अहिलेको नेपाली संगीत– ‘ढोका खोल मालती…’ भन्नुपर्ने अवस्था छैन « Khabarhub
Logo
१६ मंसिर २०७८, बिहीबार

अहिलेको नेपाली संगीत– ‘ढोका खोल मालती…’ भन्नुपर्ने अवस्था छैन



प्रचारप्रसारका पर्याप्त साम्रगी नहुने बेला लोकहरू बसेर लोकगीतको सिर्जना गर्थे । रामायण तथा महाभारतको पालादेखि नै समाजमा संगीतको प्रयोग भएको पाइन्छ । इतिहास हेर्ने हो भने शास्त्रीय संगीतमा ‘डमरु नृत्य’ का किस्साहरू पनि आउँछन् ।

नेपाल त झन् ‘कल्चर’ को पनि धनी देश हो । आज पनि हामीले संगीत र रीतिरिवाजमा लोकसंगीतलाई लिइरहेका छौँ ।

नेपालको हिमालय क्षेत्रमा नै महादेवको बासस्थान भएको भनिन्छ । कामदेवका गीत र नृत्यका कुरा पनि आउँछन् । हिमालय पर्वतमा अप्सरा आएर नाच्ने गरेका किस्सा पनि सुन्न पाइन्छ । यसरी हेर्दा सत्य युगदेखि नै संगीतको एउटा युग शुरु भइसकेको थियो हाम्रोमा ।

संगीतमा नै संस्कृतिका कुरा, प्रकृतिका कुरा, पानीका कुरा, भेषभुषाका कुरा हुन्छन् । यी सबै संगीतमा नै छन् ।

पछिल्लो समय संगीतहरू ‘डिजिटलाइज्ड’ भएका छन् । डिजिटल युगसँगै नेपालमा धेरै गीत संगीतहरु सिर्जना भए ।

मभन्दा अघि देखेका दर्शक र मैले अध्ययन गरेका दर्शकलाई हेर्दा सुगम संगीतको इतिहास नेपालमा अत्यन्त प्रभावशाली रूपमा अगाडि बढेको देखिन्छ । शास्त्रीय गीतहरू पनि आएका छन्, लोकभाकाका अनगिन्ती गीतहरू पनि सिर्जना भएका छन् ।

स्रोताहरू (त्यो बेलाका दर्शक नभनौँ) को मनोरञ्जनका लागि अहिले थुप्रै माध्यम छन् । दर्शकका माध्यम सधै ‘चेन्ज’ हुन्छन् । परिवर्तन हुन्छ । कुनै समय रेकर्ड तथा टेपको युग थियो । रेकर्ड र टेपपछि सिडीको समय आयो । पहिले कलकत्तामा रेडर्क गर्नुपथ्र्यो । सिडीपछि अहिले पेन ड्राइभ आयो । संगीत पनि ‘डिजिटलाइज्ड’ भयो । यी सबै परिवर्तनका माध्यम हुन् ।

अहिले त यस्तो समय आयो कि, टिकट काटेर चन्द्रमा पुग्न पाइने प्रविधिको विकास हुन थालिसक्यो । प्रविधिका कारण हामी विकासको चरम सीमामा पुगेको अवस्थामा छौँ ।

कुनै समय एउटा रेडियो नेपाल मात्र थियो भने हजारौँ गायक थिए । भ्वाइस टेस्ट (स्वर परीक्षण) गर्ने कुनै एउटा निश्चित समय हुन्थ्यो । त्यतिबेला मीठो स्वर भएको मान्छेले पनि खोकी लाग्यो र स्वर बिग्रियो भने फेरि परीक्षण गर्न तीन महिनादेखि एक वर्षसम्म कुर्नुपर्ने अवस्था थियो ।

त्यतिबेलाका गायकहरूले लामो समय संगीत साधना गरेका थिए । साधना गरेर आफूलाई जोगाएर राखेका गायक–गायिकाले विकास गर्दै ल्याएको हो नेपाली संगीतलाई । अहिले डिजिटल माध्यमले धेरैका लागि ढोका ‘खुला’ गरिदिएको छ ।

यदि अहिले कोहीसँग प्रतिभा छ भने उनीहरूका लागि धेरै ठाउँबाट ढोका खुला छन् । अहिले आफ्नो प्रतिभा देखाउन ‘ढोका खोल मालती’ भन्नुपर्ने अवस्था छैन ।

हामीसँग प्रशस्त माध्यम छन् । टिभी च्यानल पनि उत्तिकै छन्, पत्रिका, इन्टरनेट, विभिन्न च्यानल पनि प्रतिभाका लागि खुला छन् । तर, प्रतिभा कसरी आउने भन्ने कुरा फरक कुरा हो । किनकि, यसरी आएका प्रतिभा कति समय टिक्ने भन्ने अर्को महत्त्वपूर्ण पक्ष हो ।

