डिउटीमै छोरी पाएर जागिर गुमाउँदा… « Khabarhub
Logo
२८ चैत्र २०७६, शुक्रबार

डिउटीमै छोरी पाएर जागिर गुमाउँदा…



काठमाडौं– डाक्टर अरुणा उप्रेती स्वास्थ्य क्षेत्रमा परिचित नाम हो । अस्पतालमा खटिने भन्दापनि महिलाहरुको स्वास्थ्य अधिकारको विषयमा वकालत गर्ने ‘स्वास्थ्य अधिकारकर्मी’को रुपमा उनलाई धेरैले चिन्छन् । उमेरले ६ दशक पार गरेकी उप्रेती लामो समयदेखि महिला स्वास्थ्यको अधिकारका लागि वकालत गर्दै आएकी छन् ।

२०१७ सालमा काठमाडौंको डिल्लीबजारमा जन्मिएकी उप्रेतीको बाल्यकाल सुखद थियो । पारिवारिक अवस्था राम्रो भएकाले उनलाई पढाउन बाबुले घरमै गुरु राखिदिएका थिए । ७ वर्षको हुँदा कक्षा २ मा विजय मेमोलियलमा भर्ना भइन र ५ कक्षासम्म त्यहाँ पढिन् । कक्षा ६ देखि १० सम्म ज्ञानेश्वरको महेन्द्रभवन उच्च माध्यमिक विद्यालयमा पढिन् ।

उप्रेतीलाई पाठ्यक्रमको भन्दा पनि कथाका किताबहरु पढ्न असाध्यै मन पर्ने, आफ्नो हजुरआमा र बुबालाई कथा सुनाउन लगाउँथिन् । बजार जाँदा होस् वा मामाघर, फर्किएर आउँदा उनको हातमा कथाको नयाँ किताब हुन्थ्यो ।

‘मलाई सानै हुँदा कथाको किताब एकदमै मनपर्ने, मेरो मामाघर भारतको लखनउ हो । म कथाको किताब भनेपछि हिन्दी भाषाकै किताब पनि किनेर ल्याउथें,’ उप्रतीले आफ्नो बाल्यकाल सम्झिन्, ‘५–६ कक्षामा पढ्दा नै ९–१० कक्षाका कितावमा हुने कथा सबै पढिसक्नेको हुन्थ्ये ।’

कथा, कविताको किताब पढ्ने बानीले उनलाई पनि कथा, कविता लेखनमा रुची बढ्न थाल्यो । त्यसपछि उनी आफैंले कथा, कविता लेखेर परिवार र साथीहरुलाई सुनाउन थालिन् ।

२०३२ सालमा एसएलसी दिएकी उप्रेतीले एसएलसीको नजिता भने सोचे अनुरुप पाइनन् ।

‘मैले एसएलसीमा प्रथम श्रेणीमा पास हुन्छु भन्ने आशा गरेको थिएँ, तर सेकेण्ड डिभिजन मात्रै आयो,’ उप्रेतीले एसएलसी स्मरण सुनाइन्, ‘त्यति धेरै कथा कविता लेख्ने, पढ्ने मान्छे सबैभन्दा कम नम्बर नेपाली विषयमै आयो । एसएलसीको नतिजाले नरमाइलो लाग्यो ।’

मेडिकल शिक्षाको यात्रा

एसएलसी उत्तिर्ण सकिएपछि उप्रेतीले महाराजगञ्जमा रहेको त्रिवि शिक्षण अस्पतालमा हेल्थ असिस्टेन्टको कोर्ष पढिन् । २०३३ देखि २०३६ सालसम्म हेल्थ असिस्टेन्टको कोर्ष सकिएपछि उनी पढ्नका लागि रसिया (तत्कालीन सोभियत संघ) गइन् । सोभियत संघमा एमडी गर्न जाँदा पढाइसँगै उनले जनस्वास्थ्यको विषयमा धेरै ज्ञान हासिल गर्ने अवसर पनि पाइन् ।

