साना हतियारले बढाएको सकस

दीपक शर्मा

बिहिबार, भदौ १९, २०७६

Reading Time: 7 minutes

साना हतियारले बढाएको सकस

पछिल्लो समय नेपालमा हातहतियार बनाउने उद्योग खोल्न सकिने खालका कानूनी बहस शुरु गरिएको छ । यसमा कसको कस्तो स्वार्थ जोडिएको हो त्यो त विस्तारै खुल्ला नै तर के नेपाल यसका लागि सक्षम भैसकेको छ ?

मानव सभ्यताको विकाससँगै हतियारको उत्पत्ति र विकास भएको मानिन्छ । विभिन्न कालखण्डहरुमा विकसित हुँदै आज अनेक खालका अस्त्रहरु निर्माण भइरहेका छन् । धनुष, बञ्चरो, भाला हुँदै अहिले आएर एके ४७, रकेट लञ्चर, पेस्तोल, गन आदीको तीव्र विकास भएको पाइन्छ ।

विज्ञानको आविष्कारले मानिसको जीवनलाई जति सजिलो र सुरक्षित बनाउँदै लग्यो त्यो भन्दा बढी यसको गलत प्रयोगले विश्वमा द्वन्द्व, अपराध, भोकमरी, हिंसा पनि उत्पन्न भयो । यसैक्रममा निर्माण भएका साना हतियारहरुको गलत उपयोगिताले आज विश्वमा सबैभन्दा बढी डर, त्रास र भय फैलाई रहेको छ ।

विभिन्न अनुसन्धानहरुले के देखाएको छ भने दोस्रो विश्वयुद्धपछि आजसम्म जति पनि मानिस अस्वभाविक रुपमा मारिएका छन् ती मध्ये ७५% भन्दा बढीको मृत्युको कारकको रुपमा साना हतियार रहेको पाइन्छ ।

प्रत्येक दिन ब्राजिलदेखि अमेरिकासम्म अनि अफ्रिका देखि पाकिस्तान, अफगान्स्तिानसम्म यस्तै हतियारका कारणले निर्दाेष मानिसहरुले अनाहकमा आफ्नो जिवन गुमाइरहेका छन् । अत्यधिक उत्पादन, अवैधानिक ओसारपसार र विभिन्न समूहहरुबाट बारम्बार भइरहने हतियारहरुको दुरुपयोगका कारणले मानिसको जिवन क्षत–विक्षत भइरहेको छ ।

मानवीय सुरक्षामा टड्कारो असर पुर्‍याइरहेका यस्ता विषयप्रति कम चासो र बहस भइरहेको भनेर सुरक्षाविद्ध हरुबाट बारम्बार प्रतिक्रिया आइरहन्छ ।

वर्टवेल र कोलिभर भन्दछन् “साना हातहतियार अपराधिका लागि हिंसा मच्चयाउने अभियानमा किन आकर्षक मानिन्छ भने तिनीहरू सहज उपलब्ध हुने, कम रकममा पाइने, प्रयोगमा सहज र आदानप्रदान गर्न पनि सजिला हुन्छन् ।

द्वन्द्वउपरान्त जस्तो गम्भीर अवस्थामा रहेको नेपालमा नियामक निकायको चरम राजनीतिकरणले गर्दा नेपालमा साना हतियार र तिनबाट सिर्जित आतंक दिनदिनै बढ्दै गइरहेको छ ।

विश्वव्यापी तथ्यांक अनुसार प्रत्येक वर्ष साना हतियारको प्रत्यक्ष प्रभावबाट करिव ५ लाख मानिस प्रभावित छन् भने घाइते र अंगभंग भएकाको कुनै हिसाव राख्न सकिएको छैन ।

नेपालको भौगोलिक अवस्थाले पनि नेपालमा पछिल्लो समय नयाँ नयाँ अपराध र तिनमा साना हतियारको प्रयोगमा वृद्धि भइरहेको देखिन्छ

विकासशील देशमा मात्र होइन साना हतियारले विकसित देशको सुरक्षामा पनि गम्भीर खलल पुर्‍याइरहेको छ । पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाले एक कार्यक्रममा आखाँभरि आशु पार्दै भनेका थिए ‘म अमेरिकामा बन्दुक हिंसा कम गराउन चाहन्छु तर त्यसका लागि सफल भइरहेको छैन् ।’

