर मेहनत र परिश्रम गरिरहिन्। ड्राइभिङका क्षेत्रमा लामो अनुभव बटुलेकी हर्मिताले गत सोमबारबाट काठमाडौं तथा भक्तपुरका सडकमा साझा यातायात चलाउन थालेकी छिन्।

जन्मभूमिमै सिकिन् सामान्य ड्राभिङ सीप

काठमाडौंमा साझा यातायात चलाउने हर्मिता धरानको भानुचोकमा वि.स. २०३५ सालमा जन्मिन्। उनका बाआमाले भानुचोकमै खेतीपातीको काम गर्थे। हर्मिताको परिवार ठूलो थियो। ६ दाजुभाइ र ५ दिदीबहिनी थिए। जसमा हर्मिता साइली छोरी हुन्।

विहान बेलुका बाआमालाइ खेतवारीको काममा सघाउ गर्ने गर्थिन् भने दिउसो विद्यालय जान्थिन्। गाउँकै एक विद्यालयमा कक्षा १० सम्म अध्ययन गरिन् उनले।

विद्यालयमा पढिरहँदा उनलाइ धेरै पढ्ने डाक्टर इन्जिनियर बन्ने त्यो कुनै चाहना थिएन्। बस्!‘उनलाइ यति चाहना थियो कि ठूलो भएपछि ड्राभिङ गर्ने’।कारण उनको घरमा त्यो समय ‘मारुती भ्यान’ थियो।

उनले घरमा रहेको मारुती भ्यान १३ वर्षको छँदा सिकिन्। एक दुई महिना पछि उनी बाहिर लिएर हिड्न सक्ने भइन्।
सानो छँदा सबैले सोच बनाएका हुन्छन् ‘भविष्यमा के गर्ने ?’ हर्मिताले बालकपनलाइ सम्झिँदै लजाउँदै भनिन् ‘गाउँको बस चढ्दा सडकमा यो बस कसरी चलाएको होला। म पनि यसरी नै बस चलाउन पाए भन्ने सोच्थे’।

घुम्न आएकी थिएँ : धरानबाट काठमाडौं

कुरा आजभन्दा २४ वर्षअघिको हो। उनी राजधानी घुम्ने इच्छा बोकेर आइन्। आफन्तसँग केही समय बसिन्।

काठमाडौं आएको १ वर्षपछि उनी वैवाहिक सम्बन्धमा बाधिइन्। त्यसपछि उनी सिन्धुपाल्चोक पुगिन्। केही समय सिन्धुपाल्चोकको राम्चेमा बसेपनि उनी श्रीमानकै साथमा पुनः काठमाडौं आइपुगिन्। त्यसपछि भने जागिरको शिलशिलामा हिडिन्।

‘बैवाहिक सम्बन्धमा बाधिएपछि एक जनाको कमाइले मात्र नपुग्ने रहेछ जागिर खोज्न धेरै हिडे’ विगत स्मरण गर्दै भनिन् ‘जीवन धान्न केही गर्नु त अवश्य पर्छ’।

त्यो समय उनी एक छोराको आमा बनिसकेकी थिइन्। कामकै दौरानमा उनी राजधानीको हनुमान ढोकास्थित सिलाइबुनाइको तालिम लिइन्। तालिम लिएपनि उनले त्यसलाई निरन्तरता दिइनन् कारण ‘पारिश्रामिक कम हुन्थ्यो’।

‘मेहनत बढि आम्दानी कम हुने काम के गर्नु झै लाग्यो’ हर्मिताले भनिन् ‘त्यही काममा पुरुषहरु बढि पारिश्रमिक लिन्छन् महिलालाइ कम हुन्छ’। एउटै पेशामा महिला र पुरुषलाई फरक हेराइ र दाम भएपछि त्यो पेशा गर्न मन लागेन उनलाई।

टेम्पो चलाउने रहर

कपडा सिलाएर फाइदा नहुनेभएपछि उनले नयाँ पेशा अंगाल्ने सोच बनाइन्। आफुले सानो छँदा ड्राइभिङ गरेकाले उनले ड्राइभिङ गर्ने सोच बनाइन्।

