अत्यधिक कामले थाकिरहनुभएको त छैन ? 'बर्नआउट' हुनसक्छ, समाधान यस्तो | Khabarhub Khabarhub

अत्यधिक कामले थाकिरहनुभएको त छैन ? ‘बर्नआउट’ हुनसक्छ, समाधान यस्तो


२० असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

के तपाईँ जुनबेला पनि थाक्नुहुन्छ, आफ्नो कामको जिम्मेवारीको आलोचना गरिरहने गर्नुहुन्छ वा कामको मागबाट आजित हुनुहुन्छ ?

तपाईँलाई अत्यधिक थकान अर्थात ‘बर्नआउट’ले सताइरहेको हुनसक्छ। विश्व स्वास्थ्य सङ्गठनले अत्यधिक थकानलाई कामका क्रममा आउने प्रक्रिया भन्दै ‘बर्नआउट’लाई सफलतापूर्वक व्यवस्थापन हुन नसकेको कार्यालयमा चरम तनावका लक्षण देखिने व्याख्या गरेको छ।

यसलाई अत्यधिक थकान, नकारात्मक सोच अथवा जागिर या खराब कामसँग जोडेर गर्ने निन्दाजस्ता स्वभावका आधारमा व्याख्या गरिएको छ। यद्यपि, मानिसलाई के गलत भइरहेको छ भनेर बुझ्न कठिन हुनसक्छ।  हामीले शारीरिक र मानसिक रूपमा स्वास्थ्यमा धेरै ध्यान नदिँदा त्यसले बर्नआउट हुनसक्छ । अत्यधिक थकानले मानिसलाई निन्दक, निराश, एक्लो र शिथिल बनाउँछ ।

बर्नआउटका लक्षण

डा रसेल मोरिस भन्छिन्, “आफू धेरैजसो थाकिरहेको कुरा पत्ता लगाउन कठिन छ। तर तपाईँसँग निकट रहेका मानिसहरू वा तपाईँको हाकिमहरूले यसलाई राम्ररी पहिचान गर्नसक्छन्।”

रसेलले आफ्नो १५ वर्षे अनुभवमा त्यस्ता थुप्रै बिरामीहरू भेटेकी छन् जो कार्यालयमा हुने तनावबाट पीडित थिए। उनले थकाइ लागिरहने त्यस्तो रोगबाट पीडित बिरामीहरू आफ्नै स्वभावबारे बेखबर हुनसक्ने बताइन्।

उनका अनुसार त्यस्ता मानिसहरू एकदमै निन्दक स्वभावका, निराशावादी, विरक्त, राम्रोसँग खाना नखाने र निरन्तर थकित महसुस गरिरहने खालका हुन्छन्। उनीहरू आफ्नो कामबारे, साथीहरू वा सहकर्मीप्रति क्रोधित हुने वा रिसाइरहने हुन्छन्।

डा मोरिसले भन्छिन्, “जब मानिसहरू कामका कारण ढाड दुख्ने, धेरै टाउको दुख्ने वा ग्यास्ट्रिकको समस्याका कारण बिरामी हुन थाल्छन् धेरैजसो उनीहरूलाई यही रोगले सताएको हुनसक्छ।”

मलाई के भइरहेको छ ?

यदि तपाईँलाई लाग्छ कि तपाईँ धेरै थाकिरहने रोगबाट पीडित हुनुहुन्छ भने, आफूलाई यी प्रश्नहरू सोध्नुहोस्:

तपाईँको नजिकको कसैले तपाईँलाई आफ्नो काम कम गर्न भनेको छ?
हालैका महिनाहरूमा, तपाईँ आफ्नो काम वा सहकर्मी, सेवाग्राहीप्रति रिसाउने वा क्रोधित हुने गर्नुभएको छ?
आफूले आफ्नो परिवार, साथी वा आफैँलाई पर्याप्त समय दिन नसकेको भनेर आफैँप्रति ग्लानि महसुस भइरहेको छ?
रुने, रिसाउने, चिच्च्याउने वा कुनै ठोस कारण बिना नै तनाव लिने जस्ता भावनात्मक काम गरिरहेको महसुस गर्नु भएको छ?