अहिले डिजिटल सिस्टममा पनि निकै फास्ट परिवर्तन भइरहेको छ । उदाहरणका लागि के लिऊँ भने एउटा बिजुलीको बल्ब नै चेन्ज भएर आउँछ । एउटा बल्ब बलिरहेको हुन्छ, बजारमा कम बिजुली खाने भन्दै अर्को बल्ब आइदिन्छ । त्यही बल्ब प्रयोगमा आउँछ । पुरानो बल्बको प्रयोग हराउँछ ।

हाम्रो संगीत भनेर ‘गर्व’ गर्नलायक अवस्था आउनुपर्छ  । नेपालमा मात्र नेपाली संगीत होइन, विदेशमा पनि ‘नेपाली संगीत’ भनेर चिनिनुपर्छ

यसरी नै संगीत पनि विकास हुँदै आइरहेको छ ।

अहिलेका संगीतका भाइबहिनीहरूले समय अनुसारका गीत त दिएका छन् तर ती संगीत जीवन्त हुन्छन्् कि हुँदैनन् भन्ने अर्को महत्त्वपूर्ण पक्ष हो । जुन युगमा जसरी संगीत चल्नुपर्ने हो, त्यसरी नै चल्दै आइरहेको छ ।

तर, के हरेक युगका संगीत अजम्बरी र कालजयी भएर बस्छन् भन्ने छ त ? हामीले हेर्दा नेपाली संगीतको एउटा युग छ, त्यो युगको संगीत अहिले पनि कालजयी भएर बसेको छ ।

अहिलेको संगीत कालजयी बन्ला कि नबन्ला भन्ने चाहिँ सोचनीय अवस्था हो ।

संगीतका केका लागि बनाइन्छ भन्ने फरक पाटो रहला । संगीतमा मौलिकता भएको लोक, राष्ट्रको पहिचान पनि हुनुपर्छ भन्ने लाग्छ । हाम्रो संगीत भनेर ‘गर्व’ गर्नलायक अवस्था आउनुपर्छ  । नेपालमा मात्र नेपाली संगीत होइन, विदेशमा पनि ‘नेपाली संगीत’ भनेर चिनिनुपर्छ । अहिलेको कालखण्ड डिजिटल टेक्नोलोजीमा गइरहेको छ । फास्ट ट्रयाकमा मान्छेले हरेक कुरामा स्वाद बदलेका छन् ।

हुन त पछिल्लो समय अर्गानिक कुरामा पनि मान्छे लोभिएका छन् । हिजो गुन्द्रुक खान लाज मान्ने, ढिँडो खान लाज मान्ने एउटा वर्गले खोजीखोजी ढिँडो खान थालेका छन् ।

अहिलेका संगीत पनि राम्रा छन् । नराम्रो त म भन्दिन, तर हाम्रा गीतमा मौलिकता र सिर्जनशीलता पनि हुनुपर्छ । संगीत क्षेत्रमा आउने नयाँ पुस्तालाई मेरो यो आग्रह सधैं रहन्छ

यसरी नै अर्गानिक संगीतहरूको पनि खोजी हुन थालेको छ । भोलि खोजेर खाने संगीत पनि तिनै हुन् ।

नेपालमा मात्र होइन, विदेशमा पनि तिनै पुराना संगीतहरूको खोजी हुने गर्छ । भारतमा पनि पुराना दिग्गज कलाकारका गीतहरूको खोजी हुने गर्छ ।

एउटा कुरा त नेपालीले विदेशी संगीत पनि उत्तिकै सुन्नुभएको हुन्छ । संगीतले विशाल जनताको मन जित्न सक्नुपर्छ । संगीतले ठूलो सङ्ख्यामा स्रोताको मन जित्न सक्नुपर्छ । नेपालीहरुले विदेशी गीतहरु पनि सुन्ने भएका कारण हाम्रो मौलिक संगीतले त्यो संगीतसँग पनि प्रतिस्पर्धा गर्नुपर्छ । संगीतलाई विचार पु–याएर अगाडि बढाउनुपर्छ ।

हामीले हाम्रो संगीतलाई विदेशमा पु–याउन नसकेका हौँ कि जस्तो लाग्छ । बाहिरी स्रोतालाई पनि सुन्ने गरी नेपालको आफ्नै मौलिकता भएका गीतलाई गाइनुपर्छ ।

अहिलेका संगीत पनि राम्रा छन् । नराम्रो त म भन्दिन, तर हाम्रा गीतमा मौलिकता र सिर्जनशीलता पनि हुनुपर्छ । संगीत क्षेत्रमा आउने नयाँ पुस्तालाई मेरो यो आग्रह सधैं रहन्छ ।

(कुराकानीमा आधारित)


भर्खर

0