रोजगारीका लागि तेस्रो देश हिँडेका ४ हजार नेपाली दिल्लीमा बन्धक, ५ सयभन्दा बढी महिला « Khabarhub
Logo
३ असार २०७८, बिहीबार

रोजगारीका लागि तेस्रो देश हिँडेका ४ हजार नेपाली दिल्लीमा बन्धक, ५ सयभन्दा बढी महिला



नयाँ दिल्ली- रोजगारीका नाममा भइरहेको मानव तस्करी यतिबेला विश्वमै समस्याका रूपमा देखा परेको छ । यो समस्याले अल्पविकसित देशमा त झन् बढी मार पारेको छ । नेपालजस्ता गरिब मुलुक रोजगारीका नाममा मानव तस्करी केन्द्र बन्न सक्ने चुनौती दिनदिनै बढ्दै गएको छ। अन्तराष्ट्रिय श्रम संगठन (आइएलओ)ले सन् २०१७ मा सार्वजनिक गरेको मानव तस्करी सम्बन्धी प्रतिवेदनमा नेपाल शीर्ष स्थानमा परेको छ ।

पछिल्लो समय रोजगारीका लागि तेस्रो देश पठाइदिने भन्दै भारतको राजधानी दिल्लीका विभिन्न स्थानमा करिब ४ हजार नेपाली युवा पुगेको पाइएको छ । जसमध्ये ५ सयभन्दा बढी महिला छन्। उनीहरूलाई सबैलाई विदेश पठाउने एजेन्टले त्यहाँ बन्धक बनाएर राखेका छन् । रोजगारीका लागि तेस्रो देश लैजान दिल्ली पुर्‍याइएका ती युवालाई नेपाल-भारत खुला सिमाना हुँदै त्यहाँ पुर्‍याउने गरेको पीडितले बताएका छन्।

खबरहब डट्कमले दिल्लीका मुख्य स्थान पहाडगंज, साकेत, जिबी रोड, ग्रीन पार्क, छतपुर कुतुब मीनार, सुल्तानपुर, मालवीय नगर, अर्जनगढ, राजिव चोक, सिकन्दपुर, जायपथ, रोहिणी सेक्टर, जहांगीर, बन्दीनगर र गुडगाँउलगायतका क्षेत्रमा तेस्रो देश लैजान पुर्‍याइएका नेपालीलाई तस्करले होटलमा राखेको पाएको हाे ।

तेस्रो देशमा रोजगारीका लागि जाने क्रममा दिल्ली पुगेका ती नेपालीसँग खबरहबको टोलीले भेटेर कुराकानी गरेको छ । दिल्लीको व्यस्त सहर पहाडगंजमा धेरै नेपालीको बसोबास छ । जिबी रोड, छत्रपुर रोहिणी सेक्टर, बारखम्म (जहाँ नेपाली दूतावास पनि छ), साकेत, सुल्ताननगर, मालवीय नगर र अर्जनगढ सहरमा करिब ४ हजार नेपाली रहेको मानव बेचविखन विरुद्ध अभियान चलाइरहेका भारतका विभिन्न संस्थाले जानकारी दिएका छन् । जसमा करिब ५ सयभन्दा बढी महिलालाई जबरजस्ती मानव तस्करले बन्धक बनाएर राखेको ती संस्थाले दाबी गरेका छन् ।

हेल्थ मिसन अभियानका अध्यक्ष कवि कार्कीका अनुसार रोजगारीका लागि तेस्रो देश लैजान दैनिक एक सय जनासम्म नेपाली दलालले दिल्ली ल्याउने गरेका छन् । उनी दिल्लीमा होटल व्यवसाय गर्छन् ।

भारतसँग सीमाना जोडिएका देश मानव तस्करको नयाँ रुटका रूपमा विकास हुँदै गएको भन्दै उनले भने, ‘वैदेशिक रोजगारीका नाममा मानव बेचबिखनमा सक्रिय दलालले मानव तस्करका लागि रुट परिवर्तन गर्दै नेपाली युवायुवतिलाई दिल्लीसम्म ल्याउने गरेका छन् । नेपाल–भारत खुला सीमानाको फाइदा उठाउँदै तस्करले प्रलोभन देखाएर बेरोजगार युवालाई निशाना बनाइरहेका छन् । भारतमा रहेका विभिन्न संस्थाले उद्धार गर्दै छन् ।’

कार्कीका अनुसार जीवि रोड, भित्री पहाडगंज, छत्रपुरलगायत नेपालीको बसोबास बढी भएका क्षेत्रमा खाडी राष्ट्र, मलेसिया, अफ्रिका र युरोपसमेत लैजान लागेका करिब ५ सयभन्दा बढी महिलालाई तस्करले बन्धक बनाएर राखेका छन् ।