रसियामा पढाइ सकेर २०४३ सालमा नेपाल फर्किएकी उप्रेतीले काठमाडौंको थापाथलीमा रहेको प्रसूतिगृहमा मेडिकल अफिसरको रुपमा काम गर्न थालिन् ।

प्रसूतिगृहमा रहँदाको कार्यानुभव र सिकाइले आफ्नो जीवनको बाटो पहिचान गर्न सफल भएको डा उप्रेतीको बुझाइ छ ।

तीन दिनसम्म डिउटी गरे, डिउटीमै हुँदा छोरी पाए, छोरी पाएकै दिन जागिर पनि गयो, सुत्केरी विदाको लेटर आउनुपर्नेमा जागिरको अवधि सकिएको लेटर थमाइदिए, मलाई त्यो दिन दुःख लाग्यो 

उप्रेती प्रसूतिगृहमा डिउटीमा थिइन् । वीरगन्जकी एक महिला बसमार्फत अस्पतालमा प्रसूति हुन आएकी थिइन् । डा उप्रेतीको टिमले ती महिलाको रगत परीक्षण ग¥यो । प्रसव पीडाले छट्पटाइरहेकी ती महिलाको शरीरमा रगत नै थिएन । निकै जटिल अवस्थामा सुत्केरी हुन आएकी ती महिलाले बच्चा पनि जन्माइन् र स्वस्थ भएर घर फर्किइन् । जुन घटना उनी कहिल्यै बिर्सन सक्दिनन् ।

‘प्रसव पीडामा छट्पटाइरहेकी उनको शरीरमा रगत नै थिएन, उनी बाँच्ने सम्भावन किनै कम थियो, तर उनी बाँचिन् र बच्चा पनि जन्माइन्,’ डा. उप्रेतीले भनिन्, ‘उनी एकसाता अस्पताल बसेर स्वस्थ भएर फर्किइन् ।’

प्रसूतिगृहमा काम गर्दाको अर्को घटनालाई पनि उनी कहिल्यै भुल्न सक्दिनन् । २०४४ सालमा पतिको साथमा आएकी एक महिलाको अवस्था झनै जटिल थियो । जटिल अवस्थामा आएकी ती महिलाको रगत समूह पहिचान गर्नका लागि रगत निकाल्न हातमा नशा नै भेटिएन ।

असुरक्षित गर्भपतन गराएकाले धेरै रक्तश्राप भएर अपताल आएकी ती महिलाको अन्ततः मृत्यु भयो ।

‘नेपामा त्यतिबेला गर्भपतन गर्ने कानूनी अधिकार थिएन, त्यसैले मानिसहरुले गाउँघरमै जडिबुटी खाएर गर्भपतन गराउने प्रयास गर्दा उनको धेरै रगत बगेर मृत्यु भयो,’ उप्रेतीले भनिन्, ‘५ जना बच्चाकी आमा भइरहेकी ती महिलाको असुरक्षित गर्भपतनले मृत्यु हुँदा मलाई पनि निकै पीडा भयो ।’

त्यो घटनापछि उप्रेतीले नेपालमा सुरक्षित गर्भपतनको व्यवस्था हुनपर्ने आवाज उठाउन थालिन् ।

डिउटीमै हुँदा सुत्केरी भएको त्यो दिन

उप्रेती थापाथलीको प्रसूतिगृहमा मेडिकल अफिसरको रुपमा कार्यरत थिइन् । उनी थापाथलीमा कार्यरत हुँदा गर्भवती थिइन् । उनले आफ्नो पहिलो सन्तान अस्पतालमा डिउटीमै रहँदा नै जन्माएको सुनाइन् ।