नेपालको भौगोलिक अवस्थाले पनि नेपालमा पछिल्लो समय नयाँ नयाँ अपराध र तिनमा साना हतियारको प्रयोगमा वृद्धि भइरहेको देखिन्छ । नेपालको कुल अन्तराष्ट्रिय सिमाना २९२६ किमी रहेका छ जसमा १६९० किमी भारत तर्फ रहन्छ भने करिब १२३६ किमी सिमाना चीनसँग जोडिएको छ ।

पछिल्लो एक अध्ययन अनुसार नेपालमा निजी रूपमा राखिएका हतियारको संख्या ४ लाख ५० हजार रहेको अनुमान गरिन्छ । भारतसँगको सिमाना अनुगमनमा नै चुनौती भोगिरहेको वेलामा पछिल्लो समय खासगरि सशस्त्र द्वन्द्वको समाप्तीसँगै उत्तरी नाकाहरू पनि बढी चलायमान भएको सुरक्षाविज्ञहरूको निष्कर्ष देखिन्छ । पछिल्लो समय त्यतातिरबाट भित्रिएको अपराधले थप चुनौति थपिदिएको छ। समाचारहरूलाई आधार मान्दा यसमा सत्यतथ्य पनि रहेको छ ।

नेपालमा सशस्त्र द्वन्द्वको समाप्तीपछि देखिएका सामाजिक र राजनीतिक हिंसामा साना हतियारको बढ्दो प्रयोगले पनि साना हतियारको उपस्थिति बढेको देखिने गर्दछ ।

द्वन्द्वविद्हरूको विचारमा द्वन्दोत्तर समाजमा हिंसाको प्रयोग बढ्नु स्वाभाविक प्रक्रिया हो । तर त्यसको नियन्त्रणमा देखिने निस्कृयता समाजका लागि हानिकारक बन्न सक्दछ ।

यसैगरि साना हतियार प्रति राजनीतिक वृत्तमा पनि चरम आकर्षण निकै बढेको जगजाहेर नै छ। जसका कारणले पछिल्ला दशकमा वाइसिएल, युथफोर्स, मधेसी बाहिनी, आदि संगठनको विस्तार गरिए ।

राजनीतिक दल निकट रहेका यस्ता संगठनका ठाँउ–ठाँउका झडप र तिनमा प्रयोग भएका हतियारको अध्ययन गर्दा प्रस्ट भन्न सकिन्छ नेपालका पछिल्लो दशकमा राजनीतिक हिंसामा साना हतियारको प्रयोग निकै बढिरहेको छ ।

सामाजिक हिंसाको वृद्धिमा पनि सानो हतियारको भूमिका प्रत्यक्ष महसुस गर्न सकिन्छ । भारतसँग सिमाना जोडिएका नेपालमा प्राय सबै जिल्लामा घरेलु हिंसाको दर निकै बढिरहेको छ । घरेलु हिंसामा खासगरि महिला माथि गरिएका दुर्व्यवहारमा  साना हतियारको प्रयोग निकै बढिरहेका छन् ।

साना हतियारले देशको विकास प्रक्रियामा पनि प्रत्यक्ष असर पुर्‍याउँदछ । जुन समाजमा साना हतियारको व्यापकता रहन्छ त्यहाँ सामाजिक र आर्थिक विकासको प्रक्रिया धिमा हुन्छ

दाइजो, बोक्सीप्रथा र अरु खाले हिंसामा पनि साना हतियारको उपयोगमा निकै वृद्धि भइराखेको छ । त्यसैगरि सक्रमणकालिन नेपालमा नयाँ खाले अपराधहरूको पनि प्रवेश भएको पाइन्छ, जस अन्तगर्त ‘कन्ट्रयाकट किलिङ’ पर्दछ । यो अपराधमा समातिएका ९० प्रतिशत भन्दा बढी अपराधिहरू साना हतियार सँगै पक्राउ पर्ने गर्दछन् ।

साना हतियारले देशको विकास प्रक्रियामा पनि प्रत्यक्ष असर पुर्‍याउँदछ । जुन समाजमा साना हतियारको व्यापकता रहन्छ त्यहाँ सामाजिक र आर्थिक विकासको प्रक्रिया धिमा हुन्छ ।

भौगोलिक रूपले नेपलाको सुगम भनेर चिनिने तराईका अन्य सुचकहरू भने निराशाजनक देखिन्छ । हतियारको सहजताले विकासको प्रक्रियामा अवरोध सिर्जना गर्दछ । कुनै पनि विकास कार्यक्रम सुरक्षाको अनुपस्थितिमा अगाडी बढ्न सक्दैन ।