यसरी बन्धक बनाएर राखेका महिला भारतस्थित नेपाली राजदूतावासले उद्धार गर्ने सक्ने अवस्था नरहेको उनको बुझाइ छ ।

दिल्लीको रोहिणीस्थित सोमबजारमा लामो समयदेखि ट्राभल एजेन्सी सञ्चालन गरेर बसेका विष्णु शाही पनि कार्कीका कुरामा सहमत छन् । रोजगारीका लागि तेस्रो देश जान दलालमार्फत दिल्ली आएका धेरै नेपाली बिचल्लीमा परेको शाहीले बताए । नेपालबाट दिल्ली हुँदै युरोपका देश, मलेसिया र खाडीका देश जान हिँडेका धेरै नेपाली युवाले भारतमा ठूलो रकम डुबाएर पनि बिचल्लीमा पर्ने गरेको उनको भनाइ छ ।

रोजगारीका लागि भन्दै दिल्ली पुगेर बन्धक हुने नेपालीको संख्या उल्लेख्य भएको दिल्लीस्थित नेपाली राजदूतावासका एक उच्च अधिकारीले पनि स्वीकार गरे । तर यति नै संख्या भनेर किटान गरेर भन्न नसकिने उनको भनाइ छ । ती कर्मचारीका अनुसार रोजगारीका लागि अन्य देश लैजानका लागि दिल्लीमा ल्याइएका करिब ५ सयभन्दा धेरै महिलासहित करिब ४ हजार नेपाली रहेको र उनीहरूले बस्ने ठाँउ परिवर्तन गरिरहनेसम्मका सूचना दूतावासमा आएको छ ।

उनीहरुलाई उद्धार गर्ने सक्ने अवस्था नभएको उनले बताए । ‘रोजगारीका लागि तेस्रो देश लैजान लागेका नेपाली नागरिकलाई तस्करले पूर्ण रूपमा पाठ पढाएर ल्याएका हुन्छन् । त्यसमा पनि तस्करले प्रत्येक दिन बस्ने होटल परिवर्तन गर्छन् । फेरी दूतावाससँग उद्धारका लागि पर्याप्त जनशक्ति पनि छैन । जसका कारण सूचना आएपनि भनेजस्तो काम गर्न समस्या छ ।’

दूतावासमा आएको सूचनाका आधारमा दिल्ली प्रहरीको सहयोग लिएर उद्धार गर्न जादाँ समस्यामा परेका व्यक्ति नभेटिने गरेको दूतावासका ती कर्मचारी बताउँछन् । तस्करले भारत हुँदै खाडी, मलेसिया, युरोप, अफ्रिका र अमेरिका लैजाने गरेका उनको स्वीकारोक्ति छ ।

रोजगारीका लागि भन्दै यसरी दिल्ली पुग्छन् नेपाली

रुपन्देहीको बेलहिया नाका हुँदै दिल्लीस्थित रोहिणी सहरमा भेटिएकी पर्साकी सरिता सुनुवार (नाम परिवर्तन) रोजगारीका लागि टर्की जान दलालमार्फत दिल्ली आएको बताउँछिन् । सुनुवार नेपालबाट हिडेको ५ दिनपछि दिल्ली पुगेकी थिइन् । नेपालबाट गाउँकै एक दाजु पर्नेले चिनजान गराइदिएका पर्साका दिनेश यादव भन्ने एजेन्टले टर्की पठाइदिने भनेर दिल्लीमा ल्याएर आएको उनले बताइन् ।

‘टर्की महिलाका लागि आकर्षक गन्तव्य हो भनेपछि ७० हजार रुपैयाँ तिरेकी छु । दिल्ली आएर बसेको दुई महिना भयो । भोलि काम हुन्छ भन्दै एजेन्टले होटल परिवर्तन गर्दै राखेको छ,’ उनले भनिन् ।

सुनुवारसँग अन्य २० जना महिला साथमा रहेको उनको भनाइ छ । उनीहरू खाडीका देश तथा माल्टा, हङकङ, ब्रुनाई लगायत ईजरायल जानका लागि आएका सुनुवारले जानकारी दिइन् ।

सुनसरी, धरानकी गीता लिम्बू (नाम परिवर्तन) पनि भारत हुँदै हङकङ जाने भनेर काभ्रेकी अनिता तामाङसँग दिल्ली आएको बताउँछिन् । उनी वीरगञ्ज नाका हुँदै दिल्ली पुगेकी थिइन् । भारतको राहदानी बनाएर दिल्लीबाट हङकङ जान मिल्छ भनेर एजेन्टलाई ३ लाख भारतीय रुपैयाँ तिरेको उनले भनिन्, ‘दिल्ली आएको एक महिना भयो । हङकङ पठाउने टुंगो छैन । राहदानी बन्न समय लाग्छ भन्दै एजेन्टले अल्मल्याउने गरेको छ । कहिले जाने हो निश्चित छैन ।’ गीतासँग दिल्लीको कुतुब मिनार सहरमा भेटेर कुराकानी गरिएको हो ।

सरकारले २०७२ चैतयता खाडी मुलुक, मलेसिया, अफ्रिका, लगायतका मुलुकमा महिलालाई घरेलु कामदारको रूपमा पठाउन रोकेको छ ।

दिल्लीमै भेटिएकी धनकुटाकी उर्मिला राई (नाम परिवर्तन) पनि ईजरायल जान दिल्ली आएको बताउँछिन् । उनलाई सगर म्यानपावर प्रालिका एजेन्ट मन्जित लामाले ईजरायल जान दिल्लीबाट सहज हुन्छ भनेर दुई महिनाअघि दिल्ली ल्याएका थिए। तर यति लामो समय बितिसक्दा पनि कुनै काम नभएको र आफूले दुःख मात्र पाएको उनले खबरहबसँग गुनासो गरिन्।

सरकारी निकायको फितलो नियमनको फाइदा उठाउँदै दलालले रोजगारीको नाममा नक्कली कागजात खडा गरेर विदेशी भूमिमा बेच्ने गरेका तथ्यले डरलाग्दो रूप लिँदै गएको छ । कतिपय महिलालाई त आफू कुन मुलुक जाँदै छु भन्ने जानकारी समेत नहुने गरेको पीडित नै बताउँछन् ।

सरकारले २०७२ चैत यता खाडी मुलुक, मलेसिया, अफ्रिका, लगायतका मुलुकमा महिलालाई घरेलु कामदारको रूपमा पठाउन रोकेको छ । घरेलु कामदारको रुपमा विदेश पुगेका महिलामाथि शारीरिक तथा मानसिक यातना र यौनजन्य हिंसाको शिकार हुन थालेपछि सरकारले ती राष्ट्रमा घरेलु कामदारका रूपमा महिला पठाउन रोकेको हो । तर नेपालबाट सिधै ती देश जाने महिला रोकिए पनि भारत हुँदै त्यस्ता देश जाने महिला रोक्न भने ठूलो चुनौती देखिएको छ।

परराष्ट्र मन्त्रालयबाट ठूलो संख्यामा एमआरपी पासपोर्ट जारी हुनु तर श्रम स्वीकृत लिएर विदेश जाने युवाको संख्या भने निकै कम हुनुले महिलाको तस्करी बढिरहेको अनुमान गर्न थालिएको छ । मासिक करिब ७ हजारभन्दा बढी महिलाले राहदानी लिने गरेको राहदानी विभागले जानकारी दिएको छ ।

भारत हुँदै पोल्यान्ड, ईजरायल, साइप्रस, ब्रुनाई, पोर्चुगल, चेक रिपब्लिक, माल्टा, खाडीका देश, मलेसिया, क्यानडा, हङकङ र अमेरिकालगायतका देशमा पठाइदिने भन्दै तस्करले दिल्ली पुर्‍याउने गरेका छन् । भारतीय पोसपोर्ट भएका नागरिकलाई यूएई, माल्टा, हङकङ र टर्की जानका लागि भिसाको आवश्यकता पर्दैन । जसका कारण भारतीय राहदानी बनाएर नेपाली नागरिकलाई यी देश पठाउने काम गर्दै आएका छन् । भारत हुँदै जाने नेपाली नागरिकले देशअनुसार १५ लाख नेपाली रुपैयाँ तिर्ने गरेको पाइएको छ ।

यसरी पुग्छन् तस्कर अभिभावकसम्म
अभिभावककै सहमतिमा भारत हुँदै खाडी मुलुकतर्फ लैजाने गरिएको भारत बसेर काम गरिरहेका एजेन्टले बताउने गरेका छन् । उनीहरूले नेपालमा रहेका एजेन्टको सहयोगमा अभिभावकलाई सहमत गराएर लैजाने गरेको बताए । भारत बसेर रोजगारीका लागि महिलालाई अन्य देश पठाउने काम गरिरहेका मनोज विक्रम दाहालका अनुसार कतिपय अवस्थामा आफन्तकै सहयोगमा भारत हुँदै अन्य देश पठाउने गरिन्छ ।

धादिङकी सविता शर्मा (नाम परिवर्तन) झापाको काकडभिट्टा नाका हुँदै साइप्रस जानका लागि भन्दै दलालको साथमा दिल्ली आएको बताउँछिन् । सवितालाई खबरहबका प्रतिनिधिले दिल्लीको ग्रीनपार्कमा भेटेर कुराकानी गरेको थियो । बोल्न समेत डराउने सवितालाई साइप्रसको सुपरमार्केटमा रोजगारी लगाइदिने भन्दै तस्करले परिवारको सहमतिमै दिल्ली पुर्‍याएको थियो ।

यस्तै, दिल्लीमै भेटिएकी शोभा राना (नाम परिवर्तन) पनि आफ्नै भाउजुमार्फत् भारतको बाटो हुँदै युएई जान हिडेको बताइन् । विदेशमा राम्रो रोजगारीमा लगाइदिने भनेपछि परिवारको सहमतिमा नै दिल्ली आएको उनले बताइन् ।

आफन्तबाट तस्करीमा परेका महिलामाथि परिवारिक दबाब पर्ने भएकाले प्रहरीसम्म उजुरी नै नपुग्ने गरेको बताइएको छ ।

दिल्लीमा भेटिएका ती महिला उदाहरण मात्र हुन् । यसरी आफन्तको भर पर्दा भारतका विभिन्न ठाउँ मात्र नभएर विभिन्न देशहरूमा नेपालीले नारकीय जीवन बिताइरहेका छन् । तर यसरी बेचबिखनमा संलग्नलाई कानूनी दायरामा ल्याउन र दण्डसजायको भागीदार बनाउन सरकार चुकेको छ ।

आफन्तबाट तस्करीमा परेका महिलामाथि परिवारिक दबाब पर्ने भएकाले प्रहरीसम्म उजुरी नै नपुग्ने गरेको बताइएको छ । यस्ता घटना विरलै मात्र बाहिर आउने गरेका छन् ।

गरिबी, अशिक्षा र अज्ञानताका कारण ग्रामीण क्षेत्रका महिला रोजगारीका लागि तेस्रो देश जान लोभिने गरेका छन् । खाडी मुलुकका लागि हिँडेका धेरै महिला भारतकै दिल्ली, कोलकोता, पञ्जाव र हरियाणालगायतका सहरमा रहेका विभिन्न रेष्टुरेन्ट, कोठी तथा उद्योगमा बाध्य भएर अमानवीय व्यवहार खेप्दै काम गर्दै आएका छन् ।

रुट परिवर्तन गर्दै तस्करी
सरकारले घरेलु कामदारका रुपमा महिलालाई खाडीका देश र मलेसियाका लागि श्रम स्वीकृति बन्द गरेपछि यी देशका म्यानपावर कम्पनी र तिनका एजेन्टले भारत हुँदै महिला कामदार पठाइरहेका छन् । साउदी, मलेसिया,  कुवेत, इराक, युएई र ओमानजस्ता विभिन्न खाडी मुलुकहरूमा गैरकानूनी रूपमा दैनिक भारत हुँदै महिला धेरै महिला जाने गरेका छन् ।

पछिल्लो समय भारत हुँदै तेस्रो देश जाने नेपाली नागरिकका लागि नेपाल सरकारले ‘नो अब्जेक्सन लेटर’ अनिवार्य हुनुपर्ने व्यवस्था गरेको थियो । त्यसपछि तस्करले रूट परिवर्तन गरेर तेस्रो देश लैजाने गरेको पाइएको छ । पछिल्लो समय भारतबाट भन्दा पनि श्रीलंका र बंगलादेश हुँदै नेपाली महिला तेस्रो देश जाने गरेका छन् । भारतभन्दा बाहेकका देशबाट तस्करी गर्ने सजिलो हुने गरेकाले तस्करले रुट परिवर्तन गर्ने गरेका हुन् ।

भारतको बाटो हुँदै तेस्रो मुलुक पुग्ने क्रममा विभिन्न किसिमका हिंसामा पर्ने गरेका छन् । तेस्रो मुलुकमा पुगिसकेपछि शारीरिक तथा मानसिक यातनाको शिकार हुनुपर्ने र श्रम शोषण शिकार बन्नुपर्ने वैदेशिक रोजगारीमा तेस्रो मुलुक पुगेका पीडितहरू नै बताउँछन् ।

यो पनि पढ्नुहोस्ः
रोजगारीका नाममा नेपाली महिलाको तस्करी, तस्करको रुट भारत हुँदै बंगलादेश


भर्खर

0