‘मेरो सुत्केरी हुने समय आइसकेको थियो, तर अस्पतालले बिदा दिएको थिएन । अस्पतालमा ३ दिनसम्म लगातार डिउटीमा खटिनुपर्थ्यो,’ उप्रेतीले डिउटीमै छोरी पाएको दिन सम्झिँदै भनिन्, ‘म बुधबारदेखि डिउटीमा थिए, शुक्रबार बिहानसम्म सुत्केरीकै उपचारमा खटिएँ, शुक्रबार बिहान ९ बजे सुत्केरी व्यथा लाग्न थालेपछि त्यहिँ अस्पतालमा भर्ना भए र २ घण्टापछि छोरी पाए ।’

छोरी पाएकै दिन जागिर गयो

कुनै पनि आमाका लागि पहिलो सन्तान पाउँदाको दिन सबैभन्दा सुखद् हुन्छ । तर, उप्रेतीले पहिलो सन्तान पाउँदाको खुसी धेरै बेरसम्म अनुभव नै गर्न पाइनन् । छोरी पाएसँगै अस्पतालले उनको हातमा एउटा पत्र थमाइदियो, जागिरबाट निकालिएको भनेर ।

करार सेवामा कार्यरत उप्रेतीलाई अस्पतालले जागिर सकिएको भन्दै ‘उपहार स्वरुप’ जागिर सकिएको पत्र थमाइदियो ।

त्यो समयमा करारमा सेवामा रहेका चिकित्सकको करार अवधि सकिए पनि फेरि म्याद थप हुन्थ्यो । तर, उप्रेतीलाई अस्पताल प्रशासनले करार अवधिको म्याद थप गरिदिएन ।

‘तीन दिनसम्म डिउटी गरे, डिउटीमै हुँदा छोरी पाए, छोरी पाएकै दिन जागिर पनि गयो,’ उप्रेतीले भनिन्, ‘सुत्केरी विदाको लेटर आउनुपर्नेमा जागिरको अवधि सकिएको लेटर थमाइदिए, मलाई त्यो दिन दुःख लाग्यो ।’

चिकित्सकबाट स्वास्थ्य अधिकारकर्मी

प्रसूतिगृहको जागिर गुमे पनि उनी धेरै निराश भने भइनन् । अस्पतालको जागिर सकिएपनि महिला स्वास्थ्यका क्षेत्रमा क्रियाशील रहने उनको अठोट थियो । उनी अस्पतालको पूर्णकालीन कर्मचारी भएर भन्दापनि महिला स्वास्थ्यसँग सम्बन्धित क्षेत्रमा काम गर्न चाहन्थिन् ।

छोरी तीन महिनाकी भएपछि उनले परिवार नियोजन कार्यक्रममा काम गर्न थालिन् । परिवार नियोजनको कार्यक्रममा सहभागी हुँदा उप्रेतीले नेपालका विकट जिल्लाका महिलाहरुको अवस्था बुझ्ने अवसर पाइन् । उक्त अवसरले उनलाई स्वास्थ्यकर्मी मात्रै नभइ स्वास्थ्य अधिकारकर्मीको रुपमा स्थापित गरायो ।

सरकारले परिवार नियोजनका कार्यक्रम सञ्चालन गरेको क्षेत्रमा बेला बेलामा स्वास्थ्य शिविर पनि आयोजना गरिन्थ्यो । शिविरको समयमा गर्भपतन समेत गराउन पाइथ्यो । तर, त्यो अधिकार महिलाको हितमा नभइ सरकारी योजना पुरा गर्ने उद्देश्य मात्रै थियो ।

स्वास्थ्य अधिकारकर्मीको पहल पछि अन्ततः २०५९ सालमा नेपालमा सुरक्षित गर्भपनतले कानूनी मान्याता पायो । १७ वर्ष अघि कानूनी मान्यता पाएको गर्भपतनको अधिकारले धेरै नेपाली आमाहरुको ज्यान जोगिएको उप्रेतीको बुझाइ छ

उप्रेतीले गर्भपतनको अधिकारले कानूनी मान्यता पाउनुपर्ने आवज उठाउन थालिन् । स्वास्थ्य अधिकारको विषयमा वकालत गर्दा सरकारविरुद्ध बोल्न हुँदैन भन्नेहरु धेरै भेटिन्थे । तर, अरुणाले स्वास्थ्य अधिकारका लागि आवज उठाउन छाडिनन् । २०४६ सालमा बहुदलीय व्यवस्थाका लागि भएको पजातान्त्रिक आन्दोलनमा समेत उनी सरिक भइन् । अन्दोलनको क्रममा उनी ३ पकटसम्म जेल समेत परिन् ।

बहुदलीय व्यवस्थाको पुनर्स्थापनापछि नेपालमा सञ्चारमाध्यम खुल्नेक्रम बढ्यो । उप्रेतीले सञ्चारमाध्यममार्फत जनताका स्वास्थ्य अधिकारको विषयमा आवज उठाउन थालिन् । नेपालमा गर्भपतनलाई कानूनी मान्यता दिनुपर्ने आवजहरु उठाउँदै गइन् । तर, उनको अभियानविरुद्ध कतिपय चिकित्सकहरु नै सहमत भने थिएनन् ।

‘सुरक्षित गर्भपतन नहुँदा महिलाहरुको ज्यान जोखिममा थियो, त्यसैले जोखिम अवस्थामा सुरक्षित गर्भपतन गराउन पाउनुपर्छ भन्दा कतिपय चिकित्सक नै सहमत थिएनन्,’ उप्रेती भन्छिन्, ‘गर्भपतनले कानूनी मान्यता नपाउँदा कतिपय डाक्टरहरुले लुकेर सुरक्षित गर्भपतन गराउने र कमाउने मौका पाएका थिए । त्यसैले उनीहरु सहमत थिएनन् ।’

चिकित्सकहरु नै आफ्नो स्वार्थमा मात्रै केन्द्रित भएको उप्रेती बताउँछिन् । ‘चिकित्सकहरु क्लिनिकमा सुरक्षित, तर गैरकानूनी रुपमा गर्भपतन गराएर पैसा कमाउँथे, २०४६ सालमा अविवाहित महिलाको गर्भपतन गराउँदा १० हजार लिन्थें, कानूनी मान्यता पाइए पैसा कमाउन पाइँदैन थियो,’ उनी भन्छिन्, ‘लुकेर गर्भपतन गराउने चिकित्सकलाई कानूनी मान्यता चाहिन्छ भनेर बोल्नुस् न भन्दा मान्दैन थिए ।’

चिकित्सककै त्यो नियत देखेर उप्रेती निरास बनिन् । लुकिछिपी हुने सुरक्षित गर्भपतनले सम्पन्न परिवारका महिलाको मात्रै ज्यान जोखिन्थ्यो । तर, गर्भवती भएर जोखिममा परेकी गरिब महिलाले चाहेर पनि गर्भपतन गराउन सक्दैन थिए । गरिब महिलाको ज्यान सधैं जोखिममा नै थियो । विपन्न महिलाहरु जडिवुटीकै भरमा गर्भपतन गराउन खोज्दा उनीहरुको मृत्यु नै हुने अवस्थालाई उप्रेतीले ‘स्वीकार’ गर्न सकिनन् । सुरक्षित गर्भपतनलाई कानूनी मान्यता दिइनुपर्छ भन्दै निरन्तर आवाज उठाइरहिन् ।

स्वास्थ्य अधिकारकर्मीको पहल पछि अन्ततः २०५९ सालमा नेपालमा सुरक्षित गर्भपनतले कानूनी मान्याता पायो । १७ वर्ष अघि कानूनी मान्यता पाएको गर्भपतनको अधिकारले धेरै नेपाली आमाहरुको ज्यान जोगिएको उप्रेतीको बुझाइ छ ।


भर्खर

0