यदि तपाईँले यी मध्ये कुनै प्रश्नको ‘हो’ भन्ने जवाफ दिनुभयो भने तपाईँ परिवर्तन हुने बेला आएको छ।

यो प्रश्नोत्तर युके प्र्याक्टिशनर हेल्थ प्रोग्रामका लागि परिकल्पना गरिएको हो र कोही कर्मचारी यदि ‘बर्नआउट’को खतरामा छन् भने त्यो पहिचान गर्नका लागि सुरुवाती विन्दु हो।

बर्नआउट विकसित हुन लामै समय लाग्छ, सम्भवत: ६ देखि १८ महिनासम्म।

डा ज्याकी फ्रान्सिस वाकर मनोचिकित्सक र द बर्नआउट बाइबल पुस्तककी लेखक हुन्। उनले बर्नआउट भएका बिरामीहरूको उपचारमा विशेषज्ञता हासिल गरेकी छन्।

उनी भन्छिन्, “आमरुपमा मानिसहरू पहिला जे गर्नसक्थे, त्यो अचानक किन गर्न सकिरहेको छैन भनेर चिन्तित हुन्छन्।”

मानिसहरूले आफूले आफूलाई त्यस्तो अवस्थामा पाउन सक्छन् जहाँ उनीहरूसँग पहिला भएजस्तो सिर्जनात्मक वा अभिव्यक्त हुने क्षमता हुँदैन।

डा वाकरका अनुसार बर्नआउट तनाव भन्दा फरक कुरा हो।

“तनाव सामान्य रुपमा हेर्ने हो भने त्यस्तो अवस्था हो जहाँ तपाईँलाई उपलब्ध स्रोत भन्दा बढी कामको माग गरिन्छ। त्यस्तो स्रोत चाहिँ मनोवैज्ञानिक, बहन गर्नसक्ने क्षमता वा समयको हुनसक्छ।”

मानव जातिलाई कुनै पनि काम सक्न थोरै दबाब चाहिन्छ। तर जब हामी आफ्नो काम देखाउने उच्च विन्दुमा पुग्छौँ, उच्च दबाबमा हुन्छौँ र दबाब बढ्दै जान्छ तब आफ्नो कार्य प्रदर्शन नराम्रो हुन थाल्छ।
महत्त्वाकाङ्‍क्षीलाई मात्रै होइन

एउटा मिथक छ कि आफ्नो पेशामा उच्च महत्त्वाकाङ‍्क्षा राख्नेलाई वा जसले आफ्नो काम मन पराउँदैन उसलाई मात्रै बर्नआउटले असर गर्छ। तर त्यो सत्य नभएको मोरिस बताउँछिन्।

“मानिसहरू सोच्छन् तपाईँले आफ्नो काम मनपराउनुहुन्न त्यसैले तपाईँ बर्नआउटको बिरामी हुनुहुन्छ तर त्यो सत्य होइन। मैले व्यक्तिगत रुपमा थुप्रै शिक्षकहरू, चिकित्सकहरू, वकिलहरू, नगर व्यापारीहरू, लेखापालहरूमाझ तनाव देखेको छु।”

“मानिसहरू जो सामान्यतया: उच्च महत्त्वाकाङ्‍क्षी वा सबैकाम उत्कृष्ट होस् भन्ने चाहन्छन् उनीहरूमा यो रोग देखिने सम्भावना बढी हुनसक्छ। किनभने यी मानिसहरू कामबाट उच्च मुल्याङ्कन पाइयोस् भन्ने चाहन्छन्।”