संक्रमणकालीन, अवस्थामा रहेको नेपालको वर्तमान समयले पनि यसको अवस्था देखाउँछ। आन्तरिक असुरक्षा र द्धन्द्धले गर्दा नेपालको विकास पनि सन्तोषजनक रूपमा अगाडि बढेको छैन ।

साना हतियारको प्रभाव कसरी बढिरहेको छ भन्ने कुरामा स्पष्ट हुन नेपालको पछिल्लो एक दशकको अपराधको ट्रेन्डबाट पनि थाहा लाग्दछ । नेपालमा पछिल्लो समय संगठित अपराध निकै बढीरहेको बारे मिडियाहरूमा सूचना आइरहेका छन् ।

इन्टरपोलको ०७३ माघ ४–६ गतेसम्म नेपालमा भएको २३ औ एसिया क्षेत्रिय सम्मेलनले पनि पुरै दक्षिण एशियामा संगठित अपराधको स्थिति बढिरहेको जनाएको थियो । संगठित अपाराध भन्नाले मुलत आर्थिक लाभ लिने उद्देश्यले खडा भएका समूह वा अपराधीहरूले गर्ने गम्भीर अपराध भन्ने बुझिन्छ ।

संगठित अपराधमा रहेका सबै समूहको नजरमा साना हतियार रहने गरेको देखिन्छ । नेपालमा संगठित अपराध अन्तर्गत मानव वेचविखन, लागूऔषध कारोवार, सम्पत्ति शुद्धिकरण र तस्करीजन्य अपराध वृद्धि भइरहेको देखिन्छ । साना हतियारको सहज उपलब्धताले समाजमा दिनदिनै नयाँ नयाँ खाले अपराध पनि देखिन थालेको छ ।

नेपाल एक अविकसित र पछौटे राष्ट्र हो । बढ्दो युवा जनशक्ति र राज्यको घट्दो व्यवस्थापन क्षमताले समस्याको पाटोलाई झनै जटिल बनाइदिएको छ । यस्तो वेलामा यदि कुनै गैरकानुनी शक्तिले यिनको प्रयोग गरेयो भने त्यसको परिणाम सोच्न पनि नसकिने हुन्छ ।

भूराजनीतिक रूपमा पनि नेपाल निकै सजग रहुन पर्ने स्थानमा छ । एकातिर उत्तरी छिमेकी चीनले सबैभन्दा सम्बेदनशील क्षेत्र मानेको तिब्बतसँग हाम्रो सिमाना जोडिएको छ, भने अर्कोतिर भारतसंग हाम्रो सिमाना छ जो भारत विरोधीका लागि उपयोग हुने त होइन कि भन्ने चिन्ता भारतमा देखिन्छ ।

नेपालमा साना हतियार नियन्त्रण गर्ने कानुन हुँदाहुँदै पनि यसको उपयोग नहुँदा वा राजनीतिक स्वार्थले प्रभाव राख्दा कानुन निष्प्रभावी देखिन्छ तर त्यसलाई गलत मनसायले रोक्नु राजनीतिक नेतृत्वका लागि पनि प्रत्युउत्पादक बन्न सक्दछ

यी दुवै चिन्तालाई सम्वोधन गर्न नेपालले आफनो सुरक्षा व्यवस्था चुस्त र दुरुस्त राख्नुपर्दछ । नेपालमा हुने अपराधिक गतिविधिको नियन्त्रणका लागि सुरक्षा एजेन्सीले सबैभन्दा पहिले सानो हतियारको नियन्त्रणमा सजगता अपनाउँदा यसले समस्या समाधानमा धेरै प्रभाव राख्ने देखिन्छ ।

नेपालमा साना हतियार नियन्त्रण गर्ने कानुन हुँदाहुँदै पनि यसको उपयोग नहुँदा वा राजनीतिक स्वार्थले प्रभाव राख्दा कानुन निष्प्रभावी देखिन्छ तर त्यसलाई गलत मनसायले रोक्नु राजनीतिक नेतृत्वका लागि पनि प्रत्युउत्पादक बन्न सक्दछ । त्यसतर्फ राजनीतिक दलले गम्भीरतापूर्वक सोच्नुपर्दछ ।

यी विषयमा सोचविचार गरेर नै अगाडि बढनुपर्दछ । अहिले नै त यति समस्या छन् भने भोलि यहीं कारखाना बनाउदा त्यसको उचित सुरक्षा प्रबन्ध भएन भने नेपाल अपराधको दलदलमा भासिन सक्छ । यसबारे पनि मन्न गर्ने की ?

(लेखक शर्मा अधिवक्ता हुन् )

भर्खर

0