ड्राइभिङ सेन्टरमा गएर २ दिन टेम्पो चलाउन सिकेको अनुभव सुनाउँदै हर्मिता भन्छिन्, ‘काठमाडौंमा पहिलो पटक ट्रायल दिँदा ट्राफिकले टेम्पुको झ्यालबाट हेरिस् भन्यो’ उनले थपिन्, ‘त्यसपछि वीरगञ्ज गएर ल्याइसेन्स निकालेको नि। जसरी नि काम शुरु गर्नु थियो। लाइसेन्स नभइ सडकमा कसरी जानु’।

वीरगञ्जबाट लाइसेन्स ल्याएपछि भने काठमाडौंको एनएसी, चावहिल जोरपाटी रुटको टेम्पु चलाउन शुरु गरिन्। टेम्पो चलाउँदा पनि सहज त थिएन्। सडकको अवस्था दयनीय थियो। ‘सडकको खाल्डाखुल्डीले टेम्पो नै उफ्रिन्थ्यो। तर काम नगरी नहुने बाध्यताले पनि त्यसलाइ निरन्तरता दिइरहेँ’ त्यी दिनलाइ खोतल्दै उनले खबरहबलाइ सुनाइन्।

टेम्पो चलाउन थालेपछि गुजारा राम्रैसँग चल्न थाल्यो उनको। भन्छिन्, ‘टेम्पोबाट राम्रै आम्दानी हुन्थ्यो’। उनलाई डेराको भाडा तिर्न र आफु र एक छोराको ज्यान पाल्न सहज हुन थाल्यो। करिब २ वर्ष एउटै रुटमा टेम्पो चलाएपछि उनलाइ अरु गाडी चलाउने रहर जाग्यो।

सरकारी गाडी चलाउने पहिलो महिला हर्मिता

टेम्पो चलाइरहँदा हर्मिता कार, ट्याक्सी लगायतका सवारी चलाउन सक्ने भइसकेकी थिइन्। वि.स. २०५९ सालतिर उनी राष्ट्रिय महिला आयोगमा अध्यक्ष दुर्गा पोखरेलको गाडी चलाउन पुगिन्।

सरकारी कार्यलयमा सवारी साधन चलाउने पहिलो महिला कर्मचारीका रुपमा हर्मिता पुगिन्, ‘राष्ट्रिय महिला आयोग’। त्यो बेलाको खुसी सम्झँदा हर्मिता अझै पनि नहाँसि बस्नै सक्दिनन्। मुसुक्क हाँस्दै भन्छिन्, ‘त्यो बेलाको समय बिर्सन सक्दिनँ’। अझै पनि त्यो बाटो हिँड्दा पुराना दिनको याद आउँछ उनलाई।

सरकारी गाडी चलाउँदा-चलाउँदै पुगिन् ‘यूएन’

‘गाडी चलाउने क्रममा पत्रपत्रिका खुब पढ्न्थ्यिो’ उनले भनिन्।‘पत्रिका पढ्ने क्रममा युनाइटेड नेसन नामक अन्तर्राष्ट्रिय संस्थाले सवारी चालकको भ्याकेन्सी खुलाएको देखेँ’ उनले सुनाइन्।

‘महिला र पुरुष चाहिएको, बराबरी नम्बर ल्याएमा महिलालाई प्राथमिकता दिइने भनेर पत्रिकामा लेखेको थियो’ खबरहबसँग कुराकानीको क्रममा उनले सुनाइन्। त्यस लगत्तै हर्मिताले युनाइटेड नेसन जाने प्रयास गरिन्।

‘भाग्यले साथ दिएको होला सायद त्यहाँ पनि पहिलो महिला कर्मचारीको रुपमा म नै छानिएँछु’ हर्मिताले खुसी हुँदै भनिन्। कुराकानीका क्रममा उनको अनुहार निकै हसिँलो देखिन्थ्यो। सायद विगतका दिनमा मिलेको सफलताले होला उनी निकै हर्षित देखिन्थिन्।

संस्थामा कार्ययरत भएसँगै उनी जस्तो सुकै जोखिमयुक्त स्थानसम्म सवारी लिएर पुग्थिन्। राजधानीको सडकमा टेम्पो र कार चलाएकी हर्मिता युनाइटेड नेसन संस्थामा गएपछि भने विकट ठाउँसम्म पुगिन्।

‘वर्खाको समयमा यात्रा गर्ने क्रममा बाटोमा पहिरो जाँदा निकै पटक अलपत्र परेकी थिएँ, डोजर बोलाएर बाटो मिलाउने क्रममा माथिबाट ढुंगा झर्ने हो कि! पहिरो जाने हो कि! मनमा अनेक तिर्सना हुने गथ्र्यो’ कुराकानीका क्रममा त्यो विगतलाइ भावुक बन्दै उनले सुनाइन्।

घरमा छोरालाई छोडेर हिड्दा मनभरि छोराको सम्झना पनि आउँथ्यो! तर, यात्रामा हिँडेपछि गन्तव्यसम्म त पुग्नै पर्‍यो! आखिर यो सबै त्यही सन्तानका लागि न हो भन्ने सोच्थेँ’हर्मिताले भनिन्।

सहरका चिल्ला सडकदेखि दुर्गम गाउँका कच्ची सडकसम्म ड्राइभिङ गर्दै पुग्ने हर्मिताले करिब १५ वर्ष युनाइटेड नेसनमा काम गरिन्।

१५ वर्ष काम गरेर चोभार पाण्डे छाप-मा साढे २ तले घर बनाइन्। त्यसपछि भने उनले कारण बस युनाइटेड नेसनमा काम छोडिन्। उनी छोरीका आमा बनिन्। त्यति मात्र होइन। सुत्केरी भएपछि करिब ४ महिना घरमा आराम गरेर हर्मिताले काठमाडौं-काकडभिट्टाको हायस पनि चलाइन्।

१५ दिनदेखि साझा यातायात हुँइक्याउदै हर्मिता

सवारी ड्राभिङका क्षेत्रमा झण्डै २ दशकको समय बिताएकी हर्मिता १५ दिनदेखि साझा यातायात चलाउन थालेकी छिन्।

‘साझा यातायातले नयाँ २० वटा बस थप्दै छ रे भन्ने सुनेँ, उनले भनिन्, ‘सरकारी स्वामित्वमा रहेको बस हो, नाम निस्किए पो हाल्छ कि भनेर कोसिस गरेकी थिएँ, महिलालाइ प्राथमिकता राखिदिएछन् खुसी छु’।

साझा यातायात अन्य सवारी साधनभन्दा अलि भिन्न देखिन्छ। तर आत्मविश्वासका साथ अघि बढेकी हर्मिता साझा चलाउन कुनै गाह्रो नलाग्ने बताउँछिन्। ‘अलि अग्लो देखिन्छ’ उनले भनिन् ‘तर काम गर्न केही गाह्रो छैन’।

‘साझा यातायात चलाइरहँदा धेरैले अचम्म मानेर हेर्छन् ३० जना भन्दा बढिले धन्यवाद दिइसके’ हर्षित हुँदै उनले भनिन्।

जीवनका अनेक भोगाइ, दुःख र निरन्तर गरेको प्रयासले उनलाई आज एक सफल, कर्मनिष्ठ सवारी चालिकाका रुपमा स्थापित गराएको छ।

उनी बिहान ६ बजेदेखि बेलुकी ९ बजेसम्म काममै व्यस्त हुन्छिन्। घरमा एक छोरा र एक छोरी छन् उनका। दिनभरी साझा चलाउँछिन् र बेलुकी आफ्नै ‘पल्सर १५०’ को मोटरसाइकल चलाएर उनी घर फर्किन्छिन्।

महिलालाई अनुरोध

साना सवारी साधन चलाइरहेका अन्य महिलालाई पनि उनी ठुला सवारी चलाउन आउन आग्रह गर्छिन्। ‘हामी महिलालाई सधै पछाडी पार्ने समाजको दृष्टिकोणलाई पछार्नकै लागि पनि अघि बढ्नुपर्छ’। म यस्तो काम गर्न सक्दिनाँ होला भनेर पछि नपर्नुस्, आजै अहिल्यैबाट अघि बढ्नुस्’ उनी निर्धक्क साथ भन्छिन्।

‘ठूला सवारी साधनमा पुरुष अर्थात् चालकको बहुल्यता बढि छ’ अन्तमा उनले भनिन्, ‘महिला दिदीबहिनीहरु अब ठुला सवारीको स्टेरिङ घुमाउन आउनुस्’।

भर्खर

0