बर्नआउटले कामकाजी मानिसलाई मात्रै असर गर्दैन, घरमा अरूको हेरचाह गर्नुपर्ने जिम्मेवारी बहन गर्नेहरू पनि यसबाट गम्भीर रुपमा प्रभावित हुनसक्छन्।

“बालबालिका वा उमेर पुगेका आफन्तको हेरचाह वा कहिलेकाहीँ शारीरिक रुपमा सबल नभएकाहरूको हेरचाह गर्नेहरू गम्भीर रुपमा बर्नआउटबाट ग्रसित हुनसक्छन्। यस्ता बिरामीहरू पूर्णरूपमा थकित हुन्छन् र उनीहरूले आफूले पर्याप्त सहानुभूति नपाएको महसुस गर्नसक्छन्,” डा वाकरले भनिन्।

बर्नआउटलाई धेरैजसो लज्जित हुनुपर्ने विषयका रुपमा लिइन्छ।

“बर्नआउट हो भन्न मानिसहरू हिच्किचाउँछन्,” वाकरले भनिन्।

“धेरै मानिसहरू सोच्छन्, ‘यदि आफूले केही गर्न नसके त्यसमा पक्कै केही गलत छ भन्ठान्छन्। म यो गर्न सकिरहेको छैन । म कमजोर छु। यो सम्हाल्न सक्दिनँ।'”

समय छुट्याउनुस्

डा मोरिसले कर्मचारीको स्वास्थ्य र खुसीका लागि सघाउन एउटा कार्यक्रम बनाएकी छन्। “बर्नआउटको जोखिमलाई कम गर्न हामी सबैले गर्नसक्ने कुराहरू छन्,” उनले भनिन्।

“एउटा चाहिँ तनाव बहन गर्ने क्षमताको स्तरवृद्धि हो। त्यो भनेको हामीले तनावका बेला स्वस्थ तरिकाले प्रतिक्रिया जनाउन सक्नु हो र त्यो कठिन प्रक्रियाबाट गुज्रिँदा हामी थप बलियो भएर सफलता हासिल गर्न थाल्छौं।”

मोरिस भन्छिन् कि हाम्रो स्वास्थ्य र खुसीका लागि हामीले विभिन्न क्रियाकलापलाई समय छुट्याउन निकै महत्त्वपूर्ण छ। त्यस्ता क्रियाकलाप भनेको व्यायाम गर्नु, मानिसहरू भेट्नु र निद्रा पुर्‍याउनु हो।

“जब काम धेरै गर्नुपर्ने हुन्छ हामी स्वभाविक रुपमै जे हामीलाई गर्न मनपर्छ त्यो छोडेर आफ्नो काममा व्यस्त हुन्छौँ”, डा मोरिस भन्छिन्।

“एकैपटक धेरै परिवर्तन गर्न साँच्चै कठिन हुन्छ त्यसैले मानिसहरूले स-सानो कामबाट आफूमा परिवर्तन ल्याउन सुरु गर्न सक्छन्। जस्तै खाजा समयमा पाँच मिनेट हिँड्न निस्कनु अथवा कफी पिउन साथीलाई भेट्नु।”

उनका अनुसार अर्को समस्या भनेको चाहिँ जो मानिस धेरै तनावमा हुन्छन् उनीहरू त्यस्तो कुरामा केन्द्रित हुन्छन् जसलाई उनीहरूले नियन्त्रण गर्नै सक्दैनन्। जे कुरामा उनीहरूले नियन्त्रण गर्न सक्छन् त्यसमा ध्यान दिँदा मात्रै तनावको मात्रा घट्छ। मोरिस यसैलाई ‘शक्तिको क्षेत्र’ भन्छिन्।

उनका अनुसार पहिलाको कामको तालिकामा थप बाँधिएर बस्नुभन्दा कामलाई प्राथमिकतामा राखेर गर्नु महत्त्वपूर्ण हुन्छ।

उनले कर्मचारीलाई महत्त्वपूर्ण र तत्काल गर्नुपर्ने काम वा त्यति महत्त्वपूर्ण नभएको काम छुट्याउन सहयोग पुग्ने एउटा नमुना तयार गरेकी छन्।
विषाक्त काम गर्ने संस्कार

“धेरै दबाब हुने जागीरमा तनाव महसुस गर्नुलाई धेरै मानिसहरू स्वभाविक ठान्छन्, तर त्यसो होइन। यो हाम्रो स्वास्थ्यका लागि खराब हो र हामी यो मिथकबाट बाहिरिन आवश्यक छ,” मोरिस भन्छिन्।

यद्यपि बर्नआउट नहोस् भन्नका लागि रोजगारदाताले पनि यसबारे थप जिम्मेवारी लिनुपर्ने र आफ्ना कर्मचारीहरूको काम र व्यक्तिगत जीवन सन्तुलन गर्न मद्दत गर्ने अभ्यासहरूतर्फ सोच्नुपर्नेमा उनी जोड दिन्छिन्।

प्राविधिक र डिजिटल उद्योगमा काम गर्ने उद्यमीहरूले धेरै परिवर्तन भएको र जागीर कटौती भएको पनि अनुभव गरेका छन्। उनीहरू राम्रो गरेर देखाउने दबाबमा नै छन्।

धेरै पेशाको परिवर्तनशील प्रकृति पनि एउटा समस्या हो।  सन् २०१८ मा ७५ सय कर्मचारीमाथि गरिएको ग्यालप अध्ययनले करिब दुईतिहाइ मानिसले काममा बर्नआउट अनुभव गरेको पत्ता लगाएको थियो।

बर्नआउट हुने कारणहरू

काममा अनुचित/अन्यायपूर्ण व्यवहार हुनु
व्यवस्थापन गर्नै नसकिने कामको चाप
जिम्मेवारीभित्र के पर्छ भन्ने स्पष्टताको कमी
व्यवस्थापकहरूबाट समर्थनको कमी
समयको अनुचित दबाब

डा वाकर ठान्छिन्, काममा हुने तनावको मुख्य स्रोत कार्यालयभित्रको काम गर्ने संस्कार विषाक्त हुनु हो। कार्यालयहरू खर्च कटौती गर्नुपर्ने दबाबमा रहेका बेला थोरै कर्मचारीबाट धेरै कामको अपेक्षा गरिन्छ। वाकरलाई लाग्छ समस्याको यो पक्षलाई कम्पनीहरूले पहिचान गर्नुपर्छ।

“कम्पनीहरूले कामका बेला हुने तनावलाई कम गर्न केही सहयोग गरे पनि सबैको ध्यान धेरैजसो व्यक्तिमा हुन्छ,” डा वाकरले भनिन्।

“के देखिन्छ भने तनावमा हुने कर्मचारीहरू हुन्। त्यसैले हामी काम गर्ने ठाउँको अभ्यास परिवर्तन गर्न खोज्नु भन्दा उनीहरूलाई उनीहरूको पहिलाकै अवस्थामा लैजान मदत गर्छौं।” बीबीसीबाट

प्रकाशित मिति : २० असार २०७६, शुक्रबार  ६ : ५७ बजे

१६औं योजनामा सुशासन सोच : झस्किए नेता !

काठमाडौं – १६औं योजनाको मस्यौदाको सोचमा ‘सुशासन’ शब्द प्राथमिकतामा राखिँदा

बागमती पुल जीर्ण बनेपछि दुर्घटनाको जोखिम

सर्लाही । पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाही र रौतहट जोड्ने बागमती नदीमाथिको

आयोगले भन्यो : उपनिर्वाचनमा निर्धक्कसँग मतदान गर्नू

काठमाडौं- निर्वाचन आयोगले इलाम–२ मा र बझाङ–१ (क) मा शनिबार

कांग्रेस बलियो भए मात्रै सबैले फाइदा लिन सक्छन् : डा. महत

काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले